बैसाख १९, २०८३ शनिबार May 2, 2026

हाइटी भूकम्पः ज्यान गुमाउनेको संख्या एक हजार ९४१ पुग्यो, नौ हजार ९०० भन्दा बढी व्यक्ति घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गत शनिबार हाइटीमा गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ९४१ पुगेको क्यारेबियन राष्ट्रको नागरिक सुरक्षा निकायले मङ्गलबार जानकारी दिएको छ ।

यस भूकम्पमा परी नौ हजार ९०० भन्दा बढी व्यक्ति घाइते भएका समाचारमा जनाइएको छ । यसैबीच भूकम्प गएको तीन दिनपछि हाइटीमा अवस्थित शान्ति भवनबाट १६ जनालाई जीवित उद्धार गरिएको छ । यस भूकम्पको केन्द्रविन्दु दक्षिणी शहर लेस केयेसबाट उत्तरपश्चिम ४१ किलोमिटर टाढा रहेको स्थानमा ३० किलोमिटर गहिराइमा रहेको बताइएको छ ।

भूकम्पका कारण ६० हजारभन्दा बढी घर भत्किएका छन् भने, ७६ हजार क्षतिग्रस्त भएका छन् । कमजोर संरचना भएका केही जेल तथा थुप्रै सामुदायिक विद्यालयलगायतका भवन भत्किएका छन् । यस प्रकोपको कारण पाँच लाखभन्दा बढी बालबालिका प्रभावित भएका संयुक्त राष्ट्रसङ्घको बालबालिका एजेन्सी युनिसेफले जनाएको छ ।

हाइटीको सरकारले भूकम्पपछिको अवस्थालाई व्यवस्थित गर्न एक महिना लामो राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ ।

सन् २०१० को जनवरीमा हाइटीमा गएको ७.० रेक्टर स्केलको भूकम्पले पोर्ट–औं–प्रिन्स र नजिकैका अधिकांश शहरमा ठूलो क्षति भएको थियो । उक्त भूकम्पमा परी कम्तीमा दुई लाखभन्दा बढी मानिसको ज्यान गुमेका थिए ।

तीन लाखभन्दा बढी घाइते भएका उक्त घटनामा एक लाख ५० हजारभन्दा बढी हाईटीवासी घरबारविहीन भएका थिए । – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया