असार २५, २०८२ बुधबार July 9, 2025

काँग्रेसको अबको गन्तव्य – बेनी बहादुर कार्की

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाली काँग्रेस नेपालकै जेठो दल हो । यसले नेपालमा १०४ वर्ष शासन गरेका जहानियाँ राणा शासनविरुद्ध सङ्घर्ष गरेर प्रजातन्त्र ल्याउन सफल नेतृत्व गरेको थियो । यसैगरी, निरङ्कुश राजाहरूको शासनविरुद्ध लामो सङ्घर्ष गरेर २०४६ सालमा नेपालमा बहुदलीय व्यवस्था ल्याउन पनि काँग्रेसले नै नेतृत्व गरेको हो । ०६२–०६३ को संयुतm जनआन्दोलनको अग्रपङ्तिमा पनि नेपाली काँग्रेस नै थियो । नेपालमा २५० वर्षको शाहवंशीय राजाको शासन समाप्त गरेर नेपालमा गणतन्त्र स्थापनादेखि वर्तमान संविधानको कार्यान्वयनको अग्रभागमा रहेर नेपाली काँग्रेसले आजको राजनीतिक प्रणालीको जग बसायो ।

अहिले पुनः नेपाल अन्योलग्रस्त भएको छ । धेरैलाई लागेको छ– गत पुस ५ गते अस्वाभाविक रूपमा संसद् (प्रतिनिधिसभा) विघटन गरियो । संसद् विघटन गरिएकै दिनदेखि नेपालमा अन्योल सिर्जना भएको छ । सोपछि अहिले दैनिक थरीथरीका आन्दोलनको प्रतिस्पर्धा भइरहेका छन् । आन्दोलन र विरोधका कार्यक्रम काँग्रेससमेत विभिन्न दलमात्र नभई, स्वयम् नेपाल कम्युनिस्ट पार्टीकै एक समूहबाट चर्को प्रतिस्पर्धासाथ विरोधका कार्यक्रम चलिरहेका छन् । यसरी असामान्य रूपमा मुलुक अँध्यारो सुरुङतर्फ अघि बढिरहेको अवस्थामा पुगेको छ ।

संसद् विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले सबैको ध्यान अदालततर्फ गएको छ । उता नेकपाको विभाजनको विवाद निर्वाचन आयोगमा पनि चलिरहेको छ । हो, मुलुक यतिबेला मुलुक विवादै विवादले घेरिएको छ । नेपालमा भएको अहिलेको राजनीतिक प्रणाली ०६२–०६३ को संयुक्त जनआन्दोलनबाट आएको हो । यसको रक्षा गर्नु सबैको साझा दायित्व हुन्छ । त्यसमा पनि परिवर्तनका लागि भएका आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेको नाताले काँग्रेसको झन् अहम् भूमिका हुने नै भयो ।

संयुक्त जनआन्दोलनबाट ल्याइएको अहिलेको राजनीतिक प्रणालीको रक्षा गर्नु प्रथमतः साझा काम हो । दोस्रो संविधानसभापछिको निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाले बहुमत ल्याएकाले सरकारमा थियो । दोस्रो ठूलो दल भएको नाताले नेपाली काँग्रेस प्रतिपक्षमा छ । पाँच वर्ष नेपालको शासन प्रणाली चलाउन नेपाली जनताले गत निर्वाचनमा मत दिएका हुन् । नेपालको संविधान ०७२ ले गरेको व्यवस्था पनि यही हो । लामो समयको अन्तरालमा नेपालले एकमना बहुमतको सरकार पाएको थियो । यो बेला पाँच वर्षकै स्थिर सरकार हुन्छ, नेपाल समृद्ध हुन्छ अनि नेपाली जनता सुखी हुन्छन् भन्ने नेपालीको अपेक्षा थियो । यो अपेक्षामा अचानक तुषारापात लाग्यो । पहिलो कुरो, नेकपामा फुट नआएको भए राम्रो हुने थियो । जुन कारणले यसमा फुट आएको भए पनि यो त्यो दलको फुट थियो । यो फुटले संसद्लाई असर पर्नुपर्ने होइन । किनभने संसद् भनेको धेरै दलको साझा थलो हो । सरकारका तीन अङ्गमध्ये विधायिका एक स्वतन्त्र निकाय हो । कार्यपालिकाले संसद् विघटन गर्ने प्रक्रिया नेपालको संविधानको धारा ७६ को १ देखि ७ सम्ममा उल्लेख गरिएको छ । प्रतिनिधिसभा विघटनबारे मुद्दा परेपछि संविधानबमोजिम स्वतन्त्र अदालतबाट न्याय निरूपण हुनेछ भनेर जनताले अपेक्षा गर्नु स्वाभाविक हो ।

विगतमा हरेक ठूला राजनीतिक मोडमा यसैले नेतृत्व गरेको नाताले आफ्नो इतिहास कायम राख्नमात्र नभई, नेपाल र नेपालीको रक्षाका लागि समेत काँग्रेसले अहम् भूमिका निर्वाह गर्नैपर्छ ।

अहिलेको दृश्य हेर्दा नेपाली राजनीतिको रूप बालहठजस्तै देखिएको छ । तर, यो वास्तवमा वृद्ध हठ हो । किनभने बालहठ र वृद्धहठ उस्तै–उस्तै हुन्छ भनिन्छ । कोही आफ्नो दोष देख्दैनन्, आफ्नो गल्ती महसुस पनि गर्दैनन् । सबै मै ठीक हुँ भनिरहेका छन् । दूधले धोएको कोही हुँदैनन् र छैनन् पनि । वास्तवमा को ठीक भनेर नाप्न त फेरि पनि चुनावकै माध्यमबाट जनतामाझ नै जानुपर्ने हुन्छ । यो दिन आउने अवश्यम्भावी छ । फरक यतिमात्र हो कि बीचैमा जनताबीच जाने कि पाँच वर्षपछि मात्र जाने भन्ने हो । यसरी बीचैमा चुनावमा जाँदा मेलो दुई वर्षकै लाग्ने भयो ।

सर्वसाधारण नेपाली जनताको मनमा बल्ल–बल्ल मिलेका एमाले र माओवादी केन्द्र बीचैमा किन यसरी उफ्रनु ? पहिलेझैँ मिलेकै राम्रो । बरु पाँच वर्षपछि फुटे पनि फुट्नु । जनतालाई राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री खानु छैन । यी पद खान बानी परेकालाई पो पद छोड्न मुस्किल परेर यस्तो अनावश्यक काम गरेका होलान् । जनतालाई त सहज रूपले आफ्नो जनजीविका चले भइहाल्यो । अहिलेको विघटनले त जीविका चल्नै कठिन भयो । मूल्यवृद्धि आकासिएर बाँच्नै मुस्किल भएको छ । बन्द र हडतालले पहिलेकै रूप लिन थालेको छ । त्यसैले अहिले नै फुट्दा जनतालाई धोका दिएको भएन र ?

अहिले अदालत, निर्वाचन आयोग र सबै नेपालीलाई दुःख भएको छ । वकिलले पनि तीन सयभन्दा धेरै बहस गर्न वकालतनामा पेस गरेका छन् । सम्भवतः यो अहिलेसम्मकै धेरै सङ्ख्या हो । यसरी अहिले कसैलाई पनि सुख भएको छैन । समग्रमा राष्ट्र नै जटिल मोडमा पुगेको छ । यसरी नै स्वार्थवश अन्धो भएर अगाडि बढिरहने हो भने नेपालको भविष्य नै अन्धकारमय हुन सक्छ । त्यसैले बेलैमा सबैले गम्भीरतापूर्वक सोच्न आवश्यक भइसकेको छ ।

यो सङ्कट ल्याउन नेकपा त कारक भइहाल्यो । अरू दलहरूले पनि उसैको एउटा गुटसँग मिलेर आफ्नो फाइदा लिने काम गर्नुहुँदैन । बरु अहिले फुट्न उद्यत भएका दुवै समूहलाई सम्झाइ–बुझाइ गरेर सच्याउने प्रयास गर्नु राम्रो हुनेछ । यस विषयमा अरूभन्दा नेपाली काँग्रेसले विशेष सोच्न जरुरी छ । किनभने बजारमा काँग्रेसले नै नेकपाको यो वा त्यो समूहसँग मिलेर पदीय भागबन्डा र सत्ता साझेदारी गर्ने चर्चा चलेको छ । यदि यसै हो भने योभन्दा नराम्रो केही हुँदैन । इतिहास त मेटियामेट हुन्छ, हुन्छ, आफ्नो नाकमा कालो लागेर राजनीतिक भविष्य पनि अन्धकारमय हुनेछ । त्यसैले यसबेला काँग्रेसले फुकेर पाइला चाल्नुपर्ने भएको छ । पात र हाँगो बनेर कसैसँग मिसिन जाने होइन कि सबैलाई शीतल दिने रूखको जरो बनेर सबैलाई राष्ट्रहितको बाटोमा डो¥याएर नेतृत्व गर्न सक्नुपर्छ काँग्रेसले । जसले गर्दा उनीहरू गलत बाटो त्यागेर सही बाटोमा आउन र राष्ट्रले पनि छिट्टै सही निकास पाउन सकोस् ।

नेपालको वर्तमान अवस्था गम्भीर भएकोमा दुईमत हुन सक्तैन । यो अवस्थामा मुलुककै जेठो दलको नाताले नेपाली काँग्रेसको विशेष दायित्व हुन आएको छ । विगतमा हरेक ठूला राजनीतिक मोडमा यसैले नेतृत्व गरेको नाताले आफ्नो इतिहास कायम राख्नमात्र नभई, नेपाल र नेपालीको रक्षाका लागि समेत काँग्रेसले अहम् भूमिका निर्वाह गर्नैपर्छ । यसका लागि सभापति शेरबहादुर देउवाको नेतृत्वमा नेपाली काँग्रेसका सबै नेता कार्यकर्ताको काँधमा विशेष दायित्व आएको छ । यतिबेला उहाँले हरेक कौशल कला प्रयोग गरेर अहिलेको सङ्घीय गणतन्त्रको रक्षा गर्न जरुरी भएको छ ।

अहिले संसद् भङ्ग भएकै अवस्थामा निर्वाचन भए पनि त्यो बाटो सहज देखिँदैन । यसपछि पनि नेपालमा शान्ति हुने सम्भावना कम देखिन्छ । त्यसैले पहिलो त सहिदको रगतसँग साटिएको यो राजनीतिक प्रणालीको रक्षा गर्ने कर्तव्य काँग्रेसको काँधमा आएको छ । दोस्रोमा, ऐतिहासिक दलको सभापतिको नाताले र बीपीको अनुयायीको हैसियतमा पनि अहिलेको सङ्कटबाट मुलुकलाई बचाउनु काँग्रेस सभापति देउवाको काम भएको छ । अहिले जसरी पनि यो सङ्कटबाट नेपाललाई बचाउनु काँग्रेस नेतृत्वको पहिलो कर्तव्य हो । त्यसो गरिएमा नै काँग्रेसको उज्ज्वल भविष्य देखिन्छ । गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार