असार २४, २०८२ मंगलबार July 8, 2025

‘डेड एन्ड’ मा नेकपा, संकटमा जनता- कृष्ण खनाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सत्तारूढ नेकपा विभाजनको संघारमा छ । अथवा, नेकपा बनेका दिनदेखि नै विभाजित छ । नेकपा घोषणाको अघिल्लो दिन बिहान (२०७५ जेठ २) एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विष्णु पौडेल र जनार्दन शर्मालाई साक्षी राखी हस्ताक्षर गरेको ‘गोप्य सहमति’ मा प्रस्ट लेखिएको छ- पार्टीका सबै निर्णयहरू ‘दुवै अध्यक्षको सहमति र हस्ताक्षरपश्चात् आधिकारिक मानिने’ र ‘समानता र समान अवधिका आधारमा दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ ।

चुनावको मुखमा दुई पार्टीको गठबन्धनमा सिद्धान्तको जति जलप लगाए पनि यथार्थमा सत्तास्वार्थ नै मुख्य कारक हो भन्ने कुरा लुक्तैन । त्यसमाथि अपेक्षित चुनावी विजयले स्वाभाविक हिस्सेदारी खोज्छ । पार्टी र सरकार दुवैमा सत्ता साझेदारीको माग गर्छ । ओली–प्रचण्ड सहमति यो यथार्थको खुलासा पनि हो । तर प्रधानमन्त्री ओलीलाई त्यो स्वीकार्य भएन । उनले आफ्नै एकल नेतृत्वको बाटो लिए । सहमति र साझेदारीको कुरा तरबार–बेचुवा र घिउ–बेचुवाको कथा साबित भयो ।

यो सहमति पार्टीको दस्तावेज बन्न सकेन । पार्टीको जानकारीमा पनि राखिएन, त्यसको आवश्यकता पनि देखिएन । परिणामत: यो ओली र प्रचण्डको घरायसी लेनदेनको तमसुकजत्ति पनि बन्न सकेन । यो अब म्याद नाघेको औषधि भइसक्यो । प्रचण्ड आफैंले पनि त्यसको कुरा गर्न छाडिसके । तर उनको मनस्थिति भने यसैको वरिपरि छ । भिन्नता के हो भने, उनी अब ओलीसँग होइन, माधव नेपाल, झलनाथ, वामदेवहरूसँग मिलेर नयाँ समीकरण गर्न लागिपरेका छन् । ओली त्यसलाई नाकाम बनाउन । यसबाट राजनीतिलाई निजी लेनदेनजस्तो गोप्य कारोबार बनाउँदा के हुन्छ भन्ने कटुसत्य फेरि एक पटक उजागर भएको छ । विगतमा पनि यस्ता तमसुके सहमति पार्टीभित्र र पार्टीहरूबीच धेरै पटक भएका छन् । तर यो पाठ नेपालको राजनीतिमा कहिल्यै नसिकिने उदाहरण बनेर रह्यो ।
राजनीतिमा सत्तास्वार्थ कति निर्दयी हुन्छ, यसको दृष्टि नाकको टुप्पोभन्दा पर जान सक्तैन । नेपालको वर्तमान अवस्था आफैं बोल्छ ।
राजनीतिमा सत्तास्वार्थ कति निर्दयी हुन्छ, यसको दृष्टि नाकको टुप्पोभन्दा पर जान सक्तैन । नेपालको वर्तमान अवस्था आफैं बोल्छ । विश्व कोरोना संकटमा छ । युरोपमा यसको दोस्रो लहर सुरु भइसक्यो । यो हिउँद अरू संक्रामक हुने अनुमान गरिएको छ । हामीकहाँ पनि चिसो बढ्दै छ । खोपको अझै टुंगो छैन । आए पनि त्यो नेपाली जनताको पहुँचमा पुग्ने होइन, सरकारले गर्ने खरिद धन्दामा रमाउनेछ । जनता त निरीह भएर बस्न बाध्य छन् । सुक्न लागेको सास देखेर कोरोनाको करुणा जागे ज्यान छ, नत्र छैन । कोभिडका नाममा सरकारले गत तीन महिनामा ४ अर्ब रुपैयाँ सकेको तथ्यांकले देखाउँछ । त्यसअघिको हिसाब कार्पेटमुनि थन्किसक्यो । सरकारले कोभिडको सबै जिम्मेवारी स्वास्थ्य मन्त्रालयका प्रवक्ताको जिम्मा छोडेको छ । साँझ पर्न थालेपछि उनी भट्याउँछन्, आज कति संक्रमित थपिए, कति मरे भनेर । हरेक दिन सुदूरपश्चिमको नाकाबाट भारत पस्नेको संख्याले राष्ट्रियतालाई शरणार्थी शिविरमा थन्क्याउँदै छ । खाँचो परेको अवस्थामा जनताले न देश भेट्ने भए, न सरकारको साथ नै । सरकारले कोभिडपीडित कुनै नागरिकको हेरचाह र उपचार केही गर्न सकिँदैन भन्न थालेको छ । होटलजस्तै अस्पताल छन्, तिनको दररेट छ । पैसा तिरेर त्यहीँ जानू । उपचार, हेरचाह जे चाहिन्छ सब त्यहीँ हुन्छ । नसक्ने घरमै एक्लो बस्नू । बस, यही हो अहिले नेपाल राज्य र सरकारले वाचा गरेको नागरिक दायित्व ! जनताले पनि अब किन कर तिर्ने ? यस्तो सरकार नै किन चाहियो र ?

कोरोनाबाट ढिलो-चाँडो मुक्ति त मिल्ने नै छ । खोप नभए पनि आफैंभित्रको निरोधात्मक क्षमता वा ‘एन्टीबडी’ को विकास होला भन्ने आशा छ । तर खराब नेता र खराब सरकार कहिलेसम्म हो, अन्त्य देख्नै छोडियो । मलाई लागेको थियो, नेकपाको समस्या केपी शर्मा ओलीको अयोग्यता र अविश्वसनीयताका कारण हो, उनको बिदाइ हुन सके स्थिति सुध्रिएला । तर कुरा यतिमै सीमित छैन । यतिखेर नेकपा आफैं एउटा ठूलो भ्रम साबित हुन पुगेको छ । ओली–प्रचण्ड सत्तास्वार्थको केन्द्रमा बनेको नेकपाको रसायनमा खिया परिसकेको छ । अहिले त्यसैको धूलो झरिरहेको छ । नेकपा रडाको वा प्रचण्ड–ओली टकराव जे भन्छौं, त्यही धूलोको खाररूपी भाइरस हो । त्यो भाइरसले अन्तत: कांग्रेसको घाँटी पनि अँठ्याउनेछ । प्रधानमन्त्री ओलीले बरु पार्टी फुटाउने, तर अरू कसैको कुरा स्वीकार नगर्ने जुन अडान अख्तियार गरेका छन्, त्यसको तानाबाना कांग्रेस र जसपासम्म पुग्ने अनुमान सजिलै गर्न सकिन्छ ।

प्रधानमन्त्री ओलीले बरु पार्टी फुटाउने, तर अरू कसैको कुरा स्वीकार नगर्ने जुन अडान अख्तियार गरेका छन्, त्यसको तानाबाना कांग्रेस र जसपासम्म पुग्ने अनुमान सजिलै गर्न सकिन्छ ।

नेकपामा अहिले देखिएको झगडाको निकास के हो, बुझ्न नसकिने भएको छ । प्रारम्भमा ओली-प्रचण्डको बराबरी हैसयत र सत्ता साझेदारी भन्ने थियो । तर प्रचण्ड आफैं बेलाबेलामा भन्छन्, ‘ओलीजी नै पाँच वर्षसम्म प्रधानमन्त्री ।’ पछिल्लो समय समझदारी सरकार चलाउने ओलीले, पार्टी चलाउने प्रचण्डले भन्ने सुनिएको थियो । फेरि केको खटपट हो यो ? समस्या सत्ता साझेदारीको हो जुन पार्टी र सरकार दुवै तहमा छ । प्रचण्ड पार्टीमा मात्र होइन, सरकारमा पनि आफ्नो हिस्सा छोड्नेवाला छैनन्, न ओली सरकार र पार्टीमा आफ्नो पकड नै छोड्न तयार छन् । कुनै नाटकीय समझदारी भएछ भने पनि त्यसले गतिलो परिणाम दिन सक्तैन । नेकपा आफैं ‘डेड एन्ड’ मा पुगेको छ; अघि बढ्ने बाटो कथित शीर्ष नेताहरूको स्वार्थले छेकेको छ भने पछि फर्किने बाटोमा समयले नेटो काटिसकेको छ ।

मलाई लाग्छ, नेकपाको यो गतिरोधको अन्त्य अब कुनै कथित समझदारीमा खोज्नु अत्यन्त हचुवा र टालोमाथि टालोभन्दा, जति थप्यो त्यति ठूलो भ्वाङभन्दा बढी केही हुँदैन । ओली–प्रचण्ड एउटै पार्टीमा बस्न सक्ने अवस्था देखिन्न । मुख कसले खोल्ने भन्ने थियो । ओलीजीले खुला चुनौती दिइसके, मेरो बाटो कसैले रोक्न सक्तैन भनेर । अब प्रचण्डसँग ओलीको पछि लाग्नु वा अलग हुनुको विकल्प बाँकी छैन । एउटा निर्णायक छिनोफानो हुनु आवश्यक छ । सहानुभूति राख्ने देश र दूतावासले पनि सकेनन् । त्यो ठाउँ मुलुकको संसद् र नेकपाको संसदीय दल हो, अन्त छैन ।

हामीले अपनाएको राजनीतिक प्रक्रिया र प्रणालीमा राजनीतिक दल भनेको केवल यसका सदस्य, स्थूल संरचना र पदाधिकारीहरूको तजबिज मात्र होइन, जनताका प्रति पनि उसको उत्तरदायित्व हुन्छ । जनता भनेको यसका नेताअनुकूल समर्थकहरूको झुन्ड पनि होइन । संसदीय दल जनता र पार्टीबीचको पुल हो । सत्तारूढ दलमा जब नेतृत्वको प्रश्न उठ्छ त्यसको अन्तिम निक्र्योल गर्ने ठाउँ संसदीय दल हो । किन प्रधानमन्त्री ओलीविरुद्ध संसदीय दलमा चुनौती दिइँदैन ? आफ्नोबारेमा यति विधि विवाद उठेपछि प्रधानमन्त्रीले किन यो विषय पार्टीको संसदीय दलमा लैजाँदैनन् ? उनले सोझै भन्न सक्छन्, ‘ल आऊ, मेरोविरुद्ध बहुमत सिद्ध गर ।’ अथवा, उनी सोझै संसद्‌मा विश्वासको मत पनि माग्न सक्छन् । यी विकल्पको परिणाम कसको पक्षमा जान्छ, ठूलो कुरा होइन । यसले कम्तीमा पनि नेकपाभित्रको रडाकोलाई केही मात्रामा साम्य गर्छ । तर ओली बाहिरिने अवस्था परे नेकपा विभाजन निश्चितप्राय: पनि छ ।

नेकपाको स्टकमा, खासगरी युवा पंक्तिमा कोही हिम्मतवाला छ/छन् भने प्रचण्ड–ओली दुवै अध्यक्षलगायत सचिवालयका रैथाने नेताहरूलाई समेत सस्पेन्ड गरेर नयाँ नेता र टिमले कमान्ड सम्हाल्ने बेला पनि हो यो । नेतृत्वको पहिचान संकटका बेला निर्णायक भएर जोखिम लिन सक्नेकै हुन्छ । त्यसो भएमा चुनावका बेला पार्टीले जनतासँग गरेको वाचाको सम्मान हुन सक्छ र जनताको साख पनि जोगिन्छ । तर यो काम दोस्रो, तेस्रो वरीयता भनेर बेलाबेलामा चर्चामा आउने सेवकरामहरूले गर्न सक्तैनन् । यसका लागि पार्टीभित्रको हाइरार्की होइन, जनतासँग प्रत्यक्ष संवाद र सामना गर्ने नेता चाहिन्छ । त्यस्तो आन्तरिक स्वायत्तताको अभ्यास नेपालको कुनै पनि दलमा छैन । कम्युनिस्ट पार्टीमा त त्यो झन् सोच्न सकिने कुरै होइन ।

प्रधानमन्त्री ओलीले म राजीनामा गर्दिनँ, मैले छाडे मुलुक ध्वस्त हुन्छ भने । सत्ताबाट बाहिरिन लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यवहार पनि उस्तै देखिन्छ । अहिले नेपालीका सामाजिक सञ्जाल ओली–ट्रम्प प्रवृत्तिको चर्चाले भरिएका छन् । चुनाव परिणाममा यति विवाद सायद अमेरिकामा यसभन्दा अघि कुनै उम्मेदवारले गरेनन् । अघिल्लोपटक पनि उनले धम्की दिएका थिए, हारेमा चुनाव परिणामलाई स्वीकार गर्दिनँ भनेर । यसपटक पनि मतदानको पूर्वसन्ध्यामा त्यही धम्की दोहोर्‍याएका थिए । चुनाव परिणाम प्रतिकूल आउन थालेपछि उनका समर्थकहरू सडकमा नारा र जुलुस गर्न थालेका छन्, अदालतको ढोका घचघच्याउन थालेका छन् । अमेरिकामा चुनाव परिणाम स्वीकार्यताको एउटा शालीन संस्कृति बसेको छ । सन् २००० को चुनावमा फ्लोरिडा राज्यमा त्यहाँका गभर्नर रिपब्लिकन पार्टीका उम्मेदवारका भाइ थिए । त्यहीँको मतका आधारमा उनका दाजु जर्ज बुस राष्ट्रपतिमा निर्वाचित हुन इलेक्टोरल कोटा प्राप्त भएको थियो । पाँच भोट नपुगेर डेमोक्र्याटिक पार्टीका उम्मेदवार अल गोर पराजित भएका थिए । मतगणनामा आशंका थियो । अमेरिकाको त्यो चुनाव संस्कृति ट्रम्पका कारण धूमिल हुन पुगेको छ ।

प्रधानमन्त्री ओलीले म राजीनामा गर्दिनँ, मैले छाडे मुलुक ध्वस्त हुन्छ भने । सत्ताबाट बाहिरिन लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यवहार पनि उस्तै देखिन्छ । अहिले नेपालीका सामाजिक सञ्जाल ओली–ट्रम्प प्रवृत्तिको चर्चाले भरिएका छन् ।

दोस्रो पटक मृगौला प्रत्यारोपणपछि केपी शर्मा ओलीको राजनीति पनि अर्को दस वर्ष लम्बिएको छ । तसर्थ नेकपा मात्र होइन, यो चोइटिएर बन्ने कुनै पनि नामधारी पार्टीको आवरणमा ओलीको लेगेसीबाट राजनीति मुक्त हुने सम्भावना देखिन्न । यो कार्यकाल त उनले पूरा गर्ने नै भए । उनलाई हटाउने संसदीय विधिसम्मत बाटो भनेको नेकपा संसदीय दलमा उनका विरुद्ध बहुमतको घोषणा हो । त्यो तागत उनका विपक्षीमा देखिन्न । विवादको निकास त्यता मोडिन लाग्यो भने पनि प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बस्नै दिनेछैनन् । संसदीय दल मात्र होइन, उनीसँग ‘त्वं शरणम्’ भनेर लम्पसार नपरेसम्म नेकपाको कुनै पनि तहमा बैठक हुने छाँट देखिन्न । उनले खुलेरै भनिसके— जे सक्छौ गर, म छाड्नेवाला छैन । सत्तामा भएकाले नेकपाको ठूलो ढिका उनीसँगै हुन सक्छ । आफूले वा अर्को पक्षले पार्टी फुटाउँदा संख्यात्मक लाभ पनि उनलाई हुन सक्छ । उनले रातारात अध्यादेश जारी गर्न सक्छन् । एमालेको पुरानो ब्यानर उचालेर नयाँ पार्टीको घोषणा गर्न सक्छन् । कांग्रेस, जसपासँग सत्ता समीकरण गर्न सक्छन् । यसमा राष्ट्रपतिको साथ उनले पाउने नै भए । ओलीपथमा राष्ट्रपतिको यात्रा अझ व्यग्र देखिन्छ ।

चिन्ता नेकपा फुट्न लाग्यो भनेर होइन, नेकपा फुटोस् भन्ने कामना पनि होइन; लोकतन्त्रमा हाम्रा विकल्पहरू किन यसरी एकपछि अर्को गर्दै कमजोर मात्र होइन, टुहुरा र निकम्मा साबित भइरहेछन् भन्ने हो । म लोकतन्त्रबाहेक अर्को राजनीतिक व्यवस्थाको कल्पना गर्न सक्तिनँ । यसको आमुख वा आवरणमा मेरो लगाव होइन । यो त आवश्यकता, अभ्यास र प्रयोगले निर्धारण गर्दै जाने कुरा हो । लोकतन्त्रको गर्भगृहमा जुन मूल्य छ स्वतन्त्रता, समानता र सिर्जनशीलता – त्यसको रक्षा मेरो चिन्ता र चासो हो । त्यसलाई सुरक्षित राख्न सके मेरो स्वत्व जोगिन्छ । बाँकी सबै आयाराम गयाराम हुन् । ती सबै समयक्रममा सकिने कुरा हुन् । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार