काठमाडौँ, ३१ असोजः नेपाली सेनाले भोटेकोशी बाढीपछि विपद्का घटनामा गरिएको खोज, उद्धार तथा पुनःस्थापनालाई समन्वय, सहकार्य र आपसी सहयोगको उत्कृष्ट संयोजनको संज्ञा दिएको छ ।
बाढीपहिरो प्रभावित क्षेत्रमा सडक र पुल भत्किएर आवागमन ठप्प भएको बेला बदलिँदो परिस्थितिअनुसार प्रविधिको उपयोग गर्दै विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सेनाले देखाएको तत्परता र व्यावसायिक क्षमतालाई प्रतिबिम्बित गरेको स्पष्ट पारेको छ ।
सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार प्रतिकूल मौसम, दुर्गम भूगोल र चुनौतीपूर्ण परिस्थितिका बाबजुद त्यो कठिन घडीमा नागरिकको जीवन रक्षालाई उच्च प्राथमिकतामा राखि गरिएको खोज, उद्धार, राहत र स्थानान्तरणमा सुरक्षा फौज समन्वयका साथ सक्रिय रूपमा परिचालित थियो ।
रसुवाबाढीपछि प्रभावित क्षेत्रको अवस्थाको स्मरण गराउँदै सेनाले लेखमार्फत उपलब्ध गराएको विवरणमा भनिएको छ– “जोखिमपूर्ण परिस्थितिमा परिचालित सैनिकहरूको साहस, कर्तव्यनिष्ठा, व्यावसायिक दक्षता र सेवाभावले जनताको सुरक्षा तथा कल्याणप्रतिको प्रतिबद्धतालाई व्यवहारमै अभिव्यक्त गरेको छ ।”
‘समर्पणले नागरिकमा भरोसा जगाएको छ’
भदौ १० गते भोटेकोशीको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा पुनःस्थापनाको कार्य जारी रहेकै अवस्थामा असोजमा भएको अविरल वर्षाले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम थप बढायो । बागलुङ, पर्वत, म्याग्दी, मनाङ र मुस्ताङलगायत जिल्लामा जनधनको क्षति भयो । बाढी र पहिरोबाट सडक तथा पुलमा क्षति पुग्दा स्थानीय बासिन्दा र पर्यटकको आवागमनसमेत प्रभावित भयो । विपद्को त्यस्तो कठिन घडीमा नागरिकको जीवन रक्षा र सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै सेना तत्काल खोज तथा उद्धार, राहत वितरण र जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरणमा सक्रिय रूपमा परिचालित थियो ।
प्रतिकूल मौसम, दुर्गम भूगोल र चुनौतीपूर्ण परिस्थितिका बाबजुद नेपाली सेनाले स्थल तथा हवाई साधन, स्वास्थ्यकर्मी र इन्जिनियरिङ फौजसहित हजारौँ सैनिकलाई चौबिसै घण्टा परिचालन गरी विपद् प्रतिकार्यलाई तीव्रता दियो । जोखिमपूर्ण स्थानमा रहेका १२७ जनालाई हवाई साधनमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै प्रभावित क्षेत्रमा अत्यावश्यक राहत सामग्री पुर्याइएको थियो । सडक अवरुद्ध भएका स्थानमा उद्धार तथा सडक पुनः सञ्चालनका लागि प्रयोग गरिने मेसिनमा इन्धन आपूर्ति गर्न ड्रोनको प्रयोगसमेत गरिएको थियो । यसले बदलिँदो परिस्थितिअनुसार प्रविधिको उपयोग गर्दै विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने नेपाली सेनाको तत्परता र व्यावसायिक क्षमतालाई प्रतिबिम्बित गरेको छ ।
यसैक्रममा मनाङको चामे गाउँपालिका–४ स्थित ठाडो खोलामा पहिरोका कारण थुनिएको मस्र्याङ्दी नदीको बहाव पूर्ववत् सञ्चालनमा ल्याउन सेना सक्रिय रह्यो । अवरुद्ध विद्युत् प्रसारण लाइन सञ्चालनमा सहयोग गर्नुका साथै बाढीले बगाएको पुलको स्थानमा अस्थायी पुल निर्माण गरी माथिल्लो मनाङसँगको आवागमन सुचारु गराउने कार्यमा समेत सेनाले योगदान पुर्याएको थियो । त्यस्तै, नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी मृत्यु भएका पर्यटकहरूको शव हवाई माध्यमबाट उद्धार गर्ने कार्यमा सहयोग गरी मानवीय दायित्व निर्वाह गरेको छ ।
असोज २५ गते बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धारमा समेत सेना तत्काल परिचालित भयो । एमआई–१७ सहित चारवटा हेलिकप्टर तथा स्थलमार्गबाट परिचालित उद्धार टोलीले विभिन्न प्रभावित क्षेत्रबाट विदशीसहित एक हजार १०६ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्यो । बाढीबाट प्रभावित स्थानीयवासीका घरमा डुबानमा परेका सामान सुरक्षित रूपमा निकाल्न सहयोग गर्नुका साथै सडक सञ्जाल विच्छेद भएका क्षेत्रमा करिब १८ हजार ६८० किलोग्राम खाद्यान्न तथा राहत सामग्री ढुवानी गरियो । बाढीबाट क्षतिग्रस्त आरुघाटस्थित पुलको स्थानमा बेलिब्रिज जडान गरी आवागमन पुनः सञ्चालन गर्ने तयारी अघि बढाउनु पनि प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन नेपाली सेनाले निर्वाह गरेको महत्त्वपूर्ण भूमिकामध्ये एक हो । यसअघि भोटेकोशी बाढीबाट क्षति पुगेको सडक सुचारु गर्न देविघाटस्थित तादी खोला र बेत्रावतीस्थित फलाकु खोलामा एक्रोबृज जडान गरी रसुवालाई विच्छेद भएको सडक सञ्जालसँग जोड्ने कार्यमा सहयोग पुर्याएको छ ।
सेनाका यी प्रयासहरू खोज, उद्धार र राहत वितरणमा मात्र सीमित छैनन् । विपद्मा परेका नागरिकको जीवन रक्षा, आधारभूत आवश्यकताको परिपूर्ति, सुरक्षित आवागमनको व्यवस्था तथा जनजीवनलाई सामान्य अवस्थामा फर्काउन सहयोग पुर्याउनु यसका महत्त्वपूर्ण पक्ष हुन् ।
जोखिमपूर्ण परिस्थितिमा परिचालित सैनिकहरूको साहस, कर्तव्यनिष्ठा, व्यावसायिक दक्षता र सेवाभावले जनताको सुरक्षा तथा कल्याणप्रतिको प्रतिबद्धतालाई व्यवहारमै अभिव्यक्त गरेको छ ।
विपद् व्यवस्थापन सम्बद्ध सबै निकायहरूको समन्वय र सहकार्यबाट मात्र प्रभावकारी हुन सक्दछ । नेपाल सरकारको निर्देशनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय प्रशासन, स्थानीय तह तथा समुदायबीच स्थापित समन्वय र सहकार्यले खोज, उद्धार, राहत वितरण र तत्कालको पुनर्निर्माण कार्यलाई थप प्रभावकारी बनाएको छ । अन्य सुरक्षा निकाय तथा सम्बद्ध सरोकारवालाहरूको एकीकृत प्रयासले विपद् प्रभावित नागरिकलाई समयमै सहायता पुर्याउन र जोखिम न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्याएको हो । भौगोलिक अवस्था, सिमित एयर स्पेस, थुनिएका टनेल र पूर्ण रूपमा बन्द स्थलमार्गजस्ता चुनौतीपूर्ण अवस्थामा पनि विपद् पश्चातको हवाई, जमिनी र टनेल खोज तथा उद्धार कार्य त्रुटीरहित ढङ्गबाट सम्पन्न गर्न नेपाली सेना सफल भएको छ ।
प्राकृतिक विपद्का कारण नागरिकको जनजीवन प्रभावित हुँदा उनीहरूको जीवन रक्षा र सुरक्षित भविष्य सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व हो। यस दायित्व निर्वाहमा सेनाले देखाउँदै आएको तत्परता, मानवीय संवेदनशीलता र समर्पणले सङ्कटको समयमा नागरिकमा भरोसा र आशा जगाएको छ। सेवा, सुरक्षा र मानवीय समर्पणलाई मूल भावका रूपमा आत्मसात् गर्दै नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि आफ्नो कर्तव्य निर्वाह गर्न प्रतिवद्ध छ । राससबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया