न्यू योर्क । के तपाईं आफ्ना किशोरकिशोरी छोराछोरीले स्कुलमा राम्रो अंक ल्याऊन् भन्ने चाहनुहुन्छ ? एउटा अध्ययनले उनीहरूलाई सुतेबापत पैसा दिएर जाँची हेर्नुपर्ने सुझाव दिएको छ । राति कम्तीमा सात घण्टा सुतेबापत नगद पाउने विद्यार्थीहरू धेरै बेर मात्र सुतेनन्, उनीहरूले परीक्षामा राम्रो अंक पनि ल्याएको पाइएको छ ।
बेलायती अखबार द टाइम्सका अनुसार, अमेरिकाका अनुसन्धानकर्ताहरूले औसत १९ वर्ष उमेर भएका एक हजार एक सयभन्दा बढी विद्यार्थीहरूलाई यस अध्ययनमा सामेल गरेका थिए । तीमध्ये ४ सय ६८ जनालाई हप्ताका दिनहरूमा कम्तीमा सात घण्टा सुतेबापत हरेक पटक ४.७५ डलर (करिब ३.५५ पाउन्ड) दिने प्रस्ताव गरिएको थियो । उनीहरूको निद्रालाई ’फिटबिट’ नाडी घडीको मद्दतले निगरानी गरिएको थियो । मज्जाले सुतेबापत विद्यार्थीहरूलाई भोलिपल्ट बिहानै पैसा दिइन्थ्यो ।
चार हप्तासम्म चलेको यो अध्ययनमा, नगद पुरस्कारको प्रस्ताव गरिएका विद्यार्थीहरू सामान्य अवस्थामा छाडिएका अन्य विद्यार्थीहरूको तुलनामा हरेक राति औसतमा १९ मिनेट बढी सुतेका थिए । यसरी पैसा पाउँदा उनीहरूले कम्तीमा सात घण्टा सुत्ने सम्भावना २५ प्रतिशतभन्दा बढीले बढेको थियो । उनीहरूले बिहान ढिलोसम्म सुत्नुको साटो राति चाँडै सुतेर यो अतिरिक्त निद्रा पूरा गरेका थिए ।
यसले उनीहरूको ग्रेडमा पनि केही सुधार ल्याएको पाइएको छ । ४.० लाई उत्कृष्ट ‘ए’ मानिने अमेरिकी जिपिए मूल्यांकन प्रणालीमा उनीहरूको औसत सुधार करिब ०.०८ अंकको थियो । साना विद्यार्थीहरू तथा विज्ञान वा गणित पढ्नेहरूमा यो सुधार अझ धेरै देखिएको थियो । उदाहरणका लागि, कलेजको पहिलो सेमेस्टरमा पढ्नेहरूको जिपिए करिब ०.१७ अंकले बढेको थियो । यसले उनीहरूको ‘ए–माइनस’ ग्रेडलाई ‘ए’को नजिक पु¥याउन मद्दत ग¥यो ।
युनिभर्सिटी अफ पिट्सबर्गका अर्थशास्त्री ओसिया जिउन्टेलको नेतृत्वमा रहेका अनुसन्धानकर्ताहरूले ‘जर्नल अफ पोलिटिकल इकोनोमी’मा लेखेका छन्, “निद्रालाई लक्षित गरेर गरिएको कुनै पनि प्रयासले शैक्षिक नतिजामा सुधार ल्याउन सक्छ भनेर देखाउने यो हाम्रो पहिलो अध्ययन हो ।”
बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) को निर्देशिका अनुसार किशोरकिशोरीहरूलाई सामान्यतया राति आठदेखि दस घण्टाको निद्रा आवश्यक पर्छ । सन् २०२३ मा प्रकाशित बेलायतका बालबालिकाको स्वास्थ्य व्यवहारसम्बन्धी एउटा ठूलो सर्वेक्षणले ११ देखि १५ वर्ष उमेर समूहका करिब एक तिहाइ विद्यार्थीले स्कुलमा राम्ररी ध्यान केन्द्रित गर्न आफूहरूले पर्याप्त निद्रा नपाएको बताएका थिए । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया