मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

माथिल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण तत्काल अगाडि बढाउन माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः एक हजार ६१ मेगावाटको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण तत्काल अगाडि बढाउन स्थानीयवासीले माग गरेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको नेतृत्वमा बुधबार आयोजना स्थल भोटखोला गाउँपालिका–४ छोङ्ग्राक पुगेको अर्थ मन्त्रालय, विश्वबैंकका प्रतिनिधि सम्मिलित उच्चस्तरीय टोलीलाई स्थानीयवासीले जतिसक्दो छिटो आयोजना निर्माण सुरु गर्न आग्रह गरेका हुन्। उनीहरूले आयोजना निर्माणका लागि आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको समेत बताए।

माथिल्लो अरुण जलविद्युत् आयोजना प्रभावित सरोकार मञ्चका अध्यक्ष लादर भोटेले आफ्नो भूगोलबाट बगेको पानीबाट उत्पादित बिजुली बाल्न आतुर रहेको बताए। ‘आयोजना बन्न लागेकामा खुसी छौँ, आयोजनासँगै सडक निर्माण हुने भएकाले गाडी चढ्न पाउनेछौँ, विद्यालय तथा स्वास्थ्य क्षेत्रको सुधार हुनेछ,’ भोटेले भने, ‘स्थलगत अनुगमन गर्ने र हेरेर जाने मात्रै हैन वास्तविक रूपमै निर्माण सुरु गर्नुप¥यो, स्थानीय रूपमा हुने अवरोध हटाएर आयोजना सफल बनाउन तयार छौँ।’

जवाफमा मन्त्री भुसालले आयोजनाको अहिले भइरहेको विस्तृत अध्ययनलाई जतिसक्दो छिटो सम्पन्न गर्ने र लगानीको ‘मोडालिटी’ टुंगो लगाएर निर्माण सुरु गर्ने बताए। ‘आयोजना चर्चामा आउने तर दशकौँसम्म निर्माण नहुने अवस्था छ, यसको अन्त्य गरी माथिल्लो अरुण स्थानीय जनताले लाभ पाउने गरी निर्माण गर्न हरसम्भव प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘आयोजनाको लाभको हकहदार स्थानीय जनता नै भएकाले निर्माणमा सहयोग गर्नुहोला।’

सरकारले अर्धजलाशययुक्त माथिल्लो अरुणलाई उच्च प्राथमिकतामा राखी ‘गेम चेन्जर’ आयोजनाका रूपमा अगाडि बढाएको छ। जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत एक हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुण प्राधिकरणले निर्माण गर्न लागेको अहिलेसम्मकै ठूलो आयोजना हो।

आयोजनामा ४९ प्रतिशत सर्वसाधारणको सेयर रहनेछ। विश्व बैंक, युरोपेली लगानी बैंकको सुहलियतपूर्ण ऋण तथा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषको लगानी रहने गरी वित्तीय व्यवस्थापनका विषयमा छलफल भइरहेको छ। आयोजनामा संघीय, प्रदेश र स्थानीय सरकारको पनि लगानी रहनेछ।

विद्युत् बढी माग हुने हिउँदका ६ महिनामा दैनिक ६ घण्टा पूर्ण क्षमतामा चलाउन सकिने यस आयोजनाको अनुमानित लागत एक अर्ब ३८ करोड अमेरिकी डलर (करिब एक खर्ब ६१ अर्ब रुपैयाँ) छ। कुल लागतमध्ये ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणबाट जोहो गर्ने प्राधिकरणको योजना छ।

आयोजनाबाट वार्षिक चार अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुनेछ। प्राधिकरणले माथिल्लो अरुणकै अंग रहने गरी ३० मेगावाटको इखुवा जलविद्युत् आयोजना अगाडि बढाएको छ। इखुवा पनि जनता जलविद्युत् कार्यक्रममा समावेश भएको आयोजना हो।

आयोजनाका लागि आवश्यक पर्ने निजी जग्गा यस वर्षदेखि अधिग्रहण र करिब २४ किमि पहुँच सडक निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ। आयोजनालाई आवश्यक पर्ने १८० हेक्टर जग्गामध्ये १२० हेक्टर अधिग्रहण गर्नुपर्नेछ। आयोजनाबाट २५ घरपरिवार विस्थापित हुनेछन्।

सन् २०२२ मा सबै अध्ययन सम्पन्न गर्ने र २०२३ भित्र ठेकेदारलाई निर्माणका लागि आयोजनास्थलमा परिचालन गरिसक्ने योजनाका साथ काम भइरहेको छ। आयोजनाको निर्माण सन् २०३० भित्र सक्ने लक्ष्य राखिएको छ। विश्व बैंकको एक करोड ३१ लाख डलर सहुलियतपूर्ण ऋणमा आयोजनाको विस्तृत अध्ययन भइरहेको छ।

ऊर्जामन्त्री भुसाल नेतृत्वको टोलीमा ऊर्जा सचिव देवेन्द्र कार्की, अर्थसचिव मधुकुमार मरासिनी, विद्युत् विकास विभागका महानिर्देशक सन्दीपकुमार देव, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विश्व बैंकका उपाध्यक्ष हार्टविग सोफर, कार्यकारी निर्देशक मोहम्मद हसन अहमदलगायत थिए। टोलीले आयोजनाको मुख्य संरचना र विद्युत्गृह निर्माणस्थलको अवलोकन गरेको थियो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपद्का बेला काम नलागेको बेनीको वैकल्पिक खानेपानी संरचना
२०८३ मंग्सिर १, मंगलबार
कान्ति ताल बेवारिसे, भत्कँदै संरचना
२०८३ मंग्सिर १, मंगलबार
बाढीपछिको पुनर्निर्माण र जलवायु अनुकूलनमा सहयोग बढाउन एडिबीसँग आग्रह
२०८३ मंग्सिर १, मंगलबार
मुक्तिनाथ रथयात्रा सम्पन्न, त्रिवेणीधाममा आजदेखि एकमहिने महायज्ञ सुरु
२०८३ मंग्सिर १, मंगलबार
एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
२०८३ मंग्सिर १, मंगलबार
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान आजदेखि, तीन लाख नेता–कार्यकर्ता परिचालन गरिने
२०८३ मंग्सिर १, मंगलबार
सर्वोच्चको अध्ययन प्रतिवेदन: क्षेत्राधिकार पुनरवलोकनको सुझाव
२०८३ मंग्सिर १, मंगलबार