मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

नेपाल–भारत सिमाना क्रमशः नियमन हुनेछ : गृहसचिव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सरकारले नेपाल–भारत खुला सिमानालाई क्रमशः व्यवस्थित एवं नियमन गर्दैै द्विदेशीय सिमाक्षेत्रमा आपाराधिक गतिविधि हुननदिन पारस्परिक सहमतिमा हरसम्भव प्रयत्न गर्ने बताएको छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले राजधानीमा आज आयोजना गरेको ‘कोभिड–१९ को सन्दर्भमा सिमाना व्यवस्थापन, आप्रवासी कामदारको फिर्ती, सुरक्षा र नेपालको बाह्य सम्बन्ध’ विषय छलफलमा गृहसचिव महेश्वर न्यौपानेले नेपाल–भारत सीमा भएर आवतजावत गर्ने दुवै देशका नागरिकको परिचयसहितको अभिलेख राखिने बताउनुभयो ।

सिमाना व्यवस्थापन सुरक्षाकर्मीहरूको उपस्थिति मात्र नभएर भन्सारको उचित प्रबन्ध, पशु तथा वनस्पति ‘क्वारेन्टिन’ अध्यागनलगायत विषय समेटिने भएकाले दुवै देशको सहमतिमा चरणबद्धरूपमा सिमाना व्यवस्थापन एवं नियमन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

आगामी दुई वर्षभित्र द्विदेशीय सिमानामा सशस्त्र प्रहरी बलका ५०० ‘बोर्डर आउटपोष्ट’ स्थापना गर्ने सरकारी नीतिअनुसार काम भइरहेको बताउँदै सीमित स्रोत र साधनको अधिकतम उपयोग गरी त्यो लक्ष्य हासिल गरिने उहाँले बताउनुभयो ।

देशको भौगोलिक विकटता तथा प्रतिकूल मौसमी परिस्थितिको सामना गर्दै सिमानाको व्यवस्थापन गर्नु चुनौतीपूर्ण रहेको यथार्थ सुनाउँदै उहाँले सीमा क्षेत्रका बासिन्दाको जिविकोपार्जनलाई समेत दृष्टिगत गरी स्पष्ट कार्ययोजनाका साथ काम गर्नुपर्ने बताउनुभयो ।

“कोभिड–१९ को पहिलो लहरको महामारीका बेला सिमा क्षेत्रमा झेल्नुपरेका कठिनाईबाट हामीले पाठसिक्दै दोस्रो लहरको अहिलेको महामारीमा स्वास्थ्य सेवा प्रवाह, आप्रवासी कामदारको सुरक्षा, परीक्षण र उपचारलाई राज्यस्रोतले भ्याएसम्म व्यवस्थित गरिरहेका छौँ”, गृह सचिवले भन्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया