मंग्सिर २, २०८३ बुधबार November 18, 2026

मङ्गला ‘मा’को सङ्घर्ष र नेतृत्वमा महिला – डा. डिला संग्रौला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

त्योबेला श्री ३ पद्मशमशेरको शासन थियो । राणा शासनका बारेमा सायदै व्याख्या गरिरहन नपर्ला । अनि त्यो शासनकालमा महिलाको अवस्थाको त झन् के नै भन्नुप‌-यो र ! महिलाका सवालमा अझै ‘उदार’ भई नसकेको अहिलेको समाजका अघि राणाकालको त्यो ऐनाको कल्पना गरौँ, दृश्य आफैँ फनफनी घुम्छन् ।

मङ्गलादेवी सिंह श्री ३ पद्मशमशेरको दरबारमा आफ्ना केही सहपाठी लिएर पुगेकी थिइन् । उनले पद्मशमशेरलाई सीधैँ भनिन्– “नगरपालिकाको चुनाव हुन लागेको छ । महिलालाई पनि भोट दिने अधिकार हुनुपर्छ भन्न आएका हौँ सरकार !” पद्मशमशेरले अरू पनि सवाल गरे । मङ्गलादेवीले निर्धक्क भएर जवाफ दिइन् । उनले महिलालाई पढ्नका लागि स्कुल खोल्न पनि भनिन् ।
पद्मशमशेरले जवाफ दिए– “हुन्छ जाओ ।”

त्यो मौखिक जवाफ मात्रै थियो तर उनले मानिनन् । पद्मशमशेरले त्यो वाचामा ‘लालमोहर’ नै लगाउनुप‌¥यो । मङ्गलदेवीले आफ्नो एउटा संस्मरण सङ्ग्रह पुस्तक ‘नारी सङ्घर्षका पाइलाहरू’मा पद्मशमशेरसँगको उक्त कुराकानीलाई उल्लेख गरेकी छिन् ।

त्यतिबेला नगरपालिकाको चुनाव भने भएन । तर पछिल्ला चुनावमा महिलाले पनि भोट हाल्ने अधिकार पाए । पद्मशमशेरले डिल्लीबजारमा रहेको आफ्नै जमिनमा ‘पद्मकन्या स्कुल’ पनि खोले । वि.सं. १९८२ मा जन्मिएकी मङ्गलादेवी सिंह १५ वर्षकै उमेरमा रत्नसिंहकी बुहारी बनेर भित्रिइन् । रत्नसिंह ‘बडाकाजी’ थिए ।

देशमा निरङ्कुश शासन थियो । कसैले आफ्ना अधिकारका बारेमा कुरा उठाउन सक्दैनथे । समाज र देश परिवर्तनका कुरा त धेरै टाढाका विषय थिए । तर पनि मङ्गलादेवी ‘बडाकाजी’हरूको बुहारी मात्रै भएर बसिनन् । गणेशमान सिंहकी श्रीमती मात्रै भएर पनि बसिनन् । बरू आफ्ना श्रीमान्लाई राणाहरूले ‘जन्मकैद’ को सजाय सुनाएपछि उनीहरूकै विरुद्धमा लागिन् ।

त्यो बेलामा पनि मात्रै एक ‘महिला’ रहेर उनले जीवन बाँचिनन्, बरू सारा महिलाको एक शालिन शक्ति बनिन् । राणा शासन अनि त्यो समाजको एउटा सङ्कुचनभित्र कुँजिएका सारा महिलाका लागि जीवन बाँच्ने आशाको एक चम्किलो तारा बनिन् । सामाजिक संस्कार र शासन व्यवस्थाले किचिएका सारा महिलाका लागि दूरभविष्यको एउटा उज्यालो नक्षत्र बनिन् । त्यसैले त उनी तमाम नेपालीका लागि ‘मङ्गला मा’ भइरहिन् ।

 ‘मङ्गल मा’ को नेतृत्वमा महिला

चुनावमा भोट हाल्ने अधिकार र महिलाका लागि पढ्ने स्कुल माग्न २१ जना महिला लिएर पद्मशमशेरको दरबारमा पुग्ने मङ्गलदेवी पहिलो महिला थिइनन् । नेपालको राजनीतिक इतिहासमा कुनै राणा दरबारमा पुगेको यो नै पहिलो ‘जुलुस’ पनि थियो ।

मङ्गलदेवीले मागेको त्यो अधिकार मात्रै ‘भोट’को थिएन । महिलालाई ‘राखिदिनुपर्छ’ भनेर उनले मागेको त्यो सहभागिता मात्रै थिएन । नाम मात्रैको प्रतिनिधित्व मात्रै थिएन । महिला नेतृत्वका ती पहिला पाइला थिए, जसको लक्ष्य निकै अग्लो थियो । एउटा विशाल सपनाको सानो टुक्रा मात्रै थियो मङ्गलादेवीका ती पाइलाहरू ।

राणाको दरबारमा जुलुस लगेको भनेर उनका ससुराले घरभित्रै छिर्न दिएनन् । माइतीमा गएर उनको शरीर त बिसियो तर दरबारतिर अघि बढिसकेका मङ्गलदेवीका ती साहसी पाइला रोकिएनन् । बरू उनले महिलालाई ‘पिकनिक’मा लगिन् । चुलो, चौको र आफ्ना परिवारलाई खुसी राख्नबाहेक अरू सोच्नसम्म अधिकार नभएको त्यो कालो युगमा महिलाका लागि ‘पिकनिक’ आफैँमा एउटा क्रान्तिकारी निर्णय थियो । मङ्गलादेवीले पिकनिकका नाममा जम्मा गरेका महिलालाई एउटै मालामा गाँसिन् र ‘नेपाल महिला सङ्घ’ गठन गरिन् । सङ्घर्षको अर्को पहाडमा उनी उक्लिसकेकी थिइन् ।

विस्तारै राणा विरोधी आन्दोलन चर्किरहेको थियो । २००७ सालमा राणा शासन ढल्यो । प्रजातन्त्रको घाम छिप्पिन नपाउँदै २०१७ सालमा राजा महेन्द्रले संसदीय व्यवस्था नै अपहरण गरे । फेरि सङ्घर्षका दिन सुरु भए । राणापछि राजाको ‘कु’ को विरोध गर्दा मङ्गलादेवीलाई जेल हालियो ।

२०१० सालमा भएको स्थानीय तहको निर्वाचनमा महिलाले मताधिकार र उम्मेदवार बन्ने मौका पाए । १९८९ मा योगमाया न्यौपानेको नेतृत्वमा सती प्रथा, विधवा विवाहलगायतका विकृतिविरुद्ध सामाजिक अभियान सञ्चालन भयो । समाज सुधारका लागि २६ बुँदे माग लिएर उनीहरू प्रधानमन्त्री जुद्धशमशेरकहाँ गएका थिए । माग पूरा नभएपछि ६८ जना महिलाले जलसमाधि लिए ।

२०१५ सालमा प्रतिनिधि सभाको निर्वाचन भयो । त्यतिबेला गठित सरकारमा द्वारिकादेवी ठकुरानीले स्वास्थ्य सहायकमन्त्री भएर महिला नेतृत्वको ढोका खोलेकी थिइन् । राजनीतिक र राज्य तहमा महिलाको प्रतिनिधित्व भएको त्यो नै पहिलो पटक थियो । यसरी मङ्गलादेवीहरूको सङ्घर्षका पाइला विस्तारै सार्थक हुन थाले ।

खासगरी २०४६ सालपछि चर्किएको समावेशी प्रतिनिधित्वको आवाज विस्तारै संविधानमा स्थापित हुनसक्यो । राणा शासन विरोधी आन्दोलनदेखि २०६२/०६३ को गणतन्त्र ल्याउने आन्दोलनसम्मै पनि महिलाको भूमिका उत्तिकै साहसिक र महìवपूर्ण रह्यो । कतिपय आन्दोलनमा महिलाहरू नै नेतृत्वमा रहे । कतिपय ठाउँमा निर्णायक नै देखिए । देशमा थुप्रै राजनीतिक परिवर्तन भए । थुप्रै आन्दोलन भए । तर जतिसुकै राजनीतिक मुद्दा गुञ्जिए पनि सामाजिक व्यवहार र धरातलमा भने महिला प्रतिनिधित्वप्रतिको सोच र शैली पुरातन नै छ । महिलालाई नाम मात्रैको प्रतिनिधित्व दिइएको छ । कतिपय ठाउँमा महिलालाई कागजी रूपमा मात्रै सीमित गरिएका छन् । हरेक आन्दोलनका लक्ष्य महिलालाई ‘ठाउँ दिनु’ वा ‘राखिदिनु’मा मात्रै सीमित थिएनन् ।

महिलाको प्रतिनिधित्व भनेको कुनै ‘निगाह’मात्रै पनि होइन । समाज अनि कुनै पुरुषतन्त्रले दिएको त्यो कुनै दयाको भीख मात्रै पनि होइन । त्यो प्रतिनिधित्वको लडाइँ भनेको महिलाको नेतृत्व पनि हो । एउटा निर्णायक शिखरमा महिलाको सशक्त हस्ताक्षर हुनुपर्छ भन्ने हो ।

नेपालको संविधानले राज्यका हरेक नीति निर्माण तहमा महिलाको ३३ प्रतिशतको सुनिश्चितता गरेको छ । तर पनि व्यवहारमा कार्यान्वयन भएको छैन । केन्द्रीय सरकार अनि सात वटै प्रदेशमा क्याबिनेट मन्त्री सदस्य पनि न्यून छन् । बल्लबल्ल एक जना महिला मुख्यमन्त्री बागमती प्रदेशले पाएको छ । सङ्घीय संसद्मा महिलाको ३३ प्रतिशत, प्रदेश सरकारमा ३४.५ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशत पुगेका छन् । समानुपातिकबाट सांसद बनाउने र स्थानीयमा उपमा मात्र झुन्ड्याइएको छ । यसरी हेर्दा हरेक दलका नेताले महिलाको नेतृत्वलाई स्वीकार त गरेका छन् तर पनि त्यसलाई कार्यान्वयन गर्न किनै कञ्जुस्याइँ गरिरहेका छन् । यो नेताहरूको मात्रै दोष होइन, हाम्रो राज्य व्यवस्था अनि सामाजिक संरचना र त्यहीँबाट जन्मिएको सोचको अब्बलीकरण हुन नसक्नुको उपज पनि हो । यद्यपि, संस्कार र सोच बदल्ने लडाइँ सकिएको छैन । यो एउटा लामो लडाइँ हो । त्यसको सुरुवात हुन भने जरुरी छ । अब हरेक राजनीतिक दलले महिलालाई सहभागितामा मात्र होइन, नेतृत्व तहमै सशक्त भूमिका दिन जरुरी छ ।

गणतन्त्रमा पनि नेतृत्व तहमा महिलाको उपस्थिति निराशाजनक नै छ । नेपाली राजनीतिमा महिला नेतृत्वमा आउन नसक्नु र सक्रियता पनि कमै देखिनुको एउटा कारण यो पनि हो । एक्काइसौँ शताब्दी महिलाको शताब्दी हो र पनि राजनीतिक दलभित्र निर्णायक तहमा महिलाको उपस्थिति नहुनु दुःखद पक्ष हो । राजनीतिक परिर्वतनपछि बनेका लोकतान्त्रिक सरकार एवं दलहरूको साङ्गठनिक संरचनामा महिलाको उपस्थिति देखिँदैन । सङ्घीय संरचनामा आइपुग्दा पनि हरेक दलका अध्यक्ष वा सभापतिमा पुरुष नै छन् भने पदाधिकारी तहमा पनि महिलाको नेतृत्व न्यून देखिन्छ । राजनीतिक सहभागिता र सदस्य पदमा मात्र महिलालाई लैजाने प्रवृत्ति फेरिएको छैन । नेपाली काँग्रेसको अहिलेसम्म केन्द्रीय समितिमा शैलजा आचार्य उपसभापति, चित्रलेखा यादव र सीतादेवी यादव कोषाध्यक्ष भएको देखिन्छ । यस्तै कम्युनिस्ट पार्टीको इतिहास पल्टाउँदा सहाना प्रधान, विद्यादेवी भण्डारी र पम्फा भुसाल पार्टी नेतृत्व तहमा पुगेका देखिन्छन् ।

नेपालमा राजनीतिक परिवर्तन जसरी द्रूत गतिमा भयो, त्यही अनुपातमा महिलाको भूमिका आर्थिक, सामाजिक अवस्था एवं नेतृत्व तहमा पुग्न सकेन । राजनीतिमा महिला र पुरुषको समान र सक्रिय भूमिकाबिना समग्र राष्ट्रको परिवर्तन सम्भव छैन । त्यसकारण राजनीतिक तथा सामाजिक आन्दोलन र विकास दुवै क्षेत्रमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व हुन जरूरी छ । विश्वभरिका महिलाले महिला अधिकार, समानता र न्यायका लागि गरेको सङ्घर्षको फलस्वरूप आज महिला राष्ट्रपति बन्न सफल भएका छन् ।
कैयौँ राजनीतिक परिवर्तन, महिलाले लडेको लामो लडाइँ अनि सङ्घर्षले केही न केही उपलब्धि पक्कै भएको छ । यसलाई सामाजिक अनि राजनीतिक संस्कारमै घुलाउनका लागि हामीले अझै सङ्घर्ष गर्नुपर्ने जरुरी छ । हाम्रा पाइल अझै रोकिनु हुँदैन । महिलाको प्रतिनिधित्व मात्रै होइन, हरेक नेतृत्व तहमा महिला हस्ताक्षर स्थापित गर्नका लागि हाम्रा पाइला अझै दरिलो गरी अघि सारौँ । मङ्गलादेवीहरूको सङ्घर्षका डोबमा हाम्रा यिनै बलिया र एकताबद्ध पाइलाले नै उनका सपना पछ्याउन सकिनेछ । अनि मात्रै मङ्गलादेवी सिंहहरूप्रतिको सच्चा श्रद्धाञ्जलि पनि हुनेछ ।  गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको १०औँ उपाधि
२०८३ मंग्सिर ३, बिहिबार
डेफ फुटबल च्याम्पियनसिपका लागि ३९ सदस्यीय नेपाली टोली कोरिया प्रस्थान
२०८३ मंग्सिर ३, बिहिबार
गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि कास्कीले जित्यो
२०८३ मंग्सिर २, बुधबार
सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति पौडेल
२०८३ मंग्सिर २, बुधबार
ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
हिमालयको संरक्षणका लागि विज्ञान, जलवायु वित्त र न्यायमा नेपालको जोड
२०८३ मंग्सिर २, बुधबार
Head of World Bank Nepal Office Sislen calls on Minister Shrestha
२०८३ मंग्सिर २, बुधबार