पृथ्वीनारायणले सानातिना राज्य रजौटालाई एकसूत्रमा बाँध्दै सीमा एकीकरणका शीर्ष अभियन्ताको भूमिका खेलेका थिए । शाहले राज्यहरूको एकीकरण गरे जस्तै अहिले सबै नेताहरूको पनि शीर्ष नेता आवश्यक परेको छ भन्ने आमजनताको धारणा रहेको पाइन्छ ।
सर्वमान्य नेताको भूमिका खेल्ने कार्यको अभावका कारण छिमेकी देशले फितलो सरकारलाई अनेक दबाबमा पार्ने गरेको कुरा बेलाबखत सुनिने गर्छ । अहिले संसद्मा दुईतिहाइ मत प्राप्त सरकार आफैँले संसद् विघठन गरेको अवस्था रहेको छ । एउटै पार्टीमा दुई अध्यक्ष भएकाले र अधिकारको बाँडफाँट नमिलेका कारण आफूमुनिका सहनेता, प्रदेश नेता, जिल्ला नेतालाई समेटेर अघि बढ्न नसक्नाले पार्टीभित्रै किचलो पैदा भएको सर्वसाधारण जनताले महसुस गरेका छन् ।
यस्ता कुराको समाधानका लागि अधिकारवाला नेता तथा पदाधिकारीले पृथ्वीनारायण शाहको उक्तिअनुसार मुलुक सबै जात तथा जातिको साझा फूलबारी हो भन्ने सान्दर्भिक भनाइ मनन गरी योग्यता र क्षमताअनुसार सबैमा अधिकार, कर्तव्य र कामको बाँडफाँट गरेर चोसोमोसो मिलाए अझै पनि समृद्ध नेपाल सुखी नेपाली बन्न सक्छ । नेताहरूको वाक्युद्ध, राजनीतिक लुछाचुँडी र भागबन्डाको अवस्थामा पृथ्वीनारायणको कथन/विचार अवलम्बन गरिए यसले समस्या समाधानको एउटा बाटो समात्न सक्ने थियो । त्यसैले यस घडीमा समेत पृथ्वीनारायणको उक्ति सदावहार, सार्थक तथा सान्दर्भिक रहेको आभास हुन्छ ।
उक्तिको सान्दर्भिकता
राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको २९७औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा ‘नेपाल प्राचीन कालदेखि स्वतन्त्र राष्ट्रको रूपमा विश्वमानचित्रमा अंकित रहेको स्मरण गर्दै हाम्रा पुर्खाहरूको वीरता, चातुर्य र स्वाभिमानयुक्त गुणले गर्दा हामीलाई सदासर्वदा स्वाधीन मुलुकको गौरवशाली नागरिकका रूपमा शिर ठाडो पारेर बाँच्न मद्दत पुर्याएकाले शाहको उपदेश अहिले पनि सान्दर्भिक रहेको उनको भनाइ छ’ (नागरिक दैनिक, ०७५ पुस २७) । त्यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘पृथ्वीनारायण शाहले एकीकरणको नेतृत्व गरेकै कारण नेपाल स्वाधीन राष्ट्रको रूपमा रहेको र विश्वमा धेरै राष्ट्र औपनिवेशिक र उपनिवेश हुँदासमेत नेपाल स्वाधीन रहेको ऐतिहासिक तथ्य विश्वसामु रहेको र उत्तरमा चीन, दक्षिणमा भारत औपनिवेशिक हुँदा पनि नेपाल स्वाधीन रहन सफल भयो, यसमा हामी सबैले गर्व गरेका छौँ’ भनेका छन् ।
दक्षिणतर्फको मित्र चतुर छ भन्ने अनुभव गर्न सकिन्छ किनभने नेपालमा प्रत्येक नयाँ प्रधानमन्त्री हुनेबित्तिकै ‘रेड कार्पेट’ ओछ्याएर स्वागत गर्न तातो निमन्त्रणा पठाइहाल्छ ।
यसैगरी, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई तथा झलनाथ खनालले समेत विभिन्न समय र कार्यक्रममा ‘पृथ्वीनारायण शाहको मुलुक एकीकरण अभियान प्रक्रिया समाज विकासको ऐतिहासिक भौतिकवादी दृष्टिकोणले सही थियो– शाहको दिव्योपदेश पढ्दा उनको दूरदर्शिता र नेतृत्व कौशल प्रमाणित हुन्छ– यो आज पनि उत्तिकै महत्वपूर्ण छ, राष्ट्रको हितका निम्ति सबै राजनीतिक दलहरूबीच राष्ट्रिय एकता हुनुपर्छ, विदेशी प्रभावबाट देशलाई मुक्त गर्न र परिपक्व कूटनीति चलाउन शाहको मार्गनिर्देशन आधारभूत रूपमा आज पनि सही छ, ऐतिहासिक काम गरेको हुनाले पृथ्वीनारायणलाई सदैव सम्झनुपर्छ’ भन्ने कुरा बताएका थिए । तर, पृथ्वीनारायणको उक्तिअनुसार राष्ट्रिय एकता नगरिएका कारण हाल देशमा किचलो उब्जिएको छ ।
नेपालको सिमाना एकीकरण र सुदृढ बनाउने चाहना राख्ने अभियन्ता पृथ्वीनारायण शाहको विभिन्न पहिचान रहेको छ । कतिपयले उनलाई राजाका रूपमा हेर्ने गरेका छन्, तर उनको क्रियाकलाप अध्ययन गर्दा नेपाल राष्ट्रनिर्माता, पूर्वराष्ट्राध्यक्ष, राष्ट्रप्रेमीको पहिचानसमेत रहेको छ भन्नुपर्ने हुन्छ । भारतमा शासन गरिरहेका अंग्रेजको पन्जाबाट नेपाललाई जोगाउन उनले अनेक रणनीति र कूटनीति अवलम्बन गरेका थिए । ५२ वर्षे जीवनकालमा नेपालको राष्ट्रियता बचाउन र राष्ट्रको संरक्षण गर्न अनेक उक्ति, उपदेश, भनाइ र दिव्य विचार उनले उजागर गरेका थिए ।
उनको समयकालदेखि हालसम्म नेपालमा कतिपय उथलपुथल भएका छन् । जस्तो– तत्कालीन जनताले थापा तथा पाँडेकाल भोगेका थिए भने त्यसपछि एक सय चारवर्षे जहानियाँ राणाशासन, प्रजातान्त्रिक काल, पञ्चायती कालखण्ड, पुनः प्रजातन्त्र प्राप्ति, लोकतन्त्र, शाहवंशको अन्त्य र हालको संघीय गणतन्त्रात्मक व्यवस्था पनि जनताले अनुभव गरिरहेका छन् । यतिका परिर्वनपछि पनि पृथ्वीनारायण शाहको उक्ति भनौँ वा दिव्य विचार या उपदेश राष्ट्रियताका हैसियतमा अहिलेसमेत सान्दर्भिक रहेको पाइन्छ ।
कूटनीति
पृथ्वीनारायणको उक्तिबारे समग्र रूपमा भन्नुपर्दा नेपाल राष्ट्र, नेपालको राष्ट्रियता, सार्वभौमिकता बचाउन, राष्ट्रिय सीमा संरक्षण गर्न र नेपालीलाई नेपाली भएर बाँच्न उनको सन्देशले योगदान पुर्याएको छ । नेपाललाई स्वतन्त्र राष्ट्रका रूपमा सदा खडा गराई उत्तर र दक्षिणका दुवै छिमेकीका दबाबबाट बचाइराख्नुपर्छ भन्ने मनसाय पृथ्वी विचारको कूटनीतिक सार हो भन्नु अत्युक्ति नहोला ।
उनको भनाइ थियो– ‘यो राजे दुई ढुंगाको तरुल जस्तो रहेछ, चीन वादशाहसित ठूलो घाहा (मित्रता) राषनु, दषिनको समुद्रका बादशाहसित घाहा ता राषनु, तर त्यो महाचतुर छ’ भन्ने उक्तिलाई देशको बागडोर सञ्चालनका लागि मार्मिक दृष्टान्तका रूपमा लिन सकिन्छ ।
शाहको विचार, उक्ति, उपदेश भनौँ अथवा दृष्टिकोण नेपाली राष्ट्रवादको जग हो र नेपाल राष्ट्रको आत्मा हो । अहिले नेताबीच एक–आपसमा हानथाप र शक्ति सन्तुलनको अभाव परेका समयमा पनि पृथ्वीनारायणले भुरे–टाकुरे राज्यको सीमा एकीकरण गरेजस्तै वर्तमान राजनीतिक नेताहरूको छरिएर रहेको विचार एकीकरण भए नेपालको समृद्धि उकालो लाग्ने थियो ।
हुन पनि हो, भारत या चीनमध्ये कुनै एकलाई नेपालले चिढ्याउने काम गर्यो भने अर्थात् एकातिर लहसियो भने नेपाल चिरिप्प नभए पनि हानि भने पुग्न सक्ने सम्भावना छ । त्यसैले नेपाल छुरीको धारमाथि हिँड्नुपरेको छ । चतुरोको फन्दामा परेर नेपाल बीचधारबाट दक्षिणतर्फ चिप्लिएमा दक्षिणको चतुरोले नेपाललाई खेलाई–खेलाई नुन–तेलसम्म पनि रोकेर पुनः नाकाबन्दी नगर्ला भन्न सकिँदैन । उत्तरतर्फ चिप्लिए उत्तरकै विचारधारामा नेपाललाई नडोहोर्याउला भन्न सकिँदेन ।
वर्तमान कालमा हाम्रा दक्षिणी छिमेकीले ०७६ कात्तिक १६ गते ‘भारतको राजनीतिक नक्सा’ प्रकाशित गरी नेपालको सार्वभौम भएको लिम्पियाधुरा–कालापानी–लिपुलेक क्षेत्रको ३७२ वर्गकिलोमिटर भूभाग सर्लक्क आफ्नो सरहदमा मिसाई नयाँ नक्सा प्रकाशित गर्यो । नेपालले प्रतिवाद गर्दै वार्ताका लागि आह्वान गर्यो । डिप्लोमेटिक नोट पठायो । तर, भारतले कोरोना भाइरस संक्रमण देखाई वार्ता आलटाल गर्दै आयो ।
नेपालले विवश भएर ०७७ जेठ ७ गते आफ्नो सार्वभौम क्षेत्र अंकन गरी ‘नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा’ प्रकाशित गर्योे । यसपछि भारत वार्ताको वातावरण बनाउन उद्यत भयो । यसैक्रममा भारतीय ‘रअ’ प्रमुख सामन्त गोयल प्रधानमन्त्री ओलीसँग साउती गर्न नेपाल आए । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवानेले मानको खातिर मान थाप्न नेपालको भ्रमण गरे । यसपछि भारतीय विदेशसचिव हर्षवर्धन शृंगलाको कूटनीतिक भ्रमण भयो ।
दुवै छिमेकीलाई समसामीप्यमा राखी नेपालको राष्ट्रियता बचाइराख्नुपर्छ भन्ने उक्तिअनुसार नेपालले चिनियाँ रक्षामन्त्री वेइ फेङ हे तथा त्यसको लगत्तै चिनियाँ कम्युनिस्ट पार्टी (सिसिपी) अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ औचोको टोलीलाई स्वागत गर्यो । परराष्ट्रमन्त्री भारत भ्रमणमा जाने कुरा अघि बढ्दै गर्दा अकस्मात् राजनीतिक अस्थिरता पैदा हुन पुग्यो ।
हालिमुहालीमा रहेका पदाधिकारीले पृथ्वीनारायणको उक्तिअनुसार मुलुक सबै जातजातिको साझा फूलबारी हो भन्ने सान्दर्भिक भनाइ मनन गरेको भए र योग्यता र क्षमताअनुसार सबैमा अधिकार र कामको बाँडफाँट गरेर देशलाई आर्थिक समृद्धितर्फ लम्काऔँ भन्ने धारणा कार्यान्वयन गरेको भए देशमा राजनीतिक रडाको मच्चिने थिएन होला । यस्तो रडाकोले देश आर्थिक समृद्धितर्फ लम्कने गतिलाई तत्कालका लागि प्रतिकूल प्रभाव पारेको कुरा गरिखाने सामान्य जनताले महसुस गरेका छन् ।
दक्षिणतर्फको मित्र चतुर छ भन्ने दृष्टान्त अन्य कुराबाट पनि अनुभव गर्न सकिन्छ । नेपालमा प्रत्येक नयाँ प्रधानमन्त्री हुनेबित्तिकै ‘रेड कार्पेट’ ओछ्याएर स्वागत गर्न तातो निमन्त्रणा पठाइहाल्छ । हाम्रा सरकार प्रमुख पनि लुरुलुरु गइहाल्छन् । भारतका प्रधानमन्त्री भने १७ वर्षपछि मात्र नेपाल आए । मित्रता भनेको त लगभग ‘रिसिप्रोसिटी’का आधारमा सुदृढ हुनुपर्ने हो । उनीहरूको ध्येय होला, हामी बोलाउँछौँ, उनीहरू आइहाल्छन् । यहीँ हामी उनीहरूको कुरा सुनिहाल्छौँ, जे सूत्र भन्नुपर्ने हो, उनीहरूलाई भनिहाल्छौँ । अनि बेकारमा धाइधाई नेपाल जान किन आवश्यक पर्यो र !
हुन पनि यस १७ वर्षे समयकालमा झलनाथ खनालबाहेक हाम्रा १२ प्रधानमन्त्रीले प्राथमिकताका साथ औपचारिक रूपमा भारत भ्रमण गरेका छन् । डा. बाबुराम भट्टराई प्रधानमन्त्री चुनिएको एक घन्टाभित्रै भ्रमणको निम्तो आएको थियो । उनी नेपालका प्रधानमन्त्रीको हैसियतमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेका थिए । त्यहाँ उनलाई भारतका सहसचिवस्तरका व्यक्तिले स्वागत गरे । निम्ताको जवाफमा हाम्रा सरकार प्रमुखले विमानस्थलमा आफ्ना समकक्षी उपस्थित हुने भए मात्रै भ्रमण गर्छु भनी सर्तसहित चतुरका अगाडि महाचतुर हुन सकेनन् । सायद पृथ्वी विचार बिर्सेर हो कि !
दिव्योपदेश पढ्दा शाहको दूरदर्शिता र नेतृत्व कौशल प्रमाणित हुन्छ– यो आज पनि उत्तिकै महत्वपूर्ण छ, राष्ट्रको हितका निम्ति सबै राजनीतिक दलहरूबीच राष्ट्रिय एकता हुनुपर्छ, विदेशी प्रभावबाट देशलाई मुक्त गर्न र परिपक्व कूटनीति चलाउन शाहको मार्गनिर्देशन आधारभूत रूपमा आज पनि सही छ ।
उत्तरको मित्र पनि कम छैन । चीन र भारतले नेपालको सम्प्रभुता भएको दार्चुलाको लिपुलेक नाकाबाट ती दुई देशले आ–आफ्नो व्यापार वाणिज्य अभिवृद्धि गर्ने भनी नेपाललाई एक वचन नसोधी सन् २०१५ मे १५ मा सम्झौता गरे । भारतले त बिस्र्यो, तर चीनले यस मामिलामा नेपाललाई किन सम्झेन ? यस्तै, भारतले नयाँ नक्सा प्रकाशित गरेर नेपालको कालापानी क्षेत्र मिसाएको सन्दर्भमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले १८ मे २०२० मा ‘कालापानी क्षेत्रबारे नेपाल–भारतबीचको मामिला सुल्झाउन आपसी मित्रवत् कुराकानी जरुरी रहेको छ ।
नेपाल–भारत दुवैले आपसी मैत्री संवादबाटै सुल्झाउनेमा चीन विश्वस्त छ, एकपक्षीयले कदम चाल्दा परिस्थिति थप जटिल हुनेतर्फ ध्यान दिनुपर्छ’ भने । तर, चीनलाई राम्ररी नै थाहा भए तापनि पुराना नक्सा दस्तावेजले कालापानी नेपालतर्फ देखाएको छ भनेन । अर्को कुरा, चीन–नेपाल सीमा–नाकाबाट रात–बेरात नेपाल छिरेका तिब्बतीलाई हिरासतमा लिएर चिनियाँ राजदूतावासलाई बुझाऊ, या त उनीहरू जताबाट आएका हुन्, उतै फिर्ता पठाऊ भनेर दबाब दिने गरेको छ । अमेरिकाले त्यस्ता तिब्बतीहरू शरणार्थी हुन्, उनीहरूलाई परिचयपत्र देऊ भन्दै नेपाललाई विवश पार्न खोज्छ । यस्तो अवस्थामा पनि पृथ्वीनारायणको यो राज्य दुई ढुंगाबीचको तरुलजस्तो अवस्थितिमा रहेको छ भन्ने कूटनीतिक उक्ति सान्दर्भिक रहेको बुझ्न सकिन्छ ।
अन्त्यमा,
यी सबै कुराको परिप्रेक्षमा पृथ्वीनारायण शाहको विचार, उक्ति, उपदेश भनौँ अथवा भनाइ, धारणा र दृष्टिकोण नेपाली राष्ट्रवादको जग हो र नेपाल राष्ट्रको आत्मा हो भन्न सकिन्छ । अहिले नेताबीच एक–आपसमा हानथाप र शक्ति सन्तुलनको अभाव परेका समयमा पनि पृथ्वीनारायणले भुरे–टाकुरे राज्यहरूको सीमा एकीकरण गरेजस्तै वर्तमान राजनीतिक नेताहरूको छरिएर रहेको विचार एकीकरण भए नेपालको समृद्धि उकालो लाग्ने थियो ।
पृथ्वीनारायणलाई शाहवंशीय राजाहरूको पितापुर्खाको हैसियतमा होइन, तर नेपाल राष्ट्रको निर्माताको रूपमा र हिमाली राज्य एकीकरण अभियन्ताका हैसियतमा उनको सम्झना र सम्मान गर्नुपर्छ । उनले गरेको राष्ट्रप्रेमको आदर र कदर गर्न हामीले हिचकिचाउनु हुँदैन र पर्दैन । नेपालको इतिहासमा उनको आफ्नै पहिचान रहेको कुरा बिर्सनु हुँदैन ।
नेपाल राष्ट्रको निर्माता को हुन् ? भनी स्वदेशी–विदेशीले सोधे भने हामीले विनाहिचकिचाहट सर्वप्रथम पृथ्वीनारायण शाह नै हुन् भन्नुपर्ने कुरा इतिहासले बताएको छ भन्नुपर्छ । उनले नै दुई सय ५१ वर्षअघि वर्तमान नेपालको जन्म गराएका हुन् ।
त्यसैले आजको घडीमा समेत पृथ्वीनारायणको उक्ति सदावहार तथा सार्थक रहेको आभास हुन्छ । नेपाल राष्ट्र, नेपालको राष्ट्रियता, सार्वभौमिकता बचाउन राजनीतिक नेताहरू मन, वचन र कर्मले ऐक्यबद्ध भई नेपालीलाई नेपाली भएर बाँच्न र बचाउन उनको उक्ति अवलम्बन गर्नुपर्छ । नयाँपत्रिका
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया