असोज २२, २०८३ बिहिबार October 8, 2026

मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु

अमेरिकासँग भएको सहमतिअनुसार महन वायुसेवाबाहेकका इरानी वायुसेवा कम्पनीलाई नजफबाट दैनिक उडान सञ्चालन गर्न अनुमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तेहरान, २२ असोज । मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलो पटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक विमान इरानमा अवतरण गरेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार बिहीबार इराकको राष्ट्रिय ध्वजावाहक वायुसेवाको विमान राजधानी तेहरान पुगेको हो ।

अमेरिकाले इराकी वायुसेवालाई इरानमा उडान सञ्चालन गर्न प्रतिबन्धबाट विशेष छुट दिएपछि उक्त उडान सञ्चालन भएको हो ।

सरकारी टेलिभिजनले प्रसारण गरेको दृश्यमा इराकको नजफबाट उडेको विमान तेहरानस्थित इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको देखाइएको छ । यो उडान यात्रु लिएर नजफदेखि तेहरान पुगेको र पुनः फर्किने सेवा रहेको जनाइएको छ ।

सरकारी टेलिभिजनका अनुसार विमान स्थानीय समयअनुसार बिहान ६ बजेर ५० मिनेटमा सुरक्षित रूपमा इमाम खोमेनी विमानस्थलमा अवतरण गरेको थियो ।

गत महिना इराकको यातायात मन्त्रालयले अमेरिकाले इराकी वायुसेवालाई इरानमा उडान सञ्चालनका लागि विशेष छुट दिएको जानकारी दिएको थियो । इराकी अधिकारीका अनुसार यो छुट मुख्यतः इरान र नजफबीच धार्मिक तीर्थयात्रीको आवतजावतका लागि लागू गरिएको हो । नजफ शिया मुस्लिम समुदायका लागि अत्यन्त महत्वपूर्ण धार्मिक स्थल हो ।

यसैबीच, इराकी सरकारले गत साता अमेरिकासँग भएको सहमतिअनुसार महन वायुसेवाबाहेकका इरानी वायुसेवा कम्पनीलाई नजफबाट दैनिक उडान सञ्चालन गर्न अनुमति दिइएको जनाएको थियो ।

यो घटनाक्रम अमेरिकाले इरानको हवाई उद्योगमाथि प्रतिबन्ध थप कडा बनाएको केही समयपछि आएको हो । अमेरिकी प्रतिबन्धका कारण प्रमुख इरानी वायुसेवा कम्पनीहरूले अन्तर्राष्ट्रिय उडान रद्द गर्नुपरेको थियो भने विभिन्न देशले समेत इरानी विमानमाथि उडान प्रतिबन्ध लगाएका थिए ।

गत सेप्टेम्बरको अन्त्यमा इरानले अमेरिकी प्रतिबन्धविरुद्ध संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनमा औपचारिक उजुरीसमेत दर्ता गराएको थियो ।
हाल इरानबाट बाहिरिने वा इरान प्रवेश गर्ने यात्रुका लागि छिमेकी टर्कीका गन्तव्यहरू प्रमुख हवाई विकल्प बनेका छन् । इरानी वायुसेवा कम्पनीहरूले अफगानिस्तान, पाकिस्तान, चीन, रुस, मलेसिया र थाइल्यान्डमा भने अझै उडान सञ्चालन गरिरहेका छन् ।

यसअघि इरानी वायुसेवाका लागि मध्यपूर्वको सबैभन्दा महत्वपूर्ण गन्तव्य मानिने संयुक्त अरब इमिरेट्सले भने इरानी वायुसेवाका उडानहरू निलम्बन गरेको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया