असोज ८, २०८३ बिहिबार September 24, 2026

भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द

आवश्यकताअनुसार असोज ८ र ९ गते विद्यालयमा बिदा गराउन स्थानीय तहलाई अनुरोध

विद्यालय बन्द
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लमजुङ, ८ असोजः केही दिन मुलुकभर भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागले जनाएसँगै विपद्बाट हुनसक्ने जोखिम न्यूनीकरण तथा विद्यार्थी, शिक्षक र कर्मचारीको सुरक्षालाई दृष्टिगत गर्दै लमजुङका पाँच स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

बेँसीसहर, सुन्दरबजार र मध्यनेपाल नगरपालिका तथा क्व्होलासोथार र दोर्दी गाउँपालिकाले आज छुट्टाछुट्टै सूचना जारी गरी विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । चार स्थानीय तहले शुक्रबार एक दिन विद्यालय बन्द गर्ने जनाएका छन् भने मध्यनेपाल नगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने जनाएको छ ।

विभागको विशेष मौसमी बुलेटिनअनुसार असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षा हुने सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात तथा हावाहुरी र चट्याङ पनि पर्न सक्ने पूर्वानुमान गरिएको छ ।

सोही अवस्थालाई मध्यनजर गर्दै शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारी सुरक्षित रहने गरी आवश्यकताअनुसार असोज ८ र ९ गते विद्यालयमा बिदा गराउन स्थानीय तहलाई अनुरोध गरेको छ ।

बेँसीसहर नगरपालिकाले नगर क्षेत्रमा निरन्तर वर्षा भइरहेको र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो । नगरले उक्त बिदा अन्य बिदामा समायोजन गर्ने जनाएको छ । सुन्दरबजार नगरले पहिरो, भूक्षय जानसक्ने, खोलानाला बढ्ने, सडक अवरुद्ध हुनेलगायत जोखिमलाई ध्यानमा राख्दै सम्पूर्ण शैक्षिक संस्था सञ्चालन नगर्ने जनाएको छ ।

नगरपालिकाले अत्यावश्यक कामबाहेक टाढा तथा जोखिमयुक्त यात्रा नगर्न र जोखिम देखिएमा सुरक्षित स्थानमा सर्नका लागि तयार रहन पनि आग्रह गरेको छ । मध्यनेपाल नगरपालिकाले दुई दिन विद्यालय बन्द गर्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन तथा अत्यावश्यक कामबाहेक टाढाको यात्रा नगर्न अनुरोध गरेको छ ।

दोर्दी गाउँपालिकाले विद्यार्थी, शिक्षक तथा कर्मचारीको आवतजावतमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखी गाउँपालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त बिदा शैक्षिक क्यालेन्डरको हिउँदे बिदाबाट एक दिन घटाई मिलान गर्ने र विद्यालयले सट्टा पठनपाठनको व्यवस्था मिलाउने जनाएको छ ।

क्व्होलासोथार गाउँपालिकाले पनि विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षालाई प्राथमिकतामा राख्दै सम्पूर्ण विद्यालय एक दिन बन्द गर्ने जनाएको छ । गाउँपालिकाले बिदाको समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन तथा बाढी, पहिरो, हिमपात, हावाहुरी र चट्याङको सम्भावित जोखिमबाट सुरक्षित रहन आग्रह गरेको छ ।

भारी वर्षासँगै बाढी, पहिरो, भूक्षय, खोलानालामा पानीको बहाव बढ्ने तथा सडक अवरुद्ध हुनसक्ने भएकाले स्थानीय तहहरूले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । जोखिमयुक्त नदी तथा खोलाका किनार र पहिरो सम्भावित क्षेत्रमा नजान तथा मौसम र विपद्सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा लिन पनि अनुरोध गरेका हुन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्यालय बन्द
भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द
२०८३ असोज ८, बिहिबार
ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट
२०८३ असोज ८, बिहिबार
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३ असोज ८, बिहिबार
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार
२०८३ असोज ८, बिहिबार
तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह
२०८३ असोज ८, बिहिबार
कांग्रेस महाधिवेशनः ६६ जिल्लाका ६३० जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न
२०८३ असोज ८, बिहिबार
यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका २२ निर्णय : विद्या भण्डारी वरिष्ठ नेता, २७ जना मनोनीत
२०८३ असोज ८, बिहिबार