काठमाडौंः उखु किसानहरुलाइ उखुको मुल्य भुक्तानी गरेको विवरण पेश गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले चिनी उद्योगीलाई २४ घण्टे अल्टीमेटम दिएका छन् ।
सोमबार मन्त्रालयमा उद्योगीहरुसंग भएको छलफलमा मन्त्री भट्टले २०७६ पुस १८ को सहमतिअनुसार भएको भुक्तानीको प्रमाण पेश गर्न निर्देशन दिएका हुन् । छलफलका क्रममा मन्त्री भट्टले किसानलाई भुक्तानी गर्ने विषयमा भएको बिलम्बबारे प्रष्टीकरण मागेका थिए ।
आन्दोलनरत किसानसँग गर्ने भनिएको वार्ता हुन नसकेपछि उद्योगीसँग वार्ता भएको र भोली पुनः वार्ताका लागि आन्दोलनरत किसानलाई बोलाइएको मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले जानकारी दिए । मंगलबार विहान ११ बजे उद्योग मन्त्रालयले आयोजना गर्ने छलफलमा कृषिमन्त्री र गृहमन्त्री पनि सहभागी हुने बताइएको छ ।
उद्योग मन्त्रालयले गरेको छलफलमा अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल र श्रीराम सुगर मिलका सञ्चालक विशाल अग्रवाल सहभागी थिए । राकेशको दुई मिलको २२ करोड र विशालको मिलको २७ करोड रुपैयाँ वक्यौता बाँकि छ ।
मन्त्रीसँगको छलफलमा राकेश अग्रवालले गत वर्षको सम्झौतापछि आफूले १८ करोड रुपैयाँ तिरेको र बाँकी रकम पनि तिर्ने प्रतिबद्धता जनाएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया