काठमाण्डौंः लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जुनसुकै समुदायको पहिचान पनि राष्ट्रियताका कारणले मात्र रहने बताउनुभएको छ ।
‘धर्म, संस्कृति हाम्रो परम्परा ः संरक्षण, संवद्र्धन युवाको अभिभारा’को नारासहित थकाली युवा परिवार नेपालको आयोजनामा आजदेखि पोखरामा सुरु भएको ‘प्रथम थकाली युवा राष्ट्रिय भेला’को उद्घाटन गर्दै उहाँले युवालाई राष्ट्र हितमा काम गर्न र सामाजिक उत्तरदायित्व बहन गर्नसमेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रियताबिना कुनै पनि समुदायको पहिचान र अस्तित्व रहन्न । यदी नेपाल नै रहेन भने हामी नेपाली पनि कहाँ रहन्छौँ र ? नेपाली नै भईंदैन अनि हामी थकाली पनि रहँदैनौँ ।”
प्रदेश प्रमुख शेरचनले थकालीका जनसङ्ख्या घट्दै गएकामा चिन्ता व्यक्त गर्दै सम्पूर्ण थकालीलाई एकताको सुत्रमा बाँध्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “थकालीहरु सम्पन्नताको क्षेत्रमा अगाडि छन्, अब पहुँचको क्षेत्रमा पनि अग्रसर हुनुप¥यो ।” पुस ११ गतेसम्म चल्ने भेलामा देशभरका १९ क्षेत्र र विदेशका तीन क्षेत्रगरी २२ क्षेत्रका युवाका सहभागिता रहेको थकाली राष्ट्रिय युवा समितिका तदर्थ समिति संयोजक योगेन्द्र शेरचनले जानकारी दिनुभयो ।
थकाली युवालाई आफ्नो वेषभूषा, संस्कार, संस्कृति र परम्परा जगेर्ना गर्न उत्प्रेरित गर्ने उद्देश्यले भेला आयोजना गरिएको उहाँले बताउनुभयो । भेलामा ‘थकाली युवा, अवसर, चुनौती र सम्भावना’ विषयक बहस आयोजना गरिएको र सो बहसमा विभिन्न क्षेत्रका प्रतिष्ठित एवं प्रबुद्ध व्यक्तिहरुको सहभागिता रहने संयोजक शेरचनले जानकारी दिनुभयो । यसैगरी भेलाका अवसरमा नेतृत्व तथा व्यक्तित्व विकास प्रशिक्षण कार्यक्रमसमेत आयोजना गरिएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया