असार २५, २०८२ बुधबार July 9, 2025

स्वार्थमा अडिएको गठबन्धन – जगदीश दाहाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालमा २००७ सालमा २ सय वर्ष लामो इतिहास बोकेको राणा शासनको अन्य हुँदै प्रजातन्त्रको स्थापना भयो। नेपालको इतिहासमा निकै ठूलो राजनीतिक परिवर्तन भएको थियो त्यो। तर, त्यसपछि पनि यस्ता ठुल्ठूला शासकीय परिवर्तनहरू हुँदै आएका छन्।

जहानियाँ राणा शासनदेखि ३० वर्ष लामो निर्दलीय पञ्चायती व्यवस्था भोगेका नेपालीले २०४७ सालपछि खुला बहुदलीय व्यवस्थाको अभ्यास पनि गर्ने अवसर पाए। २०४७ सालमा जारी बहुदलीय संसदीय अभ्यासको करिब १५ वर्षसम्म अभ्यास गरेपछि मुलुकमा फेरि राजनीतिक परिवर्तन भयो। आन्दोलन र संघर्षकाबीच २०६३ सालको परिवर्तनपछि संघीय लोकतान्त्रिक र गणतान्त्रिक बहुदलीय संसदीय प्रणालीको अभ्यासमा छौं।

२०६३ सालको राजनीतिक परिवर्तनपछि जनताको संविधानसभाले नेपालको संविधान जारी गरेको थियो। यसको प्रयोग र कार्यान्वयन गर्दै ६ वर्षदेखि आजसम्म आउँदा हाम्रा राजनीतिक दल र दलका नेताले सत्ता प्राप्तिकै लागि गठबन्धन गरे। विभिन्न व्यावसायिक संघ–संगठनदेखि स्थानीय तह र प्रादेशिक तह हुँदै केन्द्रमा संघीय संसद्् र सरकार गठनसम्म पनि गठबन्धनकै आधारमा अगाडि बढ्ने चर्चा चलिरहेको छ।

३० वर्षीय पञ्चायती व्यवस्थामा जन्मिए हुर्किएका अहिलेका नेताहरूमा भाषण, कुरा र कानुन बहुदलीय तर प्रयोग र व्यवहार निर्दलीय देखिन थालेको छ। गठबन्धन र संयुक्त सरकार अनि संयुक्त उम्मेवार भन्नु दललाई कमजोर पार्नु हो। गठबन्धनका आधारमा चुनाव लड्छौं भन्नुलाई हाम्रा राजनीतिक नेताहरू दलीय प्रतिस्पर्धाबाट विमुख भएर निर्दलीय स्वभाव र संस्कार देखाउँदैछन् भन्नु अतिशयोक्ति नहोला।

किनभने त्यो अवस्थामा कुनै दल गठबन्धनकै आधारमा चुनावमा प्रतिस्पर्धा नै गर्दैनन्। कुनै दलले आफ्नो दलको समर्थक मात्र नभई अर्कै दलका समर्थकको भोटको आशा गर्छन्। हाम्रो देशका राजनीतिक दलबीचको गठबन्धनमा राजनीतिक उद्देश्य प्राप्ति र जनतालाई सुशासन र विकास दिने उद्देश्य कम छ। त्यसभन्दा बढी सत्ता प्राप्तिको उद्देश्य रहेको प्रष्ट देखिन्छ। त्यसैले यसलाई अति नै भइसकेको अवस्था मान्न सकिन्छ।

किनभने गठबन्धन के उद्देश्यले गरिए र कस्ता दलहरूबीच भए भन्ने हामीले देखेकै छौं। यसअघिको स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीले गठबन्धन गरेर एमालेलाई एक्ल्याउने प्रयास गर्दा एमालेसँग राप्रपा गएर मिल्यो। त्यसको ६ महिना नबित्दै एमाले र माओवादीको गठबन्धन बन्यो। राप्रपा गएर कांग्रेससँग मिल्यो। यो विचार मिलेका कारण भएको गठबन्धन थिएन। यो त नितान्त सत्ता स्वार्थका लागि मात्रै भएको गठबन्धन थियो।

चुनाव आफ्नो क्षमताका आधारमा लड्ने हो। आफ्नो सिद्धान्तका लागि लड्ने हो। अरूले सहयोग गर्ला र जितौंला भन्दै हिँड्ने मार्ग नै गलत हो।

अहिले पनि एमसीसीको चर्को विरोध गर्दै आएका दलहरू सत्ता गठबन्धन जोगाउनकै लागि एमसीसीको पक्षमा मतदान गर्न गए। एमसीसी पारित भयो तर उनीहरूले संसद्बाट बाहिर निस्किएर फेरि एमसीसीको विरोध गरे। जब कुनै कुरा आफूलाई गलत लागिरहेको छ भने त्यसको स्पष्ट विरोध गर्न सक्नुपर्छ। तर, गठबन्धन जोगाउने नाममा आफूले गलत भनिरहेको कुराको सही ठाउँमा विरोधसमेत गर्न नसक्ने र बाहिर जनताको आँखामा छारो हाल्ने प्रयास भइरहेको देखिएको छ। यसले पनि प्रष्ट पारिसकेको छ कि यो गठबन्धन सत्ता प्राप्तिका लागि बाहेक अन्य कुनै उद्देश्यका लागि भएकै छैन।

यत्तिका नागरिकलाई सहिद बनाइयो। जनताका छोराछोरी मारिए। धेरै पटकका आन्दोलन मुलुकले व्यहोर्यो। राजनीतिक परिवर्तन पनि भए। संविधानहरू पनि परिवर्तन पनि भए। तर, राजनीति दल र तिनका नेता भने सुध्रिएनन्। यो नेपाली जनताका लागि ठूलो दुर्भाग्य हो। अब नसोचेको विद्रोह जनताबाट हुनसक्छ। नसोचेको विद्रोह कुनै त्यस्तो आइपर्न सक्छ। जसले यी नेता र दलको नामोनिशान मेटाइदिन सक्छ। त्यसलाई हामीले ब्यहोर्नुपर्ने दिन कतै नआओस्। बेलैमा राजनीतिक दल र तिनका नेता सुध्रिउन्। होइन भने जनताले त्यसको नतिजा देखाइदिने छन्।

राजनीतिक संस्कार र राजनीतिक सिद्धान्त नै फरक भएका अनि राजनीतिक रूपले हिँड्ने बाटो नै फरक किसिमले अपनाएका त्यस्ता राजनीतिक दलबीच कसरी गठबन्धन भयो ? जनता देशका मालिक हुन्। उहिले राणाशाहका पालामा जस्तो जनतालाई रैती ठान्ने दिन गए। दलको शीर्ष नेता हुँ भन्दैमा विचार नै नमिल्ने दलसँग गठबन्धन गरिदिने र शुभचिन्तक मतदातालाई पनि त्यहीविपरीत विचारधारा भएको दलको उम्मेदवारलाई भोट हाल भनेर उर्दी सुनाउँदै गर्दा नेताहरूले बुझ्नुपर्छ। मतदाता तिनीहरूको विचार मान्न बाध्य हुने छैनन्। किनभने मतदान गर्नु उनीहरूको स्वतन्त्र अधिकार हो। आजका जनताको कसैले भोट हाल भन्दैमा हाल्ने वाला पनि छैनन्। राजनीतिक दलले त्यो कुरालाई बुझ्नुपर्छ।

मतदाताको विचार प्रजातान्त्रिक छ भने उसले कांग्रेसजस्तो दलको समर्थन गर्ने हो। आफ्नो बुझाइ र समर्थनका कारण एमालेमा भोट हाल्ने हुन्। वामपन्थी विचारधारा भएका मतदाता माओवादीतिर ढल्किने हुन्। यस्तै अन्य दलमा। अब नेताले आफ्नो वामपन्थी मतदातालाई कांग्रेसलाई भोट हाल भन्ने वा प्रजातान्त्रिक विचार भएको मतदातालाई माओवादीलाई भोट हाल भन्ने गर्न थाले भने जनताले मान्नैपर्छ भन्ने बाध्यता छैन र मान्दैनन् पनि।
कम्युनिष्ट राजनीतिक शक्ति संसारमा कहीँ अर्कोविपरीत शक्तिसँग गठबन्धन गर्न खोज्ने कम्युनिष्ट कतै होला र ? नेपालमा अहिले नेपाली कांग्रेसले फरक धारको कम्युनिष्ट शक्तिसँग गठबन्धन गरेर चुनावमा जान्छ भने योभन्दा राजनीतिक सिद्धान्तमा देखापर्ने विचलन अरू के हुन सक्छ ?

जसरी अहिले आउन लागेको नेपाल बारका चुनावका लागि गठबन्धन उम्मेदवार तय गरियो। त्यसैगरी स्थानीय, प्रादेशिक र संघीयमा पनि यस्तै गठबन्धन हुने र गर्ने हो। त्यसो हो भने यो संघीय लोकतान्त्रिक बहुदलवाद र यसलाई व्यवस्थित गर्ने नेपालको संविधान राजनीतिक दल तिनका नेताकै कारणले असफल भएको घोषणा गर्नु बाहेक केही होला जस्तो लाग्दैन।

त्यसैले अहिलेका सत्ताधारी राजनीतिक दल र नेताले कुनै समय केपी ओलीको मोनोपोलीका विरुद्ध गठबन्धन बनाए।  अदालत प्रयोग गर्दै सत्तारोहण गर्न पुगे। अब भने त्यो गठबन्धनलाई त्यत्तिमै सीमित राखेर त्योभन्दा अगाडि आउने सबै चुनाव आ–आफ्ना दलीय सिद्धान्तमा रहनुपर्छ। त्यसका आधारमा आ–आफ्ना पहिचान र घोषणापत्रका आधारमा दलीय प्रतिस्पर्धाबाट लड्ने र निर्वाचित हुने विकल्प प्रयोग गर्नु नै उपयुक्त हुन्छ। यही नै यो संविधानको सबल कार्यान्वयन र व्यवस्थाको सहज उपयोग हुन सक्छ। अन्यथा मुलुकले अर्को राजनीतिक दुर्घटना ब्यहोर्नुपर्नेमा दुईमत नहोला।

यसलाई कांग्रेस नेतृत्वले सोच्नु आवश्यक छ। ठूलो भाउ खान पाइएला भनेर गठबन्धनका दलबलसहित चुनावमा भाग लिन जाँदा भोलि जनताले स्विकार्न गाह्रो पर्नेछ। चुनाव आफ्नो क्षमताका आधारमा लड्ने हो। आफ्नो सिद्धान्तका लागि लड्ने हो। अरूले सहयोग गर्ला र जितौंला भन्दै हिँड्ने मार्ग नै गलत हो। त्यसैले माओवादी र समाजवादी लगायतका दलहरू जसरी पनि गठबन्धन जोगाऔं भनेर नलागेको नै राम्रो हुन्छ। सकिन्छ भने आफ्नो स्पष्ट विचार बनाऊ। त्यो विचारलाई जनतासमक्ष राखौं। जनतालाई चित्त बुझ्यो भने भोट दिन्छन्। अन्यथा, अरूको सिद्धान्त र विचारमा चुनाव लड्दा आफ्नै अस्तित्व संकटमा पर्न सक्छ।

अहिले चुनावमा मिलेर जाँदा भोलि केही बढी सिट पनि जितिएला। तर, के त्यसपछि यो गठबन्धन सधैं टिक्छ भन्ने छ ? छैन र टिक्न पनि सक्दैन। गठबन्धन एउटा स्वार्थ हो। यसमा सबै दलको आ–आफ्नो स्वार्थ लुकेको छ। त्यो स्वार्थ पूरा भएपछि साथ छोड्दैन भन्ने त छैन नि! त्यसैले स्वार्थको राजनीतिले लक्ष्य भेट्न सकिँदैन। कसले कुन समयमा कसको खुट्टा तान्छ, पत्तै हुँदैन।

अघिल्लो चुनावमा गठबन्धन गरेर पछि एकै दल भएका एमाले माओवादीको त यस्तो हविगत भयो। विचार सिद्धान्त नै नमिल्ने दलहरू बीचको अवस्था कस्तो होला ? एकै पार्टीमा त आन्तरिक द्वन्द्व हुन्छ भने विभिन्न फरक धार भएका पार्टीको अवस्था एउटै रहन्छ भन्ने ग्यारेन्टी कहाँ छ ? त्यसैले यसलाई गठबन्धनमा जोडिएका दलहरूले सोच्नुपर्छ। गठबन्धनमा पनि कांग्रेसले बढी नै सोच्नु आवश्यक छ। एमसीसी जस्तो राष्ट्रियतासँग जोडिएको विषयमा गठबन्धनमा सहमति जुटाउन यति हम्मेहम्मे पर्यो भने भोलिका दिनमा यस्ता विभिन्न मुद्दा देखिनेछन्।

अहिले पनि गठबन्धन भित्रैका दलका नेताहरू एमसीसीको विपक्षमा उभिए। यस्तो अवस्थामा चुनावमा सँगै उभिँदा जनताले कसरी विश्वास गर्लान् ? त्यसैले जुन उद्देश्यका लागि गठबन्धन बनेको थियो, त्यो उद्देश्य पूरा भएको छ। त्यसैले चुनावमा गठबन्धन होइन, सामथ्र्य देखाऔं। विचार र सिद्धान्तमा चुनाव जितौं। गठबन्धनको आस नगरौं। अन्नपूर्णपोष्ट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार