असार २, २०८३ मंगलबार June 16, 2026

कांग्रेसको अबको कार्यभार – डा. डिला संग्रौला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाली कांग्रेसको चौधौं महाधिवेशनले नयाँ नेतृत्व मात्रै चयन गरेन, पार्टीभित्र र पूरै देशभरि आशा र उत्साह जगायो । एउटा जीवन्त राजनीतिक पार्टीको जीवनमा आवधिक महाधिवेशन सामान्य प्रक्रिया हो, तथापि कांग्रेसको गत महाविधेशन अलिक पृथक् र अर्थपूर्ण रह्यो । संविधान कार्यान्वयनको अभ्यासस्वरूप संघीय संरचना अनुसार बनेको पार्टी विधान अनुसार कांग्रेसले समावेशी समानुपातिक सिद्धान्तका आधारमा तल्लो तहदेखि केन्द्रीय तहसम्म नेतृत्व चयन गर्‍यो ।

यतिखेर जनअपेक्षा पूरा गर्ने जिम्मेवारी पनि कांग्रेसको काँधमा छ । २०१५ सालमा प्रधानमन्त्री निर्वाचित भएपछि बीपी कोइरालाले १५ वर्षभित्र हरेक नेपालीलाई आफूजस्तै मध्यमवर्गीय परिवारमा रूपान्तरण गर्ने अठोट लिनुभएको थियो । बीपीको उक्त अठोट तथा दीर्घकालीन सोचलाई सफल बनाउन र लोकतान्त्रिक समाजवादलाई सार्थक तुल्याउन आज कांग्रेसको भूमिका अपरिहार्य छ । २०४६ पछि कांग्रेस नेतृत्वका सरकारहरूले आर्थिक उदारीकरणका माध्यमबाट अर्थतन्त्रलाई एउटा बलियो जगमा उभ्याए पनि बेरोजगारी, असमानता र भेदभावजस्ता समस्या यथावत् छन् । हरेक तहका नागरिकका समस्या अद्यापि विकराल छन् । यसतर्फ पार्टीले दीर्घकालीन रणनीति र कार्ययोजना तर्जुमा गर्नुपर्ने आवश्यकता छ ।

जनताले पार्टीहरूको परीक्षा लिन गैरहेको यो बेला कांग्रेसले आफूलाई अब्बल साबित गर्नुपर्नेछ, अहिले पार्टी यही अवसर र चुनौतीको डिलमा उभिएको छ ।

अब मुलुकमा छिट्टै स्थानीय चुनाव हुँदै छ । संघीय र प्रदेश चुनाव पनि सन्निकट छन् । ती चुनावमा कांग्रेसले आगामी ५ वर्षका लागि मात्रै हैन, बीपीको अठोट सम्झिएर १५ वर्षको नेपालको विकासको खाका प्रस्तुत गर्नुपर्छ, देशको सामाजिक, आर्थिक रूपान्तरणको कार्यदिशा तय गर्नुपर्छ । जनताले पार्टीहरूको परीक्षा लिन गैरहेको यो बेला कांग्रेसले आफूलाई अब्बल साबित गर्नुपर्नेछ, अहिले पार्टी यही अवसर र चुनौतीको डिलमा उभिएको छ । कतिपय कम्युनिस्ट पार्टीहरूमा देखिएको सर्वसत्तावादी सोचलाई भत्काउन र समावेशी लोकतन्त्रलाई सफल बनाउन पनि कांग्रेसले आफ्नो भूमिका खेल्नुपर्ने बेला छ । यस्तै, बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिमा कांग्रेसले मात्रै देशलाई केन्द्रमा राखेर सन्तुलित विदेश नीति सञ्चालन गर्न सक्छ भन्ने प्रमाणित गर्ने चुनौती पनि छ । समयसापेक्ष विदेश नीति तयार पारेर मुलुकको सार्वभौमिकता र स्वतन्त्र अस्तित्वको रक्षाका निम्ति पार्टी जुट्नुपर्नेछ ।

यी सबै कार्यभारका निम्ति कांग्रेसलाई देशभर जागरुक र रूपान्तरित गर्दै लैजानुपर्ने आवश्यकता छ । जिल्ला–जिल्लाका कांग्रेसजनलाई संगठित, क्रियाशील र जनमुखी बनाउन जरुरी छ । आज समाज रूपान्तरणका लागि कांग्रेसीजन एकजुटको विकल्प छैन । नत्र, कांग्रेसले अहिले पाइरहेको स्वर्णिम मौका त्यसै खेर जान सक्छ । त्यसो हुन नदिन संविधान निर्माणाको नेतृत्व लिएको पार्टीले यसको सफल कार्यान्वयन गर्ने पनि उत्तिकै भूमिका खेल्नुपर्छ । संवैधानिक व्यवस्था अनुसार मुलुकका तीनै तहका निर्वाचन पूरा गराउनुपर्छ । आवधिक निर्वाचन यथासमयमै गराएर जनतालाई लोकतन्त्रको अनुभूति दिलाउनुपर्छ । यी चुनावी अभियानहरूमा पार्टी कार्यकर्ताहरू एक ढिक्का भई अग्रसर हुनुपर्छ, र जनताको मन जितेर देशलाई उज्यालो बाटोमा डोर्‍याउने स्वर्णिम मौका कांग्रेसले गुमाउनु हुन्न । कम्युनिस्ट पार्टीहरूले आफू सत्तासीन भएका बेला संविधानलाई लत्याएर र प्रजातन्त्रलाई कुल्चिएर अघि बढेकाले ‘कम्युनिस्ट ह्याङओभर’ बाट मुलुकलाई मुक्ति दिलाउन पनि कांग्रेसको रणनीतिक भूमिका आवश्यक छ ।

नेपाली कांग्रेस यतिबेला नयाँ विधान अनुसार नयाँ संरचनामा छ । टोल एकाइदेखि केन्द्रीय समितिसम्म पार्टीको आन्तरिक जीवन समावेशी बनेको छ । यद्यपि, पार्टीभित्रका केही स्वार्थी समूहका गतिविधि संगठनलाई कमजोर बनाउने दिशामा छन्, जन दुःखद कुरा हो । पार्टीको मूल ध्येयविपरीत राष्ट्रियताको भावना क्षय हुँदै गएको, लोकतान्त्रिक समाजवाद नारामा मात्रै सीमित हुँदै गएको जस्तो देखिएकाले मूल नेतृत्वले सोही अनुसार रणनीति तत्काल बनाउनुपर्ने देखिएको छ । युवाहरूको ध्यान तात्कालिक घटनाहरूमा बढी छ, जसले सिद्धान्त र विचार अलप हुने खतरा छ । पछिल्लो समय गाउँ–सहरका नयाँ पुस्ताले कांग्रेसको विचार र दर्शनबारे जानकारी पाउन सकेका छैनन् । बीपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको बारेमा युवापुस्ता प्रशिक्षित हुने मौका पाएका छैनन् । उनीहरूलाई प्रशिक्षण जरुरी छ । नेपाललाई लोकतान्त्रिक समाजवादतर्फ उन्मुख गराउने जिम्मेवारी बमोजिम कांग्रेसले अब आफ्नो एजेन्डा, नेतृत्व र संगठन बलियो बनाउनुपर्छ । त्यसका लागि नीति तथा विधान अधिवेशन गर्न जरुरी छ । अब कांग्रेसलाई कमजोर हुने छुट छैन । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सेनाद्वारा सुदूरका बीस विद्यालयमा सेवादल तालिम
२०८३ असार २, मंगलबार
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै
२०८३ असार २, मंगलबार
टीकापुरमा भूमिपूजाको रौनक
२०८३ असार २, मंगलबार
ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला
२०८३ असार २, मंगलबार
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद् र निकायका पदाधिकारीका लागि आवेदन आह्वान
२०८३ असार २, मंगलबार
तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न
२०८३ असार २, मंगलबार
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
२०८३ असार २, मंगलबार