असार २, २०८३ मंगलबार June 16, 2026

अपमानको खेती कहिलेसम्म ? – बबिता बस्नेत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पञ्चायतकाल र प्रजातन्त्रका केही वर्षसम्म हाम्रो मुलुकमा न्यायालय र न्यायाधीशहरूको उच्च सम्मान थियो । वकिलहरू न्यायाधीशको मुहारमा सिधा नजरले हेर्न सक्दैनथे, डराएर होइन सम्मानले । कानून ब्यवसायीहरू सौहार्द्धपूर्ण वातावरणमा एकार्कासँग भेटघाट, कुराकानी र छलफल गर्ने गर्थे । परिणामतः समग्र न्याय क्षेत्रलाई हेर्ने दृष्टिकोण सम्मानित थियो । २०६३ सालको राजनीतिक परिवर्तनपछि विभिन्न क्षेत्रमा विभाजन ल्याउने, एकार्कालाई आक्षेप लाउने, राम्रै काम गरिरहेकालाई पनि नराम्रो भनेर स्थापित गराउन खोज्ने क्रियाकलाप सुरु भयो ।

कुन क्षेत्रमा कसले राम्रो गरिरहेको छ ? अरुलाई पनि त्यसैगरी राम्रो काम गर्ने कसरी बनाउन सकिन्छ भन्ने बारेमा प्रयासहरू भएनन् । कसलाई के गर्दा अपमान गर्न सकिन्छ, के गर्दा नकारात्मक माहौल बनाउन सकिन्छ, के गर्दा सिध्याउन सकिन्छ भनेर लागिपर्नेहरूको बोलवाला भयो । के गर्दा आन्तरिक माहौल राम्रो बन्छ, कसरी छोटो समयमा धेरै राम्रा कामहरू गर्ने, एकार्कालाई सम्मानित दृष्टिकोणले हेर्ने अवस्था कसरी सिर्जना गर्ने भन्नेतिर ध्यान जाने स्थिति नै बनेन, बनाइएन । परिणामतः विभिन्न क्षेत्रमा कार्यरत ब्यवसायिक मानिसहरूलाई अपमान र हीनताबोध गराउने माहौल निर्माण गरियो ।

२०७३ सालमा केही ठुला नेताहरूलाई मुद्दा चलाउन लाग्यो भनेर तात्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई संसद्मा महाभियोग दर्ता गरियो । संसद्मा दर्ता गरिए पनि संसदबाट नभई सर्वोच्च अदालतलाई प्रयोग गरेर उहाँलाई हटाइयो । तिनै नेताहरूले संसदीय सुनुवाइसमेतको प्रक्रिया पूरा गरेर उहाँलाई नियुक्त गरेका थिए । लोकमानसिंह कार्की खराब प्रवृत्तिका मानिस भन्ने लागेको भए किन नियुक्ति गरियो ? यदि सही थिए भने किन महाभियोग लगाइयो ? कुनै पनि ब्यवसायिक ब्यक्तिका लागि महाभियोग लाग्नु सानो कुरा होइन । महाभियोग दर्ता गरेर प्रमाणित नगर्नु आफ्नो स्वार्थका लागि संवैधानिक ब्यवस्थाको दुरुपयोग हो । जुन दुरुपयोग नेताहरूबाट हुँदै आएको छ ।

संविधान र कानूनको गम्भीर उल्लङ्घन गरेमा लगाइने महाभियोग कुनै नेतालाई अख्तियारले छानविन गर्न लाग्यो भनेर लगाउन मिल्थ्यो ? मिल्छ ? लोकमानसिंह कार्की पछि प्रधानन्यायाधीश रहेका बेला सुशीला कार्कीलाई पनि महाभियोगको प्रस्ताव दर्ता गरियो । प्रधानन्यायाधीशका रूपमा सुशीला कार्कीले गरेका कतिपय कार्यहरू गलत थिए, एउटा प्रधानन्यायाधीशले गर्नै नमिल्ने प्रकारका थिए । तर त्यस्ता कामलाई लिएर महाभियोग लगाइएको होइन । त्यतिबेला पनि अहिले जस्तै राजनीतिक जोडघटाउ मिलाउन उहाँविरुद्ध महाभियोगको प्रस्ताव संसद्मा दर्ता गरिएको थियो । उक्त प्रस्तावमा पनि संसदले नभई सर्वोच्च अदालतकै निर्णयले काम गऱ्यो र उहाँ आफ्नो काममा फर्कनुभयो । परिणाम जे भए पनि अपमान त गरियो ।

अन्य क्षेत्रको तुलनामा न्याय क्षेत्रमा अपमानको खेती थप फस्टाएको देखिन्छ । प्रधानन्यायाधीश भएपछि गोपाल पराजुलीमाथि जन्ममिति र सर्टिफिकेटको कुरा उठाइयो । त्यतिका वर्ष न्यायक्षेत्रमा बसेर काम गर्दा कमाएको मान, सम्मानलाई पूर्णतः अपमानमा परिणत गर्दै कर्मचारीलाई चिठ्ठी दिन लगाएर पियनले हाकिम निकालेको शैलीमा उहाँलाई निकालियो । गोपाल पराजुलीलाई अपमानपूर्ण तरिकाले हटाउँदा दीपक जोशीलाई नराम्रो लागेन । पराजुली भन्दा एक तहमुनिका जोशी चाँडै कायममुकायम प्रधानन्यायाधीश हुन पाएकोमा खुशी हुनुभयो । तर दीपक जोशीको त्यो खुशी लामो समय रहन पाएन । उहाँमाथि नक्कली सर्टिफिकेटको आरोप लगाइयो । मेरो सर्टिफिकेट जाँच गरियोस् भनी माग गर्दा गर्दै आरोप प्रमाणित नभइ उहाँलाई हटाइयो । सर्वोच्च अदालतमा एकपछि अर्को अपमानपूर्ण ब्यवहार र दुर्व्यवहारमा कुनै न कुनै रूपले सहभागी हुनुभएका चोलेन्द्र शम्शेर राणालाई आफू प्रधानन्यायाधीश बनेपछि यस्तो ब्यवहार भोग्नु पर्ला भन्ने शायद लागेको थिएन ।

हरेक मानिस सम्मानित जीवन बाँच्न चाहन्छ । बाँच्न मात्र होइन मृत्यु पनि सम्मानित होस भन्ने चाहना राख्छ । आफू मर्दा मलामीको सङ्ख्या राम्रै होस भन्ने चाहना हरेकमा हुन्छ, त्यसैले त मृत्युपछि पनि अमर हुने काम गर्न चाहन्छ ।

प्रधानन्याधीशको लाइनमा भएका दीपक जोशी र चोलेन्द्र शम्सेर राणा दुवैलाई आफ्नो आन्तरिक माहौल ‘फेयर’ र सकारात्मक बनाउने अवसर थियो । तर सकरात्मक वातावरण भन्दा बढि उहाँहरू कसरी चाँडोभन्दा चाँडो आफू प्रधानन्यायाधीशको कुर्सीमा बस्ने भन्नेतिर लाग्नुभयो । उहाँहरूले चाहनुभएको भए न्यायालयमा अपमानको खेतीलाई कम उर्वर बनाउन सक्नुहुन्थ्यो । तर जोशी र राणा दुवैले मलजल गरेर हराभरा बनाउने वातावरण निर्माण गरिदिनुभयो । फलतः चोलेन्द्र शम्सेर राणाले जिन्दगीमा कहिल्यै नसोचेको अपमान र हीनताबोधबाट गुज्रनु पऱ्यो, परिरहेको छ । अब करिब उस्तै-उस्तै अवस्थाबाट गुज्रिने पालो कामु प्रधानन्यायाधीश दीपक कार्कीको देखिएको छ ।

‘यदि कुनै दुर्बल मानिसले तिमीलाई अपमान गरे भने त्यसलाई क्षमा गर, किनभने क्षमा गर्नु असल मान्छेको कर्तब्य हो । तर अपमान गर्ने मान्छे शक्तिशाली छ भने उ क्षमाको लायक हुँदैन, उसलाई दण्ड दिनुपर्छ’- महाभारतमा श्रीकृष्णले अर्जुनलाई भनेका छन् । हामीकहाँ दुर्बलले सवललाई अपमान गर्ने वातावरण नभएको होइन तर अपमानको खेतीमा प्रायः सबलहरू नै सक्रिय हुने गरेका छन् । त्यसैले श्रीकृष्णले त्यस्ता ब्यक्तिहरू क्षमाका लायक हुँदैनन् भने पनि दण्ड दिने अवस्था पनि रहँदैन । हामीकहाँ योग्य र असल ब्यक्तिलाई उसले योगदान दिन सक्ने ठाउँमा पुऱ्याउनका लागि दबाब दिइँदैन । कोही कुनै ठाउँमा पुगेको छ भने त्यसलाई कसरी झार्ने भन्ने बारेमा विरोध र आन्दोलनहरू हुन्छन् । डा.गोविन्द केसीले आजसम्म यो मान्छे राम्रो छ उसलाई सम्बन्धित ठाउँमा लानुपऱ्यो भनेर अनसन बस्नुभएको छैन । उहाँको अनसन प्रायः आफूलाई चित्त नबुझेका मानिसलाई बर्खास्त गर्नका लागि हुने गरेका छन् । नियुक्ति हुनासाथ विरोध सुरु भएपछि काम गर्ने उत्साह कसरी आउँछ ? कुनै ठाउँमा पुगेको मानिसलाई तल झार्न गरिएका आन्दोलन, अनसनले सकारात्मक माहौल निर्माण गर्ने सोच्न सकिँदैन, मिल्दैन ।

अरुको अपमान गर्दा आफ्नो सम्मान बढेको ठान्ने मानिसहरू हामीकहाँ धेरै छन् । वकिल, पत्रकार, डाक्टर, इन्जिनियर, प्राध्यापक सबैका सङ्गठनहरूमा सकारात्मक भन्दा बढी नकारात्मक प्रतिस्पर्धाको माहौल छ । पत्रकार महासङ्घका अध्यक्ष वा पदाधिकारीलाई गाली गरेर चर्चित पत्रकार हुने, प्राध्यापक सङ्घको विरोध गरेपछि गज्जबको प्राध्यापक हुने, चिकित्सक सङ्घमा राम्रो डाक्टर पुग्यो भने यसलाई कसरी बदनाम गरुँ भनेर खोतल्न सुरु गर्ने, राजनीतिमा कसैले राम्रो गर्न खोज्यो भने यो मान्छे त पहिला यस्तो थियो भनेर गलत प्रचार प्रसार सुरु गर्ने । यस्तो अवस्थाले हामी बाँचेको वातावरणलाई दुषित बनाउने भन्दा अर्को कुनै सिर्जनात्मक कार्य गर्दैन । ‘त्यसलाई बदनाम या अपमान गर्न पाइयो ठिक भयो’ भन्ने सोच भएका मानिसहरू नीति निर्माण तहमा हुनु दुःखलाग्दो पक्ष हो । विशेषगरी हाम्रो राजनीति कसले कसलाई बढी अपमान गर्न सक्छ त्यही सफल हुने झैँ गरी अघि बढिरहेको छ ।

कुनै पनि क्षेत्रमा ब्याप्त नकारात्मक माहौलले सकारात्मक उर्जा दिन सक्दैन । सकारात्मक वातावरण नभइ राम्रा कामहरू हुँदैनन् । हरेक मानिस सम्मानित जीवन बाँच्न चाहन्छ । बाँच्न मात्र होइन मृत्यु पनि सम्मानित होस भन्ने चाहना राख्छ । आफू मर्दा मलामीको सङ्ख्या राम्रै होस भन्ने चाहना हरेकमा हुन्छ, त्यसैले त मृत्युपछि पनि अमर हुने काम गर्न चाहन्छ । सबै मानिस आफूले चाहेको काम गर्न सफल हुन्छन् भन्ने छैन तर मानिसले चाह्यो भने आफूवरिपरिको परिवेशलाई सकरात्मक बनाउन सक्छ । अरुलाई अपमान गरेर आफू कहिल्यै पनि सम्मानित भइँदैन । त्यसैले अपमानको खेतीलाई हुर्कने अवसर आफ्नो ठाउँबाट नदिऔँ । हामी सबैले चाह्यौँ भने मुलुकका हरेक क्षेत्रमा सम्मानित वातावरण बनाउन सक्छौँ, यो सम्भव छ । घटना र बिचार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सेनाद्वारा सुदूरका बीस विद्यालयमा सेवादल तालिम
२०८३ असार २, मंगलबार
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै
२०८३ असार २, मंगलबार
टीकापुरमा भूमिपूजाको रौनक
२०८३ असार २, मंगलबार
ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला
२०८३ असार २, मंगलबार
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद् र निकायका पदाधिकारीका लागि आवेदन आह्वान
२०८३ असार २, मंगलबार
तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न
२०८३ असार २, मंगलबार
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
२०८३ असार २, मंगलबार