जेठ ६, २०८१ आइतबार May 19, 2024

मनाइयो राष्ट्रिय पोशाक एवं टोपी दिवस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जागरुक युवा अभियान नेपालको आयोजनामा नवौँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको छ । ‘नेपाली टोपी : हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाएका हुन् ।

कोरोना जोखिम कायमै रहेकाले धेरै भीडभाड नगरी दिवस मनाइएको अभियानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७१ देखि दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोशाक लगाएर हिँड्नेको सङ्ख्या पनि धेरै देखिएको छ । नौ वर्ष अघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको थियो । दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै विवाह, व्रतबन्धजस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोशाक लगाउने युवाको सङ्ख्या बढ्न थालेको छ ।

नेपाली युवाले बिर्सँदै गएको राष्ट्रिय पोशाकको पुनर्जागरण हुन थालेको छ । औपचारिकरूपमा राष्ट्रिय पोशाक हटाइएपछि युवा जागरुक भएर यो अभियान सुरु गरेका हुन् । उत्साही युवा घनश्याम श्रेष्ठ, रामजी बलामी, जनार्दन पौडेल, शिव धिताल, अज्मत अलि, ज्ञानमणि नेपाल, जनक कार्की र लक्ष्मण लम्सालले सुरु गरेको यो अभियान अहिले हजारौँ युवामाझ लोकप्रिय भएको छ ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया