काठमाण्डौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनबीच शिष्टाचार भेटवार्ता भएको छ ।
भेटका क्रममा सभामुख अर्यालले रसुवा तथा भोटेकोसी क्षेत्रमा बाढीबाट उत्पन्न विपत्का बेला नेपालप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद दिएका छन् ।
उनले तान्जानियाको आरुषामा हालै सम्पन्न अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको आपत्कालीन एजेन्डा दुई तिहाइभन्दा बढी मतसहित पारित भएको जानकारी गराएका थिए ।
‘जलवायुसम्बन्धी विपत्को सामना गर्न तथा हिमालय क्षेत्र र अन्य जोखिममा रहेका क्षेत्रको उत्थानशीलता सुदृढ गर्न तत्काल संसदीय पहल’ शीर्षकको उक्त प्रस्ताव नेपालले प्रस्तुत गरेको थियो ।
जलवायु परिवर्तनका कारण विपत्बाट प्रभावित तथा जोखिममा रहेका क्षेत्रको क्षति न्यूनीकरण, विपत् पूर्वतयारी र उत्थानशीलता सुदृढ गर्न आवश्यक पहल गर्नुपर्नेमा सभामुख अर्यालले जोड दिएका थिए ।
उनले यस विषयमा अन्तर्राष्ट्रिय तथा अन्तरसंसदीय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा पनि राखेका थिए । भेटमा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग तथा साझा चासोका विषयमा समेत विचार आदानप्रदान भएको जनाइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया