असार २४, २०८२ मंगलबार July 8, 2025

काँग्रेस पुनर्जीवनको मार्गचित्र – डा. डिला संग्रौला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सात दशकभन्दा लामो संघर्षको इतिहास बोकेको नेपाली कांग्रेसलाई अलग्गै राखेर नेपालको राजनीतिक र सामाजिक अध्ययन अपुरो हुन्छ । प्रतिपक्षमा रहेका बेला हुन लागेको पार्टी महाधिवेशनले नेपाली कांग्रेस पार्टी, देश र जनताको भविष्य निर्धारण गर्ने चुनौतीपूर्ण अभिभारा बोकेको छ । यो महाधिवेशनले पार्टीभित्रको व्यक्तिकेन्द्रित मतमतान्तरलाई निमिट्यान्न पार्दै समग्र पार्टी, समाज र देशका सामु उपस्थित चुनौतीलाई समाधान गर्ने सामर्थ्य राख्नुपर्छ ।
आजको आवश्यकता नेतृत्व चयन मात्र होइन, यसलाई लोकप्रिय पार्टी बनाउनु पनि हो । यसका लागि कांग्रेसको पुनर्जीवनको मार्गचित्र आवश्यक छ । कांग्रेसको मुख्य रोग हो– गुटबन्दी गर्नु, नीतिभन्दा नेतालाई महत्त्व दिनु, जनताको दैनिक समस्यालाई पर्याप्त ध्यान नदिनु, भ्रष्टाचार र बेथितिविरुद्ध सशक्त आवाज उठाउन नसक्नु, आत्मनिर्भर कार्यकर्ताको अभाव हुनु । नेपाली कांग्रेसको गौरव र गरिमा फर्काउन वैचारिक स्पष्टता, अवाञ्छित र अप्राकृतिक साँठगाँठलाई निरुत्साहन, नेता–कार्यकर्ताहरूमा ‘पार्टी बिग्रिए म पनि बिग्रिन्छु’ भन्ने भाव, नेताको सोझो गर्ने होइन पार्टी हितलाई प्रमुखता दिँदै नवीन सोच, संकल्प र प्रतिबद्धता लिनुपर्छ । कांग्रेस रूपान्तरणका लागि निम्न मार्गचित्रसहित अगाडि बढ्नुपर्छः
स्पष्ट र प्रभावकारी नीति : कांग्रेसले २०१२ सालको वीरगन्ज महाधिवेशनदेखि नै समाजवादी अर्थनीति अँगालेको हो, नेपालको आधुनिक अर्थतन्त्रको अवधारणा र संरचनागत आधारशिला खडा गरेको हो । बीपी कोइरालाले उत्तरदायी शासनको धारणा अघि सार्दै ‘कोही पनि भोका, नाङ्गा वा निरक्षर नहोऊन्; देशमा सडक, बाटोघाटो, अस्पताललगायत जीवनलाई सुन्दर र सुखी बनाउने अरू कुनै कुराको अभाव नरहोस्’ भन्ने दूरगामी लक्ष्य तय गर्नुभएको थियो । यसैलाई आत्मसात् गर्दै कांग्रेसले हाल कोरोनाले संकुचन पारेको अर्थतन्त्रलाई पुनरुत्थान गर्न स्पष्ट नीति अवलम्बन गरी कृषि, उद्योग, पर्यटन, जलस्रोतजस्ता क्षेत्रको समुचित विकासमा जोड दिनुपर्छ ।

चुस्तदुरुस्त संगठन : पार्टी संरचनालाई वैज्ञानिक र प्रभावकारी बनाउनु अर्को आवश्यकता हो । कुनै पनि राजनीतिक दलको निर्देशक सिद्धान्त मानिने राष्ट्रिय अखण्डता र एकता प्राप्त गर्न अख्तियार गरिने समग्र प्रक्रियागत स्वरूपलाई संगठन भनिन्छ, जसको एउटा अंग कांग्रेस हो । अनि कांग्रेसका अंगचाहिँ भ्रातृ र शुभेच्छुक संघसंगठन हुन् । मुलुकमा भएका सम्पूर्ण तह र तप्का, वर्ग र समुदायलाई परिचालन गर्ने क्षमता विकासका लागि संगठनको आवश्यकता पर्छ । नेतृत्वले भागबन्डाका आधारमा होइन, योग्य व्यक्तिलाई उपयुक्त ठाउँ दियो भने मात्र संगठन बलियो हुन्छ ।

कांग्रेसलाई सम्पूर्ण नेपालीको विश्वासयोग्य र भरोसायोग्य बनाउन क्षमतावान्, ऊर्जावान्, गतिशील र वैचारिक नेतृत्व चाहिन्छ ।

भरोसायोग्य सक्षम नेतृत्व : पार्टीलाई नीति र विधिमा आधारित बनाएर अगाडि बढाउन भरोसायोग्य सक्षम नेतृत्वको आवश्यकता छ । विधिको ब्याडमा नीतिको बिरुवा उम्रिनुपर्छ । भागबन्डाकै आधारमा पार्टी सञ्चालन गर्दा असहमतिका स्वरहरू सतहमै पोखिएका छन् जसले गर्दा पार्टीभित्र वैमनस्य मौलाएको छ । पार्टीका होनहार र पुराना नेता–कार्यकर्ता ओझल पारिएका छन् । विधि र नीतिको अन्तरलाई मापन गर्न नेतृत्वमा ज्ञान, विवेक र दूरदर्शी सोचको आवश्यकता पर्छ । कांग्रेसलाई सम्पूर्ण नेपालीको विश्वासयोग्य र भरोसायोग्य बनाउन क्षमतावान्, ऊर्जावान्, गतिशील र वैचारिक नेतृत्व चाहिन्छ ।

जनमुखी एजेन्डाको सशक्त उठान : समयसापेक्ष एजेन्डाहरूकै कारण जनता कुनै पनि पार्टीप्रति आकर्षित हुने हुन् । त्यसैले कांग्रेस विकासमुखी, विपन्नमुखी, जनमुखी एजेन्डाको उठान गर्दै ‘निमुखालाई न्याय, विपन्नलाई आय’ को समाजवादी आदर्शअनुरूप अगाडि बढ्नुपर्छ । हालैको मलबीउको अभाव होस् वा विदेशमा अलपत्र परेका नेपालीहरूको समस्या, पार्टीले समाधानका लागि सशक्त आवाज उठाउनुपर्छ । जनताका दैनिक समस्याबारे सडक र सदन तताउनुपर्छ । अबको पाँच वर्षभित्र कांग्रेसलाई नवजीवन दिने कृषि क्रान्ति, ऊर्जा विकास, पर्यटन विकास, औद्योगिक विकास, गुणस्तरीय शिक्षा, सडक सञ्जाल विस्तार, जलस्रोतको विकास, सुशासनद्वारा राष्ट्र निर्माण, खानेपानी, स्वास्थ्य र रोजगारीजस्ता क्षेत्रमा अग्रगामी कार्ययोजनासहित प्रस्तुत हुनुपर्छ ।

निरन्तर प्रशिक्षण : पार्टीभित्र प्रशिक्षण, लेखपढ, छलफल, रचनात्मक बहसलाई प्राथमिकता दिइरहनुपर्छ । प्रशिक्षणले नै कार्यकर्तालाई कुशल वक्ता, बहसशिल्पी र प्रतिपक्षको भूमिका सक्षमतापूर्वक निर्वाह गर्न सक्ने बनाउँछ । सही प्रशिक्षण हुन नसक्दा कार्यकर्ताको क्षमता विकास हुन पाएको छैन ।

प्रभावकारी सञ्चार : पार्टीलाई युगानुकूल परिवर्तन गर्न प्रभावकारी सञ्चारको आवश्यकता पर्छ । पार्टीको आन्तरिक र बाह्य जीवनमा सञ्चारको महत्त्वपूर्ण भूमिका हुन्छ । सञ्चारको प्रभावकारी व्यवस्थापन हुन नसक्दा पार्टीका धारणाहरू एवं शीर्ष नेतृत्वका अभिव्यक्तिहरू बेलाबखत विवादमा पर्ने गर्छन् ।

तटस्थ मतदाताकेन्द्रित कार्यक्रम : हरेक राजनीतिक दलमा दुई प्रकारका मतदाता हुन्छन्– पार्टीलाई सधैं मत दिइरहने अर्थात् वफादार र पार्टीको नीति हेरेर मात्र आकर्षित हुने अर्थात् तटस्थ । कांग्रेसले युवा, महिला, जनजाति, मधेसी, दलित, विभिन्न पेसा–वर्गका जनसमुदायलाई आकर्षित गर्न प्रभावकारी कार्यक्रम गरिरहनुपर्छ ।

मूल्याङ्कन र न्यायोचित व्यवस्थापन : गुट–उपगुटको अन्त्य गर्दै पार्टीलाई विधिवत् सामूहिक नेतृत्वका आधारमा अगाडि बढाउनुपर्छ । पार्टीमा प्रत्येक कार्यकर्ताको योगदानको उचित मूल्याङ्कन गर्दै केन्द्रदेखि वडासम्मका सबै संरचनामा उनीहरूको न्यायोचित व्यवस्थापन हुनुपर्छ । निर्वाचनमा टिकट दिँदा, पार्टीभित्रको संगठनको जिम्मेवारी दिँदा एवं अन्य ठाउँमा राजनीतिक नियुक्ति दिँदा मूल्याङ्कन पद्धति अपनाउनुपर्छ ।

सीमान्तीकृत वर्गसँग निकटता : आर्थिक, सामाजिक, लैंगिक, शैक्षिक हिसाबले पछाडि पारिएका र राज्यको मूल प्रवाहमा आउन नसकेका सीमान्तकृत, अपाङ्ग र गरिब जनतासँग निकट सम्बन्ध हुन जरुरी छ । व्यापारी, पुँजीपति र दलालसँग साँठगाँठ भयो भन्ने आरोपबाट कांग्रेस मुक्त हुनुपर्छ ।

चुस्त व्यवस्थापन : अहिलेको युग व्यवस्थापनको युग हो तर कांग्रेसमा व्यवस्थापकीय कमजोरी छ । पार्टीको नियमित कार्य सञ्चालन गर्न, निरन्तर ढंगले गतिविधि सञ्चालन गर्न चुस्त व्यवस्थापन चाहिन्छ ।

राम्रो कामको प्रचार : नेपाली कांग्रेस लामो समय सत्तामा रहेको पार्टी हो । यो मुलुकमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, आर्थिक–सामाजिक संरचनाको विकास कांग्रेस सरकारकै पालामा भएको हो । तर त्यसको समयोचित प्रचार–प्रसार हुन सकेको छैन । सरकारमा रहेका बेला आफूले गरेका राम्रा कामको प्रचार नगर्ने, सधैं नकारात्मक टीकाटिप्पणी गर्ने, पार्टी अनुशासनविरुद्ध काम गर्नेलाई कारबाही नगर्ने शैलीलाई तिलाञ्जली दिनुपर्छ ।

भ्रातृ र शुभेच्छुक संस्थाको परिचालन : भ्रातृ र शुभेच्छुक संस्था नेपाली कांग्रेसको मेरुदण्ड र संगठनका आधारशिला हुन् । यिनीहरूको क्रियाशीलता, सशक्तता र मजबुतीबिना पार्टी मजबुत हुन सक्दैन । यिनलाई चलायनमान बनाउन विशेष कार्यनीति ल्याउनुपर्छ, विधानअनुसार क्रियाकलाप गर्न र समयमै अधिवेशन गर्न निर्देशन दिनुपर्छ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार