मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

देउवा नियतवश फसे कि नियतिले फसायो ? – सुदर्शन आचार्य

देउवाको छायाबाट बाहिरिँदै कांग्रेस, सुरु भयो पुस्तान्तरणको नयाँ अध्याय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नेपाली कांग्रेस आफ्नै पार्टीका तत्कालीन सभापति शेरबहादुर देउवाको छायाबाट बाहिर निस्किएको छ । कांग्रेस पार्टीलाई चीनको कोमिन्ताङ पार्टीकै इतिहासको पानामा मात्र सीमित हुने तहबाट देउवालाई नै पार्टी सभापति बनाउन मतदान गर्ने महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन नामको वैधानिक विद्रोहबाट बचाएका हुन् ।

भलै, सो पार्टीले यतिवेला नियमित अर्थात् १५ औँ महाधिवेशनसमेत सम्पन्न गरिसकेको छ । नयाँ पुस्ता कांग्रेसलाई माया गर्न तयार थियो र छ पनि । तर, देउवा नेतृत्वमै रहेको कांग्रेसलाई भने होइन । किनकि, कांग्रेसकै तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले कांग्रेसलाई परिवर्तनको बाटोमा लैजान पटकपटक देउवालाई सम्झाउने प्रयत्न नगरेका होइनन् । गगन–विश्व नै थाके तर, देउवा बदलिएनन् ।

हिजो देउवा सिंगै कांग्रेसको सभापति बन्दा पनि कांग्रेस सभापतिको हैसियतले पार्टीमा नयाँ उत्साह भर्न सकेनन् । जसका कारण राष्ट्रिय राजनीतिमा कांग्रेसको अवस्था सधैँ रक्षात्मक मात्र रहन पुग्यो । देउवा नेतृत्वको कांग्रेसको अवस्था त्यतिमा मात्र रोकिएन, हुँदाहुँदा कार्यकर्ता तहमा छाएको निराशाले कांग्रेसप्रति नागरिक तहमै वितृष्णा उत्पन्न हुन पुग्यो ।

सँगै कांग्रेसभित्र पुस्तान्तरणको बहस पछिल्लो एक दशकदेखि हुँदै आए पनि देउवाले त्यसलाई नजरअन्दाज गर्दै आए । यसका अलावा देउवा र उनीपक्षीय एकजना नेता दीपक खड्काको घरमा जेन–जी विद्रोहको समयमा जलेको भनिएको डलरसहित करोडौँ रुपैयाँका विषयले कार्यकर्ताको मनोबल उठ्नै नसक्ने गरी गिर्न पुग्यो । जुन मनोबल उठाउनैका निम्ति पनि विशेष महाधिवेशन, अर्थात् कांग्रेसबाट देउवाको बहिर्गमन अवश्यम्भावी थियो ।

कसैबाट फसाइएका हुन् भने कांग्रेसलाई कमजोर बनाउन प्रयोग भएको चुनदेवी अड्डाबाट निस्केर देउवाले सम्मानजनक बिदाइको बाटो रोज्नेछन् । अन्यथा, नियतवश फसेका हुन् भने अरूलाई फसाउने खेलमा लागेका मान्छेलाई एक दिन नियतिले आफैँलाई फसाउने निश्चित छ । 

देउवापक्ष यतिवेला पार्टीको समानान्तर महाधिवेशनको चर्चा चलाउँदै छ । समानान्तर महाधिवेशनबारे ‘बाँदर राजा’को कथाको सन्दर्भ यहाँ सान्दर्भिक देखिन्छ । कथाका अनुसार, अल्छी सिंह जंगलको राजा भएको मन नपराएको बाघले जंगलका सम्पूर्ण जनावर जम्मा गरी राजा परिवर्तन गर्ने चालबाजी चल्यो ।

जसका निम्ति एकैपटक राजाको पद आफूमा ल्याउन सम्भव नदेखेपछि बाघले जंगलका अन्य जनावरलाई राजा हुन प्रस्ताव राख्यो । सिंह र बाघका सामु राजा हुने सपना देख्दा मारिने डरले कुनै जनावर राजा हुन तयार भएनन् । तर, बाँदर भने आफू मारिने खतरा हुँदा रुख चढ्न सक्ने सपनासहित राजा हुन तयार भयो ।

गड्गडाहट तालीका साथ बाँदर राजा घोषित भयो । एकदिन हरिणको एउटा बच्चालाई राजा पद खोसिएको सिंहले नियन्त्रणमा लियो । हरिणलगायत सम्पूर्ण जनावर उक्त बच्चा नियन्त्रणमुक्तिका निम्ति जंगलका राजा बाँदरकहाँ पुगे ।

बाँदर तत्काल सो सिंह भएको ठाउँ पुगी हरिणको मुक्तिका निम्ति रुखका हाँगाहरू चहार्न थाल्यो । पटकपटक उसले ओल्लो हाँगो र पल्लो हाँगो गर्दै समय व्यतीत ग¥यो । त्यत्तिकैमा हरिणले झर्किँदै बाँदरमाथि आफ्नो बच्चाको मुक्तिको प्रश्न गर्दा बाँदरले जवाफ दियो, ‘देख्नुभएन, म निरन्तर प्रयत्न गरिरहेको छु ।’ आज देउवा समूहको कांग्रेसको महाधिवेशनको चर्चा पनि ठ्याक्कै त्यही बाँदरको कथाजस्तै छ ।

महाधिवेशनको कथित समानान्तर गतिविधि गरिरहेका देउवा यतिवेला ‘पार्टीका लागि जस्तोसुकै त्याग गर्न पनि तयार छु’ भन्दै छन् । अब आजकै मितिमा देउवाले त्याग गर्ने विषय नै बाँकी छैन । उनले केवल युवापुस्ताका नेता गगन, विश्व र प्रदीपहरूलाई स्वीकार गर्न गाह्रो भयो भन्ने मनोविज्ञान मात्र त्याग गरे पुग्छ ।

सायद देउवालाई त्यो मनोविज्ञान त्याग गर्न दिन भने शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाको त कुरै छाडौँ, कान्छाराम तामाङसमेत तयार छैनन् । किनकि हिजो कान्छारामका नेता देउवा थिए । आज परिस्थिति बदलिएको छ । आज देउवा नै कान्छारामहरूको खटनपटनमा परिचालित छन् ।

देउवामाथि यतिवेला पनि प्रश्नैप्रश्न त छँदै छन् । बौद्धिक तह यतिवेला देउवालाई सोधिरहेछ, ‘नियतवश फस्नुभयो कि नियतिले फसायो ?’ किनकि हिजो पनि संसद् विघटन गरी राजालाई ‘कू’ गर्न बाटो खोलेको आरोपबाट देउवा मुक्त थिएनन् ।

अर्कातिर छिमेकी दुई मुलुक भारत र चीनलगायतसँगको सम्बन्ध पनि देउवाले राष्ट्रिय हितमा भन्दा सत्ताप्राप्ति र सत्ता जोगाउनमै प्रयोग गरे । आलोचना सुन्नै नसक्ने र आर्थिक दृष्टिकोणमा समेत देउवा शून्य रहे ।

हुँदाहुँदा पाँचपटक प्रधानमन्त्री बनेर सत्ता त चलाए, तर सत्तालाई देश बनाउने माध्यम हो भन्ने कुरा बुझ्नै सकेनन् । समग्रमा देउवा हिजो पनि प्रयोग भए र आज पनि सिंगो कांग्रेस पार्टीलाई नै कमजोर बनाउन देउवा नियतवश प्रयोग भई नै रहेका छन् ।

देउवाको सन्दर्भमा ‘नियत र नियति’बिच निकै लुकामारी देखिन्छ । उनी आफैँ नियतवश गगन–विश्वलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी दिन तयार थिएनन् । यहीवेला नियतिले देउवाको साथमा ‘नवयुवराज’हरू प्रकाशमान, शशांक, विमलेन्द्रलाई पुर्याइदियो ।

आफूलाई बेँसी जान मन लागेको, ‘बा’ले घचेडिदिए भनेझैँ गगन–विश्वसहित कांग्रेसलाई कमजोर बनाउने देउवाको चाहनामा कान्छाराम र ‘नवयुवराज’हरूको दागी समूह टुप्लुक्क देउवाकै निवास चुनदेवी पुग्न तयार भयो । र, भन्यो, ‘गगनलाई सभापति मान्ने कुरै छैन ।’ जेन–जी विद्रोहपश्चात् देशको राजनीतिक धरातल बदलिएको ‘नवयुवराज’हरूले भेऊ नै पाएनन् ।

एकातिर पक्राउ पुर्जी र अर्कातिर रेड कार्पेटको स्थितिको मूल्यांकन नै नगरी कांग्रेस कमजोर बनाउन केही स्वार्थी समूहले देउवालाई यतिवेला देश दौडाहामा लगि नै रहेको छ ।

हुन त नियतवश आफैँ पनि फस्ने व्यक्ति नै हुन्, देउवा । किनकि, सत्ताका लागि कहिले वामपन्थीसँग आलोपालोको सम्झौता त कहिले सांसद खरिदबिक्रीसमेत गर्नु उनका लागि सामान्य विषय हो ।

रमाइलो त के छ भने, हिजो पार्टी र राज्यसत्ताका लागि फरक धारका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र आफैँबाट भड्किएका विमलेन्द्र निधिलगायतलाई आफ्नो पक्षमा जम्मा पार्न सफल देउवा आज उनको गुटमा ‘उनीसँग कोको छन् ?’ भन्ने प्रश्नको सामना गर्दै छन् ।

झनै रमाइलो तथ्य र नियत वा नियतिकै खेल भन्नुपर्छ, फेक महाधिवेशनको कार्यक्रम अगाडि बढाइरहेको देउवा समूहका नेता, जो दुईपटक कांग्रेसको सभापति र पाँचपटक मुलुकको प्रधानमन्त्री भए, उनै ८० नाघेका देउवा पदका लागि डडेलधुराको गन्यापधुराबाट क्षेत्रीय प्रतिनिधि चयन भएको खबर बाहिर आयो । यो नै देउवालाई नियत वा नियतिले पतनको बाटोमा लगेको प्रमाण हो ।

गुटबन्दी, सम्झौतापरस्त, आलोपालोका पर्याय र कुर्सीको राजनीतिका प्रतीक मानिने देउवा अब केवल व्यक्ति मात्र नभई विकृत राजनीतिका पर्यायसमेत बनेका छन् । तथापि, जीवनको उत्तराद्र्धमा समेत कांग्रेससँगै लोकतन्त्र पनि कमजोर बनाउने खेलमा नियतिले उनलाई डोहोर्याइरहेकै छ ।

हुन त आजको घटनाक्रम भनेको देउवा वा उनका समकालीन राजनीतिक पात्रहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराईलगायतको पतन मात्र नभई उनीहरूको युगको अन्त्यको संकेत पनि हो । तर, जाँदाजाँदै भने आफू चढेकै जहाज चढ्न उद्यत कांग्रेस, एमाले, नेकपालगायतका ‘नवयुवराज’हरूलाई समेत देउवाहरूले सँगै लिएर जाने निश्चितझैँ देखिन्छ ।

हुन त, नजाउन् पनि किन, ‘नवयुवराज’हरूको योग्यता पनि हिजो उनैले अरूलाई कानुन, प्रहरीको घेरा र अख्तियार लगाएर घेरामा पारेरै राजनीति गर्ने प्रणाली विकसित गरेका थिए । आज उनीहरूलाई त्यही प्रणालीले मज्जाले घेर्दै छ । किनकि, सर्वोच्च अदालतले गत जेठमा रेडकर्नर नोटिस जारी गर्दा प्रक्रिया नमिलेको मात्रै बताएको हो ।

जीवनको उत्तराद्र्धमा रहेका देउवालाई कानुनी झमेलाबाटै उन्मुक्ति दिनु भनेको पक्कै होइन । तसर्थ, नियत भनौँ वा नियतिले राजनीतिबाटै बिदा लिन लागेको समय देउवालाई इतिहासले कठघरामा नउभ्याउला भन्न सकिने आधार छैन ।

नियत वा नियति जेले फस्ने/फसाउने काम गरे पनि एउटा कुरा निश्चित हो, निश्चित व्यक्तिको पूर्वाग्रही लहडमा लागेर देउवा फसेकै हुन् । पार्टीका वरिष्ठ नेताद्वय पूर्णबहादुर खड्का र डा. शेखर कोइरालाले कांग्रेस मुख्यालय, सानेपामा वरिष्ठ नेताको हैसियतमा जाने तयारी गरिसके । तर, देउवाका वैशाखीका रूपमा रहेका दागी तथा विभिन्न अड्डा, अदालत तथा संवैधानिक निकायमा केस रहेकाहरूबाट देउवा समूहका लागि राजनीतिको लामो यात्रा कत्तिको सहज होला ? यो विषय देउवा समूहमा रहेर राजनीति गर्छु भन्नेहरूले समेत सोच्नुपर्ने विषय हो ।

समग्रमा देउवा नियतवश फसेका हुन् भने भन्नु केही छैन । यदि फसाइएका हुन् भने कांग्रेसलाई कमजोर बनाउन प्रयोग भएको चुनदेवी अड्डाबाट बिच्किएर उनले सम्मानजनक बिदाइको बाटो रोज्नेछन् ।

अन्यथा, नियतवश फसेका हुन् भने अरूलाई फसाउने खेलमा लागेका मान्छेलाई एकदिन नियतिले आफैँलाई फसाउने छ । जतिवेला देउवा स्वयं फस्नेछन्, त्यतिवेला उनका लागि एकथान वक्तव्य पनि एमाले अध्यक्ष ओली (उनको पार्टी ओलीसँगै रहिरहे) बाट मात्रै जारी हुनेछ ।

देउवा आज त्यही मोडमा छन् । उनले बुझ्नैपर्ने विषय भनेको राजनीतिमा नियतले बनाएको बाटो सधैँ नियतकै नियन्त्रणमा रहन्छ भन्ने छैन । एकदिन त्यो नियतले बनाएको बाटोमा आफैँलाई लगेर छाड्छ, जसरी आज देउवालाई नियतले त्यही बाटोमा लगेर छाड्यो । यो नै हो, देउवाहरूको युगको पतनको संकेत । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्यायालयबाट न्याय पाउनेमा विश्वस्त छु : कांग्रेस सभापति देउवा
२०८३ मंग्सिर ७, सोमबार
नेपालमै विकसित सेल ब्रडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण सफल
२०८३ मंग्सिर ७, सोमबार
संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ मा सहभागी हुन भारतीय सैनिक टोली नेपालमा
२०८३ मंग्सिर ७, सोमबार
मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा सरकार सक्रिय
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री शाह भारत भ्रमण पुरा गरी स्वदेश फिर्ता
२०८३ मंग्सिर ७, सोमबार
उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री शाह र समकक्षी मोदीद्वारा संयुक्तरूपमा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास
२०८३ मंग्सिर ७, सोमबार