असार २४, २०८२ मंगलबार July 8, 2025

विश्वसनीय नहुँदासम्म खोपको सिफारिस गरिँदैन – डा. रमेशकान्त अधिकारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कोरोना भाइरस कुनै नयाँ भाइरस होइन । तर, सन् २०१९ को अन्त्यतिर यो नयाँ रूपमा चीनमा देखापर्यो । सर्लाहीमा विगतमा साना बच्चाहरूमा गरिएको एक अनुसन्धानले पनि रुघाखोकी लगाउने भाइरसको खोजी गर्दा कोरोना भाइरस फेला परेको थियो । तर, अहिले देखिएको भाइरस जति कडा थिएन । यो पनि रुघाखोकी गराउनेमध्येको एउटा भाइरस हो । कुनै–कुनै भाइरस कडा हुन्छन्, जसले मानिसको श्वासप्रश्वासमा समस्या ल्याउने, निमोनिया गराउने र वृद्धवृद्धाको मृत्यु गराउनेसम्म काम गर्छ । अहिले विश्वभर देखिएको कोरोना भाइरस त्यही समुदायको हो । रुघाखोकी इन्फ्लुएन्जा र राइनो भाइरसले गराउँछ । राइनो भाइरसले समय–समयमा आफ्नो रूप परिवर्तन गर्ने भएकाले यसविरुद्धको कुनै पनि खोप बनेको छैन । रुघा लागेको केही दिनमा यो आफैँ ठीक भएर जान्छ । मानिसलाई गम्भीर नबनाउने भएकाले पनि राइनो भाइरसको खोप बनाइएको छैन ।

इन्फ्लुएन्जा भाइरसले १९१८ मा विश्वभर महामारी गराएको थियो । त्यसविरुद्ध भ्याक्सिन बनाइयो । इन्फ्लुएन्जा भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा मात्रै सर्‍यो । तर, हाल देखिएको कोरोना भाइरस कोभिड–१९ एक व्यक्तिबाट अन्य व्यक्तिमा सर्ने क्रम धेरै बढी देखियो । हाल विश्वका मानिस डराएका कारण एकजना संक्रमित हुँदा त्यसले धेरै व्यक्तिमा सार्ने र संक्रमित व्यक्तिको मृत्यु धेरै गराएका कारणले हो । पछिल्लो समय विशेषगरी वृद्धवृद्धा र दीर्घरोगी यसको सिकार बनेका छन् । अझ ५० वर्षमाथिको मृत्युदर धेरै देखिएको छ ।

कोभिड–१९ले संक्रमित व्यक्तिलाई लक्षण देखिनुअगावै अरूलाई सारिसकेको हुन्छ । यसले गराउने निमोनियाको उपचार सम्भव छैन । यसको लक्षण पनि संक्रमित व्यक्तिअनुसार फरक–फरक देखिएको छ । गन्ध जाने, स्वाद जाने, बेहोस हुने, बिर्सिने, झाडापखाला लाग्ने जस्ता विभिन्न लक्षण देखिएका छन् । जुन संक्रमित व्यक्तिपिच्छे फरक–फरक पनि हुन सक्छ । विश्वका कतिपय देशमा कोरोनाको मृत्युदर निकै छ । तर, नेपालमा देखिएको संक्रमितको संख्याअनुसार मृत्यु कम छ । विकसित देशको अनुपातमा नेपालमा वृद्धवृद्धाको संख्या पनि कम भएकाले मृत्यु अहिलेसम्म न्यून रहेको हुन सक्छ । कतिपय हामीले जानकारी नपाएकाले पनि कम भएको हुन सक्छ ।

कोरोना संक्रमण हुनै नदिने जनस्वास्थ्यको पहिलो प्रयास थियो । तर, सम्भव भएन । संक्रमण समुदायस्तरसम्म फैलियो । यसलाई रोक्न अब खोप मात्रै विकल्प छ । दोस्रो विकल्प, कोरोना भइसकेपछि आइसोलेसनमा राखेर सही उपचार दिने हो । उपचारमा पनि हाल प्लाज्मा र र्‍याम्डेसिभिर चलाइएको छ । यी दुवै विधिले कसैलाई काम गरेको छ भने कसैलाई गरेको छैन । त्यसैले कोरोनाको औषधी यही हो भन्न सकिएको छैन । कोरोना लागेर ठीक भएपछि पनि यसले स्वास्थ्यमा कस्तो असर गर्छ भन्नेबारे हामी जानकार छैनौँ । विश्वव्यापी रूपमा सामाजिक कार्यमा जुट्न, विद्यालय खोल्न एउटा मात्रै विकल्प भनेको अब खोप मात्रै हो ।

खोप निर्माण गर्दा विभिन्न विधि अपनाइएका छन् । कोभिड–१९ गराउने भाइरसलाई मारेर त्यसको एक पार्ट मानिसको शरीरमा दिँदा त्यसले रोग प्रतिरोधी क्षमताको वृद्धि गर्छ र रोग लाग्नबाट जोगाउँछ । पोलियो, हेपटाइटिस ‘ए’ भ्याक्सिन भाइरस मारेर बनाइएको हो । चीनले बनाएको सिनोभ्याक भ्याक्सिनमा यो विधि अपनाइएको छ । अर्को भाइरसलाई कमजोर पारेर पनि खोप बनाउने चलन छ । बिसिजी भ्याक्सिन जीवित भाइरसबाट बनाइएको हो, तर यसको भाइरसलाई कमजोर पारिएको हुन्छ । कतिपयले सम्बन्धित भाइरसलाई अन्य फरक भाइरससँग मिलाएर शरीरभित्र पठाएर पनि एन्टिबडीको विकास गरेका छन् । जस्तै– एस्ट्रजेनेका अक्सफोर्डले यो विधि अपनाएर खोप बनाएको छ ।

हाम्रो राष्ट्रिय खोप सल्लाहकार समितिले सिफारिस नगरी खोप प्रयोगमा ल्याइँदैन । हामी सबै खोपबारे विविध पक्ष केलाएर मात्रै यसको निर्णय लिन्छौँ । सम्बन्धित देश र त्यहाँका विज्ञले राम्रो छ भन्दैमा नेपालमा स्वीकृत हुँदैन ।

त्यस्तै कमजोर पारिएको आरएनए भाइरस उपयोग गरी फाइजर र मोडरनाले खोप बनाएका छन् । रसियाले स्पुतनिक भी खोप पनि अर्को कुनै भाइरससँग जोडेर बनाएको छ । यस्ता विधि अपनाएर दुई सयभन्दा बढी खोपहरू बनिरहेका छन् । तर, अहिले अन्तिम चरणमा भने १०–११ वटा खोप पुगेका छन् । राष्ट्रिय खोप सल्लाहकार समितिले अहिले सरकारलाई कुन रोग प्रचलित छ, उक्त रोगविरुद्ध खोपको उपयोगिता कस्तो छ, कस्ता–कस्ता खोप उपलब्ध र सुरक्षित छन्, खोपको प्रभावकारिता, लागत खर्च र खोपलाई देशव्यापी लैजान के गर्नुपर्छ भनेर सल्लाह दिने काम गर्छ ।

नेपालमा यसको उपस्थिति व्यापक छ । अस्पतालमा कोभिड–१९ का बिरामी भर्ना हुने दर घटेको छैन । हामीले कुन उमेर समूहमा बढी असर पारेको छ भन्ने पनि हेरेका छौँ । दादुरा रुबेलाले पाँच वर्षमुनिका बालबालिकाको मृत्यु गराएको छ । त्यसैले यसको लक्षित समूह पाँच वर्षमुनिको भयो । तर, कोभिडले ५० वर्षभन्दा माथि उमेर समूहको मृत्यु धेरै गराएको छ । त्यसैले यो खोप वृद्धवृद्धालाई आवश्यक देखिएको छ । यता फ्रन्टलाइन स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मीलाई पनि खोप लगाउन आवश्यक छ । कोभिड नियन्त्रण गर्न खोपबाहेक अरू कुनै विकल्प नभएको निष्कर्षमा विश्व पुगेको छ । आममानिसले साबुनपानीले हात धुने, सामाजिक दूरी कायम गर्ने, मास्क, सेनिटाइजरको प्रयोग गर्दा पनि कोरोना नियन्त्रणमा ल्याउन सकिएन । त्यसैले खोप मात्रै यसको अन्तिम विकल्प हो ।

हामीले मानिसमा खोप लगाउँदा त्यसको प्रभावकारिता हेर्छौं । खोप लगाएका ५० देखि ७० प्रतिशत मानिसलाई कम्तीमा पनि त्यसले काम गर्नुपर्छ । खोपको आवश्यकता महसुस गरेका छौँ, तर भ्याक्सिनको उपलब्धता भएको छैन । हाल तीनवटा भ्याक्सिन मोडरना, फाइजर र एस्ट्रजेनेका अगाडि आएका छन् । ती खोपहरू सुरक्षित भएको कुरा आएको छ । त्यस्तै, चीनको सिनोभ्याकर रसियाको स्पुतनिक भी, तयार भए पनि उनीहरूले अनुसन्धानको सबै रिपोर्ट सार्वजनिक गरेका छैनन् । यति हुँदाहुँदै पनि विश्व स्वास्थ्य संगठनले आपत्कालीन अवस्थामा प्रयोग गर्न अनुमति दिएको छ । बाहिरका वैज्ञानिकले अध्ययन गर्ने वेला नभएकाले त्यो खोप नेपालमा तत्काल सम्भव देखिँदैन ।

खोप प्रभावकारी र सुरक्षित भए पनि त्यसको मूल्य मुख्य चुनौती हो । धनी देशले बजारमा आउनुपूर्व नै आफ्ना नागरिकका लागि खोप सुरक्षित गरिसकेका छन् । त्यसैले उत्पादन भएर बजारमा आउँदा सबैभन्दा पहिला धनी देशले लैजाने हुन् । गरिब देशमा खोप आउने अवस्था हुँदैन । आए पनि गरिब देशले महँगो मूल्य तिर्न सक्दैनन् । ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी) ‘कोभ्याक्स सुविधा’ले नेपालजस्ता गरिब देशका २० प्रतिशत जनतालाई दुई डलरमा खोप उपलब्ध गराउने बताएका छन् । त्यसका लागि खोप बजारमा आउनुपूर्व नै सम्बन्धित राष्ट्रले लिने सहमति गर्नुपर्छ । नेपालले खोप चाहिन्छ भनेर सहमतिपत्र पठाइसकेको छ । खोप ल्याउने, तर हामीसँग भएका जनशक्ति, भण्डारण क्षमताले धान्न सक्छ ? यो फेरि अर्को मुख्य प्रश्न हो । नेपालमा माइनस ७० देखि ८० डिग्री सेन्टिग्रेटको खोप भण्डारण गर्न फ्रिज छैन । अनुसन्धानका लागि भएका केही प्रयोगशालामा मात्रै यस्तो फ्रिज हुन सक्छ । तर, हरेक स्वास्थ्य संस्थामा यो सुविधा छैन । त्यसकारण माइनस ७० मा भण्डारण गर्ने फाइजरको खोप ल्याउन सक्ने अवस्था छैन । एस्ट्रजेनेका र मोडरनाको खोप माइनस २० डिग्री सेन्टिग्रेटमा भण्डारण गर्नुपर्छ, त्यो क्षमता नेपालमा केही बढी छ । खोप लगाउने, वितरण गर्ने विषयमा कुनै समस्या छैन । केही समयको तालिमपछि यो सेवा दिन हाम्रा स्वास्थ्यकर्मी तयार हुन्छन् ।

खोप सुरक्षित भएको पुष्टि भएपछि मात्रै नेपाली जनतामा सो खोपको स्वीकृति दिइनेछ ।

मोडरना, फाइजर र एस्ट्रजेनेकाका खोप डिसेम्बरसम्म बजारमा आउँछन् । यीमध्ये कुनै पनि खोप लिन सकिन्छ । तर, माइनस ७० को तयार भयो भने हाम्रो क्षमताले भ्याउँदैन । ल्याए पनि धेरै ठूलो रकम खर्च हुन्छ । कोभ्याक्स सुविधाअन्तर्गत लिँदा पनि धेरै रकम खर्च हुन्छ । रकम जुटाउन सरकारले विभिन्न प्रकारका कोष तयार पारेको छ । विगतमा कोरोना परीक्षण किट ल्याउँदा कम गुणस्तरको ल्यायो भन्ने विज्ञको गुनासो थियो । अहिले फेरि खोपमा अविश्वासजस्तो देखिएको छ । उहाँहरूको मनमा महँगो खोप ल्याउन लाग्यो भन्ने खालका प्रश्न उब्जिएका होलान्, तर हाम्रो राष्ट्रिय खोप सल्लाहकार समितिले सिफारिस नगरी खोप प्रयोगमा ल्याइँदैनन् । हामी सबै खोपबारे विविध पक्ष केलाएर मात्रै यसको निर्णय लिन्छौँ । चीनको सिनोभ्याक र रसियाको स्पुतनिक भी नामक खोप सस्तोमा उत्पादन भएको छ । उनीहरूले आफ्नो देशमा दर्ता गरे पनि त्यसको प्रभावकारिताबारे गरिने अध्ययन अनुसन्धानको रिपोर्ट सार्वजनिक गरेका छैनन् । सम्बन्धित देश र त्यहाँका विज्ञले राम्रो छ भन्दैमा नेपालमा स्वीकृत हुँदैन । खोपको अनुमति पाउन वैज्ञानिक जर्नलमा राम्ररी विवेचनासहितको प्रकाशन सार्वजनिक हुनुपर्छ ।

रिसर्चका खोप अनुसन्धानका तीन तह हुन्छन् । पहिलो खोप जनावरमा परीक्षण गरिन्छ । दोस्रो चरणमा स्वयंसेवीमा दिएर असर गरे–नगरेको हेरिन्छ । त्यो सन्तोषजनक भएपछि पुनः दोस्रो परीक्षण गरिन्छ, जुन केही ठुलो संख्यामा खोप लगाएर त्यसको प्रभावकारिता हेरिन्छ । अन्तिममा तेस्रो चरणको परीक्षण गरिन्छ, जुन धेरै ठूलो समुदायमा गरिन्छ । हामी दोस्रो तह पार गरिसकेका खोपबारे मात्र अनुसन्धानको विचार गर्छौँ । खोप सुरक्षित भएको पुष्टि भएपछि मात्रै नेपाली जनतामा सो खोप प्रभावकारी हुन्छ–हुँदैन भनेर हेर्न स्वीकृति दिइनेछ । त्यसैले हामी पहिलो र दोस्रो चरणको सफल भएर प्रभावकारी देखिएपछि मात्रै तेस्रो चरणको परीक्षणलाई अनुमति दिनेछौँ । स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठन डब्लुएचओबीच छलफल गरी खोप लगाउने जोखिम समूहको वर्गीकरण गरिएको छ । कोभ्याक्स सुविधाले दिने २० प्रतिशत खोपमध्ये कोभिडमा काम गर्ने स्वास्थ्यकर्मी तीन प्रतिशतलाई पहिलो चरणमा दिने निर्णय भएको छ । बाँकी १७ प्रतिशतमध्ये ५४ वर्षमाथिका १२ प्रतिशत र ४४ वर्ष नाघेका दीर्घरोगीलाई दुई डलरमा खोप उपलब्ध गराउने भएको हो । २० प्रतिशतलाई दुई डलरमा दिए पनि बाँकी खोप कसरी दिन सक्छौँ भनेर कोभ्याक्स सुविधासँग सरकारले कुरा गरिरहेको छ ।

१५ वर्षमुनिका बालबालिका कम संक्रमित हुने र संक्रमित भएका पनि गम्भीर अवस्थामा धेरै नपुगेका कारण उक्त उमेर समूहलाई अन्तिममा लगाउने योजना छ । कोभ्याक्स सुविधालाई सरकारले आवश्यक तयारी गरिरहेकाले खोप प्रयोगमा कुनै समस्या नभएको भन्दै पत्र पठाइसकेको छ । कोभ्याक्स सुविधाको कोभिडविरुद्धको खोप नयाँ भएकाले उत्पादक कम्पनीले सुरक्षाको ग्यारेन्टी माग गरेको बताएको छ । नयाँ खोप भएकाले यसले के–कस्तो समस्या गराउन सक्छ, थाहा भइसकेको छैन र यसले केही हानि–नोक्सानी वा कसैको मृत्यु भयो भने त्यस्तो मुद्दा आफूलाई लाग्न हुँदैन भन्ने कुराको ग्यारेन्टी माग गरेको छ । सुरक्षाको ग्यारेन्टी नभए किन खोप दिने भन्ने कुरा छ । कोभ्याक्स सुविधाले उत्पादक कम्पनीलाई मुद्दा हाल्न पाइँदैन भनेपछि त्यसका लागि सरकारले काम गर्न बाँकी छ । यो काम स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयले गर्ने हो । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार