असोज ७, २०८३ बुधबार September 23, 2026

उत्पादनको सामर्थ्य बढाउन दोहनकारी व्यवस्थामा परिवर्तन – घनश्याम भुषाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: ब्रिटिसकालीन समयको सन्दर्भ अर्कै छ । खासगरी बेलायती र जापानी सामान भित्रिन थालेपछि हाम्रा साना परम्परागत कुटिर उद्योग सकिए भन्ने अर्कै कुरा छ । पछिल्लो पटक २०२२ सालतिर हामीले धान–चामल निर्यात गर्थ्यौं भनेका छौं । त्यति बेला धान–चामल पहाड जाँदैनथ्यो । ठूलो जनसंख्या पहाडमा थियो । पहाडमा बाटोघाटोका कारण जाँदैनथ्यो ।

पछि पूर्वपश्चिम राजमार्ग बन्न थालेपछि, मलेरिया उन्मूलन भएपछि भूमिसुधार ऐन लागू गरेपछि यो अर्कै सन्दर्भतर्फ गयो । त्यसले गर्दा पनि जनसंख्या थुप्रियो । जमिन त उस्तै थियो । यसले गर्दा उत्पादन घटेको होइन । उत्पादकत्वबारे भन्न सकिन्छ ।

उत्पादनको सामर्थ्य भनेको हाम्रो अर्थतन्त्रको सामर्थ्य हो । यो एउटा कुनै खास कारण होइन ।

एउटा उदाहरण पोहोर म मन्त्री थिएँ । लकडाउन भयो । दूधको उत्पादन घटेन, बरु बढ्यो । तर बिक्री त घट्यो । किनभने सबै सहरबजार बन्द थिए । निजी क्षेत्र दूध लिन सक्दैनौं भनेर भागिहाल्यो । डीडीसीले दूध लिनुपथ्र्याे, उसले लिँदै गर्‍यो । अनि बढी भएको पाउडर बनाउनुपर्‍यो । भएको एउटा पाउडर प्लान्ट थियो, तीन सिफ्ट चलायौं । तर, किसानलाई पैसा दिनुपर्ने । यता सामान उत्पादन भइरहेको छ, बिक्री हुँदैन । पाउडर दूध निर्यात गर्न हामीले प्रयास गर्‍यौं । अनि तिब्बत पठाउन सकिन्छ कि भनेर छलफल गर्‍यौं । खोरेत रोग उन्मूलन नभएको मुलुकबाट नलिने रहेछ । अनि यो खोरेत के रहेछ भनेर बुझ्न थालें ।

कहिले उन्मूलन हुन सक्छ भनेर खोज्दा राम्ररी गर्‍यो भने तीन वर्षमा हुन सक्छ भन्ने कुरा आयो । अनि हाम्रो योजनामा के छ ? भनेर बुझ्दा २०३० सम्म उन्मूलन गर्ने भनिएको रहेछ । किन यो २०३० सम्म गरेको ? भनेर सोध्दा योजना आयोगले यस्तै बनाएको रहेछ भन्ने कुरा आयो । योजना आयोगलाई सोध्दा यो दिगो विकास लक्ष्यले यस्तै तोकेको हुनाले भन्यो ।

ल हेर्नुस्, योजनाको कुरा । एकातिर प्रतिस्पर्धी क्षमताको कुरा छ, अर्काेतिर योजनाको कुरा । हामी कस्तो योजना बनाउँदै छौं ?

त्यसपछि भारतमा कुरा गर्‍यौं । त्यतिबेला चुच्चे नक्साका कारण भारतसँग ज्वरो नि आइरहेको थियो । उनीहरूसँग भन्ने सक्ने कुरा नै थिएन । मैले बंगलादेशको राजदूतावासका साथीहरूसँग कुरा गरें । उहाँहरूले बजारमा सम्भावना छ भन्नुभयो । तीन डलर प्रतिकेजी त्यहाँ पाउडर दूध पाइँदो रहेछ । हाम्रो पाँच डलर प्रतिकेजी उत्पादन लागत छ । हामीले पशुपन्छीलाई खुवाउने दाना महँगो छ । किन दाना महँगो छ ? बाहिरबाट आउँछ ।

त्यसपछि अर्को उपायमा लाग्यौं । आयात हुने दूध रोकिदिनुपर्‍यो भनें, मैले कोरोना सुरु हुनेबित्तिकै मासुजन्य, दुग्धपदार्थ रोक्नू भनेको थिएँ । मन्त्रालयले निर्णय गरिसकेको थियो । पछि भन्सारको लिस्ट हेर्छु, दूध त आइरहेको छ । हाम्रो एउटा अफिसरले फटाफट शक्तिशाली आडमा काम गरेको रहेछ । त्यो कर्मचारीको पछाडि राजनीतिक आड रहेछ । यो एउटा उत्पादनको समस्या मात्रै कुरा गरिरहेको छु । यो सबै हेरेर संरक्षित कृषि सुनिश्चित बचत भनेर सुरु गरेका थियौं । त्यो भन्नुको अर्थ हामीलाई चाहिने खाद्यान्न तरकारी, माछामासु ३ देखि ५ पाँच वर्षमा पुर्‍याउनुपर्छ । र, त्यो खालको योजना हामीले सुरु गरेका थियौं ।

मन्त्रालयले सुरु गर्‍यो, प्रधानमन्त्रीलाई मैले कन्भिन्स गर्न सकिनँ वा अरूले कन्भिन्स गरिदिए । त्यसैले उत्पादनको सामर्थ्य भनेको त्यो सामर्थ्यको व्यवस्था हो । त्यो व्यवस्था भनेको राजनीतिक व्यवस्था भन्छु म । व्यवसायीले उत्पादन गर्न नसकेका कुरा राजनीतिकहरूको टाउको दुख्नुपर्‍यो । टाउकै दुख्दैन । चन्दा पायौं भने भइहाल्छ ।

त्यसैले उत्पादनको सामर्थ्य र क्षमताको भन्दा पनि व्यवस्थाबारे कुरा गरौं । मेरो नजरबाट हेर्दा राजनीतिकहरूले पार्टी, नेता, सरकार, राज्यले सोच्नुपर्‍यो । हामीले सोचेका छैनौं । समस्या यहाँनिर छ । हामीले नीतिगत, सैद्धान्तिक रूपमा गएको २०७१ सालमा महाधिवेशनमा प्रस्ताव गरेर, उठाएर म आफैंले १० वर्षभन्दा अगाडि प्रयत्न गरेको थिएँ, हाम्रो पार्टी यस्तो बनाउनुपर्छ भनेर, जसले हाम्रो मुलुकको सम्पूर्ण उत्पादन र वितरणलाई साँच्चिकै लिड गर्छ ।

किनभने राजनीतिक पार्टी र सत्ता, राज्य । यो दोहनकारी सत्ता, निकाय जस्तो भयो । राजनीतिक मान्छे छ, अलिक ठूलो पदमा पुगेपछि ऊ धनी भयो, उसका कार्यकर्ताले कमाए । कर्मचारी छ भने उसले पनि कमायो । न्यायाधीश छ भने उसले कमायो । यो राजनीतिको एउटा ऐतिहासिक प्रक्रियालाई विच्छेद गर्नुपर्छ । यसलाई नियन्त्रण होइन, लिड गर्ने हो ।

यसर्थ हामीकहाँ ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा सरकारमा हुँदा लगायौं । हाम्रो महाधिवेशनको नारामा सैद्धान्तिक रूपमा सफल भयौं । म अहिले जे लेख्छु, जे बोल्छु । त्यही आधारमा बोल्ने गरेको छु । तर त्यसलाई हामीले संगठनमा लैजानुपर्ने थियो, त्यहाँ सकेनौं । आज मेरो एउटा प्रयत्न पार्टीका रूपमा मुलुकलाई उत्पादन र वितरणको त्यो व्यवस्था लिड गरोस् भन्ने हो । व्यक्तिगत रूपले प्रयत्न पनि यही हो । धेरै साथीहरू यस्तो सोच्नुहुन्छ । पहिलेभन्दा यो चेतना बढेको छ ।

त्यस अर्थमा उत्पादन, समृद्धि सबै कुरा राजनीतिक हुन् भन्ने लाग्छ । म यो कुरा आफैं भनिरहेको छु र भन्दै पनि आएको छु– राजनीतिज्ञहरूले नकमाएको सम्पत्तिमा बाँच्ने कुरा छाडिदिने हो भने न्याय, वितरण, उत्पादनका थुप्रै कुरा यहाँबाट सुरु हुन्छन् भन्ने लाग्छ । यस हिसाबले हेर्दा मुलुकको समस्या राजनीतिमा छ । सबैभन्दा धेरै राजनीतिज्ञहरूमै छ । तर निजी क्षेत्रमा समस्या छैन भन्यो भने गल्ती हुन्छ । अनेक गरेर हामीलाई खुवाउने, पिलाउने, धनी बनाउने निजी क्षेत्र नै हो ।

हामी आफैं उत्पादन गर्दैनौं । त्यत्रो अकुत सम्पत्ति (नकाएको सम्पत्ति) ले खाने भएपछि व्यवसायीहरूले पनि दु:ख गरेर उद्योग किन गर्छ ? उसले पनि पैसाकै व्यापार गर्छ । जे भने पनि यसको मियो राजनीति हो । यो कुरा स्विकार्छु । निजी क्षेत्रले पनि स्विकार्नुपर्‍यो कि समस्या हामीकहाँ पनि छ । यसलाई मोडलमा हेर्ने हो भने राजा महेन्द्रले ३८, ३९, ४० सालतिर उद्योग बढाएका थिए, त्यो उनको मोडल थियो ।

राज्यका सबै नियन्त्रण गर्दै हाम्रो भूराजनीतिक लाभहरू, कूटनीतिक क्षमताले गर्दा सबै विदेशी दातामा भर परेको संरक्षणवादी राज्य बनाउन खोजेका थिए । जुन ४०/४२ सालतिर दाताहरूले दिन छाडेपछि खत्तम हुन लागिसकेको थियो । पछि अर्थमन्त्री भएका महेश आचार्य, रामशरण महतको मोडल आयो । त्यसपछाडि त्यही मोडलको वरिपरि नै छौं । त्यो पनि असफल भइसकेको मोडल हो भनेर थाहा छ ।

उदार अर्थशास्त्रीहरू राजस्व धेरै उठाउनेलाई सफल अर्थमन्त्री मान्छन् । आफूलाई समाजवादी भन्नेहरूले भत्ता बाँड्नेलाई सफल अर्थमन्त्री भन्ने गरेका छन् । म भने रोजगारी सिर्जना गर्ने अर्थतन्त्रबाट सुरु गरौं भन्छु । जसले रोजगारी सिर्जना गर्छ, त्यसले अर्को उद्यम जन्माउँछ । उद्यमले उद्यम जन्माउँछ । रोजगारीले रोजगारी जन्माउँछ । कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश
२०८३ असोज ७, बुधबार
साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत
२०८३ असोज ७, बुधबार
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
२०८३ असोज ७, बुधबार
‘यम्वो द्यो’ ठड्याएर भक्तपुरमा इन्द्रजात्रा सुरु
२०८३ असोज ७, बुधबार
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
२०८३ असोज ७, बुधबार
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
२०८३ असोज ७, बुधबार
२८ वर्षमा यती एयरलाइन्सले एक वर्षमै नौ लाख यात्रुलाई दियो हवाई सेवा
२०८३ असोज ७, बुधबार