श्रावण ५, २०८३ मंगलबार July 21, 2026

वैकल्पिक राजनीतिक चेत- मल्ल के सुन्दर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण भएर समाजवादी पार्टीका रूपमा अगाडि आइसकेपछि ती दुवैका नेताहरूले आफ्नो दल वैकल्पिक शक्तिका रूपमा स्थापित हुने दाबी गरेका थिए । तर, अठार महिनासम्मको सत्ता साझेदारीमा बिटुलिएको समाजवादी पार्टीले त्यसलाई पुष्टि गर्न सकेन । सत्ता–संसर्गको मौसम अहिले सकिएको छ । भोलिका दिनमा त्यसले आफूलाई कुन रूपमा प्रस्तुत गर्ने हो, त्यो समयले नै बताउला ।

समाजवादी पार्टी वैकल्पिक राजनीतिक शक्तिका रूपमा कसरी स्थापित होला भन्नेमा धेरैको उत्सुकता थियो । नेपाल कम्युनिस्ट पार्टीको वामपन्थी रुझानभन्दा फरक अनि प्रतिपक्ष नेपाली कांग्रेसको उदारवादी लोकतन्त्रभन्दा भिन्न ‘उन्नत संघीय समाजवाद’ लाई तेस्रो धारका रूपमा स्थापित गराउने उद्घोष गरिएको थियो, जुन हिजोसम्मको सत्तालिप्साका कारण निमेष मात्र पनि अनुभूति हुन पाएन ।

यद्यपि हाम्रो राजनीतिक यात्रामा वैकल्पिक राजनीतिक शक्ति एउटा अपरिहार्य आवश्यकता हो, तथापि त्यो आजसम्म आइपुग्दा केवल चाहनामा सीमित भएको बुझ्न गाह्रो छैन । राणाविरुद्धको अभियानमा अग्रिम मोर्चामा रहेको नेपाल प्रजा परिषद् सात सालको परिवर्तनपछि नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीले नेतृत्व गरेका दुई फरक राजनीतिक धारहरूभन्दा वैकल्पिक र आशलाग्दो शक्तिका रूपमा थियो । तर पनि पन्ध्र सालको पहिलो आमनिर्वाचनले प्रजा परिषद्लाई त्यस खाले भूमिकामा पुर्‍याएन । त्यसपछिको प्रतिबन्धित अवस्थाले त अन्य थुप्रै पार्टीको अस्तित्वलाई पनि विलुप्त पारिदियो ।

जनमानसले बिर्सेको छैन, पहिलो जनआन्दोलनपछि निर्दलीयताको अन्त्यसँगै खुला लोकतान्त्रिक परिवेशमा निर्वाचन प्रयोजनका लागि नयाँ-पुराना गरी सयौं राजनीतिक दल देखिए । त्यतिखेरै एक थरी बौद्धिकहरूले दलहरूको भीडभाडमा वैकल्पिक राजनीतिक मोर्चाको खोजी गरे ।

मूलतः पहाडेहरूको पकड रहेको दलीय राजनीतिक वृत्तमा गजेन्द्रनारायण सिंहले परम्परागत मुद्दाभन्दा पृथक् समस्यालाई उजागर गर्दै विशेषतः मधेशी समुदायकेन्द्रित नेपाल सद्भावना पार्टीको झन्डा उठाए । तराईका रैथानेहरूमाथि ऐतिहासिक कालदेखि हुंँदै आइरहेको उत्पीडनबाट मुक्ति तथा संघीय संरचना सद्भावना पार्टीको आधारभूत माग थियो । नेतृत्वभित्रको कलह, आरोप–प्रत्यारोप, सत्तामोहका कारण सद्भावना पार्टी छिन्नभिन्न भयो, यसका अनेक संस्करण देखिए, तर कुनै पनि धार वैकल्पिक तेस्रो शक्ति बन्न सकेन ।

मूलधारका राजनीतिक शक्ति नेपाली कांग्रेस र वामपन्थी दलहरूमा राजनीतिक विचलन, गैरलोकतान्त्रिक आचरण अनि भ्रष्टाचारबाट विरक्तिएका केहीले नेपाल लोक दल स्थापना गरेर तीन दशकअगाडि नै वैकल्पिक राजनीतिक शक्ति निर्माणको जमर्को गरेका थिए । डा. देवेन्द्रराज पाण्डे तथा टंक कार्की त्यसका प्रणेता थिए । त्यसमा आबद्ध सुकिलामुकिला व्यक्तिहरूका कारण धेरैले धेरै कुरा चिताएका थिए । तर, त्यो पनि वैकल्पिक शक्तिमा दरिन सकेन र त्यत्तिकै सुस्तायो ।

स्रोत व्यवस्थापनकै कारण राजनीतिक पार्टी सञ्चालनको निरन्तरतामा अवरोध उत्पन्न भएको बुझेका कुवेर शर्माले अकुत सम्पत्ति लगानी गर्ने निधो गरेर आफ्नै निवासमा हरियाली पार्टीको बोर्ड झुन्ड्याएका थिए । लामो समयसम्म नेपाली कांग्रेसमा लागेका उनी पनि वैकल्पिक राजनीतिक शक्तिको अभाव पूर्ति गर्न सकिएला कि भन्ने हुटहुटीमा थिए । चेतेन्द्रजङ्ग हिमालीदेखि बालकृष्ण नेउपानेसम्मलाई उनले आफ्नो अभियानको टेको ठानेका थिए । अन्ततः घरको न घाटको हुँदै उनी अर्कैको नेतृत्व रहेको पार्टीमा शरणार्थी बन्न बाध्य भए ।

नेपाली कांग्रेसकै इमानदार तथा क्रियाशील सदस्य नारायणसिंह पुनले मित्रमण्डलीको सल्लाहमा आफैले वैकल्पिक राजनीतिक शक्ति हाँक्ने आँट गर्दै नेपाल समता पार्टी गठन गरे । पार्टी सञ्चालनका लागि निजी सम्पत्ति लगानी गरे । उनको अवसानसंँगै समता पार्टीको अभियान पनि रोकियो ।

आदिवासी जनजाति तथा उत्पीडित समुदायको मुद्दालाई लिएर पार्टी नेतृत्वसँंग असहमत हुंँदै तत्कालीन नेकपा (माले) त्यागेर गोरेबहादुर खपाङ्गीले राष्ट्रिय जनमुक्ति पार्टी र पासाङ शेर्पा लगायतले समाजवादी लोकतान्त्रिक पार्टी स्थापित गरेर वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि चेष्टा गरेका थिए । ती पनि ठाउँमा पुग्न सकेनन् ।

पछिल्लो समय, डा. बाबुराम भट्टराईले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को शीर्षपद त्यागेको घटना जनमानसमा ताजै छ । अनि जनमानसले बिर्सेको छैन, स्थापित परम्परागत कम्युनिस्ट विचारधाराको विकल्पमा नयाँ राजनीतिक बाटो तय गर्नुपर्छ भन्ने उनको उद्घोष ! सायद, आफ्नो राजनीतिक बुझाइ र विश्लेषणमा डा. भट्टराई निकै विश्वस्त थिए र वैकल्पिक राजनीतिक धारको रोजाइमा नयाँ शक्ति पार्टीको अगुवाइ गर्न हौसिए । २०७३ जेठ ३० गते दशरथ रङ्गशालामा तामझामयुक्त विशाल भेलासहित नयाँ शक्ति पार्टीको औपचारिक घोषणा गरियो । घोषणासभाको त्यो भव्यता देखेर मानिसहरूमा एउटा आशा सञ्चार भएको थियो । त्यसमाथि डा. भट्टराईमा बुद्धि र बर्गतको कमी थिएन । त्यति हुँदा पनि न्वारान भएको तीन वर्ष नपुग्दै त्यो पार्टी फरक अवस्थामा पुग्यो ।

ठीक त्यसै गरी बीबीसीमा खरो सञ्चारकर्मीको छवि बनाएका रवीन्द्र मिश्रको राजनीतिक पदचापमा पनि आमजनले धेरै सपना देखेका थिए । सञ्चार माध्यममा मिश्रसँग साक्षात्कार गरेका सबैले उनको साझा पार्टी सही अर्थमा नेपाली राजनीतिक वृत्तमा वैकल्पिक शक्तिका रूपमा विकसित हुने आशा गरेका थिए । उज्ज्वल थापाको विवेकशील पार्टीसँंगको एकीकरणपछि त झन् तेस्रो राजनीतिक शक्तिको खोजीमा रहेकाहरू उत्साहित बनेका थिए । तर, एकीकरणपछि छोटो समय पनि एकै थलोमा बस्ने धैर्य तिनमा देखिएन । झिनामसिना कुरामा पनि पाखुरा सुर्किनेहरू कसरी वैकल्पिक राजनीतिक शक्तिको सारथि बन्लान् भन्ने प्रश्न उठाउने अवसर दिए तिनले ।नेपालका सन्दर्भमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको प्रयत्न नौलो होइन, तर अनुभवलेभन्छ— यसका लागि चाहना र स्वघोषणा मात्र पर्याप्त हुँदो रहेनछ ।

मूलधारका दलहरूमा निरन्तर देखिएको वैचारिक विचलन, राष्ट्र र जनताप्रतिको बेइमानी, भ्रष्ट आचरण, अनैतिकता अनि राजनीतिमा हुँंदै गरेको अपराधीकरणका कारण मतदाता अहिले चर्को मोहभङ्गको अवस्थामा छन् । व्यवस्थाबाट होइन, व्यवस्थाका बागडोर सम्हालेकाहरूबाट विरक्तिएका छन् मतदाता । कांग्रेस, कम्युनिस्ट वा समाजवादी— विचारधारासंँग खासै लिनुदिनु रहेन । अड्डा–अदालत धाउँदा, दैनिक व्यवहार चलाउँदा अनि बजारतिर पस्दा हिजोको भन्दा सुधारिएको, सहज तथा सम्मानित भएको अनुभूति होओस् भन्ने चाहन्थे मतदाता । तर स्थिति झन् गए–गुज्रिएको छ, जीवन जटिल बन्दै गएको छ, न्याय र सुरक्षाको प्रत्याभूति रत्तीभर छैन । यस्तोमा जनताले वैकल्पिक राजनीतिक शक्तिबाट ठूलो आशा गरेका छन् । फेरिएको राजनीतिक दलको साइनबोर्ड, झन्डा, घोषणापत्र अनि केही थान भिन्न अनुहार मात्र हेर्न चाहेका होइनन् तिनले । वैकल्पिक राजनीतिक शक्ति भनिन रुचाउनेहरूले जनताको यो मर्म बुझिदिनुपर्ने हो ।

अनुभवले सिद्ध गर्छ, वैकल्पिक शक्ति बन्ने मोहमा राजनीतिक मोर्चामा उत्रिएकाहरूमा देखिएको आम प्रवृत्ति हो— ती मूलधारका राजनीतिक दलबाट उछिट्टिएकाहरूका लागि आश्रयस्थल बन्नु, सिद्धान्त र कार्यक्रमबाट निर्देशित हुनुभन्दा निश्चित दल वा नेतृत्वप्रति असन्तोष, आक्रोश र आवेश निर्णायक बन्नु अनि सहज रूपमा अमुक दलको नेता बन्ने लोभ प्रबल बन्नु । यो विशेषतामा सुधार आउन सकेको छैन । अन्यथा, भारतमा आम आदमी पार्टी, स्पेनमा दक्षिणपन्थी भक्स पार्टी, अस्ट्रेलिया लगायत युरोपमा तेस्रो शक्तिका रूपमा उदाएका ग्रिन पार्टीहरूले आफ्नो उपस्थिति मजबुत पार्दै लैजाँदा नेपालमा सम्भव नहुने कुरा हुन्न । मूल कुरा, नेपाली राजनीतिक वृत्तमा लामो समयदेखि रहेको ‘जुन जोगी आए पनि कानै चिरेको’ आहानले भने जस्तो छापलाई हटाउन सक्नुपर्छे । नेपाली समाजको अहिलेको आशा यति मात्र हो । कान्तिपुर दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्युत् उपभोगमा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन कुलमानको माग
२०८३ श्रावण ५, मंगलबार
नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना छ : संयोजक दाहाल
२०८३ श्रावण ५, मंगलबार
आइसिसी क्रिकेट विश्वकप लिग-२ : नेपाल नामिबियासँग ८ विकेटले पराजित
२०८३ श्रावण ५, मंगलबार
सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै
२०८३ श्रावण ५, मंगलबार
विदेशबाट देउवाको चेतावनी : सरकार अलोकतान्त्रिक बाटोमा जान सक्छ
२०८३ श्रावण ५, मंगलबार
अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने
२०८३ श्रावण ५, मंगलबार
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
२०८३ श्रावण ५, मंगलबार