बैसाख २२, २०८३ मंगलबार May 5, 2026

कांग्रेस एमालेसँग एक्लै लड्न सक्दैन भने अरु ढोडको सहारा लिएर के गर्छन् उनीहरूले ? – हरिकृष्ण ब्यञ्जनकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

निर्वाचन आउन थोरै दिन बाँकी छ, प्रचारप्रसारमा व्यस्तता कत्तिको छ ?

म सँधै व्यस्त हुने मान्छे हो । अहिले त निर्वाचनको दौरानमा अन्तर्वार्ता दिन, कार्यकर्ता र जनतासँग भेट्नै पर्‍यो । यो अरुभन्दा अलि बढी व्यस्त हुने बेला छ ।

निर्वाचनको प्रचारप्रसारको अवधि छोटो, मतदातासम्म पुग्न समय व्यवस्थापन कसरी गर्नुभएको छ ?

हाम्रा कार्यकर्ता धेरै छन् । उहाँहरू घरघर पुग्नुहुन्छ । हामी त घरघरमा पुग्न सक्दैनौं । कार्यकर्ताहरूले पार्टीको घोषणापत्र, प्रतिबद्धतापत्र, नीति र कार्यक्रम सबै जनताको घरघरमा पुर्‍याउँछन् । त्यसै अनुसार जनताले राय दिन्छन् ।

तपाईं जुनजुन ठाउँमा जानुभएको छ त्यहाँका मतदाताको प्रतिक्रिया के छ ?

जनताहरू मदेखि उत्साहित छन् । यसपालि तपाईं आउनुभयो, पोहोर साल (२०७४ को स्थानीय तह निर्वाचन) हाम्रो पनि गल्ती भयो, तपाईंको पनि सानो गल्तीले हार्नुभयो । तपाईंको हारमा प्राविधिक गल्ती भएको हो । चिरिबाबुको काम देखिसक्यौं अब तपाईंले गर्ने हो भन्ने उनीहरूले भनिरहेका छन् । यसपालि पक्का छ तपाईंको, तपाईंलाई पूर्णरूपमा सहयोग गर्छौं भनिरहेका छन् ।

तपाईं जनतामाझ के एजेन्डा राखेर भोट माग्दै हुनुहुन्छ ?

ललितपुर भनेको सांस्कृतिक महानगर हो । यसलाई अझ समृद्ध सांस्कृतिक महानगर बनाउन चाहन्छौं। जनता समृद्ध हुन चाहन्छन् । फोहोरमैला, खानेपानी, ढलनिकास, प्रविधि, शिक्षा, कलासंस्कृति र पूर्वाधारका क्षेत्रमा समृद्ध ललितपुर बनाउने अभियान अन्तर्गत काम गर्छौं ।

२०७४ सालको निर्वाचनमा आफ्नै गल्तीले हार्‍यौं भन्नुभयो, त्यो गल्ती के थियो ?

गल्ती भनौं कि कमजोरी, हामीले निर्वाचनमा खटिएका कर्मचारीहरूलाई कन्ट्रोल गर्न सकेनौं । उनीहरूको निरीक्षण गर्न सकेनौं । जसरी निर्वाचनमा मतगणना हुनुपर्ने हो त्यो गराउन सकेनौं । त्यसले गर्दाखेरि हार भएको हो । देखिने गरी गल्ती के भएको छ भने एउटा वडामा एक सय १२ भोट कम गरिदिएछ । एउटा वडामा एक सय २८, कुनै वडामा ३३, कुनैमा ४५, कुनैमा ५५ मत कम गरिदिएछ । त्यो भनेको हिसाब बिगारेको हो । त्यसलाई हामीले नियन्त्रण गर्न सकेनौं । जब हामी मुद्दामा गयौं र त्यो प्रमाण ल्यायौं त्यसपछि थाहा पायौं ।

त्यतिबेला जनतालाई आफ्ना एजेन्डामा रिझाउन पनि सक्नुभएको थिएन कि ? जनतालाई रिझाउन नसकेको भए भोट कसरी बढ्यो होला ? जनता खुसी नै छन् तर हाम्रै गल्तीले गर्दा त्यसो भयो । जनताको मत हामीले जोगाउन सकेनौं ।

यो बीचमा महानगरको प्रतिपक्षमा रहेर के-के काम गर्नुभयो ?

मैले विगत पाँच वर्षमा धेरै राम्रो काम गरेको छु । पार्टीका कार्यकर्ता बढाएका छौं । ६ हजार पार्टी सदस्य बढेका छन् । नेकपाको निरन्तरताको रूपमा धेरै माओवादी कार्यकर्ता हाम्रो पार्टीमा आएका छन् । पार्टी प्रवेश पनि त्यत्तिकै बढिरहेको छ । हामीले संगठन चुस्त दुरुस्त बनाएका छौं । महाधिवेशन, जिल्ला अधिवेशनले कार्यकर्तामा ऊर्जा आएको छ ।

जनताले पनि पहिले जसलाई भोट दियो त्यो मान्छे ठिक रहेनछ भन्ने कुरा बुझिसक्यो । त्यो मान्छे ठिक रहेनछ, अब तपाईंलाई भोट दिन्छौं भनिरहेका छन् ।

यो बीचमा तपाईंको पार्टी विभाजन भएको छ र तपाईंविरुद्ध गठबन्धन पनि बनेको छ, यसले कतिको प्रभाव पार्छ ?

तपाईंलाई म २०५४ सालको उदाहरण दिन्छु । त्यतिबेला हाम्रो पार्टी सानो टुक्रा उछिट्टिएको होइन कि फुटेको थियो । सहाना प्रधान, सिपी मैनाली, आरके मैनाली, वामदेव गौतम, सिद्धिलाल सिंह, पद्मरत्न तुलाधर, राजेन्द्र श्रेष्ठहरू सबै गएका थिए । तैपनि हामीले ललितपुरमा तीनवटै सिट जित्यौं । अहिले त सानो टुक्रा गएको छ । तीन जना वडाअध्यक्ष गएका छन्, चारपाँचजना सदस्य गएका छन् । यसले केही असर गर्दैन । जनताले पिपलपाते कार्यकर्ता गएका छन् र राम्रा कार्यकर्ता आएको छन् भन्ने ढंगले हेरिरहेका छन् । गएको ठीकै छ भनिरहेका छन् ।

गठबन्धनको सवालमा कुरा गर्दा यो गठबन्धन हो कि ‘गडबन्धन’ हो! अहिले तपाईंहरूले देखिरहनु भएको छ कि कुनै वडामा तीनवटै पार्टीको उम्मेदवारी परेको छ कुनैमा एकले अर्कालाई बहिष्कार गरिरहेका छन् । उनीहरू कति शक्तिशाली छन् भन्ने कुरा त शेरबहादुर देउवाले भन्नुभएको छ कि ‘हामी एक्लै एमालेसँग लड्न सक्दैनौं’ । कांग्रेस एमालेसँग एक्लै लड्न सक्दैन भने अरु ढोडको सहारा लिएर के गर्छन् उनीहरूले ?

ललितपुर महानगर जहिले पनि काठमाडौंको छायामा पर्‍यो भन्छन् । पार्टीहरूभित्र पनि काठमाडौंको मेयर जित्नका लागि केन्द्रले शक्ति लगाउने तर यहाँ प्रचारप्रसारमा ठूला नेताको कमै उपस्थिति हुन्छ भन्ने सुनिन्छ, तपाईंको अनुभव के छ ?

ललितपुर महानगर पार्टीगत रूपमा छायामा परेको भन्नुहुन्छ भने हामी यसपटक प्रयास गरिरहेका छौं । महानगरको सन्दर्भमा हेर्ने हो भने २०५४ सालमा जित्दाखेरि काठमाडौं र ललितपुर समान हैसियतमा थियौं । २०७४ मा एउटा पार्टीले जितेपछि आफ्नो भूमिका निभाउन सकेनन् र काठमाडौंको छायाको रूपमा रहे ।

चुनाव प्रचारमा पार्टीका ठूला नेता ल्याउने प्रयासमा रहेका छौं । उहाँहरूलाई प्रचारमा ल्याउने कुरामा हाम्रो पनि कमिकमजोरी रहेको छ ।

२०७४ सालमा ललितपुर महानगरका बहुमत वडामा तपाईंको पार्टीले जितेको थियो, काम गरेन भनेर मेयर चिरिबाबुलाई मात्रै दोष दिन मिल्छ ?

बैठकको निर्णयअनुसार काम गर्नुपर्ने । बोर्ड बैठक (महानगर कार्यपालिका) ले एउटा निर्णय गर्ने काम अर्को गर्छ । पहिले चार-पाँच महिना बोर्ड बैठक बोलाइएन । २०७८ को असारपछि बोर्ड बैठक नबोलाइकन सिध्याइयो । त्यस्तो मान्छेको नेतृत्वमा कसरी काम गर्ने ? पटकपटक ज्ञापनपत्र बुझाएको छ । पटकपटक घेराउ गरेको गरियो तर कामै भएन । अरु त के गर्ने ? हामी शान्तिप्रेमी छौं, तोडफोडमा उत्रिने काम हाम्रो होइन ।

ललितपुरमा ट्राफिक जाम हुने समस्या छ, तपाईं निर्वाचित हुनुभयो भने यो समस्या समाधान गर्ने योजना के छन् ?

यो कुनै गार्‍हो कुरा होइन । पार्किङ व्यवस्थापन गर्न सक्यौं भने समस्या समाधान हुन्छ । मुख्य समस्या पार्किङ हो । अरुको जग्गा लिजमा लिएर वा सरकारी जग्गा पार्किङमा प्रयोग गर्‍यौं भने समस्या समाधान हुन्छ ।

२०७४ सालमा फ्लाइओभर, मोनोरेल र मेट्रोरेलका आश्वासन आएका थिए, यसपालि त छैनन् नि ती योजना ?

पैसा खर्च गर्ने काम मात्रै भयो । फ्लाइ ओभरको कुरा गर्नुभयो उहाँ (चिरिबाबु)ले । चार वर्ष कन्सल्टेन्टलाई करोडौं पैसा दिनुभयो । यो जामको समस्या ललितपुरको होइन, काठमाडौंको हो । हामीले फ्लाइओभरबाट ललितपुरमा नै सवारी साधान खसाल्ने हो भने समस्या समाधान हुँदैन भनेको हो । तर उनी आफ्नो अडानमा अडिग रहे पछि फेल भए । फ्लाइओभर त मान्छे हाँस्ने कुरा भएको छ । मोनोरेलको कुरा छ, त्यो पनि हुने कुरा होइन । हामी गर्ने काम भन्‍‍छौं र भनेका कुरा गर्छौं । जस्तो खानेपानी, फोहोरमैलाको समस्या समाधान गर्छौं ।

फोहोर अहिले पनि बाटोमा थुप्रिएको देखिन्छ, यसका दीर्घकालीन समाधानका योजना के छन् ?

अहिले ओखरपौवामा फोहोर फाल्नका लागि ललितपुर महानगरको वर्षमा २० करोडसम्म खर्च भइरहेको छ । हामीले चार करोडको मेसिन ल्यायो भने त्यसमा १० टनसम्म फोहोर व्यवस्थापन गर्ने क्षमता हुन्छ । त्यसबाट ग्यास, विद्युत्, मल पनि निस्किन्छ । हामीले त्यत्ति गर्यौं भने फोहोरबाट मोहोर भइहाल्छ । यो सजिलो उपाय हो । व्यवस्थापन गर्न नसकेर, म्यानेजमेन्टको ध्यान नभएर यस्तो भएको हो ।

ललितपुर महानगरपालिकाले साइकल लेन बनाएको छ, साँघुरा सडकमा पार्किङ भइरहेको छ यो अवस्थाको सडक सुधारका योजना के छन् ?

साइकल लेन बनाएर कार्यालयको पश्चिमपट्टी पार्किङ बनाएर पैसा उठाइरहेको छ महानगरपालिकाले । यो जनता हसाउँने काम होइन ? साइकल लेन बनाउने र त्यसैमा मोटरसाइकल पार्किङ गराएर पैसा उठाउने अपराधपूर्ण काम होइन ? त्यस्तो गरिरहेको छ । जहाँसम्म सडकको कुरा छ भिजन नभएपछि यस्तै हुन्छ । पिचमाथि पिच गरिएको छ, जसले गर्दा अग्लो पिच भएको छ । मान्छे लड्ने खालको छ । पिच बिग्रिएको ठाउँमा मात्रै पिच गर्नुपर्नेमा पिचमाथि पिच गर्दा खर्च धेरै भएको छ । जाम बढेको छ र घरभित्र पानी पस्ने अवस्था छ । हामी आयौं भने त्यसो गर्दैनौं ।

ललितपुरको संस्कृतिका धरोहर ढुंगेधारा र राजकुलो पुनर्जिवित गर्ने तपाईंका योजना के छन् ?

म कुरामात्रै गर्दिन काम गर्छु । ढुंगेधारामा पानी जमिनमुनीबाट आउँछ । जमिनमा पानी आकाशबाट जाने हो । आकाशबाट गएको पानी संचित हुने वातावरण बनाउनुपर्‍यो । विभिन्न चोक छन् त्यसमा ईंटा छाप्दा पानी जाने अवस्था बनाउनुपर्छ । ठूल्ठूला पोखरीमा पानी जम्मा गर्नुपर्छ । जहाँजहाँ घर छन् तिनले पनि जमिनभित्र पानी जाने बनाउनुपर्छ । त्यसले गर्दा एउटा कुरा ढुंगेधारामा पानी आउँछ अर्को कुरा पानीले गर्दा बाटोमा फोहोर बग्दैन ।

पछिल्लो समय सबैतिर डिजिटल महानगरका कुरा आइरहेका छन्, ललितपुर महानगरपालिकाबाट डिजिटल माध्यमबाट सुविधा दिने योजना के छन् ?

अहिले मैले भौतिक पूर्वाधारको काम सकिएको वडाहरूलाई जनताको जीवनस्तर सुधार्ने काम गर्न भनेको छु । अनलाइनबाट सिफारिस लिने, पास गर्ने गर्नुस् भनेको छु । सीसीटीभी क्यामेरा राखेर ढल फुटेको तुरुन्तै देखिने खालको, ढल फुटेको, बाटो भत्किएको देखिने बनाएर क्यामेरा राख्न भनेको छु । अर्को कुरा भनेको डिजिटल माध्यमबाट सबै ठाउँमा काम गर्नुस भनेको छु ।

काम गर्दा विज्ञहरूको सेवा लिनेबारे तपाईंको बुझाइ के छ ?

हामी राजनीतिज्ञ भनेका कुनै विज्ञ होइनौं । हामी इन्जिनियर, डाक्टर केही होइनौं । हामीले व्यवस्थापन गर्ने मात्रै हो । इन्जिनियर ल्याएर नक्सा डिजाइन गर्ने, डक्टर ल्याएर औषधिउपचार, आइटी विज्ञ ल्याएर प्रविधिक क्षेत्रमा उहाँहरूकै सल्लाहमा काम गर्छौं । विज्ञहरूको टिम ल्याएर सल्लाहमा नै गर्छौं ।

निर्वाचनको सम्मुखमा हुनुहुन्छ तपाईंले भनेका बाचा पूरा गर्नुहोला भन्ने आधार के हुन् ?

ललितपुरका जनता इमानदार छन् । ललितपुरलाई राम्रो बनाउन चाहन्छन्, बिग्रेको हेर्न चाहँदैनन् । त्यसो हुनाले हामीले जे योजना ल्याएका छौं ती गर्न सकिन्छन् । गर्न नसकिने योजना भनेका छैनौं । हुनै नसक्ने ठूल्ठूलो फ्लाइ ओभर मोनोरेल, ट्रेनको कुरा भनेका छैनौं । पानी दिन्छौं, बाटो राम्रो बनाउँछौं, फोहोरमैला व्यवस्थापन गर्छौं, पर्यटन बढावा दिन्छौं, सांस्कृतिक सम्पदाका कुरा भनेका छौं । त्यो गर्न नसकिने कुरा होइन । मैले गर्न नसकिने काम भन्दा पनि भन्दैन नभनेका काम गर्दा पनि गर्दैन ।

तपाईंका प्रतिस्पर्धी र तपाईंको पार्टीबाट अलग्गिएका माओवादी-समाजवादीका नेताहरूसँग कस्तो सम्बन्ध छ ?

व्यक्तिगत सम्बन्ध राम्रो छ । चिरिबाबुसँग राम्रो सम्बन्ध छ । भेट भयो भने हात मिलाउँछौं, फोटो खिचाउँछौं । मान्छेहरूले उत्साहित भएर हामी दुईजनाकहाँ फोटो खिच्न आउँछन् । हरिकृष्ण थापा (एकीकृत समाजवादी नेता) हुनुहुन्छ एमाले हुँदा मेरो सचिव हुनुहुन्थ्यो । राम्रै कुरा गर्नुहुन्छ । सद्भाव राख्नुहुन्छ । तपाईंलाई जिताउनुपर्ने हो भन्नुहुन्छ । माओवादी नेताहरूसँग पनि सँगै बसेर काम गरेको हो । २०६४-६५ सालदेखि नै मलाई श्रद्धा र आदरभावले नै हेर्छन् ।

एउटै पार्टीमा हुँदा पनि कुनै विवाद भएन । म अध्यक्ष भए नेकपाको राजुकाजी सचिव हुनुभयो । कुनै विवाद भएन । त्यसपछि हरि दाहाल आउँदा पनि विवाद भएन । माथि विवाद हुँदा पनि हामी तल फुट्दैनौं है भनेको हो । अहिले पनि कुरा मिल्छ ।

तर उहाँहरू नै तपाईंलाई हराउनुपर्छ भनेर गठबन्धनमा हुनुहुन्छ ?

राजनीतिमा माथिको लाइन भएपछि त्यस्तो गर्नुपर्ने अवस्था हुनसक्छ । माथिको लाइनले जे भन्यो त्यो गर्ने कुरा हो तर उहाँहरूको अलि कमजोर हुँदै जानुभएको छ हामी बलियो बन्दै गएका छौं । उहाँहरूले सक्नुहुन्न । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार