काठमाडौंः कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकामा हुनसक्ने विकृति विसङ्गति पहिचान गरी नियन्त्रणका उपाय सुझाउन गठित समितिले पेश गरेको प्रतिवेदनले औँल्याएका सुझाव कार्यान्वयन गर्ने बताउनुभएको छ ।
कानुन दिवस २०७९को अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उहाँले न्यायपालिका प्रतिको जनताको आस्था र विश्वास अभिवृद्धि गर्नको लागि छिटो छरितो, विश्वसनीय एवं गुणस्तरीय न्याय सम्पादन गर्ने कार्यमा सबैले आ–आफ्नो क्षेत्रबाट थप क्रियाशीलता देखाउन आवश्यक छ भन्नुभयो ।
उहाँले कानुन दिवसले मुलुकमा कानुनको शासनप्रतिको प्रतिबद्धता एवम् पालनामा सम्बन्धित सबैलाई थप हौसला एवं प्रेरणा प्रदान हुन सकोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ ।
न्यायिक मूल्य मान्यतामा भएको क्षयीकरणलाई निस्तेज गर्दै स्वतन्त्र न्यायपालिकासम्बन्धी मान्यता, संवैधानिक सर्वोच्चता, नागरिकको हकअधिकारको संरक्षणलगायत विधिको शासनको पालनामा न्यायपालिका प्रतिबद्ध भएर अगाडि बढिरहेको कामु प्रधानन्यायाधीश कार्कीद्वारा जारी सन्देशमा उल्लेख छ ।
“न्याय गरेर मात्र हुँदैन गरेकोजस्तो पनि देखिनुपर्दछ भन्ने मान्यतालाई आत्मसात गर्दै न्यायिक काम कारबाही एवं प्रक्रियामा कुनै पनि कोणबाट शङ्का एवं अविश्वास पैदा हुन नसकोस् भन्ने उद्देश्य रहेको छ”, सन्देशमा भनिएको छ, “सोही उद्देश्यका साथ स्वचालित ऐसी व्यवस्थापन पद्धति लागू गर्ने सम्बन्धमा प्राप्त अध्ययन प्रतिवेदनले सुझाएअनुसार स्वचालित पेसी व्यवस्थापन पद्धति लागू गर्नका लागि आवश्यक पर्ने सफ्टवेयर निर्माण लगायत प्राविधिक पक्षको तयारी र सोका लागि आवश्यक पर्ने बजेट निकासाका लागि प्रक्रिया अगाडि बढाइएको छ ।”
सन्देशमा स्वचालित पेसी व्यवस्थापन पद्धति लागू नहुँदासम्मका लागि अल्पकालीन उपायको रुपमा गोला प्रथाद्वारा पेसी व्यवस्थापन गरी व्यापक प्रकृयामा पारदर्शीता एवं स्वच्छताको पूर्ण प्रत्याभूत गरिएको , विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण सेवा परेको सङ्कुचनले शीघ्र न्याय सम्पादनको कार्यमा अवरोध सिर्जना भई पुराना मुद्दाहरुको चाप बढेको र पुराना मुद्दाको लागि हरसम्भव छिटो गर्ने काम भइरहेको उल्लेख छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया