असार २४, २०८२ मंगलबार July 8, 2025

के होला देशको दशा–दिशा ? – श्रीकृष्ण अनिरुद्ध गौतम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ । विचाराधीन मुद्दामा विभिन्न विचार आदान–प्रदान भइरहेका छन् । बहस चलिरहेको छ, विघटन संविधानसम्मत छ कि छैन भनेर । संविधानमा कुन बेला कसरी के गर्न पाउने/नपाउने लेखिएको छ कि छैन भनेर । प्रणालीमा दरार कहीँ छ कि छैन भनेर । संविधानमै नलेखिई कसरी गरियो त विघटन भनेर ।

विगत एक महिनायता यसै विषयका वरिपरि सडक–टिप्पणी, भान्सागफका साथसाथै बौद्धिक अभ्यास पनि चलिरहेको छ । मिडियाका धेरैजसो हेडलाइन एक महिनायता यसैमा केन्द्रित छन् अथवा यसैका वरिपरि छन् । यसैका सेरोफेरोमा अधिकांश विश्लेषण, विचार, टीकाटिप्पणी भइरहेका छन् । त्यति मात्र होइन, शंका, उपशंका, आशंकाका अनेकन् खेती भइरहेका छन् । कुनै पनि घटनामा षड्यन्त्र देख्ने, ठूलै चलखेलका रूपमा बुझ्ने एउटा विशेष ‘अन्तर्यामी’ वर्ग नै हुन्छ, त्यस्ता अन्तर्यामीलाई ‘कन्स्पिरेसी’ विज्ञ भन्नुपर्छ । यिनको संसारै यसैमा चलेको हुन्छ ।

फैसला हुनु कताकता, अदालतले गर्ने फैसला फैसला नलेख्दै देख्ने त्यस्ता कतिपय ‘अन्तर्यामी’ धाएर घरै आएर भन्छन्, ‘विघटन सदर नभइछाड्दैन । ओलीले यो सब, सबैलाई नमिलाई गरेकै होइनन् ।’ म घरै आएका पाहुनालाई सम्झाउँदै भन्छु, ‘कहाँ हुनु त्यस्तो ! सुनुवाइ चलिरहेको छ भर्खर । फैसलै नलेखिई कहाँबाट ल्याउनुहुन्छ, यस्ता कुरा ?’ अन्तर्यामी थप्छन्, ‘नेपाल हो नेपाल, यहाँ सबै सेटिङमा चल्छ । कम बाठा छन् ओली !’ म नम्र प्रतिवाद गर्छु, ‘त्यस्तो हुँदैन । संस्थाहरूमाथि विश्वास गर्नुपर्छ । कसो न कसो, अन्ततोगत्वा अन्तस्करणकै वाणी सुनिन्छ र त्यही वाणीले जित्छ ।’
अवाञ्छित सक्रियता स्वतः निरर्थक हुन जान्छ । छिद्र अन्यत्र कतै होइन, आफैंमा छ । 
अन्तस्करणको वाणी सुनिन्छ र त्यही वाणीले जित्छ भन्ने विश्वास त्यहाँ फलिफाप हुन्छ, जहाँ विवेकको स्थान सर्वोच्च हुन्छ । त्यस्तो ठाउँमा न्यायले निर्धक्कसित काम गर्छ । त्यसैकारण सबैतिरबाट आस टुट्दासमेत न्यायपालिकाबाट टुट्नु हुँदैन भनिन्छ किनभने कतैबाट पनि निसाफ पाइएन भने अन्त्यमा न्यायालय त छ नि (!) भन्ने हुन्छ । न्यायालयको पनि भर छैन भन्ने भयो भने कतै कसैमाथि भरोसा गर्ने ठाउँ नै रहँदैन । न्यायिक संस्थाको निर्माण नै यसैकारण भएको हो ।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्ति पृथकीकरण त्यत्तिकै भएको होइन र लिखित संविधान भएका धेरैजसो देशले सर्वोच्च अदालतलाई संविधानको व्याख्याता त्यत्तिकै भनेका होइनन् । न्यायसम्पादन कार्यपालिका र व्यवस्थापिकाबाट निर्भय होस् भनेरै हो । यसैकारण विचाराधीन मुद्दामा प्रभाव नपरोस् भनेर बोल्दासमेत सतर्कता अपनाउनु, जथाभावी नबोल्नु भनिएको हो ।

म यी हरफहरू कुनै आदर्श व्याख्यानमालाको अंशको वाचनका रूपमा होइन, गम्भीरतापूर्वक मनन गर्न अनुरोधका रूपमा लेख्दै छु । आज मुलुकको मनोबल गिरेको अवस्था छ । दशकौं लामा संघर्षको परिणामस्वरूप प्राप्त स्वतन्त्र सोच, चिन्तन, विचार, उद्यमको प्रत्याभूति दिने शास्त्र (संविधान) को अर्थ गुम्ला कि भन्ने डर उपस्थित भएको छ । मानिलिऔं, प्रतिनिधिसभा पुनःस्थापना नभएर चुनाव भएछ । चुनाव हुँदैमा चमत्कार भइहाल्ने होइन । निर्वाचनपश्चात् झनै चुनौतीपूर्ण अवस्था आउनेछ । आउने नै छ किनभने त्यस अवस्थामा शासन सञ्चालन गर्न यो संविधानमा विद्यमान प्रावधानहरू पर्याप्त हुनेछैनन् ।

विघटनद्वारा निर्धारित प्रतिबन्ध तोडिसकेपछि त्यस अवस्थामा, यदि निर्वाचन भएमा, नवनिर्वाचित प्रतिनिधिसभा तुरुन्तै संविधान संशोधनतर्फ उन्मुख हुनुपर्ने हुन्छ । अझ प्रणालीको मूल मर्म नै प्रभावित भएको सन्दर्भमा संशोधन पर्याप्त नहुन सक्छ । परिणामस्वरूप वर्तमान संविधानै पुनर्लेखनमा जान सक्छ । यहाँनेर केचाहिँ ख्याल राख्नैपर्छ भने, यदि संविधान पुनर्लेखनतर्फ गयो भने विगतमा दबाइएका अनेकन् मुद्दा जुरुक–जुरुक उठ्न सक्छन् । त्यसैले विघटन पक्षधरहरूले चुनाव–चुनाव भनेर मात्र हुँदैन, चुनावपछिका चुनौतीमाथि पनि सोचेर बोल्नुपर्छ ।

विघटन पक्षधरहरूले चुनाव–चुनाव भनेर मात्र हुँदैन, चुनावपछिका चुनौतीमाथि पनि सोचेर बोल्नुपर्छ ।

त्यस्तै, प्रतिनिधिसभा पुनःस्थापना पक्षधरका आफ्नै तर्क छन् । उनीहरूका तर्क निश्चय नै संविधानका अक्षरअनुरूप छन्, सशक्त छन् । हो, निश्चय नै लुकेका अर्थ, अर्थान्तर, दरारतर्फ उनीहरूले अहिले सोचेका छैनन् । दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाउने, धारा ७६(७) बाहेकको अवस्थामा विघटन नहुने, प्रतिनिधिसभाको अवधि पूरै पाँच वर्ष हुनेजस्ता विषयका ज्ञाता भएका छन् उनीहरू । यस पक्षधरकाहरू संविधानका पाना पल्टाउँदै विघटन संविधानसम्मत छैन भन्ने गर्छन् । कहाँ कुन धाराले के भनेको छ, कण्ठै छ उनीहरूलाई । तर कण्ठ भएर के हुन्छ, उनीहरूले फैसला गर्ने होइनन् ! उनीहरूले गर्ने भए त उहिल्यै आफैं प्रतिनिधिसभाको पुनःस्थापना गरिसकेका हुन्थे । यहाँनेर यी राजनीतिक दल र तिनका नेतालाई समस्या के छ भने, उनीहरू आफैं फैसला गर्न पाउँदैनन् । झगडिया आफैंले फैसला गर्न पाउँदैन । पाउने भए उनीहरूले प्रतिद्वन्द्वीहरूविरुद्ध बडेबडे सजाय तोकिसकेका हुन्थे ।

पाउने नै भए ओलीले बालुवाटारमै र पुष्पकमल दाहालले कताकता पार्टी प्यालेसमा आआफ्ना इजलास गठन गरेर फैसला सुनाइसकेका हुन्थे । निश्चय नै आफ्नो पार्टीका कसलाई निकाल्ने वा कसलाई हुल्ने भन्ने निर्णय त उनीहरूले गर्न पाउँछन् र कतिपय त गरी पनि सके । त्यो उनीहरूको आन्तरिक मामिला हो । प्रतिनिधिसभा तर उनीहरूका पार्टीको सम्पत्ति थिएन र होइन । अचम्म त के भने, उनीहरूले अझै आफ्ना घरझगडाको तारो किन र कसरी प्रतिनिधिसभा भयो भन्ने विषयमा दुनियाँलाई जवाफ दिनु आवश्यक छ भन्नेसम्म मानेका छैनन् । विघटनले उनीहरूका पार्टीलाई पर्ने असर आफ्ना ठाउँमा छ तर असर त्यहाँ मात्र सीमित हुने होइन । यो त देशको मामिला हो । प्रतिनिधिसभा देशको सम्पत्ति हो, निधि हो । यसबारे संविधान बोलेको छ । संविधान के बोलेको छ, यसको व्याख्या ओली र दाहालका मुखारविन्दबाट होइन, संवैधानिक इजलासबाट आउनुपर्छ । ओली र दाहालले गरेका फैसलाको कुनै अर्थ हुँदैन ।

निश्चय नै त्यस्तो फैसलाको कुनै औचित्य हुँदैन, तथापि कल्पना गरिहेरौं यदि उनीहरूले फैसला गर्न पाउँथे भने कस्ताकस्ता नमुना फैसला गर्थे होलान् । कति गालीगलौज हुँदा हुन् ओली अध्यक्षताको इजलासले गरेको फैसलामा तथा दाहाल अध्यक्षताको फैसलाले कस्ताकस्ता आरोप लगाएका हुन्थे होलान् ! उनीहरूका इजलासका न्यायाधीश को–को हुन्थे होलान् ! नाम किन लेख्नु, ओली र प्रचण्ड, दुवैतर्फका धुरन्धर विद्वान्हरू चिनिएकै हुन् । ओलीका मन्त्री हुँदा हुन्, प्रचण्डका पूर्वमन्त्रीहरू । जे–जे होस् तथापि नेकपाको यतिका रमिता देखिसकेपछि अब केचाहिँ भन्न सकिने भइयो भने, उनीहरूका फैसलाहरू पक्कै पनि घरमा परिवारसँगै बसेर सुनिसक्ना, पढिसक्ना हुने थिएनन् ।

तात्पर्य के भने, यस बखत भाषणविशेषमा ओलीले के–कस्ता टुक्का हाने अथवा गाली बोले, दाहालले उकुसमुकुस पोख्न के बोले भन्ने विषय सुनिनसक्ना भएका छन् । किनभने नेताहरूको स्तर अचेल कतिपय निकृष्ट सञ्जाले टिप्पणीलाई पनि माथ दिने गरी खस्केको छ, बोलीवचन त्यसरी नै ओरालिएको छ । उनीहरूको स्तर त खस्क्यो नै, त्यो त के भो र, तर उनीहरूले बोलेका शब्दहरू पढ्दा, सुन्दा, पुनरुच्चारण गर्दा आफ्नै दिन बिग्रने डर हुन्छ ! बिर्सेर घरमा बोलियो भने घरबार टुट्ने डर हुन्छ, बच्चाहरूको संस्कार बिग्रने डर हुन्छ । ओली र दाहाललाई तर यसतर्फ चिन्ता छैन । लोकले बडाको अनुकरण गर्छ भन्ने हेक्का छैन । लोकतन्त्रमा राजनीतिलाई शिष्ट, शालीन बनाउनुपर्छ भन्ने ज्ञान छैन । यसतर्फ ध्यान छैन । ध्यान छ अन्तै ।

एमाले र माओवादी छुट्टै थिए । प्रयोजनविशेषले जोडिएका थिए । फेरि छुट्टिए । निश्चय नै छुट्टिँदा दाहालले माधवकुमार नेपाललाई पनि आफ्नै शिविरमा लिएर गएका छन् । मिल्दा जुट्नु र नमिल्दा फुट्नुलाई स्वाभाविक मानिन्छ र मान्नुपर्छ । जुट्दा हौसिने र फुट्दा जगतै हल्लेको ठान्दा हुनेचाहिँ यस्तै हो । टुट्न, फुट्न, छुट्टिन छुट हुन्छ तर फुट्दा व्यवस्थालाई चाहिँ असर नपर्ने गरी फुटिदिएको भए हुन्थ्यो । फुट्नु र आआफ्नो बाटो लाग्नु । प्रतिनिधिसभा नै विघटन किन गर्नुपर्‍यो ? नेकपाभित्रको झगडा बुझियो तर त्यो झगडालाई कारण बताएर प्रतिनिधिसभा विघटनको औचित्य पटक्कै स्थापित हुँदैन ।

नेकपाभित्रको झगडा बुझियो तर त्यो झगडालाई कारण बताएर प्रतिनिधिसभा विघटनको औचित्य पटक्कै स्थापित हुँदैन ।

निश्चय नै संविधानसभाले लेखेको संविधानमातहत भएका निर्वाचन र निर्वाचनमा व्यक्त जनादेशको पालना गर्दै पाँच वर्ष पूरै सरकार चलिदिएको भए हुन्थ्यो, प्रतिनिधिसभा सुचारु रहेर आवधिक निर्वाचन गर्ने मिति पर्खिदिएका भए हुन्थ्यो । लोकलाई त्यस्तो बित्दो केही थिएन तर नेकपाका नेताहरू आआफ्नै अहंकारका भारले अलग्गिए । आफ्नै दुर्बुद्धिले फाटे र फुटे । फुटे मात्र होइन, संविधानलाई धरापमा पुर्‍याए ।

त्यसैले अब के हुन्छ, अनुमानबाहिर भएकाले प्रतिनिधिसभा विघटनमा षड्यन्त्र सिद्धान्तकारहरू भनौं अथवा ‘कन्स्पिरेसी’ विज्ञहरू संयुक्त राज्य अमेरिका र भारतको हात देखिरहेका छन् । जहाँ अस्पष्टता हुन्छ, त्यहाँ ‘कन्स्पिरेसी’ विज्ञहरू सक्रिय हुन्छन् । त्यस्तै तर अर्का थरी विज्ञचाहिँ प्रतिनिधिसभा पुनःस्थापना अभियानमा चीन सक्रिय रहेको विश्लेषण बेचिरहेका छन् । पुनःस्थापना कि निर्वाचन भन्ने विषय एउटा निष्कर्षमा नपुगुन्जेल षड्यन्त्र अर्थात् ‘कन्स्पिरेसी’ विज्ञहरूको बजार यसरी ताती नै रहनेछ र क्रमशः ‘न्यारेटिभ’ नै त्यही बन्न सक्छ ।

जबकि जो जस्ता जोसुकै देशी–विदेशी सक्रिय भए पनि आफ्नो घरद्वार सही हुने हो भने अवाञ्छित सक्रियता स्वतः निरर्थक हुन जान्छ । त्यसैले मुख्य कमजोरी यहीँभित्रै छ । छिद्र अन्यत्र कतै होइन, आफैंमा छ । हरेक मुलुकलाई आफ्नो प्रभाव विस्तार गर्ने चाहना हुन्छ र सक्नेले गर्छन् पनि । आजको विश्वमा फेरि प्रभावविस्तारका नयाँनयाँ उपकरणहरू आइरहेका छन् । नयाँनयाँ उपक्रम थपिँदा छन् । तर यी सबै उपक्रम र उपकरणलाई ठाउँ दिने वातावरण भित्रैकाले बनाउँछन् । त्यसैले अहिलेको राजनीतिक उधुम बाहिरीभन्दा पनि भित्री खेलकै तरंग हो । बाह्यशक्ति लगायतले नतिजा आआफ्ना पक्षमा पार्ने प्रयास गर्नेछन् नै । तर जड कारणचाहिँ ओली र प्रचण्डका महत्त्वाकांक्षाको लडाइँ नै हो । त्यही लडाइँले प्रतिनिधिसभा विघटन गरायो र विघटन मात्र गराएन, देशको भावी दशा–दिशा तय गर्ने दायित्व नै न्यायाधिकारीहरूका जिम्मामा सुम्पेको छ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार