काठमाण्डौंः रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डको आरोपमा पक्राउ परेका कांग्रेस नेता एवम् पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलम आज पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
बम बिस्फोटमा घाइते भएकालाई जिउँदै चिम्नि भट्टामा हालेर मारेको आरोपमा मन्त्री आफताब, उनका भाइ महताब लगायत ११ जना माथि कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र बिस्फोटक पदार्थको कसुरमा जन्मकैद सजायको माग सहितको अभियोग पत्र अदालतमा दर्ता भएको थियो ।
पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राजपुरस्थित तत्कालीन मन्त्री शेख इद्रिसको घरगोठमा भएको बम विस्फोटमा परी घाइते त्रिलोकप्रताप सिंह र ओशी अख्तर लगायत घाइतेलाई इँटा भट्टामा जिउँदै जलाएको आरोप लागेका महताबलाई जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले थुनामा पठाउने आदेश गरेको हो ।
उनीमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी गरी तीनवटा कसूरमा सजाय माग गरिएको थियो । तत्काल प्राप्त प्रमाणका आधारमा महताब बेकसुर हुन भन्ने नदेखिएकोले मुलकी फौजदारी कार्यविधि संहिता दफा ६७ बमोजिम पुर्पक्षका लागि कारागार पठाउन आदेश भएको जिल्ला अदालतले जनायो ।
अदालतको आदेशपछि महताबलाई आज जिल्ला कारागार गौर चलान गरिएको छ । लामो समयसम्म फरार महताबलाई गत शनिबार मध्यरातमा भारतको मोतिहारीबाट प्रहरीले पक्राउ गरेको थियो ।
घटनाको १३ वर्षपछि महताब पक्राउ परेका हुन् । यस घटनाका ६ जना आरोपीहरु अझै फरार छन् । प्रहरीले घटनाको मुख्य योजनाकारमा नेता आफताब र उनका भाइ महताबलाई राखेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया