कार्तिक १४, २०८३ शनिबार October 31, 2026

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र स्थानीय सहकारीले धान खरिद सुरु नगर्दा किसान व्यापारीलाई कम मूल्यमा धान बेच्न बाध्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

राँझा (बाँके), १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई सस्तो दरमा धान बेच्न बाध्य भएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार ६६० र मध्यमको रु तीन हजार ८६० निर्धारण गरेको छ । तर, व्यापारीले कम्पनीले निर्धारण गरेको मूल्यभन्दा रु पाँच सय देखि एक हजारसम्म सस्तो दरमा धान खरिद गरिरहेको नेपालगन्ज–१९ सुईयागाउँका किसान ध्रुव थापाले बताउनुभयो ।

“यस वर्ष धान राम्रै फलेको छ, खाद्यले खरिद गर्ने समयसम्म भण्डारण गरेर राख्ने ठाउँ छैन”, उहाँले भन्नुभयो, “चाडपर्व खर्च जुटाउन गाह्रो भएकाले पनि यतिबेला किसानले व्यापारीलाई सस्तैमा धान बेच्नुपरेको छ ।”

उहाँले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले महँगो दरमा धान खरिद गर्ने भए पनि ढिला गरी खरिद गर्ने र खरिद प्रक्रिया झन्झटिलो भएका कारण किसानले व्यापारीलाई सस्तो दरमा धान बेच्ने गरेको बताउनुभयो ।

कम्पनीले गत वर्ष मोटा धानको रु तीन हजार ४६३ र मध्यमको रु तीन हजार ६२८ निर्धारण गरेको थियो । कम्पनीको मुख्य शाखा कार्यालय नेपालगन्जले गत वर्ष २० हजार क्विन्टल कोटा तोकेर धान खरिद गरेकामा यस वर्ष अहिलेसम्म कोटा तोकिएको छैन ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र स्थानीय सहकारीले धान खरिद सुरु नगर्दा किसान व्यापारीलाई कम मूल्यमा धान बेच्न बाध्य भएको खजुरा गाउँपालिका–२ का किसान गेहेन्द्र धितालले बताउनुभयो । उहाँले सरकारले धानको समर्थन मूल्य तोके पनि व्यापारीले आफूखुसी मूल्य राखेको बताउनुभयो । बाँकेका अधिकांश किसानले दसैँअगाडि नै घरमा धान भित्र्याइसकेका छन् ।

“समयमा धान खरिद गर्न कम्पनीको कुनै तयारी नै छैन, बजारमा व्यापारीले सस्तोमा धान खरिद गरिरहेका छन्”, धितालले भन्नुभयो, “वर्षभरिको मिहिनेतलाई किसानले घाटा खाएर बेच्न बाध्य भएका छौँ ।” अधिकांश मध्यम र निम्नस्तरका किसानलाई भर्खरै भित्र्याएको धान बिक्री गरेर चाडपर्व मनाउने पैसा जुटाउन सस्तोमा बिक्री गर्न बाध्य भएको उहाँको भनाइ छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले केन्द्रबाट धानको मूल्य निर्धारण भए पनि खरिद कोटा अहिलेसम्म नतोकिएको बताउनुभयो । केन्द्रबाट कोटा निर्धारण भएको पत्र आउनेबित्तिकै खरिद सुरु गर्ने उहाँले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शनिबार टर्की भ्रमण गर्ने
२०८३ कार्तिक १४, शनिबार
फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै
२०८३ कार्तिक १४, शनिबार
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण
२०८३ कार्तिक १४, शनिबार
भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध
२०८३ कार्तिक १४, शनिबार
रास्वपा सचिवालय बैठक बस्दै
२०८३ कार्तिक १४, शनिबार
बीपी र कर्णाली राजमार्ग पूर्ण अवरुद्ध, बुढीगण्डकीको पुल बगाउँदा दुई वडा सडक सम्पर्कविहीन
२०८३ कार्तिक १४, शनिबार
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दै, २४ घण्टामा ३१४ सवारी कारबाहीमा
२०८३ कार्तिक १४, शनिबार