संविधानले बहुजाति, बहुभाषी एवं बहुसंस्कृतिलाई समान संरक्षण प्रदान गरेको बताउँदै उहाँले यस्तो अवस्थामा नेपालीबिच रहेको आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोही कसैबाट हुने छैन भन्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले सन्देशमा भन्नुभएको छ, “नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै लोकतन्त्रमा आधारित समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको छ । संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नु पर्दछ ।”
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको अपूरणीय क्षतिले सिङ्गो मुलुक गहिरो पीडामा रहेको उल्लेख गर्दै उहाँले यस कठिन घडीमा बाढी प्रभावित व्यक्तिहरूको राहत, उद्धार र पुनस्र्थापनाका लागि एकताबद्ध भई अगाडि बढ्न सबैलाई आह्वानसमेत गर्नुभएको छ ।
यसैबिच उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधान दिवस तथा राष्ट्रिय दिवसको शुभकामना दिँदै संविधानको मूल मर्म अनुसार समावेशिता, समानता, जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व र साझा भविष्यप्रति सबैले प्रतिबद्धता जनाउनुपर्ने बताउनुभएको छ ।
उहाँले नेपालको संविधान नेपाली जनताको दीर्घ सङ्घर्ष, विविधता र समावेशिताको ऐतिहासिक उपलब्धि रहेको समेत बताउनुभएको छ । सन्देशमा भनिएको छ, “पछिल्लो समय संविधानको चौतारोभित्रै रहेर सामाजिक आन्दोलनहरूको सम्बोधन तथा सङ्क्रमणकालीन व्यवस्थाहरूको गठनले संविधानको लचकता, समाधानमुखी प्रकृति र समावेशी चरित्रलाई पुनः पुष्टि गरेको छ ।”


प्रतिक्रिया