असार २४, २०८२ मंगलबार July 8, 2025

बाइडेन विजयको निहितार्थ- रोशन जनकपुरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अमेरिकी निर्वाचन, त्यसको परिणाम यस हप्ता संसारभरि उत्सुकता र चासोको विषय बनिरह्यो । संसारको सबैभन्दा शक्तिशाली र साम्राज्यवादी पुँजीवादको नाइके देशको निर्वाचनमा सबैको चासो स्वाभाविक नै हो । वर्तमान पुँजीवादी अर्थराजनीतिक विश्वमा वैश्विक संस्कृतिको रूपमा विकसित अमेरिका अनुकूल वा प्रतिकूल स्थितिमा प्रायः सबै देशमा उपस्थित छ ।

अझ भनौँ, वर्तमान विश्वलाई प्रभावित गरिरहेको त्रिकोणीय अन्तर्साम्राज्यवादी संघर्षको मुख्य कोण अमेरिका छ, भने यसविरुद्ध चीन र रुस प्रतिस्पर्धीका रूपमा देखिन्छन् । यस्तो स्थितिमा अमेरिकाको सबैभन्दा शक्तिशाली पदमा नेतृत्व पुरानै रहन्छ वा फेरिन्छ भन्नेतिर सबैले अभिरुचिपूर्वक हेर्नु स्वाभाविक नै छ । यसमा हुने परिवर्तनले विश्व अर्थराजनीतिक समीकरणमा परिवर्तन पनि अपेक्षित नै हुन्छ ।

अन्ततः अनेक आरोह–अवरोहपछि अपेक्षाअनुरूप नै राष्ट्रपति पदका डेमोक्र्याटिक उमेदवार जो बाइडेनले जित हासिल गरेका छन् । अमेरिकी निर्वाचन एलेक्ट्रोरल सिटको परिणाम देखाउने पोर्टलहरूमा बाइडेनको पक्षमा २९० र वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा २१४ को अंक प्रक्षेपण भइरहेको देखिन्छ । जितका निम्ति निर्णायक अंक २७० हो । औपचारिक रूपमा अन्तिम परिणाम घोषणा हुन अझै केही दिन लाग्ने देखिन्छ । तर, बाइडेनले जितका निम्ति चाहिने अंक पार गरिसकेकाले अमेरिकाको ४६औँ राष्ट्रपतिको पद सम्हाल्ने निश्चित छ । यद्यपि रिपब्लिकन पार्टीको निर्वाचनमा ‘ट्रम्पकार्ड’ फेल भइसकेको वर्तमान राष्ट्रपति ट्रम्पले अहिले पनि स्वीकार गरिरहेका छैनन् । उनले आफूसँग धोका भएको, सहजै पद नछाड्ने र अदालत जानेजस्ता ढिपी अझै छाडेका छैनन् ।

यसपटकको निर्वाचनमा अमेरिकी इतिहासमा पहिलोपटक कुनै महिला, कालो वर्णबाट र एसियाली मूलकी उमेदवार कमला ह्यारिसले उपराष्ट्रपतिको पद जितेकी छिन् । बाइडेनले राष्ट्रपतिको पदको कार्यभार सम्हाल्न भने २० जनवरी २०२१ सम्म पर्खिनुपर्छ । यसपटकको निर्वाचनलाई समीक्षकले अमेरिकी इतिहासमै सबैभन्दा विभाजनकारी भनेका छन् । हुन त अमेरिकामा वर्गीय र सामाजिक विभाजन सधैँ रहँदै आएको छ, तर यो औपचारिक रूपमा सतहमा देखिएको थिएन । यसपटकको निर्वाचनमा भने अमेरिकी समाज अत्यन्त तीखो रूपमा विभाजित देखिएको छ ।

अमेरिकाको दुई सय ३१ वर्षको इतिहासमा बाइडेन ४६औँ राष्ट्रपति हुन् । कार्यकालको हिसाबमा उनी ५९औँ हुन् । त्यस्तै विगत तीन दशकमा एक कार्यकाल मात्र पद सम्हाल्ने राष्ट्रपतिमा ट्रम्प पहिलो भएका छन् । होइन भने यसभन्दा पहिले सन् १९९२ देखि २०१५ सम्म बिल क्लिन्टन (डेमोक्य्राटिक), जर्ज बुस (रिपब्लिकन) र बराक ओबामा (डेमोक्य्राटिक)ले दुई–दुईपटक कार्यकाल पूरा गरेका थिए । बाइडेनले तीन दशकको परम्परा भंग गरिदिएका छन् ।

अमेरिकी राष्ट्रपतिको पदमा नयाँ उमेदवारको जितले नेपाल र दक्षिण एसियाको राजनीतिमा खासै फरक पर्ने देखिँदैन । यसलाई अमेरिकी राजनीतिको परम्परा नै भन्नुपर्छ कि त्यहाँको राष्ट्रपतिमा जोसुकै आए पनि परराष्ट्र नीतिमा परिवर्तनको सम्भावना खासै रहँदैन । यद्यपि पर्यावरणसम्बन्धी पेरिस सम्झौताबाट बाहिरिने, र युरोपसँगको नीति आदि विश्व मञ्चमा ट्रम्पको नीतिको आलोचना डेमोक्य्राटले गर्दै आएका छन्, त्यसले अमेरिकी परराष्ट्र नीतिमा सामान्य परिवर्तनको सम्भावनालाई पनि नकार्न सकिँदैन ।

जहाँसम्म नेपालको प्रश्न छ, बाइडेनको विजयले खासै परिवर्तन आउने देखिँदैन । दक्षिण एसियामा अत्यन्त कमजोर परराष्ट्र नीति भएको देश नेपाललाई अमेरिकाले भारतीय चस्माले हेर्नेे नीति कायमै रहने देखिन्छ । यद्यपि चीन–अमेरिकाबीचको व्यापारिक द्वन्द्व तथा भारत–चीनबीचको तीखो सामारिक कूटनीतिक तनाव तथा भारत–पाकिस्तानबीचको कटु सीमा विवादमा चीनको पाकनिकटता आदि क्षेत्रीय कूटनीतिक स्थितिमा हुने नयाँ विकास र परिवर्तनले नेपाल–अमेरिकाबीचको सम्बन्धको क्षेत्रीय महत्वको ग्राफमा तल–माथि हुने सम्भावनालाई पनि उपेक्षा गर्न सकिँदैन ।

दक्षिण एसियामा अत्यन्त कमजोर परराष्ट्र नीति भएको देश नेपाललाई अमेरिकाले भारतीय चस्माले हेर्नेे नीति कायमै रहने देखिन्छ । यद्यपि सामरिक क्षेत्रीय कूटनीतिक स्थितिमा हुने नयाँ परिवर्तनले नेपाल–अमेरिकाबीचको सम्बन्धको क्षेत्रीय महत्वको ग्राफमा तल–माथि हुने सम्भावनालाई उपेक्षा गर्न सकिँदैन ।

यो बेग्लै विषय हो कि विशाल आर्थिक कारोबारको फैलिँदो आयतन, विश्वको सबैभन्दा ठूलो उपभोक्ता बजारमध्येको एक तथा क्षेत्रीय राजनीतिमा शक्तिशाली देशको रूपमा उदाउँदो भारतलाई काबुमा राख्न अमेरिका कर, बल र छलको प्रयोग गर्न पछि पर्दैन । यस अर्थमा उसले प्रत्यक्ष रूपमा भारतलाई नेपाल हेर्ने चस्माका रूपमा प्रयोग गरे पनि, अप्रत्यक्ष रूपमा चीन र भारतबीचको ट्रान्जिट बिन्दुको रूपमा नेपालबारे आफ्नो स्वतन्त्र धारणा बनाएको भए पनि आश्चर्य मान्नु पर्दैन । यति हुँदा पनि उसको समग्र दृष्टिकोणमा खासै अन्तर आउने देखिँदैन ।

बंगलादेश, श्रीलंका र मालदिभ्सको राजनीतिमा बढ्दो चिनियाँ कूटनीतिक पकडका कारण दक्षिण एसियामा अमेरिकाका निम्ति भारतीय निकटता तत्काल विकल्पहीनजस्तै देखिन्छ । विगत एक दशकदेखि चीन अमेरिकाको व्यापारिक प्रतिस्पर्धीको रूपमा देखिएको छ । कहिलेकाहीँ त चीनले अमेरिकालाई पछि पार्दै विश्व अर्थतन्त्रमा कब्जा गरिसकेकोजस्तो देखिन्छ । अहिले कोभिड–१९ का कारण विश्व अर्थव्यवस्था नराम्ररी ध्वस्त हुने स्थितिमा छ ।

अमेरिका (संयुक्त राज्य अमेरिका), जहाँ साँढे दुई लाखभन्दा बढीको मृत्यु भइसकेको छ, भने ट्रम्पको घोर अर्थवादी नीतिका कारण महामारी नियन्त्रणभन्दा बाहिर गइसकेको छ । बेरोजगारी र गरिबीको ग्राफ उच्च हुँदै गइरहेको छ । चिनियाँ अर्थतन्त्र यस दुष्प्रभावबाट मुक्त छ र उसको आर्थिक वृद्धिदरमा न्यून नै भए पनि उकालो लाग्ने संकेत देखिन्छ । यसले चीनलाई कोरोना महामारीपछिको विश्वमा एउटा नयाँ, तर विशिष्ट प्रकारको आर्थिक महाशक्तिको रूपमा उदाउने सम्भावना देखाइरहेको छ । विगतका केही वर्षमा चीनले आफ्नो आर्थिक कारोबार जुन तीव्रतासाथ विश्वभरि विस्तार गरेको छ, त्यसले अमेरिका मात्र होइन, युरोपसमेतका आर्थिक शक्तिलाई निधार खुम्च्याउन बाध्य बनाएको छ ।

अहिलेसम्म अमेरिकी शासनमा जोसुकै आए पनि अमेरिकी समाजले सहज रूपमा स्विकार्ने र विश्वास गर्ने स्वाभाव देखिँदै आएको थियो । तर, ट्रम्प शासनकालमा विश्व राजनीतिमा देखिएको मुढेबल र गफका कारण कैयौँ मामिलामा अमेरिकाले असफलता व्यहोर्नुपरेको छ, भने विश्व स्वास्थ्य संगठनजस्ता कैयौँ राजनीतिक मञ्चबाट एकतर्फी रूपमा अलग्गिनुजस्ता निर्णयले अमेरिकी समाज एकलकाँटे हुँदै गएको अमेरिकामै महसुस गर्न थालेको देखिन्छ । त्यस्तै कैयौँ विश्व मामिलामा भेनेजुएलाजस्ता देशमा अमेरिकाले कूटनीतिक बल प्रयोग गरेर पनि इच्छित परिणाम नआउनु, तर ट्रम्पको मुढेगफ र दाबीमा कमी नआउनुले पनि सत्ताप्रति अमेरिकी अभिजात्य समाजको विश्वासमा कमी आएको कैयन् सत्ताधारीकै अभिव्यक्तिबाट बुझिन्छ ।

त्यहाँका काला समाजप्रतिको भेदभाव त अनेकौँ आन्दोलनपछि पनि अमेरिकी अभिजात्य समाजको स्वभाव नै बनिसकेकाले यसबारे यहाँ चर्चा गर्नुको कुनै औचित्य छैन । अहिले ब्ल्याक लाइभ्स म्याटर चर्चामा देखिए पनि यो अमेरिकी समाजको चरित्रको फरक बहसको विषय हो । तर, यसपटकको अमेरिकी निर्वाचनमा आन्तरिक जीवन नराम्ररी उदांगिएको छ, जसले जतिसुकै श्रेष्ठ लोकतन्त्रको दाबी गरे पनि अमेरिकी निर्वाचन पनि दक्षिण एसियाको छद्म लोकतान्त्रिक निर्वाचनभन्दा भिन्न छैन भन्ने देखाएको छ ।

भारत, नेपाल, पाकिस्तान र बंगलादेशजस्तै यसपटकको अमेरिकी निर्वाचनमा जाति, धर्म, नश्ल–रंग, मूल, क्षेत्र सबै विषयको प्रयोग गरिएको थियो । अमेरिकामा यसपटकको निर्वाचन परिणामसम्बन्धी कैयौँ विश्लेषणमा अमेरिकी मूल, बाहिरी मूल, काला–गोरा ग्य्राजुएट, ननग्य्राजुएटजस्ता विषय देखाइएका छन् । यसैले होला निर्वाचन जितेपछिको पहिलो वक्तव्यमा बाइडेनले ट्रम्प प्रशासनकालमा ‘अमेरिकी समाजको आत्मा घाइते भएको’ र ‘विभाजित अमेरिकी मानसिकतालाई एक बनाउनुपर्ने’ आवश्यकता रहेको भनेका छन् । यद्यपि केही रिपब्लिकन समर्थक पत्रिकाले बाइडेनको ‘एकीकृत अमेरिका’को विचारलाई अमेरिकाको वैविध्यपूर्ण सामाजिकताविरोधी, फरक मत नस्विकार्ने र सर्वसत्तावादी वर्चस्वपूर्ण अभिव्यक्तिको रूपमा आलोचना पनि गरेका छन् ।

निर्वाचनमा जोसुकै विजयी भए पनि सत्ता अमेरिकी पुँजीवादी समाजको समग्र हितभन्दा बाहिर जाँदैन ।

जहाँसम्म डोनाल्ड ट्रम्पको कार्यकालको प्रश्न छ, बेतुकको गफ र निरर्थक विषयले अमेरिकी पुँजीवादी समाजलाई समेत अविश्वासमय र विभाजित स्थितिमा पु¥याएको देखिन्छ । अमेरिकाका केही मिडियामा प्रकाशित समाचारअनुसार ट्रम्पले आफ्नो कार्यकालमा २२ हजार दुई सय ४७ पटकभन्दा बढी झुटो बोले । उनले हजारौँ भ्रम, तथ्यहीन र असत्य प्रचारमा आधारित निर्मित तथ्यबाट जनसमुदायलाई भ्रमित पारे ।

झुटो तथ्यबाट सुरु भएको ट्रम्पको कार्यकाल झुटो दम्भमै समाप्त हुने देखिन्छ । तथ्यले उनको पराजय भइसकेको देखाउँछ, तर उनी आफू नहारेको भनिरहेकै छन् र प्रमाणविना नै निर्वाचनमा धाँधली भएको आरोप लगाइरहेका छन् । उल्लेखनीय छ कि प्रशिक्षित प्रचारतन्त्रको बलमा झुटो तथ्यबाट जनतालाई भ्रममा पारेर निर्वाचन जितेको र त्यसपछि पनि कृत्रिम निर्मित तथ्यलाई सत्यको रूपमा सफलतापूर्वक प्रस्तुत गर्ने उनको प्रवृत्तिलाई देखेरै सन् २०१५ मा अक्सफोर्ड डिक्सनरीले वर्तमान विश्वको राजनीतिको मूल चरित्रलाई ‘उत्तर सत्य’ (पोस्ट ट्रुथ)को नामबाट व्याख्या गरेको थियो । यस्तो झुट, जो तथ्यभन्दा पनि विश्वासमा आधारित हुन्छ र सत्यको भ्रम दिन्छ अनि व्यापक झुटो प्रचारबाट निर्मित हुन्छ !

बाइडेनले झुटो बोल्दैनन् भन्ने होइन । अमेरिकी साम्राज्यवादले आफ्नो हितमा भ्रमको खेती गर्दै आएको असंख्य परम्परागत उदाहरण छन् । अमेरिकी राजनीतिमा डेमोक्य्राट र रिपब्लिकनबीच उदार र संकीर्णताको मात्रै अन्तर छ । होइन भने विचारधारात्मक रूपमा दुवै पुँजीवादी पार्टी नै हुन् । रोचक के छ भने ट्रम्पले निर्वाचन प्रचारका क्रममा बाइडेनमाथि सोसलिस्ट भएको ‘आरोप’ लगाउँदै आएका छन्, तर बाइडेनले यसलाई अस्वीकार गर्दै आएका छन् ।

यसले के देखाउँछ भने अमेरिकी सत्ताधारी राजनीति श्रमजीवी र उत्पीडित समुदायको विचारधाराप्रति अनुदार रहे पनि ऊ त्यहाँको पुँजीवादी जीवनप्रति इमानदार नै रहिआएको छ । यसैकारण निर्वाचनमा जोसुकै विजयी भए पनि सत्ता अमेरिकी पुँजीवादी समाजको समग्र हितभन्दा बाहिर जाँदैन भन्ने विश्वास पुँजीवादी समाजमा रहँदै आएको थियो । ट्रम्पले त्यसलाई पनि प्रभावित गरेका छन् ।

जेहोस् यसपटकको राष्ट्रपतीय निर्वाचनमा अमेरिकी समाज विभाजित देखिएको छ, अर्कोतर्फ राजनीतिक र आर्थिक दुवैमा भित्री र बाहिरी मञ्चहरूमा पछि हट्नुपरेको छ, त्यसले आगामी दिनमा अमेरिकी जीवनमा अस्थिरता बढने संकेत दिन्छ । यसले बाइडेनको कार्यकाल चुनौतीपूर्ण रहने प्रस्ट सम्भावना देखिन्छ । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार