काठमण्डौंः मलेसियाका प्रधानमन्त्री मुहिद्दीन यासिनले राजासमक्ष राजीनामा दिनुभएको छ ।
विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्री खैरी जामालुद्दीनले मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अब्दुल्लाहसमक्ष प्रधानमन्त्रीले राजीनामा दिएको पुष्टि गर्नुभएको हो ।
उहाँले सोमबार सामाजिक सञ्जालहरुमा उल्लेख गर्नुभएको छ, “हाम्रो मन्त्रिपरिषद्ले राजासमक्ष राजीनामा दिएको छ ।”
राजा अब्दुल्लाहले उहाँको राजीनामा स्वीकृत पनि गरिसक्नुभएको छ । राजाले अर्को प्रधानमन्त्री चयन नहुँदासम्मका लागि काम चलाउ प्रधानमन्त्रीको जिम्मेवारी भने उहाँलाई नै दिनुभएको छ ।
मलेसियाको तल्लो सदनबाट वर्तमान सरकारले विश्वासको मत गुमाएपछि मुहिद्दीनले राजासमक्ष राजीनामा बुझाउनु परेको हो ।
“प्रतिनिधिसभाबाट विश्वासको मत गुमाइसकेपछि सत्तामा बस्न हँुदैन भन्ने मान्यता र नैतिकताका आधारमा हामीले राजीनामा गर्ने निर्णय गरेका हौँ”, विदेशमन्त्री हिशाम्मुद्धिन हुसेनले लेख्नुभएको छ ।
सामाजिक सञ्जालमा उहाँले राजीनामाका विषयलाई जनता र देशप्रतिको माया र जिम्मेवारी बोधका रुपमा समेत व्याख्या गर्नुभएको छ ।
गत वर्षको मार्चमा उहाँ झिनो मतान्तरले बहुमतको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो । तर सत्तारुढ गठबन्धनकै एउटा दलका नेताहरुले समर्थन फिर्ता लिएपछि उहाँ अहिले अल्पमतमा पर्नुभएको हो । रासस-
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया