मंग्सिर २, २०८३ बुधबार November 18, 2026

अब त रोकिनोस् ‘बा’ ! – कृष्णज्वाला देवकोटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

केपी ओलीले पानीजहाजको टिकट बुकिङ खुला गरेको १६ पुस ०७५ मा हो । ३० असार ०७८ मा बालुवाटार छाड्दा पनि बुकिङ खुला नै थियो, केवल पानीजहाज थिएन । चुनावी वाचाअनुसार त ‘बा’ मोनोरेलबाट बालकोट फर्कनु थियो । चुच्चे मुख भएको रेलमा होर्डिङ बोर्ड टाँगिनु थियो । पानीजहाजको झन्डामा फोटो हुनु थियो । भएन । क्षतिपूर्ति युथफोर्सको स्कर्टिङले गर्‍यो, स्कर्टिङ नै मोनोरेल भयो । लज्जाजनक बहिर्गमनलाई उत्सव बनाउने त्यो दयनीय प्रयास शवयात्रामा पञ्चेबाजाजस्तै थियो, तर ‘बा’ले रोक्नुभएन, रोकिनुभएन । यसअघि एमालेकै तीन प्रधानमन्त्रीले बालुवाटार छाडेका थिए, तर यस्तो देखिएको थिएन । यो त नयाँ एमाले थियो, ‘बा’ एमाले ।

एमाले सुदृढ लोकतान्त्रिक परम्परा भएको कमरेडहरूको पार्टी थियो, सिपीदेखि झलनाथ, मदन, माधव, फेरि झलनाथ र ओलीसम्म सहज नेतृत्व हस्तान्तरणको परम्परा भएको पार्टी । सिपीदेखि मदन भण्डारीसम्मलाई कमरेड भएरै पुग्यो । वृद्ध मनमोहन अधिकारीलाई पनि ‘बा’ हुन परेन । अहिले ओली जस्तो एमाले र जसको एमाले बनाउँदै हुनुहुन्छ, त्यसको उच्च रूप त्यही बालकोट यात्रा थियो । अब अनुमान मात्र गर्न सकिन्छ, सडिसकेको राजनीतिको कुन तहसम्मको भिजिलान्तेकरणपछि ‘बा’को चित्त बुझ्छ ?

राष्ट्रपतिले प्रधानमन्त्रीका हरेक कदमलाई नि:सर्त मान्नुपर्छ भन्ने भाष्य तयार गर्दै आएका ओली कम्तीमा अब भने यो संस्थाको दुरुपयोग गर्न रोकिनुपर्छ  ।

सामान्य पनि सार्वजनिक जवाफदेहिता भएको ओली पक्षका हरेक नेता अहिले ओलीको सनक र अहंकारको मूल्य तिर्दातिर्दै ठूलो सामाजिक संकटमा छन् । राजनीतिक लाभका लागि कुतर्क गर्नु बेग्लै हो, स्वाभिमानपूर्वक प्रस्तुत हुनु बेग्लै । पछिल्लो एक वर्षमा ओलीवरपर रहेका नेताहरूको व्यक्तित्वको ठूलो क्षय भएको छ । अब उहाँ माधव नेपाल, शेरबहादुर वा प्रचण्डका लागि होइन, आफ्नै मान्छेका लागि रोकिनुपर्ने ठाउँमा हुनुहुन्छ । सस्तो जयजयकार र दक्षिण भारतीय सिनेमाशैलीको ‘स्कर्टिङ’मा भविष्य खोजिरहेका ‘छोराछोरी’का लागि पनि उहाँ रोकिनैपर्ने परिस्थिति छ ।

सुरु ओलीका प्रिय सुवास नेम्वाङबाट गरौँ । ओलीको उदयअघि नेम्वाङ नेपाली अम्बेडकर र संविधानका आधिकारिक व्याख्याताको हैसियत राख्नुहुन्थ्यो । अहिले धूर्त मुस्कानले लाचारी छोपिरहेका दयनीय पात्र लाग्नुहुन्छ । संविधानका पिता हुनुपर्ने नेम्वाङलाई संविधानको पुस्तकसँगै डराउनुपर्ने कसले बनाइदियो ? आफैँले लेखेको संविधानको अपव्याख्या गरेर स्वामीभक्ति देखाउने र राजनीतिको कुटिल दोकान थामिराख्ने मजबुरीमा उहाँको व्यक्तित्व कति तल गयो ? त्यस्तो ठूलो व्यक्तित्व संकोचहीन रफ्फुकार कसका कारण भयो ? मिडियाका अगाडि चट्ट मुस्कानका साथ आत्मविश्वासपूर्वक उभिने नेम्वाङ मिडियालाई छल्ने नयाँ सीप सिक्नतिर किन लाग्नुपर्‍यो ?

स्वभावले भद्र प्रदीप ज्ञवालीले पहिलो संसद् विघटनमै क्याबिनेटमा विरोध जनाउनुभएको थियो । पार्टी, आन्दोलन, मूल्य र मान्यताको प्रसंग उठाउनुभएको थियो । संसद् पुनर्स्थापना भए नैतिक रूपले सत्तामा रहँदैनौँ भन्नुभएको थियो । नैतिकता त परको कुरा, पछि तिनै ज्ञवाली दोस्रो विघटनको पनि प्रवक्ता बनिदिन पर्‍यो । जस्तोसुकै भद्रताले पनि हाँडी पखालेर सेतो बनाउन कसरी सक्छ ? बरु त्यो कालो भद्रतामा पनि सर्छ । राजनीतिक लाभका लागि उहाँ सबै सहन तयार हुनुहोला, तर उहाँको सार्वजनिक छविमा पुगेको क्षतिको जिम्मा ओलीले लिनुपर्दैन ?

संघीयताका जोदाहा पृथ्वीसुब्बा गुरुङ केन्द्रको सिको गर्दै प्रदेश सरकार बचाउने खेलमा बदनाम हुनुभयो । पछि पनि ओलीको आदेश मानेको भए केन्द्रलाई समेत माथ गर्ने ठाउँमा पुगिसक्नुभएको थियो । वैचारिक नेता मानिएका शंकर पोखरेलको वैचारिकता प्रदेश संसद्मा हरेक दिनजसो छचल्किइरहेको छ । उहाँ पनि कीर्तिमान कायम गर्ने बाटोमै हुनुहुन्छ । आखिर यो सबैको मूल कारखाना त ‘बा’ नै हुनुहुन्छ ।

ओलीको उदयअघि नेम्वाङ नेपाली अम्बेडकर र संविधानका आधिकारिक व्याख्याताको हैसियत राख्नुहुन्थ्यो । अहिले धूर्त मुस्कानले लाचारी छोपिरहेका दयनीय पात्र लाग्नुहुन्छ । संविधानका पिता हुनुपर्ने नेम्वाङलाई संविधानको पुस्तकसँगै डराउनुपर्ने कसले बनाइदियो ?

साँझ–बिहानै तीन सय साठी डिग्री घुम्न सक्ने वामदेवले यसपटक ‘अब नफर्कने गरी एमालेमा आएको छु’ भन्नुभएको छ । पछिल्ला बैठकमा नआए पनि ओलीले सधैँझैँ छुस्स एकपटक प्रधानमन्त्री पद सम्झाइदिनुभयो भने वामदेव स्थायी रूपमै फर्किन सक्नुहुन्छ । तर, ओलीले बनाइरहेको र बनाउन खोजेको एमालेमा वामदेवका केही अप्ठ्यारा छन् । त्यति बूढो मान्छे यो उमेरमा ओलीको स्कर्टिङमा कसरी हिँड्नुहोला, ‘नयाँ एमाले’ बनाउन ? कसरी दौडिनुहोला, युथफोर्सकै गतिमा जयजयकार गर्दै ? कसरी बोक्नुहोला, ओलीको त्यति ठूलो होर्डिङ बोर्ड ? कम्तीमा उहाँको उमेरप्रति दया गरेर भए पनि आफू रोकिनोस् र वामदेवलाई पनि रोक्नुहोस् न ‘बा’ ।

विघटित कार्यदलका अधिकांश सदस्यको मन पनि पुरानो एमालेतिरै छ । ती फर्किन सक्छन्, तर ओलीभन्दा ओलीको होर्डिङ बोर्डसँग बढी डराइरहेका छन् । ढिलो–छिटो जयजयकार र स्कर्टिङमै पुग्न र युथफोर्सभन्दा अघि उभिन तिनलाई हतार होला, तर अहिले तिनका केही दुःख छन् । आलु पनि शास्त्रको चक्कुले काट्नुपर्ने छवि बनाएका घनश्याम भुसालहरूलाई ओलीको होर्डिङवाला ‘नयाँ एमाले’को भाष्य रच्न अलि अप्ठेरो छ । तिनको सैद्धान्तिक ज्ञानमा कुनै शंका छैन, बाकुनिनदेखि रोजासम्म तिनलाई कण्ठस्थ छन् । तैपनि, मन्दिर, जलारी र टुप्पीको मार्क्सवादी सौन्दर्य तिनले पढेको साम्यवादमा नहुनाले ती थोरै अल्मलिएका छन् । सच्चा एमाले बनेर देशभर अदालतको भण्डाफोर गर्ने अभियान तुरुन्तै चलाइहाल्न तिनलाई थोरै संकोच लागेको छ । पार्टी र आन्दोलन साध्य हो कि साधन भन्ने सामान्य प्रश्न पनि पन्छाएर ‘एकता’को भावनात्मक बर्कोमा विवेकको बलि चढाउन तयार साथीहरूका लागि पनि त ‘बा’ थोरै रोकिनुपर्छ । आफैँले आरोप दागेका यति धेरै कलंकका साझेदार बन्न तयार पुराना कमरेडहरूलाई केही दिन मुख छोप्ने सानो खास्टो फालिदिँदा ‘बा’को के जान्छ ?

ओलीले अध्यक्ष पदलाई भूमिका होइन, जात बनाउनुभयो । भिन्न देखिन आफू अग्लो सोफामा बस्नुभयो र अरूलाई तल झार्नुभयो । के बिर्सनुभयो भने आसनमा शक्ति हुँदैन । हुन्थ्यो भने यही देशमा आसन होइन, सिंहासनमै बस्नेहरू थिए । देशै बिदा गरेर तिनको जन्मोत्सव मनाइन्थ्यो । श्री ५ र श्री ३ थिए । तीसँग श्रीपेच र राजदण्ड थियो । तिनका स्थायी निजी पल्टन थिए । तैपनि, ती गए । तिनका उपाधि, राजदण्ड र मुकुटका अगाडि यो ‘बा’ मा, स्कर्टिङमा, जयजयकारमा के दम छ ‘बा’ ?

ओली राष्ट्रपतिका लागि रोकिनु छ । उहाँले त्यो सर्वोच्च संस्थाको हुर्मत लिनुभयो । सचिव लुकाउन र भाग्नुपर्ने बनाउनुभयो । नितान्त निजी संस्थाको व्यवहार गर्नुभयो । अहिलेसम्म राष्ट्रपतिले प्रधानमन्त्रीका हरेक कदमलाई निःसर्त मान्नुपर्छ भन्ने भाष्य तयार गर्दै आएका ओली कम्तीमा अब त्यो संस्थाको दुरुपयोग गर्न रोकिनुपर्छ ।

ओली राम्रो वक्ता हो । जब प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँका भाषण सुन्दा आफू नेपालमै छु भन्ने बिर्सेर नेपाल घुम्न जान मन लाग्थ्यो । तर, सधैँ प्रतिक्रियाको राजनीति गर्नुभयो । सत्तामा हुँदा पनि क्रियात्मक हुनुभएन । त्यसैले उहाँलाई बालुवाटारबाट बालकोट पुर्‍यायो । अझै पनि उहाँसँग देशलाई हस्तक्षेप गर्न सक्ने पर्याप्त शक्ति छ । बिगार्न सक्ने शक्ति उहाँले धेरै प्रयोग गरिसक्नुभयो । यसपटक उहाँले रचनात्मक शक्तिको प्रयोग गर्नु छ । बालकोटको शान्त कक्षमा समीक्षा गर्न उहाँसँग पर्याप्त समय र विषय छन् । देशलाई जिम्मेवार ओलीको प्रतीक्षा छ । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको १०औँ उपाधि
२०८३ मंग्सिर ३, बिहिबार
गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि कास्कीले जित्यो
२०८३ मंग्सिर २, बुधबार
सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति पौडेल
२०८३ मंग्सिर २, बुधबार
ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
हिमालयको संरक्षणका लागि विज्ञान, जलवायु वित्त र न्यायमा नेपालको जोड
२०८३ मंग्सिर २, बुधबार
Head of World Bank Nepal Office Sislen calls on Minister Shrestha
२०८३ मंग्सिर २, बुधबार
एनपियल : काठमान्डुलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा
२०८३ मंग्सिर २, बुधबार