काठमाडौं । तारकेश्वर नगरपालिकाका नागरिकलाई सहज, सुरक्षित र भरपर्दो सार्वजनिक यातायात सेवा उपलब्ध गराउने उद्देश्यले नगरपालिका र साझा यातायात सहकारी संस्था लिमिटेडबीच बस सेवा सञ्चालनसम्बन्धी समझदारी भएको छ।
समझदारीअनुसार तारकेश्वर नगरपालिकाले साझा बस सञ्चालनका लागि आवश्यक व्यवस्था गर्ने भएको छ। यससँगै नगरपालिकाका विभिन्न क्षेत्रलाई काठमाडौंका प्रमुख आवागमन केन्द्रसँग जोड्ने सार्वजनिक यातायात सेवा सञ्चालनको प्रक्रिया अघि बढ्ने भएको हो।
प्रस्तावित रुटअनुसार सुन्धारादेखि महाराजगञ्ज, नयाँ बसपार्क, मुड्खु, तिनपिप्ले चोक, चिसापानी, सानो बाइपास, धर्मस्थली, जरङ्खु, नेपालटार हुँदै बालाजु बाइपाससम्म बस सञ्चालन गरिनेछ। बस सोही रुट हुँदै पुनः फर्किने प्रस्ताव गरिएको छ।
यो सेवा सञ्चालनमा आएपछि तारकेश्वरका विद्यार्थी, कर्मचारी, व्यवसायी, ज्येष्ठ नागरिक तथा सर्वसाधारणको दैनिक आवागमन सहज हुने अपेक्षा गरिएको छ। साथै शिक्षा, स्वास्थ्य, रोजगारी, व्यापार तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने नगरपालिकाको विश्वास छ।
समझदारीपत्रमा तारकेश्वर नगरपालिकाका तर्फबाट नगरप्रमुख कृष्णहरि महर्जन, प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल र वडा नं. ३ का अध्यक्ष परशुराम अर्यालले हस्ताक्षर गरेका छन्। त्यसैगरी साझा यातायातका तर्फबाट अध्यक्ष सुशीलराज प्याकुरेल र प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालले हस्ताक्षर गरेका छन्।
कार्यक्रममा नगरपालिकाका कर्मचारी तथा सम्बन्धित प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
साझा यातायातसँगको यो समझदारीलाई तारकेश्वरमा सार्वजनिक यातायात सेवा विस्तार तथा व्यवस्थित सहरी आवागमनको दिशामा महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। बस सेवा सञ्चालनमा आएपछि नगरवासीले सार्वजनिक यातायातमा थप सुविधा पाउने अपेक्षा गरिएको छ।



युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया