असार २४, २०८२ मंगलबार July 8, 2025

अब राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा – बलराम केसी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सर्वोच्च अदालतको फैसलाका लागि सबै नेपालीले संवैधानिक इजलासका पाँचैजना न्यायमूर्तिलाई सेल्युट गर्नुपर्छ । प्रधानमन्त्रीको दम्भपूर्ण गैरसंवैधानिक कदमले संविधान, कानुन, विधिको शासन, संविधानवाद सबैसबै नै ट्र्याकबाहिर जानेवाला थियो । किनकि उहाँले देशको प्रधानमन्त्री भएर आफूलाई संविधानले प्रतिनिधिसभा विघटनको अधिकार दिएको छ–छैन नहेरीकन, वरिष्ठ संविधानविद्हरूसँग परामर्श नगरीकन हठात् बहुमतको दम्भमा विघटन गर्नुभयो । अध्यादेश ल्याएर संवैधानिक परिषद्लाई तहसनहस पारिदिनुभयो । ६ सदस्यीय संवैधानिक परिषद्मा तीनजना बसेर संवैधानिक निकायमा रातारात भागबन्डामा नियुक्तिको सिफारिस गर्ने काम भयो । प्रधानमन्त्रीले एकातर्फ संसद् विघटन गर्ने, अर्काेतर्फ आफँैले विघटन गरेको संसद्लाई ‘संसदीय सुनुवाइ गर, नत्र भने म आफैँ नियुक्ति गर्छु’ भन्ने च्यालेन्ज गर्नुभयो । नभएको संसद्ले कहाँबाट सुनुवाइ गरोस्, आफैँले विघटन गरिदिएपछि ।

संसद् विघटन गर्ने अधिकार त उहाँलाई संविधानले दिएकै थिएन । तर, कहिले २०४७ सालको संविधान, कहिले बेलायतको संसदीय परम्परा देखाउँदै संसद् विघटनको कदमलाई सही, जायज र संवैधानिक देखाउने भरमग्दुर प्रयास गर्नुभयो । आफूले चालेको गैरसंवैधानिक कदमको बचाउमा उहाँले अदालतमा के भन्नुभयो भने मलाई त विशेषाधिकार छ । जुन अधिकार श्री ३ र श्री ५ हरूले प्रयोग गर्थे, ती सबै आफूमा सरेको छ भन्ने भ्रम पनि प्रधानमन्त्रीमा देखियो । उहाँमा त प्रधानमन्त्रीले जे गर्छ, त्यही नै कानुन हुन्छ भन्ने बुझाइ देखियो । प्रधानमन्त्रीलाई पनि संविधानसम्मत कार्यहरू मात्रै गर्ने अधिकार छ भन्ने हेक्का उहाँमा देखिएन । अहिलेका प्रधानमन्त्रीलाई त्यति अधिकार मात्रै छ, जति यो संविधानले प्रदत्त गरेको छ । ०४७ को संविधान, राणा प्रधानमन्त्री, पञ्चायत वा बेलायतको संविधान देखाएर वर्तमान नेपालको शासन हुन सक्दैन ।

यसो गरिरहँदा उहाँले के बिर्सिनुभयो भने नेपालमा न्यायपालिका पनि छ र त्यो स्वतन्त्र पनि छ । संविधान तथा कानुनको अन्तिम व्याख्याता र त्यसको रक्षा गर्ने निकाय सर्वोच्च अदालत हो । तर, उहाँले सर्वाेच्च अदालतलाई समेत देख्नुभएन । केवल सबै अधिकार मलाई छ भन्ने ठान्नुभयो ।

प्रधानमन्त्रीमा अलिकति पनि नैतिकता छ भने राजीनामा दिइहाल्नुपर्छ । उहाँ मात्रै होइन, प्रधानमन्त्रीका सबै असंवैधानिक कदममा सहयात्री हुनुभएकाले राष्ट्रपतिले पनि राजीनामा दिनुपर्छ । किनकि क्रियाकलापहरूले राष्ट्रपति प्रधानमन्त्रीको लाहाछाप बन्नुभएको प्रस्ट छ ।

कानुनी शासन भएको देशमा केवल एउटा व्यक्तिको लहडका कारणले देश समस्यामा पर्नु हुँदैन थियो । आज तीन करोड नेपालीको भविष्य सर्वोच्च अदालतले गर्दा बचेको छ । देश अन्योलपूर्ण अँध्यारोको मार्गमा अग्रसर हुनबाट बचेको छ । यस अर्थमा सर्वाेच्च अदालतको यो ऐतिहासिक फैसलाले संविधानको मात्रै रक्षा गरेको छैन, संविधानको रक्षा गर्दै गर्दा देश र जनताको पनि हित गरेको छ, रक्षा गरेको छ । अन्यथा, यो मुलुकले निकै ठूलो सास्ती व्यहोर्नुपर्ने हुन्थ्यो ।

प्रधानमन्त्रीको लिखित जवाफमा कहीँकतै विघटनको संवैधानिक आधार देखिँदैन । उहाँले मुढेबलका आधारमा विघटन गर्नुभएको प्रस्टै देखिन्छ । उहाँका वकिलबाट जुन विशेषाधिकारको कुरो आयो, त्यो त पञ्चायतको पालाको राजालाई मात्र हुन्छ । कानुनी शासनमा कार्यकारीलाई कुनै पनि विशेषाधिकार हुँदैन । उहाँ पञ्चायतको राजा होइन, लोकतन्त्रको प्रधानमन्त्री हो । लोकतन्त्र र विधिको शासन भनेकै विशेषाधिकाररहित कार्यकारीको अवधारणा हो, जसले कसैलाई पनि निरंकुश र स्वेच्छाचारी हुनबाट रोक्छ ।

उहाँका वकिलबाट पनि प्रधानमन्त्रीमा राजासरह अधिकार छ भन्ने कुरो आयो । वास्तवमा प्रधानमन्त्री राजाकै, राणाकै रूपमा गइरहनुभएको थियो । सर्वोच्च अदालतको फैसलाले यो देशमा कानुनी शासन मरेको छैन भन्ने देखाइदिएको छ । कसैले संविधानको ट्र्याक तोड्यो भने त्यसलाई सही ठाउँमा ल्याउन सर्वाेच्च अदालत छ, न्यायपालिका छ भन्ने देखाइदियो । दुर्दशाबाट आज अदालतले देशलाई बचायो, यसले स्वतन्त्र न्यायपालिकाको गरिमा बढेको छ ।

यदि प्रधानमन्त्रीमा अलिकति पनि नैतिकता छ भने राजीनामा दिइहाल्नुपर्छ । उहाँ मात्रै होइन, प्रधानमन्त्रीका सबै असंवैधानिक कदममा सहयात्री हुनुभएकाले राष्ट्रपतिले पनि राजीनामा दिनुपर्छ । किनकि क्रियाकलापहरूले राष्ट्रपति प्रधानमन्त्रीको लाहाछाप बन्नुभएको प्रस्ट छ । मुलुकको सर्वाेच्च पदमा आसीन व्यक्तिले संविधानको रक्षा र मुलुकको हितका खातिर हरसम्भव संवैधानिक प्रयास गर्नु दायित्व रहन्छ । कम्तीमा विघटनको सिफारिस सदर गर्नुअघि राष्ट्रपतिले अरू दलहरूले सरकार बनाउन सक्छन् कि सक्दैनन् भनेर मौका दिनुभएको भए आज यो अवस्था आउँदैनथ्यो । उहाँ राष्ट्रपति पदले निर्वाह गर्नुपर्ने न्यूनतम दायित्वबाट चुक्नुभएको छ । सेरेमोनियल राष्ट्रपतिको अर्थ प्रधानमन्त्रीका सबै गैरसंवैधानिक कदम निमेषभरमै अनुमोदन गरिदिने होइन, संवैधानिक तवरले डिल गर्ने हो । यसमा जति प्रधानमन्त्री दोषी हुनुहुन्छ, त्यति नै राष्ट्रपति पनि दोषी हुनुभएकाले दुवैले तत्कालै राजीनामा दिनुपर्छ ।

राष्ट्रपतिले विघटन सिफारिस आएपछि संविधानको धारा ७६ का अरू उपधाराअनुसार प्रधानमन्त्री बन्न सक्ने बाटो नअपनाएको कारणले यो दुर्दशा भएको हो । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमै काम गर्ने हो, यसमा दुईमत छैन । तर, प्रधानमन्त्रीलाई ‘पख्नुस् ! तपाईं बहुमतको सरकार । तपाईंकै दलका अरूले सरकार बनाउन सक्छन् । अरू विकल्प छन्–छैनन् म हेर्छु, अनि सदर गर्छु’ भन्नुपथ्र्यो । समय लिनुपथ्र्यो, यसरी हतार गर्नु हुन्नथ्यो । संसद्भित्रका सबै दललाई सरकार बनाउने मौका दिनुपथ्र्यो । राष्ट्रपतिले ज्यादै सीमा नाघ्नुभएको छ । उहाँले आफ्नो मान नै राख्न सक्नुभएन । उहाँबाट राष्ट्रपति पद र संस्थाकै हुर्मत काढ्ने काम भएको छ । भारतका राष्ट्रपति, बेलायतकी महारानीले आफ्नो मान राख्छन् । हाम्रो त नेपालीको राष्ट्रपति होइन, नेकपाको पनि होइन, नेकपाको पनि एउटा गुटको राष्ट्रपति हुनुभएको छ । उहाँले राजीनामा नदिए अहिलेको संसद्ले महाभियोग लगाउन सक्नुपर्छ ।

त्यसैगरी, प्रधानमन्त्री पनि अब समस्या होइन, समाधान बन्नुपर्छ । प्रधानमन्त्री खालि भाषण मात्रै गर्ने, काम नगर्ने भएर देशलाई ठूलो समस्या थियो । हुँदाहुँदा व्यक्तिगत रिसइबी साध्नका लागि उहाँले संसद् नै विघटन गरिदिनुभयो । उहाँले राजीनामा दिएर सक्षम सरकार बनाउन बाटो खोलिदिनुपर्छ । अहिले उहाँकै दलका मान्छेले पनि नयाँ सरकार बनाउन सक्छन् ।

नेकपाको संसदीय दलका नेता वर्तमान प्रधानमन्त्री नै भएको र विकल्प दिइएको नाम पनि संसदीय दलको नेता चयन नभइसकेकाले प्रधानमन्त्री बन्न नसक्ने जुन तर्क आएको छ, त्यो मुद्दामा प्रतिरक्षाको सिलसिलामा आफ्नो पक्षलाई बचाउनका लागि जबर्जस्ती दिइएको तर्क मात्रै हो ।

अब १३ दिनभित्र प्रतिनिधिसभाको बैठक आह्वान गर्नुपर्नेछ । सर्वोच्च अदालतको आदेश अक्षरशः मान्नुपर्छ । उहाँले संसद्को विश्वास गुमाइसक्नुभएकाले अहिले राजीनामा दिनुभयो भने अदालतको अवहेलना होइन, सम्मान हुन्छ । तत्कालै संसद् बैठक बोलाएर फैसलाको सम्मान गर्नुपर्छ । अबको विकल्प यही मात्रै हो ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिन्छु भन्नु पनि हुँदैन । अब उहाँलाई पदमा बसिरहने संवैधानिक अधिकार छैन, नैतिक अधिकार पनि छैन । जिद्दी गर्नु हुँदैहुँदैन । विश्वासको मत लिन्छु, कांग्रेससँग मिलेर सरकार बनाउँछु भन्नु नैतिक हिसाबले साह्रै असुहाउँदो हुन्छ । उहाँले प्रधानमन्त्री पदमा बसिरहन जनताको विश्वास गुमाइसक्नुभयो । हुन त अहिले पनि उहाँको नैतिकता छैन, यताउति गर्न थाल्नुभयो भने भएको पनि हराउँछ । राजीनामा दिएर संसद्लाई बाँकी काम छाड्दिनुपर्छ । यो नै देश, जनता र उहाँका लागि पनि हितकर हुन्छ ।

नेकपाको संसदीय दलका नेता वर्तमान प्रधानमन्त्री नै भएको र विकल्प दिइएको नाम पनि संसदीय दलको नेता चयन नभइसकेकाले प्रधानमन्त्री बन्न नसक्ने जुन तर्क आएको छ, त्यो मुद्दामा प्रतिरक्षाको सिलसिलामा आफ्नो पक्षलाई बचाउनका लागि जबर्जस्ती दिइएको तर्क मात्रै हो । आफ्नो पक्षको बचाउमा हरतरहले तर्क दिनु वकिलको कर्तव्य र विशेषता नै हो । प्रतिरक्षाको क्रममा आएको तर्कलाई अन्यथा भन्नुहुँदैन ।

‘मलाई काम गर्न दिएनन् । मैले विघटन गरेँ’ भन्नुभएको छ उहाँले । देशलाई उहाँले होस्टेज बनाउन पाउनुहुन्न । आफ्नै भनाइअनुसार पनि उहाँले काम गर्न सक्नुहुन्न । त्यसकारण, ‘मैले विघटन गरेँ । मेरो विघटन गलत रहेछ । अब मैले राजीनामा दिएँ’ भन्नुपर्छ ।

संसद्बाट अर्को सरकार बन्ने विकल्प छ । निर्वाचन आयोगले पनि नेकपा फुटेको छैन, आपसी झगडा भएकाले एउटै हो भनेको अवस्था छ । आफ्नो संसदीय दलको नेतालाई हटाउन सक्ने दलको विधान छँदै छ । त्यसैअनुसार अगाडिको कामकारबाही होला । यो संवैधानिक कुरो होइन । अर्को प्रधानमन्त्री छान्नु कठिन होइन । दल एउटै व्यक्तिमाथि कहिल्यै भर पर्दैैन । दलले जहिले पनि विकल्प सोचिरहेको हुन्छ । दलले नयाँ संसदीय दलको नेता खडा गर्न सक्छ । त्यो ठूलो समस्या होइन । एक जनाले कहिल्यै पनि देशलाई बन्धक बनाउन सक्दैन । अझ संविधानअनुसार त विपक्षी दल सधैँ नै भावी सरकारको नेतृत्वका लागि तम्तयार बस्नुपर्छ । यो नै लोकतन्त्रको सौन्दर्य र मूल्य पनि हो । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार