जेठ ६, २०८१ आइतबार May 19, 2024

बीआरआई कार्यान्वयनमा जस्तोसुकै सहयोग गर्न तयार छौं : चिनियाँ राजदूत यान्छी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: चीनले बीआरआई परियोजनामा कार्यान्वयन गर्न जस्तोसुकै सहयोग गर्न तयार रहेको जनाएको छ। बिहीबार चिनियाँ दूतावासले आयोजना गरेको पत्रकार सम्मेलनमा चिनियाँ राजदूत होउ यान्छीले परियोजना कार्यान्वयनमा सबै प्रकारको सहयोग गर्ने धारणा राखेकी हुन् ।

चीनले नेपालले बीआरआई परियोजनामा कार्यान्वयनमा उदासिनता देखाएकोप्रति चिन्ता व्यक्त गर्दै आएको छ । चिनियाँ राजदूत  यान्छीले कोभिडको कारणले पनि परियोजना कार्यान्वयनमा ढिलाई भएको बताइन् । उनले बीआरआई परियोजना नेपाल र चीन दुबै मुलुकलाई फाइदा हुने विश्वास व्यक्त गरिन् ।

 

केहि समय अगाडि नेपाल भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले बीआरआई परियोजना अघि बढाउन भइरहेको बिलम्बबारे चासो राखेका थिए। वाङले बीआरआई परियोजना कार्यान्वयन गर्न चीन आतुर रहेको नेपालका शीर्ष नेतासँगको भेटमा बताएका थिए ।

नेपालले बीआरआईमा सन् २०१४ मा सैद्धान्तिक सहमति जनाएको थियो। सन् २०१६ मार्च २१ मा ट्रान्जिट ट्रान्सपोर्ट सम्झौता भयो। त्यसपछि सन् २०१७ मे १२ मा बीआरआई परियोजनामा हस्ताक्षर भएको हो।  हस्ताक्षर गरेको पाँच वर्ष बितिसक्दा पनि ती परियोजनाबारे उल्लेख्य प्रगति भएको छैन। चीनले परियोजना कार्यान्वयनका लागि नेपाल सरकारसँग आग्रह गर्दै आएको छ।

परियोजना अन्तर्गत केरुङ–काठमाडौं रेलमार्ग, रातमाटे–केरुङ ४०० केभी प्रसारणलाइन, कोसी–गण्डकी–कर्णाली इकोनोमिक करिडोर, मदन भण्डारी प्राविधिक शिक्षालय निर्माणलगायत छन्। यस्तै किमाथांका–हिले सडक, तमोर जलविद्युत् आयोजना, फुकोट जलविद्युत् परियोजना, गल्छी–रसुवागढी सडक स्तरोन्नति र दीपायल–चिनियाँ सीमा सडक छन्।

‘बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) चीन सरकारले प्रस्तुत गरेको अत्यन्त महत्वाकांक्षी विकास रणनीति हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया