बैसाख २२, २०८३ मंगलबार May 5, 2026

हामी एक्लै काफी छौँ, गठबन्धनसँग लड्ने हामीसँग आत्मबल र विश्वास पनि छ । – गुलावजङ्ग शाह (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सत्तारुढ गठबन्धन विरुद्ध एमाले एक्लै लड्न कति सक्षम छ ? 

जसरी यो मुलुकमा सत्ता गठबन्धन बनेको छ, यसको लिजेटमेन्ड छैन । हामीले ०७४ सालको संघ र प्रदेशको निर्वाचन लड्दै गर्दा एमाले–माओवादी मिलेर बामपन्थीलाई दुई तिहाइको मत दिनुस् भन्दा जनताले दिएकै हुन् । गठबन्धनसँग एमालेले लड्न अहिले कुनै नयाँ रणनीति नै बनाउनु पर्दैन । कुर्सीको स्वार्थका लागि बनेको गठबन्धन व्यक्ति स्वार्थ, इगो, कुण्ठामा बनेको हो । यस्तो खालको गठबन्धन र सरकारलाई जनताले स्वीकार्दैनन् । गठबन्धन जति दलीय बनेपनि एमालेसँग मुद्दा, एजेण्डा छन्, राजनीतिक ईस्यु छन् । हामी एक्लै काफी छौँ, गठबन्धनसँग लड्ने हामीसँग आत्मबल र विश्वास पनि छ ।

तालमेलको सन्दर्भमा एमालेले ढोका खुल्ला राखेको पनि देखिन्छ । बाहिर नभन्ने, पाएको खण्डमा तालमेल गरेर जाने रणनीति हो ?

एमालेसँग पाँच दलहरु मिलेर लड्दैछन् । हामी सैद्धान्तिक, व्यावहारिक रुपबाट प्रष्ट छौँ कि यो गठबन्धनको विरुद्धमा लड्न समक्ष छौँ । एमाले सम्भावना नै सम्भावना खोज गरेर हिँड्ने पार्टी हो । कोही जोडिन आउँछन् भने तिरस्कार र बहिष्कार गरेर हिँड्ने लक्ष्य चाहिँ छैन । यदि कुनै त्यस्तो परिस्थिति निर्माण भएछ भने समयसापेक्ष निर्णय गर्नेछौँ ।

अन्य राजनीतिक दलहरूले एमालेलाई प्रतिगमनको मतियार भनेर प्रचार गरिरहेका छन् । जनतामा जाँदा एमालेले यसलाई कसरी सफाइ दिन्छ ? 

त्यो त राजनीतिमा जसले कुण्ठा पालेर बस्छ,  विचारमा दूरदर्शिता राख्दैन, उनैले भन्ने कुरा न हो । एमालेलाई के मानेमा प्रतिगमनकारी भन्ने ? हो, ओलीले संसद् विघटन गरेका हुन् । के जनताका बीचमा जाने कुरा प्रतिगमन थियो ? मलाई त्यस्तो लाग्दैन । प्रतिगमन त एकाधिकार सोच, राज्यका विरुद्धमा जनताका अधिकार आफ्नो हातमा लिएर अघि बढ्ने कुरालाई भनिन्छ । जनताका बीचमा जाने कुरा प्रतिगमन हुँदैन भन्ने कुरा अहिलेको सरकारले पुष्टि गरिसकेको छ नि..!

एमाले थोरै केही चोइटिएको हो । अहिले समाजवादी नामको पार्टी दर्ता भएको छ रे । हेर्नुभयो भने मुलुकमा चुनावी लहर त एमालेले ल्याएको छ । यो गठबन्धनले त चुनाव गर्नै चाहेको थिएन, हाम्रो दबाबका कारण मात्र राजी भएको हो । जनताका बीचमा जाने कुरामा किन डराउने ? यस कारणले पनि हामीलाई कसैले प्रतिगमनकारी भन्दैमा प्रतिगमनकारी होइन । एमाले जनपक्षीय हो । हामी यो कुरा जनतालाई बुझाउँछौँ  । र, ६०–७० प्रतिशत सीट जितेर देखाउँछौँ ।

तर कर्णाली प्रदेशमा त बलियो शक्ति भएर पनि सरकार बनाउन नसक्ने, बहुमतको कदर गर्न नसक्ने, दल भित्रैको कलह मिलाउन नसक्ने तपाईंहरुलाई जनताले फेरि मत किन दिने ?

त्यो बेला त एमाले–माओवादीको बीचमा तालमेल गरेर बहुमत ल्याएका थियौँ । हामी त्यो बेला केही राजनीतिक समझदारी भएर अघि बढेको हो । समझदारीमा कर्णाली र सुदूरपश्चिम माओवादी पक्षका मुख्यमन्त्री बनाउने र अन्य चार प्रदेश एमालेका मुख्यमन्त्री बनाउने भन्ने थियो । हामी त्यस्तो सरकार बनाउने पक्षमा नहुँदा पनि केन्द्रको सर्कुलर मान्नुपर्ने अवस्था थियो । त्यसबेलामा पनि एमाले बलियो नै थियो र अहिले पनि छ । ०७४ सालको निर्वाचनमा ल्याएको परिणाममा अहिले तात्त्विक भिन्नता आउँदैन । किनभने राजनीतिक मुद्दा र इस्युलाई अगाडि सारेर जनताका बीचमा जाने भनेको एमाले नै हो ।

०७४ मा ३८ प्रतिशत जनमत एमालेसँग थियो । अहिले तपाईंहरु खण्डित भएर बनेको एकीकृत समाजवादी पनि प्रतिस्पर्धीका रूपमा जनतामा जाँदैछ । यो अवस्थामा कर्णालीमा एमालेलाई त त्यही जनमत जोगाउन हम्मे–हम्मे पर्ला नि ?

पहिलेको भन्दा हामी बढाउँछौँ । उदाहरणका लागि ०५४ सालमा एमाले विभाजन भयो । त्यो बेला झण्डै ४५ प्रतिशत नेताहरू मालेमा लाग्नुभएको थियो । ०५६ सालको आमनिर्वाचनमा माले शून्य भयो । यो क्रम काँग्रेस र माओवादीमा पनि चल्यो । यसलाई विश्लेषण गर्ने हो भने जनताले विभाजित भएको शक्तिलाई रुचाउँदैनन् । अहिले हेर्नुभयो भने समाजवादी नामको पार्टीको कुनै हैसियत नै छैन । अझ प्रकाश ज्वालालगायत केही साथीले हामी तीन दलीय मोर्चा बन्यौँ भने एमालेलाई खोज्न जानुपर्छ भन्दै हुनुहुन्छ । उहाँसँग एक्लै चुनाव लड्ने आँट छैन । हिजोको सङ्ख्या जोड्दा त्यो आउला तर परिणाम, नारा र ईस्युमा शक्ति, ताकत कहाँ छ ? ०७४ को ३८ प्रतिशतलाई मात्र होइन, त्यो भन्दा धेरै अगाडि एमाले गइसक्यो । रिजल्ट चुनावपछि नै आउँछ ।

त्यसको आधार चाहिँ के हो ? 

समाजवादी दल जनतासम्म पुग्दा २ प्रतिशत पनि छैन । त्यसैले निर्वाचनमा विभाजनको कुनै असर पर्दैन । अर्को कुरा काँग्रेसको आफ्नो कुनै राजनीतिक एजेण्डा छैन । माओवादी आफ्नो मुद्दाबाट चिप्लिएर देउवालाई प्रधानमन्त्री बनाउने कुरामा अग्रसर बन्यो । अब हामी जनतामा यही कुरालाई उठाउँछौँ । कम्युनिष्टलाई दुई तिहाइ दिँदा माधव नेपाल र प्रचण्डले छक्याए । अब पुष्टि गर्नुपर्छ भनेर जनतालाई बुझाउँछौं । त्यो भएकाले कर्णालीमा ३८ प्रतिशत भन्दा कैयौँ माथि जनमत प्राप्त गर्छौँ ।

तर तपाईंकै प्रदेश अध्यक्षले एक्ला–एक्लै लडे २९ र गठबन्धनसँग एक्लै एमाले लड्दा १५ स्थानीय तह मात्र जित्ने केन्द्रीय कमिटीको बैठकमा रिपोर्टिङ गर्नु भएको छ । यो हिसाबमा त एमाले कसरी पहिलो शक्ति बन्छ ?

स्थानीय निर्वाचन भनेको संघ र प्रदेशको भन्दा भिन्न हो । अहिले समाजवादीका अगुवा नेताहरूले गठबन्धनमा जोड किन गरिरहेका छन् ? आफ्नो खुट्टाले हिँड्ने प्रयास गरौँ न । माओवादी, काँग्रेससँग ताकत, दम छैन र हिम्मत छैन । त्यो हिसाबले पहिलो शक्ति हामी हो । एमालेको भीमकाय शक्ति  छ । हिजोको अवस्था आज छैन, आजको अवस्था भोलि रहँदैन । महाधिवेशनसम्म झण्डै ८ लाख पार्टी सदस्यता रहेको एमाले अहिले झण्डै ११ लाख पुगिसक्यो । यसले नै एमाले बलियो रहेको पुष्टि गर्छ । ठ्याक्कै धामी–झाँक्रीजस्तो गफ दिएर ७९ मा ६० जित्छु भन्ने पक्षमा हामी छैनौँ । स्थानीय चुनावमा पहिलो शक्ति बन्छौँ–बन्छौँ ।

तपाईंकै जिल्लावासी प्रकाश ज्वाला अहिले कर्णालीमा एकीकृत समाजवादीको इञ्चार्जको भूमिकामा हुनुहुन्छ । उहाँले तीन मेजर पार्टी मिलेमा एमालेको कर्णालीमा नामोनिशाना रहँदैन भनेर चुनौती दिनु भएको छ । यसलाई कसरी लिनुहुन्छ ?

उहाँलाई मेरो काउण्टर जवाफ छ,भर्खर आमाको कोखबाट जन्मेको बालकले अरुको वैशाखी टेकेर सय मिटर दौडिन्छु भन्नु हाँस्यास्पद हो । उहाँलाई सल्यानमा आएर मसँग लडेर जित्न चुनौती दिन्छु । सल्यानी जनताले उहाँलाई चिनिसकेका छन् । एउटा चिन्हबाट चुनाव जितेर अर्को दलका नेतालाई मुख्यमन्त्री बनाएको जनताले बिर्सिएका छैनन् । संसदीय अभ्यासमै ‘फ्लोर क्रस’ गरेर अपराध गर्ने मान्छेलाई सल्यानी जनताले पत्याउँछन् ? सल्यानमा १० स्थानीय तहमध्ये कुनै पनि स्थानीय तहमा उहाँहरूको जित हुँदैन । त्यो भन्दा तल अहिले नै नगैहालम् ! अर्को कुरा उहाँहरूको गठबन्धन नै सम्भव छैन ।

अर्को कुरा यो सरकारले २४ वटा निर्वाचन क्षेत्रमा एउटा–एउटा बहुवर्षीय बाटो बनाउनु पर्छ भनेर निर्णय गर्‍यो । पूर्व मुख्यमन्त्री शाही र अर्थमन्त्री प्रकाश ज्वाला हुँदा मेरो निर्वाचन क्षेत्रमा उक्त बाटो बहुबर्षीय बनाइदिएनन् । बरु भर्खरै मुख्यमन्त्री जीवनबहादुर शाही र आर्थिक मन्त्री विन्दमान विष्टले स्वीकृत गर्दिनुभयो । मलाई भोट हाल्ने पनि जनता नै हुन् । प्रकाश ज्वालालाई भोट हाल्ने पनि जनता नै थिए । के आधारमा ज्वालाले मेरो क्षेत्रको बहुबर्षीय बाटो रोके ? यो कुरा सल्यानी जनतालाई  बुझाउनु छ ।

उसो भने कर्णालीमा एमालेको प्रतिस्पर्धी को हो ? 

यहाँ माओवादी त हुँदैन, बरु काँग्रेस हुन सक्छ । किन भन्दा माओवादीले धेरै उतार–चढाव लिइसक्यो । कर्णालीमा माओवादी नेतृत्वको सरकारले केही गर्न सकेन । नभएका डिजिटल प्रदेश, अर्गानिक प्रदेशको गफ दियो ।

गफको हिलो त तपाईंहरुलाई पनि केही अंशसम्म छ्यापिएला नि ?

हो, ४० महिनामा सरकारलाई हाम्रो पनि समर्थन थियो । म पनि जनताबाट निर्वाचित जनप्रतिनिधि हुँ । हामी संघीय सरकारले दिएको अनुदानमा हामी बाँच्यौँ । त्यही अनुदानको पनि सदुपयोग गर्न जानेनौँ । तर नेतृत्व हाम्रो हातमा थिएन । कर्णाली सरकारले देखिने खालको काम गरेन । योजनाहरू कार्यान्वयन गर्न सकेन । सुर्खेत–जुम्ला केबुलकार बनाउने कुरा पनि सरकारले गर्‍यो । खै कहाँ छन् ती एजेण्डा ? यो कुरा हामी जनतामा जाँदा उठाउँछौँ । रातोपाटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार