असार २४, २०८२ मंगलबार July 8, 2025

नेपाली राजनीति, अभिनेता र कलाकार – बद्रीनरसिंह केसी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विश्वमा जहाँ पनि अभिनेताहरू नेता हुन लालायित देखिन्छन्। व्यंग्यपूर्वक भन्ने गरिन्छ, नेताहरू जे पनि बोल्छन्, बोलीको टुङ्गो हुँदैन, अभिनेताहरू पनि निराधार र नाटकी बोलीमा जीवन भिजाइरहेका हुन्छन्। फरक पनि छ, नेता कम सिंगारिन्छ, अभिनेता बढी सिंगारपटारमा हुन्छ। नेपाली कलाकारहरू पनि राजनीतिमा सरिक भइरहेका छन्। तर कति सफल छन्, यसै भन्न सकिन्न। राजनीति र कलाकारिता दुवै फराकिला मञ्च हुन्।

लोकप्रिय अभिनेता, नेपाल टेलिभिजनका संस्थापक एवं टिभी प्रस्तोता नीर शाह नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। उनलाई राष्ट्रियसभा सदस्य बनाउने तारतम्य काँग्रेसले गर्दै रहेको बुझिन्छ। गायिका तथा उद्घोषिका कोमल वली नेकपा (एमाले) बाट सांसद बनेकी छन्। सिने अभिनेत्री रेखा थापा माओवादी पार्टी छोडेर राप्रपामा पुगिन्। राजेश हमाल लगायतका अन्य कलाकार पनि राजनीतिमा आउने रहर गरिरहेका बुझ्न सकिन्छ। स्ट्रक्चरल इन्जिनियरको परिचय भएका र्‍यापर बालेन शाह युवा पुस्तामाझ सुपरिचित भए पनि कुनै पार्टी वा शक्तिसँग आबद्ध नभई काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेद्वार भएका छन्।

तर अभिनेता भुवन केसी एमालेमा प्रवेश गरेर धोका खाएपछि राजनीतिबाट वितृष्णा लिएर सिनेमा निर्माणतिरै फर्किए। भारतीय सिनेमाकी नेपाली अभिनेत्री मनिषा कोइराला राजनीतिमा आकर्षित नभएकी त होइनन् तर उनी सक्रिय भने भइनन्। संगीतकार अम्बर गुरुङ, गायक नारायण गोपाल, गायिका अरूणा लामा, वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य जस्ता कलाकारहरूले सक्रिय राजनीतिमा सरिक हुने विचार कहिल्यै देखाएनन् तर देशको बारेमा यिनीहरूले बोल्दा वा विसंगतिलाई कटाक्ष गर्दा सिङ्गो नेपाली समाजले सदैव समर्थनको ताली बजाइरह्यो। कलाकारले राष्ट्रको गहना हुने हो भने यस्तै उदाहरण बनाउनुपर्छ।

ख्याति कमाएका सिने कलाकार वा खेलाडीहरू राजनीतिमा आउन सक्छन्। हलिउडका सिने अभिनेता रोनाल्ड रेगन अमेरिकाका सफल राष्ट्रपति बने। उनैका कार्यकालमा सोभियत संघ ढल्यो, बर्लिनको पर्खाल भत्कियो।

आज युद्धको विभीषिका भोगिरहेको युरोपेली मुलुक युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सन् २०१९ भन्दाअघि त्यहाँका हाँस्य अभिनेता थिए। ७३ प्रतिशत बढी मत पाएर आज राष्ट्राध्यक्ष छन्। ग्वाटेमालाका हाँस्य अभिनेता जिम्मी मोरालेज राष्ट्रपतिमा निर्वाचित भए। पाकिस्तानमा कुनै बेलाका क्रिकेट कप्तान तथा सन् १९९२ मा पाकिस्तानलाई क्रिकेट वर्ल्ड कपको च्याम्पियनसिप दिलाएका निवर्तमान प्रधानमन्त्री इमरान खाँ आफ्नै पार्टीको शीर्ष नेता भएर बसेका छन्। कला वा खेल जगतबाट राजनीतिमा प्रवेश गर्दा यी सेलिब्रेटीहरूले आ–आफ्ना मुलुकमा व्याप्त भयाबह भ्रष्टाचारलाई निर्ममतापूर्वक रोक्ने वाचाका साथ आएका हुन्।

भारतमा समाजले राम्ररी चिनेका र लोकले पत्याएका सेलिब्रेटीहरू राजनीतिमा आकर्षित भए। शिखरका भारतीय अभिनेता अमिताभ बच्चन एकताक राजनीतिमा लागेर निर्वाचित सांसद पनि भए। तर भइरहेको आफ्नो प्रतिष्ठा बढ्ने वा बच्नेभन्दा राजनीतिमा झन् ध्वस्त हुने जोखिम देखेर फेरि कलाक्षेत्रमै फर्किए।

८० वर्षको उमेर हुन लागेको अवस्थामा पनि उनी ऊर्जाशील र प्रेरणादायी छन्। अग्रज पुस्ताका भारतीय अभिनेताहरू सुनिल दत्त, हेमा मालिनी, शत्रुुघ्न सिन्हा, रेखा, विनोद खन्ना, जया बच्चन, स्मृति इरानी, किरण खेर आदि कलाकार भारतीय संसद्मा पुगेका छन्। तर सबै कलाकारलाई राजनीति फलिफाप भएको देखिन्न। लोकप्रिय कलाकारले निर्वाचनमा सर्मनाक पराजय भोग्नुपरेका उदाहरण पनि प्रशस्तै छन्।

माओवादीले देशव्यापी हिंसात्मक गतिविधि चर्काएको पृष्ठभूमिमा शान्ति प्रक्रियामा आएपछि पनि केही अवधिसम्म वाइसिएलका रूपमा आतंकित बनाउने गरेको अवस्थामा कतिपय कलाकारहरू माओवादीमा प्रवेश गरे। कारण थाहा भयो, सिनेमाको सुटिङ स्पटमा वाइसिएलको सांघातिक आक्रमण र लुटको खतराबाट बच्ने उपाय। तर यसरी माओवादीमा प्रवेश गरेकाहरूमा सो पार्टीप्रति क्रमशः मोहभङ्ग हुन बेर लागेन। माओवादीको सन्त्रासले कुनैबेला कला क्षेत्र यसरी आक्रान्त पनि बनाएको थियो।

नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा हाँस्य अभिनेता तथा टिभी प्रस्तोता शिवशंकर रिजाल ‘जोगिन्दर’, कलाकार शिवहरि वैरागी तथा तीर्थ थापा, सिने निर्माता रोज राणा (सरोज थापा), निर्देशक सम्झना रौनियार आदि धेरै कलाकार विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधि बने।

सिद्धान्त र स्थिरताको प्रश्न

नेपालमा सेलिब्रेटी शब्दको प्रयोग प्रायः कलाकारिता क्षेत्रमा क्रियाशील व्यक्तिहरूका लागि मात्र हुने गरेको छ। सेलिब्रिटी वा कलाकारहरूले कुनै पनि राजनीतिक ‘वाद’ वा विचारसँग नजिक नभइकन राष्ट्र र समाजको साझा भएको विश्वास दिलाउनुपर्छ। राजनीतिक वाद वा तन्त्रसँग मुछिएको कलाकारले कलामार्फत सबैको साझा भएर मन जित्न असम्भव छ। कलाकारको धर्म यही हो। तर यो मान्यता र मर्यादालाई मिचेर कलाबापत समाजले दिएको आकर्षण, श्रद्धा र सम्मानलाई राजनीतिक महत्वाकांक्षा र अवसरवादसँग साटेका अनेकौँ उदाहरण संसारभरि छन्।

६० देशका राष्ट्र गान गाउन सक्ने र विश्वयात्रामा हिँडेका, बाग्लुङका गायक रामजी नेपाली जस्ता प्रतिभाशाली कलाकार हाम्रा गाउँघरमा धेरै पाइन्छन्। तर राजनीतिमा सक्रिय भएका कलाकारहरूमा प्रायः कमी देखिएको पक्ष चेतना, विचारधारा र सिद्धान्त हो। यसले गर्दा सुदृढ विचारधारा, मार्गदर्शन र सैद्धान्तिक स्थिरता बन्न सक्दैन र राजनीतिमा आए पनि उनीहरूले ठोस काम र योगदान पुर्‍याउन प्रायः असम्भव हुने गर्छ। कलाकारहरूमा सैद्धान्तिक स्थिरताको अभावले गर्दा दलबदलु चरित्र हुन्छ भने राजनीतिक दलहरूले उनीहरूलाई केवल भोट बढाउने आकर्षणका रूपमा प्रयोग गर्ने गरेका देखिन्छ।

कला क्षेत्रबाट राजनीतिमा आएपछि उसको चिनारी राजनीतिक व्यक्तिका रूपमा र कलाकारिता पृष्ठभूमिको चिनारीका रूपमा रहन्छ। राजनीति र कला एकैसाथ अभ्यास गर्न थाल्दा, दोहोरो पहिचान विरोधाभाष र असंगतिपूर्ण हुन पुग्छ। कला निष्पक्ष साधनाको विषय हो जबकि पार्टी राजनीति पक्षधर कुरा हो। एकैचोटि दुवैतिर हात हाल्न थाल्यो भने कलाकार न राजनीतिकर्मी हुन्छ न त सच्चा कलाकार नै।

कलाकार वा सेलिब्रेटीहरू राजनीतिमा आउनुको कुनै लक्ष्य वा कारण देखिएन भने राम्रो मौकाको खोजीमा अवसरवादी र स्वार्थी उद्देश्यले आएको सन्देश समाजमा जान्छ। संसारमा जति पनि कलाकार राजनीतिमा प्रवेश गरेर स्थापित भए, उनीहरूले ठूलठूला दार्शनिक कुरा वा आडम्बरी नारा दिएर होइन, जनताको साझा पीडा र समस्यालाई सम्बोधन गरेर नै सफल भएका पाइन्छ।

राजनीतिमा लागेपछि कुनै नै कुनै राष्ट्रिय समस्या निराकरणका लागि अभियान सञ्चालन गर्ने हो भने कलाकारको राजनीति सार्थक हुन्छ र सार्थकताले नै सफलता दिलाउँछ। बेलायतमा अंग्रेजी फिल्मकी प्रसिद्ध अभिनेत्री जुआना लुम्लेले ब्रिटिस गोर्खा सैनिकहरूले बेलायत सरकारबाट भोग्नुपरेको असमान र अन्यायपूर्ण व्यवहारको जोडदार विरोध अभियान चलाउँदै आएकी छन्। यसकारण बेलायती समाजले ब्रिटिस गोर्खा सैनिकहरूको मुद्दामा सहानुभूति राख्ने गरेका छन्।

आज नेपाल भ्रष्टाचार, कुशासन, अराजकता, दण्डहीनता, अपराधको दबदबाले आतंकित छ। राजनीतिक पार्टीहरूबाट यस्ता मुद्दामा निराकरणको प्रभावकारी कदम चलाउने अपेक्षा अब रहेन। चितवनमा आफ्नी छोरीले मेयर पदमा नजित्दा प्रचण्डले मुलुक दुर्घटनामा फस्छ भनेर वा आरजू देउवाले काँग्रेसले नजितेको स्थानमा केन्द्रबाट बजेट नै नपठाउने भनी बोलेका गैरजिम्मेवार र अनुत्तरदायी भाषण मात्र होइन, नेताहरूको बोलीमा लगाम र अनुशासन नभएर महत्वहीन भइसक्यो। मानव अधिकारवादी समूह, नागरिक समाज वा सुशासन खोजी गर्ने गैरसरकारी संस्था कसैले पनि नेपाली समाज पिरोलिएको राष्ट्रका साझा मुद्दाको विरुद्ध संगठित आवाज उठाउन सकेनन् वा चाहेनन्।

विश्वभरि नै हेर्दा कला क्षेत्रबाट आएका सेलिब्रेटीहरूले राजनीतिमा उठाएको मुद्दा हो व्याप्त भ्रष्टाचारको निर्ममताका साथ विरोध। भ्रष्टाचारले जर्जर बनाइसकेको नेपालका लागि पनि कलाकार वा सेलिब्रेटीको राजनीतिमा प्रवेश भ्रष्टाचारको जमेर विरोध गर्नुले नै सार्थक हुन सक्छ। नेपाली कलाकारहरू प्रतिभाको कमीका कारण पछाडि परेका होइनन्, कदर र अवसरको कमीले पछाडि परेका हुन्। समाजले कलाकारहरूलाई राष्ट्रका गहना मानेकाले राष्ट्रका लागि विशिष्ट योगदान पुर्‍याउने लगनशीलता छ भने शुद्ध र निष्पक्ष कलाकारमात्र भएर सुपरिचित हुनु उचित हुन्छ। नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार