बैसाख ७, २०८३ सोमबार April 20, 2026

पेप्सिकोविरुद्ध ६४ करोडको करछली मुद्दा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी पेप्सिकोको नेपालमा बोटलिङ गर्दै आएको कम्पनी वरुण बेभरेजविरुद्ध करछली मुद्दा दायर गरेको छ। विभागले कम्पनीविरुद्ध कुल ६४ करोड ९६ लाख २ हजार ३ सय ४० रुपैयाँ छली गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा बिहीबार मुद्दा दर्ता गरेको हो।

विभागले वरुण बेभरेज र यसका पूर्व तथा वर्तमान सञ्चालकहरु अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविन कुमार अग्रवाल, विनोद सिंह भनिने विनोद कुमार सिंह र अशोक कुमारविरुद्ध मुद्दा दायर गरेको हो।

विभागका अनुसार कम्पनीले झूठो तथा नक्कली मूल्यअभिवृद्धि कर बीजकको प्रयोग गरेको आरोप लगाइएको छ। विभागका अनुसार कम्पनीका पूर्व तथा वर्तमान सञ्चालकहरु अमित गुप्तासहित सात जनामाथि उक्त परिमाणको बिगो रकम तथा त्यसको दोब्बर १ अर्ब २९ करोड ९२ लाख ४ हजार ६ सय ८० रुपैयाँसम्म जरिवाना गराउन विभागले माग गरेको छ। साथै तीन वर्षसम्म कैद समेत मागिएको छ।

कम्पनीले नक्कली बीजक कारोबार गर्नेसँग मिलेर वास्तविक रुपमा मालवस्तु खरिद नै नगरी नक्कली बीजक जारी गर्न खोलिएका फर्महरुले जारी गरेको बिल प्रयोग गरेर राजस्व छली गरेको बताइएको छ। उक्त कार्य राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित ऐ. ऐनको दफा ४ को (क) र (ख) बमोजिम कसुर गरेको विभागले ठहर गरेको छ।

विभागका अनुसार आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्ममा नक्कली बीजकको कारोबारबाट २५ करोड ३४ लाख ६ हजार ९ सय ४०, आयकरतर्फ लाभांश समेत गरी ३९ करोड ६१ लाख ९५ हजार ४ सय समेत गरी कुल ६४ करोड ९६ लाख २ हजार ३ सय ४० रुपैयाँ राजस्व छली गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया