जेठ ६, २०८१ आइतबार May 19, 2024

मन्त्री आलेको ठाडो निर्देशनपछि नारायणहिटी परिसरभित्र बन्दै गरेको रेष्टुरेन्टको निर्माण कार्य रोकियो (पत्रसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नारायणहिटी दरबार सङ्ग्रहालयभित्र माफियाहरु सल्बलाएर रेष्टुरेन्ट खोल्न लागेको थाहा पाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री प्रेम आलेले उक्त कदम रोक्न निर्देशन दिएका छन् ।

मन्त्री आलेको निर्देशनपछि दरबार संग्रहालयभित्र रेष्टुरेन्ट बनाउँदै गरेको बतास अर्गनाइजेसन समूहको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट नामक कम्पनीलाई पत्र काटेर काम रोक्न निर्देशन दिइएको मन्त्रालय स्रोतले जनाएको छ ।

दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले पत्र काटेर बतास अर्गनाइजेसन समूहलाई काम रोक्न निर्देशन दिएको छ । बतास समूहले उक्त संग्रहालय परिसरभित्रको करिब १० रोपनी जग्गा मिलेमतोमा भाडा लिएर रेष्टुरेन्ट बनाउन धमाधम संरचना निर्माण गर्दै आएको थियो ।

बतास अर्गनाइजेसन समूहको कम्पनीलाई उक्त जग्गा सस्तैमा भाडामा दिइएको बताइएको छ । सङ्ग्रहालयकै एक कर्मचारीका अनुसार तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं सङ्ग्रहालयका संरक्षक योगेश भट्टराई र सचिव यादवप्रसाद कोइरालाको कार्यकालमा सो जग्गा भाडामा दिइएको हो । हाल उक्त कम्पनीले गुपचुप रूपमा नाम समेत फेर्ने तयारी गरेको बुझिएको छ ।

स्रोतका अनुसार बीपीएसले मासिक २ लाख २० हजार मात्र भाडा बुझाउने गरी उक्त जग्गा लिजमा लिएको हो । हरेक तीन वर्षमा सम्झौता थप्ने या नवीकरण गर्नेगरी सो जग्गा भाडामा लिएको लगाइएको छ । हाल दरबारमार्ग क्षेत्रमा प्रतिमहिना ५ लाखदेखि १५ लाख रुपियाँसम्म सटर भाडा रहेको व्यवसायीहरु बताउँछन् । तर दरबार परिसरभित्रैको जग्गा चाहिँ जम्मा २ लाख २० हजारमा भाडामा दिइएको छ । यसमा चलखेल भएको हुनसक्ने आशंका समेत गरिएको छ ।

ऐतिहासिक महत्वको सम्पदा क्षेत्रभित्र रेस्टुरेन्ट व्यवसाय सञ्चालनका लागि भाडामा दिइनु आपत्तिजनक रहेको सरोकारवाला बताउँछन् । भाडा सम्झौता गरिसकेपश्चात हाल त्यहाँ विभिन्न स्थायी संरचना बनाइँदै छ । तर रोचक कुरा त के छ भने ती संरचनाहरुको नक्सा पास गरिएको छैन । नक्सापास बिना नै भौतिक संरचना बनाइरहेको बुझिएको छ । जग्गा भाडामा लगाउन समेत कोरोना महामारीका कारण जारी निषेधाज्ञाको समयमा २०७७ साउनमा बोलपत्र आह्वान गरिएको पाइएको छ ।

निजी तथा सरकारी जग्गामा कुनै पनि भौतिक संरचना निर्माण गर्दा सम्बन्धित स्थानीय तहबाट नक्सा पास गर्नुपर्ने कानुनी प्रावधान रहे पनि नारायणहिटी सङ्ग्रहालयभित्र निर्माणा गरिँदै गरेको रेस्टुरेन्टका लागि भने आवश्यक नक्सा पास तथा स्थलगत नापजाँचसमेत नगरिएको काठमाडौँ महानगरपालिकाका एक कर्मचारीले जानकारी दिए ।

उक्त रेस्टुरेन्ट सञ्चालनमा आएपछि नारायणहिटी दरबार संग्रहालय घुम्न आउनेहरुका साथै दरबारमार्ग क्षेत्रमा घुम्ने जोकोहीले पनि सहजै प्रवेश पाउने जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया