काठमाण्डाैंः पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफका विरुद्धमा पुनः अर्को मुद्धा दर्ता गराउने तयारी गरिएको छ । भ्रष्टाचार विरुद्धको अनुसन्धान गर्ने सरकारी निकायले उनका विरुद्धमा भ्रष्टाचार सम्बन्धी फेरि अर्को मुद्दा दर्ता गर्ने तयारी गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रधानमन्त्री इमरान खानले भ्रष्टाचार सम्बन्धी अरु घटना सार्वजनिक हुन लागेको अभिव्यक्ति दिएको केही दिनपछि यस्तो समाचार आएको हो ।
पूर्व प्रधानमन्त्री ७० बर्षीय नवाज सरिफ पाकिस्तान मुस्लीम लिग (नवाज)को तर्फबाट प्रधानमन्त्री भएकै बेला यसअघि सन् २०१७ बाट सर्वोच्च अदालतको आदेशमा अपदस्त भएका थिए । अदालतले उनले ठूलो अनियमितता गरेको ठहर गर्दै उनलाई पदमा बसिरहन नमिल्ने ठहर गरेपछि अपदस्त गरिएको थियो ।
त्यसदेखि नियन्त्रणमा रहेका नवाज गम्भीर अवस्थामा अस्वस्थ भएकाले केही महिना अगाडि उपचारका लागि बेलायतको राजधानी लण्डनमा रहेका छन् । यसअघि उनकी श्रीमतीको पनि उपचारकै क्रममा बेलायतमै निधन भएको थियो ।
राष्ट्रिय उत्तरदायी विभागले नवाजसँगै उनका पूर्व निजी सचिव फवाद हसन फवाद, पूर्व संघीय मन्त्री अशन इक्बाल, पूर्व विदेश सचिव एजाज चौधरी र पूर्व गुप्तचर विभाग प्रमुख अफ्ताब सुल्तान विरुद्ध पनि मुद्दा चलाउन लागिएको डन पत्रिकाले लेखेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया