बैसाख २२, २०८३ मंगलबार May 5, 2026

म उपेन्द्र यादव पक्षलाई मन्त्री बन्नकै लागि मात्र साथ दिएको भन्ने कुरा भ्रम हो ।- प्रमोद साह (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तपाईं झन्डै मन्त्री बनिसक्नु भएका मान्छे, अहिले प्रमुख सचेतकमा नियुक्त हुँदा कस्तो महसुस गरिरहनु भएको छ ?

 

–मन्त्री भएपछि मान्छेले हेर्ने दृष्टिकोणमा फरक हुँदो रहेछ । मानौं कि मन्त्री नै सबैथोक हो । तर मन्त्रीबाहेकका पनि थुप्रै यस्ता पद छन्, जो मर्यादित र जिम्मेवारीपूर्ण छन् । त्यसमध्येको प्रमुख सचेतक पद पनि हो । सचेतक पद भनेको नीति निर्माणमा भूमिका खेल्ने पद हो । त्यसैले म यो जिम्मेवारीलाई मन्त्रीभन्दा कम ठान्दिन । पार्टी अध्यक्ष उपेन्द्र यादवले मेरो मूल्याङ्कन गरेरै सो पदमा पठाउनु भएको होला । पार्टीले मलाई एउटा ठूलो जिम्मेवारी दिएको महसुुस भएको छ । राजनीतिमा लागेको छु, आज न भए भोलि मन्त्री बनुँला कुनै दिन । तर पार्टीले जे जिम्मेवारी दिन्छ, त्यसलाई ईमान्दारीपूर्वक निभाउने हो ।

 

तपाईंलाई मन्त्री बनाउन नसकेको कारण क्षतिपूर्तिस्वरुप प्रमुख सचेतक बनाएको टिप्पणी भइरहेको छ । यसबारे के भन्नुहुन्छ ?

 

–यो गलत टिप्पणी हो । मन्त्री बनाउनुभन्दा पहिला नै पार्टीले सर्वसम्मतबाट मलाई प्रमुख सचेतकको पदमा पठाउन चाहेको थियो । यो पदमा म भन्दा सिनियर तथा अनुभवीलाई पठाउँदा नै राम्रो हुने भन्दै मैले नै इन्कार गर्दै आइरहेका थिएँ । कानुन तथा संसदीय राजनीतिलाई लामो समय अनुभव गरेकालाई जिम्मेवारी दिँदा राम्रो हुने भन्दै आइरहेका थिएँ । अहिले आएर पार्टीमा जिम्मेवारी बाँडफाँट भयो । केही नेताहरू मन्त्री हुनुभयो, कोही अन्य अन्य पदमा जानुभयो । पार्टीले फेरि मलाई नै यो पद सम्हाल्न जिम्मेवारी दियो । यो कुनै क्षतिपूर्तिस्वरुप पाएको पद होइन ।

 

पहिले मन्त्री पाउने लोभमा प्रमुख सचेतक पद लिनु भएन, अहिले मन्त्री नपाएपछि लिनु भएको भनिन्छ नि ?

 

–संयोगले त्यस्तो भयो र भन्ने ठाउँ बन्यो । मैले त्यतिबेला नै लिइसकेको भए सायद यस्तो कुरा हुँदैनथ्यो । मन्त्री बन्नेमा मेरो पनि चर्चा थियो तर म मन्त्री हुन सकिन । म फेरि पनि यही भन्छु कि  मलाई मन्त्रीहरुको नाम पठाउनुभन्दा केही दिन अगाडिदेखि नै प्रमुख सचेतक बन्न भनिएको थियो तर मभन्दा सिनियर र अनुभवीलाई पठाउनुस् भन्दै आइरहेको थिएँ । अहिले पार्टीको निर्देशन मानेरै म यो पदमा गएको हुँ । मन्त्री बन्ने इच्छा कसको हुँदैन ? तर पार्टीले त्यो लायक बुझेन होला, त्यही भएर दिएन, कुरा सकियो ।

भनिन्छ, तपाईंको नाम पार्टीबाट प्रधानमन्त्री कार्यालयसम्म गएको थियो रे । तर राष्ट्रपति कार्यालयबाट नामावली आउँदा तपाईंको नाम किन काटिएको होला जस्तो लाग्छ ?

–म मन्त्री बन्दैछु भन्ने कुरा सञ्चारमाध्यमबाट थाहा पाएको थिएँ । आधिकारिक जानकारी कहीँबाट आएको थिएन । मिडियामा नाम आएपछि साथी भाइ आफन्तले बधाईसमेत दिए । पछि पार्टीको नेतृत्व पंक्तिबाट पनि बधाई आउँदा म ढुक्क थिएँ । तर पछि अध्यक्ष उपेन्द्र यादवले भन्नुभयो, म तपाईप्रति सकारात्मक छु तर कुनै कारणले तपाईंलाई मन्त्री बनाउन सकिएन । मुख्य कुरा पार्टी हो, पार्टी रहेसम्म हामी सबै रहने हो । अगामी दिनमा पार्टीले तपाईंको उचित मूल्याङ्कन गर्नेछ ।’ यदि म मन्त्री नबनेर पार्टी जोगिन्छ भने यस्ता थुप्रै मन्त्री पद त्याग्न तयार छु । र, त्यसमा मलाई कुनै पीडा हुने छैन ।

तत्कालीन महन्थ ठाकुर पक्षबाट तपाईंले आफूसहित ६ जना सांसद लिएर उपेन्द्र यादवलाई सघाउनु भएको थियो । तपार्इंकै कारणले यादव पक्ष बलियो भएको भनिन्छ । तर त्यसको मूल्याङ्कन नभएको भन्नेहरु अधिक छन् । यसमा तपाईंको टिप्पणी के छ ?

हो, सही भन्नुभयो । जुन परस्थितिमा मैले जसपामा उपेन्द्र यादव पक्षलाई साथ दिएका थिए, वास्तवमा त्यो ‘क्रिटिकल’ समय नै थियो । सायद त्यही कारणले होला, कतिपयले सही मूल्याङ्कन नभएको भन्ने गरेका छन् । तर कुरा त्यति मात्र होइन । म उपेन्द्र यादव पक्षलाई मन्त्री बन्नकै लागि मात्र साथ दिएको भन्ने कुरा भ्रम हो । पहिलो कुरा हामीले जसपा जोगाउने अभियानमा लागेका थियौं । जसपा जहाँ हुन्छ, जसको पक्षमा हुन्छ, त्यही पक्षमा हामी पनि हुन्छौ भनि निर्णय गरेका थियौं । अर्को कुरा, तत्कालीन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले जुन प्रतिगामी कदम चाल्नुभएको थियो, त्यसलाई साथ दिने काम अर्को पक्षबाट भएको थियो । त्यसैले, नैतिकताले पनि त्यहाँ बस्न हामीले उचित ठानेनौ र हामी मूल पार्टी जसपामै बस्यौं ।

तपाईं प्रमुख सचेतक भइसक्नु भयो । तर, तपाईंसँगका अन्य सांसदहरु जसले यादवलाई साथ दिएका थिए, ती त अहिले असन्तुष्ट छन् । यसलाई कसरी ‘म्यानेज’ गर्नुहुन्छ ?

–जहाँसम्म मेरो बुझाइमा उहाँहरु असन्तुष्ट हुनुहुन्न । अब त त्यो एपिसोड नै सकिसक्यो । सबैजना पार्टीमा काम गरिरहनु भएको छ । सबैजनालाई पार्टीले मूल्याङ्कन गरेर कुनै नकुनै उचित जिम्मेवारी दिन्छ । म त्यो कुरामा ढुक्क छु । पार्टीमा सबैजनाले मन्त्री, प्रमुख सचेतक, संसदीय दलको नेता, पदाधिकारी मात्र पाउने होइन ।

तपाईं लामो समय राजेन्द्र महतोको साथमा काम गर्नुभयो । एक किसिमले पारिवारिक सम्बन्ध नै भइसकेको अवस्थामा उहाँलाई छाडेर अर्कोतिर जानेबेला केही नराम्रो ‘फिल’ भएन ?

–तत्कालीन समाजवादी पार्टी र राजपाबीच एकीकरण गरेर जसपा बनाउने महत्वपूर्ण भूमिका राजेन्द्र महतोले खेल्नु भएको थियो । यसलाई कसैले नकार्न सकिने अवस्था छैन । तर पछि पार्टी विभाजनका लागि गुटबन्दी सुरु भयो । जसमा एउटा गुटको नेतृत्व राजेन्द्र महतोले गरिरहनु भएको थियो । पार्टी विभाजन हुने अवस्था नै सिर्जना भयो । त्यस अवस्थामा मैले निर्णय लिएँ कि जहाँ संस्थापक पक्ष अर्थात् जसपा हुन्छ, म त्यही बस्छु ।

विगतमा पार्टी एकीकरण गर्ने नेताज्यूहरु नै पार्टी विभाजनका लागि उद्दत हुनुहुन्थ्यो । आखिर पार्टी एकीकरण किन भयो र विभाजन किन हुँदैछ ? यो कुराको उत्तर खोजे तर पाइएन । म जहाँबाट चुनाव जितेको छु, त्यहाँको मनोभावना पार्टी विभाजन थिएन । आफ्नो स्वार्थका लागि पार्टी मिलाउने र विभाजन गर्ने पक्षधरको म होइन । राजेन्द्र महतोज्यूसंग व्यक्तिगत र पारिवारिक सम्बन्ध आफ्नो ठाउँमा छ तर राजनीतिक सम्बन्ध अर्कै कुरा हो ।

अहिले राजेन्द्र महतोसँग तपाईंको सम्बन्ध कस्तो छ ?

–व्यक्तिगत सम्बन्ध र राजनीतिक सम्बन्ध फरक–फरक कुुरा हो । उहाँसँग भेटघाट हुँदा म अहिले पनि त्यही आदर सम्मानका साथ कुरा गर्छु । व्यक्तिगत सम्बन्ध राम्रै छ, कुनै अप्ठ्यारोे छैन । तर पहिला जस्तो पनि छैन । पहिला राजनीतिक र व्यक्तिगत सम्बन्ध दुवै हुँदा भेटघाट र छलफल अलि बाक्लो हुन्थ्यो तर अहिले पातलिएको छ । राजनीतिमा न कोही अस्थायी शत्रु हुन्छ, न मित्र । पार्टी फरक भएपनि एकखालको राजनीतिक सम्बन्ध त रहन्छ नै ।

काम गर्न कोसँग सजिलो भइरहेको छ राजेन्द्र महतो कि उपेन्द्र यादवसँग ?

–मलाई काम गर्न त्यहाँ पनि सजिलै थियो । तर त्यहाँको गुटबन्दीले गर्दा सबै माहोल बिगारी दियो, काम गर्ने वातावरण नै भएन । उपेन्द्र यादवलाई पहिलादेखि नै चिन्दछु तर यसरी प्रत्यक्ष सँगै काम गर्ने मौका पाएको पहिलो पटक हो । अहिले धेरै भएको पनि छैन । तर जेजति समय भएको छ, त्यो राम्रै नै वितेको छ । उहाँ राम्रो सहयोग गर्नुहुन्छ, रेसपोन्स राम्रो गर्नुहुन्छ । उहाँ कामप्रति इमान्दार र लगनशील हुनुहुन्छ । रातोपाटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार