वैशाख २६, २०८१ बुधबार May 8, 2024

उन्नाइस हजारले काँग्रेसका १३५ वडा सभापति छान्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली काँग्रेस जिल्ला समितिका १९ हजारभन्दा बढी क्रियाशील सदस्यले मङ्गलबार १३५ वडा सभापति चयन गर्दैछ। तेह्र स्थानीय तह रहेको जिल्लामा १३५ वडा छन् ।

हप्तौँदेखि चुनावी सरगर्मी बढिरहेका अवस्थामा निर्वाचनको एक दिनअघिसम्म कुनै वडामा भने वडा सभापतिमा सर्वसम्मत हुन सकेको छैन। मङ्गलबार हुने वडा निर्वाचनमा १९ हजार १० सदस्यले मतदान गर्न पाउने नेपाली काँग्रेस जिल्ला समितिले जनाएको छ ।

वडा निर्वाचनमा वडा सभापतिसहित २२ को वडा कार्यसमिति चयन गर्ने नेपाली काँग्रेसका जिल्ला सचिव दिनेश लामाले बताए। उनले वडा निर्वाचनमा क्रियाशील सदस्य सङ्ख्या अनुपातमा १५ देखि माथि क्षेत्रीय प्रतिनिधि चयनसमेत हुने जानकारी दिए ।

“आजसम्म वडा सभापतिमा सर्वसम्मत भएको घोषणा भएको छैन, भोलि केही वडामा हुनसक्ने पाइएको छ”, उनले भने। उनका अनुसार नेपाली काँग्रेस जिल्ला समितिमा हाल अद्यावधिक क्रियाशील सदस्यमध्ये आधा नवीकरण र आधा नयाँ क्रियाशील सदस्य हुन्। पार्टीको निर्वाचन कार्यतालिकाअनुसार यही असोज ५ गते वडा अधिवेशन, ९ गते गाउँ-नगर, १२ गते प्रदेश क्षेत्र, १५ गते प्रतिनिधिसभा क्षेत्र तथा असोज १८ गते जिल्ला अधिवेशनको मिति तय भएको छ ।

असोज ५ गते हुने वडा अधिवेशनका लागि केन्द्रीय निर्वाचन अधिकृतका रुपमा अधिवक्ता राजेन्द्र लामिछाने जिल्ला आई शनिबारदेखि तयारी थालेको जनाइएको छ। असोज ९ गते हुने नगर निर्वाचनमा बनेपा नगरपालिकाबाट दुई आकाङ्क्षीले नगर सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्  ।

वर्तमान नगर सचिव महेश कर्माचार्य र पार्टीको जिल्ला प्रशिक्षण विभागका सचिव शान्तिरत्न शाक्यले नगर सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। जिल्ला सभापतिमा भने सात आकाङ्क्षीमा वर्तमान सभापति मधुप्रसाद आचार्य, केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, उपसभापति अच्युत पौडेल, सचिव दिनेश लामा, पूर्वसांसद तीर्थ लामा, क्षेत्रीय सभापति रमेशप्रसाद हुमागाई र पाँचखाल नगरपालिका प्रमुख महेश खरेल रहेको देखिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया