बैसाख २२, २०८३ मंगलबार May 5, 2026

हामी कसैको पनि सहयोग फिर्ता लैजाउ भन्दैनौँः एमसीसी अनुमोदन हुँदै हुँदैन ।- झलनाथ खनाल (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सत्ता गठबन्धनमा एमसीसी अघि बढाउने सहमति जुटेको हो ?

एमसीसी सम्झौता भएको नै पाँच वर्ष वितिसक्यो । यो ५ वर्षसम्म हामीले सार्वजनिक रुपमा सवै दस्तावेज प्राप्त गर्न सकेनौँ । र, अहिले भर्खरमात्र केही दस्तावेजहरु प्राप्त भएका छन् । खासगरी अहिले नौ वटाजति दस्तावेज प्राप्त भएका छन् ।

के–के रहेछन् भर्खर प्राप्त भएका दस्तावेज ?

हामीले भर्खर प्राप्त गरेका नौवटा दस्तावेज यस्ता छन् । एक– इन्भाइरोमेन्टल एण्ड सोसियल मेनेजमेन्ट प्लान । दुई– सोसियल जेनेरल इन्टिग्रेसन प्लान । तीन – इक्वीपमेन्ट एजेन्ट एग्रिमेन्ट । चार–प्रोजेक्ट कोअपरेशन एग्रिमेन्ट । पाँच –डीपीआर अफ ट्रान्समिसन लाइन प्रोजेक्ट । छ – डीपीआर अफ रुट प्रोजेक्ट । अर्को सबभन्दा महत्वपूर्ण र धेरै समयदेखि हामीले खोजिरहेको दस्तावेज स्टेप पार्टनरसिप एग्रिमेन्ट पनि हामीले पाएका छौँ । केपी ओली नेतृत्वको सरकारसँग हामीले यो दस्तावेज पटक पटक मागेका थियौँ, तर उनीहरुले यो दस्तावेज दिएका थिएनन् । यी दस्तावेजहरु यसो हेर्दाखेरि आठ नौ सय पृष्ठका छन् । अब ती दस्तावेजहरु गम्भीरतापूर्वक अध्ययन नगरीकन एउटा निचोडमा हामी कसरी पुग्न सक्छौ ? नेपाल राष्ट्र एमसीसीका बारेमा कसरी निचोडमा पुग्न सक्छ ? त्यसकारणले ती दस्तावेजहरूका बारेमा अध्ययन गर्ने क्रम अहिले जारी छ ।

यी दस्तावेजबारे प्रधानमन्त्रीसँग छलफल भयो ?

यी दस्तावेजबारे हामी कार्यदलका तीनै जनाले प्रधानमन्त्रीलाई आफ्नो कुरा बताइसकेका छौँ । हामीले यी सवै चिजहरू अध्ययन गरेरमात्रै निचोडमा पुग्न सकिने र हाम्रै बीचमा, दृष्टिकोणमा र कतिपय विश्लेषणहरुमा निकै ठूलो भिन्नता रहेको हुनाले तत्कालै समस्याहरु समाधान भएर एक ठाउँमा पुगिने सम्भावना नभएकाले कुनै नयाँ प्रतिवेदन बनाइरहन आवश्यक रहेन ।

गठबन्धनमा एमसीसी अघि बढाउने सहमति भयो भनेर समाचार आइरहेका छन् नि ?

यी समाचारहरु नितान्त प्रायोजित हुन् । त्यस्तो प्रकारको कुनै सहमति भएको मलाई आजका मितिसम्म जानकारी छैन । गठबन्धनका बैठकमा म पनि गइरहेको छु । म नभएका बैठकमा सहमति भएको भए मलाई थाहा छैन, तर म उपस्थित भएको कुनैपनि बैठकमा यस्तो प्रकारको सहमति भएको छैन ।

यसको अर्थ शनिबार बालुवाटारमा प्रधानमन्त्री सहित बसेको बैठकमा एमसीसी अघि बढाउने कुनै सहमति भएको होइन ?

छैन । कुनै हालतमा भएको छैन । तर एमसीसीका बारेमा आ–आफ्ना धारणा छँदैछन् ।

तपाईंहरुको धारणा सुनेपछि प्रधानमन्त्री देउवाको जवाफ कस्तो आयो ?

प्रधानमन्त्रीजीले अलि अगाडिदेखि नै एमसीसी पास गरौँ भन्ने मत प्रकट गर्दै आउनुभएको छ । तर प्रधानमन्त्री एक्लै र एउटा दलको मात्रै होइन, पाँच दलको प्रधानमन्त्री हो । पाँच दलको बिचमा सहमति नगरी कुनैपनि विषयवस्तु अगाडि बढ्न सक्दैन भन्ने कुरा उहाँलाई पनि थाहा छ, हामीलाई पनि थाहा छ । त्यसो भएकाले हामी जुन वस्तुगत परिस्थितिमा उभिएर यो पाँच दलको गठबन्धन गरेका छौँ, त्यो वस्तुगत परिस्थित अहिले पनि विद्यमान छँदैछ । र पाँच दलको गठबन्धनलाई दृढतापूर्वक जारी राख्नुपर्ने आवश्यकता छ । प्रधानमन्त्री पनि सोही पक्षमा हुनुहुन्छ । त्यसो भएकाले असहमतिका विषयवस्तुहरुलाई उठाएर गठबन्धनलाई नकारात्मक असर पार्ने खालको काम कसैले पनि गर्नुहुन्छ भन्ने मलाई लाग्दैन ।

प्रधानमन्त्रीले पास गर्नेभए गर्नुस् नत्र गठबन्धन टुट्छ भन्नुभएको पनि सत्य होइन ?

यस्तो प्रकारको प्रचारवाजीमा कुनै सत्यता छैन । यो सर्वथा गलत कुरा हो । प्रधानमन्त्रीले हामीसँग कहिल्यै त्यस्तो भन्नुभएको छैन ।

एमसीसी अध्ययन कार्यदलको संयोजक पनि तपाईं हो । थप दस्तावेजहरु पनि पाउनुभएछ । अब एमसीसीका बारेमा के गर्ने हो त ?

एमसीसीको थप गहिरो अध्ययन गर्नुपर्छ । हाम्रो अध्ययन नै पुगेको छैन । भर्खर त नौ वटा दस्तावेज पाइएको छ । अनि यी दस्तावेजहरु अध्ययन गर्न समय लाग्छ भन्ने पनि स्वतसिद्ध छ । त्यसैले यी दस्तावेज गहिरो अध्ययन गरेरमात्रै हामी एउटा निचोडमा पुग्न सक्छौँ । यो भन्दा अगाडि प्राप्त गरेका दस्तावेजकै आधारमा एमसीसी अनुमोदनमा जान हुदैहुँदैन । त्यसमा आपत्तिजनक कुराहरु छन् । ती कुराहरु संशोधन भएनन् र सच्चिएनन् भने एमसीसी पास गर्न गाह्रो छ ।

यस्तो अवस्थामा एमसीसीको विषयलाई लिएर गठबन्धन त टुट्न सक्ने देखियो नि, होइन ?

एमसीसीको सवाललाई लिएर हाम्रो गठबन्धनलाई अहिले कुनै असर पर्छ भन्ने मलाई लाग्दैन ।  निश्चित राजनीतिक उद्देश्यहरु, संवैधानिक उद्देश्यहरु, लोकतान्त्रिक मूल्य र मान्यताका उद्देश्यहरु प्राप्त गर्न  यो गठबन्धन बनाएका हौँ । ती कार्यभारहरु अहिले पनि जस्ताको तस्तै छन् । त्यसलाई अगाडि बढाएर जानुपर्ने आवस्यकता छ, त्यसो भएकाले यो गठबन्धन कुनै हालतमा पनि टुट्दैन । यद्यपी यो गठबन्धनलाई तोड्न अनेकखाले देशी विदेशी शक्तिहरु टाउको टेकेर लागेका छन् । तर जतिसुकै टाउको टेकेर लागेपनि उनीहरुका चाहानामा तुषारापातबाहेक केही पनि हुँदैन । गठबन्धन दृढतापूर्वक अघि बढ्छ ।

प्रधानमन्त्री देउवा एमसीसी अघि बढाउन खोज्ने, तपाईंहरु हुँदैन भन्ने, समस्या यही देखियो । यसैकारण तपाईंहरुको दवावका कारण सभामुखलाई प्रतिनिधि सभा बैठक लामो समय सार्न लगाएको भन्ने कुरा छ सत्य रहेछ नि होइन ?

अहिले हामीले दश दिन संसद बैठक स्थगित गरेका छौँ । यसको कारण के हो भने संसार भरी पनि र नेपालमा पनि कोभिडको पछिल्लो लहर तीव्र भएको छ । देशभरी ठुलो संख्यामा मानिसहरु विरामी छन् । स्वास्थ्यकर्मीहरुले पनि यो अवधिमा धेरै सतर्क हुनु भनेर भनेका छन् । प्रशासनले पनि २५ जना भन्दा बढी भेला नहुन आदेश जारी गरेको छ, यो कुरा पुर्ण पालना गर्नुपर्यो भन्ने कुरालाई समेत ध्यानमा राखेर तत्काल बैठक नगरौ । तथ्यांक हेर्दा पछिल्लो पटक घट्न थालेको पनि छ, सायद अव त्यो क्रम अझ कम होला त्यसपछि बैठक बसौँ भन्ने प्रस्ताव आयो । त्यो प्रस्तावमाथि छलफल गर्दा हामी सवै एक मतमा पुग्यौ । र, प्रधानमन्त्री स्वयंले भन्नुभयो, ठिक छ दश दिन स्थगित गरौ त्यसपछि के परिस्थिति हुन्छ सोही अनुसार गरौँला ।

अमेरिकाले फेब्रअरी १ भित्रमा एमसीसीको प्रक्रिया अघि बढाउनु भनेर दिएको समयसीमा गुजार्न पनि तपाईंहरुले यो बाटो रोजेको भन्ने त बुझिन्छ नि ?

अब तपाईंको प्रश्नका सन्दर्भमा मैले पनि हल्ला सुनेकै हो । फेब्रुअरी १ लाई अमेरिकनहरूले अन्तिम डेट भनेका छन्,त्यो डेटसम्म पनि नेपालले अनुमोदन गरेन भने हामी एमसीसी फिर्ता लैजान्छौँ भन्ने कुरा उनीहरुले गरेका छन् भन्ने हल्ला गत साता नै जोडतोडले सुनिएको हो । तर मलाई लाग्छ यो हल्ला नै हो । यस्ता हल्ला यो पटकमात्रै होइन, यसअघि पनि धेरै पटक चले र मान्छेका सोचहरु त्यतिकै गले ।

आखिर सहमति पनि जुट्न सकेन, त्यो रकमले नेपालको विकासमा कायापलट पनि हुने होइन । यस्तो हुँदा अमेरिकालाई फिर्ता लगे लैजाउ भनेर भन्न सकिँदैन ?

अहिले नेपाल विकासको जुनस्तरमा छ, कुनैपनि विकसित मुलुकहरुबाट संयुक्त राष्ट्र संघले गरेको निर्णय बमोजिम हामीले सहयोग प्राप्त गर्ने कुरा हाम्रो हकको कुरा हो, अधिकारको कुरा हो । त्यसकारण अमेरिकाले दिने सहयोगभित्र पनि नेपालको हक लाग्छ । तर त्यो नेपालको राष्ट्रिय हित अनुकुल नेपालको स्वतन्त्रता र सार्वभौमसत्तालाई सम्मान हुने ढंगले प्राप्त हुनुपर्छ भन्ने हाम्रो भनाइमात्रै हो । त्यसो गर्दा हामी अमेरिकासँग सहयोग लिदैनौँ भन्ने पक्षमा हुँदैनौँ । अमेरिकासँग पहिला पनि अन्य थुप्रै ढंगले सहयोग लिइआएका छौँ, अब पनि हामीले लिनुपर्छ । विश्वका सवै मुलुकबाट पनि लिनुपर्छ तर राष्ट्रहित सर्वोपरी हुनुपर्छ । हामी कसैको पनि सहयोग फिर्ता लैजाउ भन्दैनौँ । रातोपाटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार