जेठ ५, २०८१ शनिबार May 18, 2024

गृहमन्त्री खाणसँग दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकको शिष्टाचार भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेटघाट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा दुई देशबिचको आपस सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको थियो ।

भेटमा गृहमन्त्री खाणले भौतिक पूर्वाधार क्षेत्रको विकासमा दक्षिण कोरियाले पुर्‍याएको योगदानका लागि धन्यवाद व्यक्त गर्नुभयो । उहाँले उच्च शिक्षा अध्ययन गर्न सानो सङ्ख्यामा भए पनि नेपाली विद्यार्थीहरू कोरिया जाने गरेको र इपीएसको माध्यमबाट रोजगारीका लागि नेपालीहरूलाई कोरिया लगेकोमा दक्षिण कोरिया सरकार, कोरियाली जनता र कोरियाका उद्योगीलाई धन्यवाद दिनुभयो ।

त्यस्तै पछिल्लो समय नेपालको विविधतायुक्त संस्कृति तथा भूगोलको अवलोकन गर्न कोरियन पर्यटक नेपाल आउने गरेको गृहमन्त्री खाणले बताउनुभयो । त्यस्तै भौतिक विकास र प्रविधि क्षेत्रमा कोरियाले गरेको ठूलो विकासको प्रशंसा गर्दै गृहमन्त्री खाणले कोरियन गाडी, मेसिनहरू र मोबाइल लगायतका कोरियन प्रविधियुक्त सामानहरू नेपालले आयात गरेर उपभोग गरिरहेको बताउनुभयो ।

उहाँले नेपालमा कोरियन लगानीमा सञ्चालित विकास योजनाहरू निर्बाध रूपमा अघि बढाउने वातावरण सरकारले निर्माण गरिरहेको बताउनुभयो ।

भेटमा दक्षिण कोरियाका राजदूत चोङ–सुकले कोभिड–१९ का कारण रोकिएको इपीएस अब सुचारु हुने चरणमा रहेको जानकारी गराउनुभयो । त्यस्तै कोभिडकै कारण कोरियन पर्यटक पछिल्ला वर्षमा कम भएको र अब पुरानै अवस्थामा कोरियन पर्यटक नेपाल आउने सम्भावना बढेको राजदूत चोङ–सुकले बताउनुभयो ।

अब वर्षमा करिब ३० हजार कोरियन पर्यटक नेपाल आउने आङ्कलन राजदूतावासले गरेको उहाँको भनाइ थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया