असार २४, २०८२ मंगलबार July 8, 2025

स्थानीय सरकारका पाँच वर्ष – झलक सुवेदी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अबका केही दिनमा स्थानीय तहको निर्वाचन सम्पन्न भएर नयाँ नेतृत्वहरू आउनेछन् । यस पटक संघीय प्रणाली अनुरूप अधिकारसम्पन्न स्थानीय सरकारका लागि दोस्रो पटक निर्वाचन हुँदै छ । पञ्चायतकालपछि स्थानीय निकायका रूपमा भएका दुईवटा निर्वाचनले नेपालको लोकतन्त्रलाई जरासम्म पुर्‍याउन महत्त्वपूर्ण औजारको काम गरेका थिए । पछिल्लो पटक नयाँ संविधान अनुरूप व्यवस्था गरिएको स्थानीय सरकारका लागि २०७४ मा निर्वाचन भएको थियो ।

अब हुन लागेको निर्वाचनले नेपालमा संघीयताले परिकल्पना गरेको स्रोत र अधिकारसहितका स्थानीय सरकारको अभ्यासलाई थप मजबुत बनाउनेछ । यस सन्दर्भमा बितेका पाँच वर्षका स्थानीय सरकारका अनुभवहरूको लेखाजोखा गर्नु सान्दर्भिक हुनेछ । यहाँ कास्की र स्याङ्जाका केही स्थानीय तहको अध्ययनपछि देखिएको पाँचवर्षे अभ्यासलाई आधार मानेर छलफलको प्रयास गरिनेछ ।

केही महिनापहिले चिया कुराकानीका बीच मित्र तुलानारायण साहले स्थानीय तहमा पछिल्ला पाँच वर्षमा देखिएका प्रवृत्तिको अध्ययनका केही पक्ष सुनाएका थिए । उनको अनुभव केही सीधै फिल्डमा देखिएका कुरा र केही स्थानीय तहमा काम गर्ने अधिकृत तहका कर्मचारीहरूका सूचनामा आधारित थिए । सुदूरपश्चिमका उच्च पहाडमा र मधेश प्रदेशमा कसरी स्थानीय तहमा गएको स्रोतको दुरुपयोग गरिएको छ भन्ने पनि उनको विश्लेषणको पाटो थियो । सुदूरपश्चिमका पहाडमा सबै राजनीतिक दलका नेताहरू मिलेर स्रोत दुरुपयोग गर्दा रहेछन् र मधेशमा जो अध्यक्ष या जनप्रतिनिधि छ उसले हैसियत अनुसार दुरुपयोग गर्दो रहेछ भन्ने उनको अनुभव थियो । तर मेरो अनुभव भिन्न थियो । कास्कीका पालिकाहरूमा त्यस प्रकारको स्रोत दुरुपयोग हैन बरु अधिकतम परिचालन गर्ने, पालिकामा आएको मात्र हैन संघ र प्रदेश सरकारबाट थप बजेट मागेर भए पनि आफ्नो पालिकामा धेरै काम गर्न प्रतिस्पर्धा गरिरहेको देखेको थिएँ ।

यसै क्रममा गएको असोजदेखि मैले मादी गाउँपालिका, पोखरा महानगरपालिका, रूपा गाउँपालिकाका कामहरूको सामान्य सूचना लिएको थिएँ । पछि मादी गाउँपालिका र पोखरा महानगरको पाँचवर्षे कार्यकालका मुख्य कामहरूको अभिलेख तयार पार्ने काममा सहयोग पनि गर्न पाएँ । त्यस क्रममा महानगरका कम से कम २३ वडाका अध्यक्षहरू, प्रमुख र उपप्रमुख, मुख्य प्रशासकीय अधिकृतसहित केही शाखा–महाशाखाका प्रमुखहरू, केही महिला र दलित महिला प्रतिनिधिहरूसँग संवाद गरें । केही वडा घुमें । मादीका सबै वडा घुमें र वडा अध्यक्षहरू, सदस्यहरू र पालिकाका अध्यक्ष–उपाध्यक्षसहित प्रशासकीय अधिकृतसँग संवाद गरें । उनीहरूका काम हेरिरहेका विभिन्न पंक्तिका व्यक्तित्वहरूसँग छलफल गरें । यसै गरी एउटा संयोगले रूपा गाउँपालिकाका अध्यक्षसँग गत मंसिरमा उनको पालिकाका केही वडा घुम्ने अवसर पाएको थिएँ । दुई साताअघि स्याङ्जाको आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधीर पौडेलसँग एक दिन उनकै पालिकामा बिताउने अवसर मिल्यो । फर्कने क्रममा फेदीखोलाका अध्यक्ष घनश्याम सुवेदीसँग पनि मेरो केही बेर कुराकानी भयो । संयोगले यी सबै पालिकाका प्रमुख र उपप्रमुख एमालेका हुन् भने केही वडाध्यक्ष नेपाली कांग्रेस र माओवादीका । यी कुराकानीका आधारमा मैले स्थानीय सरकारका पाँच वर्षका केही अनुभवका सार खिच्ने प्रयास यहाँ गरेको हुँ ।

स्थानीय तहको सरकार नेपालका लागि पहिलो अभ्यास हो । देश संघीयतामा गएसँगै राजनीतिक नेतृत्वले उच्च माविसम्मको शिक्षा, प्राथमिक स्वास्थ्य, सरसफाइ, स्थानीय पूर्वाधारजस्ता क्षेत्रमा पालिकालाई तोकेरै अधिकार दिने गरी संविधान बनायो । यसका अन्य ऐतिहासिक र अर्थराजनीतिक कारण पनि छन् जसको यहाँ चर्चा गरिरहनुपरेन । स्थानीय तह बनेपछि पाँच वर्षका बीचमा केही समस्याले घेरेको पाइयो । पहिलो, स्थानीय सरकार सञ्चालनका लागि आवश्यक पर्ने ऐन–कानुनहरूको तर्जुमा हुन समय लाग्यो । दोस्रो, पालिका र वडास्तरबाट प्रवाहित हुने सेवालाई प्रभावकारी बनाउन आवश्यक पर्ने कर्मचारीको व्यवस्थापन चार वर्षसम्म पनि सहज भएन । तेस्रो, वडा र पालिकाहरूसमेत पुनःसंरचनाका क्रममा विस्तार भएकाले आवश्यक कार्यालय भवन र अन्य भौतिक संरचनाहरू, लजिस्टिक्सको राम्रो व्यवस्था गर्न समय लाग्यो । चौथो, शिक्षा, वन, कृषि र मालपोत लगायतका संरचनाहरूलाई कतै न कतै जिल्लामा राख्ने र स्थानीय तहसम्म संस्थागत विस्तार गर्न रोकावट गर्ने प्रयास राजनीतिक र प्रशासनिक नेतृत्वले गरिरह्यो । र, पछिल्ला दुई वर्ष कोरोना महामारीका कारण पूर्वाधार विकास र बजेटको पूर्ण प्रयोग गर्ने काममा बाधा पुग्यो ।

यसका बावजुद यी पालिकाहरूमा भएका कामहरू उत्साहजनक छन् । पालिकाहरूले गरेको मुख्य काम आफ्नो क्षेत्रभित्रका प्रत्येक बस्तीमा सम्पर्क सडकहरूको विस्तार हो । यसका लागि प्रदेश र संघीय सरकारको सहयोग अवश्य छ तर पालिकाले योजनाबद्ध रूपमा काम गरेकैले यस्ता सम्पर्क सडकहरूको सञ्जाल बन्न सकेको हो ।

दोस्रो काम विद्यालयमा भौतिक सुविधाको विस्तारमा देखियो । सबैजसो विद्यालयमा भवनहरू नयाँ बनाइएका छन् । पुस्तकालय, आईसीटी ल्याब र शौचालय पुगेका छन् । म सिक्लेसको अन्नपूर्ण मावि पुग्दा प्रधानाध्यापकको अफिसबाट तल झर्ने समयमा छात्राहरूका लागि स्यानिटरी प्याडसहितको एउटा बक्स झुन्ड्याइएको देखें । पूरै त होइन तर धेरैजसो विद्यालयमा शैक्षिक गुणस्तर बढेको छ । धेरैजसो विद्यालयमा विद्यार्थी संख्या बढेको छ । प्राविधिक शिक्षा विस्तार भएको छ र विद्यार्थीहरूले घरमै बसेर सस्तोमा प्राविधिक शिक्षा हासिल गर्ने अवसर पाएका छन् ।

अर्को काम खानेपानीको क्षेत्रमा भएको छ । ‘एक घर एक धारा’ को कार्यक्रम लागू गर्न सबै जनप्रतिनिधि खटेर लागेका पाइए । स्रोतको निकै अभाव भएका कास्कीकोट, सराङकोट, काहुँ र बेगनासमा लिफ्टिङ प्रविधिको प्रयोग गरेर भए पनि घरघरमा धारा पुर्‍याइएका छन् । ‘एक घर एक धारा’ सबै पालिकाको प्राथमिकतामा रहेको पाइयो ।

कृषि तथा पशुपालनका क्षेत्रमा किसानहरूसम्म पहिलेभन्दा बढी सरकारको अनुदान पुगेको छ । यस मामिलामा आँधीखोला गाउँपालिका र फेदीखोला गाउँपालिकाका अनुभव अब्बल देखिए । आँधीखोलाको पञ्चमूलमा मकै बीउ उत्पादन पकेट क्षेत्र बनाएर कृषकहरूलाई आयस्ता बढाउन गरिएको सहयोग र सिरुबारीमा पहिले बाँझो रहेको खेतबारीमा किसान समूहहरूलाई अनुदान दिएर गर्न लगाइएको आलु खेती प्रभावकारी देखियो । उत्पादित आलु किसानले चाहेमा पालिकाले नै खरिद गरिदिने व्यवस्था छ, चिस्यान केन्द्र पनि सञ्चालनको तरखरमा छ । फेदीखोलाले किसानहरूलाई उनीहरूको उपजमा न्यूनतम समर्थन मूल्य तोकेको र बजारमा त्यति मूल्य नपाइए पालिकाले थपिदिने व्यवस्था गरेको पाइयो । उत्पादनमा आधारित यो योजनाबाट अरूले पनि सिक्न सक्छन् । यसै गरी, कृषिउपज किसानकै घरदैलो या बारीबाट उठाएर संकलन केन्द्रमा ल्याउने काम पनि गाउँपालिकाले दिएको सवारी साधनबाट किसान समूहकै व्यवस्थापनमा हुने गरेको छ ।

फेदीखोलाले युवालक्षित उद्यमशीलता अनुदान कार्यक्रम सञ्चालन गरेर स्वरोजगारी सृजना गर्ने प्रयास गरेको छ । घरघरमा पुगी ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणको व्यवस्था गरेर जनताको घरदैलोमा सरकार पुगेको अनुभूति दिएको छ । पालिकाले ज्यालादारी मजदुर भलाइ कोषको स्थापना गरेर ज्यालाको निश्चित रकम बैंकमा जम्मा गर्ने र त्यति नै कोषबाट उसको खातामा थपिदिने व्यवस्था गरेको छ । यो स्थानीय सरकारले श्रमिकका पक्षमा गरेको पहिलो र नयाँ प्रयोग हो । स्थानीय सरकारका तर्फबाट कोरोनाका समयमा भएका कामहरूले पनि सरकार जनताको पीरमर्कामा साथ दिन तयार छ भन्ने सन्देश प्रवाहित गरेका छन् ।

स्थानीय सरकारको अर्को महत्त्वपूर्ण काम महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलितजस्ता लक्षित वर्गसम्म पुग्न गरेका प्रयास पनि हुन् । यसले समावेशी विकासको अवधारणा स्थानीय तहसम्म विस्तार गरेको छनक दिन्छ । सबै पालिका अर्कोलाई उछिनेर दौडन प्रयास गरिरहेका देखिए । पोखरा महानगरको सहरी क्षेत्रभित्र भएका परिवर्तनलाई मानिसहरूले छिटो अनुभूति गर्दैनन् । पोखराबाट थोरै बाहिर जानेबित्तिकै महानगरले गरेका पूर्वाधारको विकास आशालाग्दो देखिन्छ । त्यसकै प्रतिफलस्वरूप अहिले पोखराको पर्यटन व्यवसाय वरपरका डाँडापाखातिर विस्तार भएको छ । यो पनि समावेशी विकासका लागि महत्त्वपूर्ण पक्ष हो । मादी गाउँपालिकाले पर्यटन क्षेत्रमा गरेको विकासले फड्को मारेको छ । स्थानीय सरकार बनेपछि सिक्लेस र ताङतिङको अनुहार नै बदलिएको छ ।

पाँच वर्षको स्थानीय सरकारको अभ्यास उत्साहजनक छ । तर अहिले वर्तमान राजनीतिक नेतृत्व स्थानीय तहतिर शक्ति हस्तान्तरण गर्न अटेर गरिरहेको देखिन्छ । योचाहिँ संघीयताको मर्म र लोकतन्त्रको विकासमा जनताको प्रत्यक्ष सहभागिताका दृष्टिले उज्यालो संकेत होइन ।

स्वास्थ्य चौकीहरूको फैलावट, सडक सञ्जालको विस्तार, विद्यालयमा आएको सुधार, कृषिमा आउँदै गरेको व्यवसायीकरण, पर्यटनको विस्तारसमेतले बसाइँसराइको दर पनि घटिरहेको या रोकिएको छ । सिक्लेस र ताङतिङमा कतिपयले गाउँ फर्केर व्यवसायमा लगानी गरिरहेका छन् ।

गाउँमा आएको अर्को परिवर्तन सेवा प्रवाहमा आएको चुस्तता पनि हो । ठेक्कापट्टामा हुने चुहावट धेरै हदसम्म रोकिएको छ । विद्युतीय शासनको अभ्यास बढ्दै गएको छ । सेवाग्राहीलाई नअल्झाईकनै काम गर्ने प्रवृत्ति पनि बढेको देखियो । यी कामका माध्यमले स्थानीय तहले आर्जन गरेको विश्वासका कारण हुनुपर्छ, दलहरूभित्र उम्मेदवारीका लागि हानथाप बढेको देखिन्छ ।

मैले अध्ययन गरेका सबै पालिकाका प्रमुखहरू आआफ्ना ठाउँमा लोकप्रिय पनि देखिए । दुई जना प्रमुखहरू दोहोरिएर उम्मेदवार बनेका छन् । आँधीखोलाका सुधीर पौडेल र मादीका वेदबहादुर गुरुङले स्वेच्छाले उम्मेदवारी दिएनन् भने पोखरा महानगरका मेयर मानबहादुर जीसी स्वास्थ्यका कारण असमर्थ भए ।

पहिलो स्थानीय सरकारको पाँच वर्षमा स्थानीय तहलाई जनतासँग जोड्ने प्रयास भएको छ । संघीय या प्रदेश सरकारसँग हैन, सीधा स्थानीय तहसँगै जनताका आवश्यकता र समस्याहरूको समाधान खोज्ने पद्धति बसेको छ । आरम्भमा पालिकाको नेतृत्व स्वीकार गर्न नसकेका निजामती कर्मचारी र शिक्षकहरू अब स्थानीय पालिकाप्रति उत्तरदायी हुने अभ्यास आरम्भ भएको छ ।

खट्केको कुरा भने विकास सम्बन्धी परम्परागत बुझाइको प्राधान्य देखिनु हो । राजनीतिक परिचालनको अभाव हो । उही स्रोत र साधनको उच्चतम प्रयोग गर्न र स्थानीय सरकारको काम, योजना, कार्यक्रममा जनताको सहभागिता राजनीतिक परिचालनसँग सम्बन्धित हुन्छ । यदि प्रभावकारी राजनीतिक परिचालन गर्न सकेको भए अहिलेकै स्रोतबाट थप काम गर्न सम्भव थियो । स्रोतको परिचालन र आर्थिक विकास तथा गरिबीलक्षित कार्यक्रमका बारेमा सम्बद्ध राजनीतिक दलले जनप्रतिनिधिलाई अभिमुखीकरण कहिल्यै गरेको देखिएन । जसले जे जान्यो त्यही गरेकाले एकरूपता पनि देखिँदैन । अर्को कुरा, स्थानीय तहलाई दिइएको अधिकार र जिम्मेवारीअनुकूलको जनशक्ति अझै व्यवस्था भएको छैन । आवश्यक दक्षता र योग्यतासहितको जनशक्ति र पालिकाका कामको बोझका बीच निकै ठूलो खाडल छ ।

समग्रमा, पाँच वर्षको स्थानीय सरकारको अभ्यास उत्साहजनक छ । यसले लोकतन्त्र र संघीयता दुवैलाई संस्थागत गर्न र सामाजिकीकरण गर्न उल्लेख्य सफलता हासिल गरेको छ । संविधानको भावना अनुरूप जति बढी बलियो र प्रभावशाली बनायो, स्थानीय तहले त्यति बढी समावेशी विकासको चरित्र लिन सक्छ । अहिले स्थानीय राजनीतिमा केन्द्रको हस्तक्षेपको अवस्था हेर्दा वर्तमान राजनीतिक नेतृत्व स्थानीय तहतिर शक्ति हस्तान्तरण गर्न अटेर गरिरहेको देखिन्छ । योचाहिँ संघीयताको मर्म र लोकतन्त्रको विकासमा जनताको प्रत्यक्ष सहभागिताका दृष्टिले उज्यालो संकेत होइन । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार