असार २४, २०८२ मंगलबार July 8, 2025

स्थानीय चुनाव र बालेन तहल्का – प्रा. कृष्ण खनाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

स्थानीय चुनावको मतगणना महानगर र उपमहानगरमा अझै जारी छ, तर परिणामको समग्र चित्र भने स्पष्ट भइसकेको छ । हारजितको दलीय गणितभन्दा पनि यो चुनावमा सुनामी ल्याएका छन् काठमाडौं महानगरमा मेयरका स्वतन्त्र प्रत्याशी बालेन साह (बालेन्द्र साह) ले । उम्मेदवारी मनोनयनअघि, गीतसंगीतमा चाख राख्ने एउटा युवा जमातबाहेक कैयौंले बालेनको नाम सुनेका थिएनन् ।

उम्मेदवारी दिएपछि पनि युवाहरूको लहड हो भनेर उनलाई कैयौंले ‘सिरियस क्यान्डिडेट’ का रूपमा पत्याउन सकेका थिएनन् । दुई साताअघि यही स्तम्भमा मैले कांग्रेस र एमालेले दिएका उम्मेदवारहरूप्रति तीव्र असन्तोष र अरुचि व्यक्त गर्दा बालेन फ्याक्टरको भेउ पाउन सकेको थिइनँ । आफू महानगरको मतदाता नभएकाले पनि होला सायद, यसको अन्डरकरेन्ट मसम्म आइपुगेको थिएन ।

काठमाडौं महानगरको मतगणना आधाभन्दा केही बढी सकिएको छ, तर अहिलेसम्मको गणना, अनि दोस्रो र तेस्रो प्रतिस्पर्धीबीच जुन मतान्तर छ, उनीहरू कसैले आश्चर्यजनक नाटकीय छलाङ नमारे बालेनको जित करिब निश्चितजस्तै देखिन्छ । प्रारम्भमा उनको अग्रता काठमाडौंका पुराना मुख्य बस्तीहरूभन्दा बाहिरका वडाहरूको मतमा सीमित हुने अनुमान र आशंका थिए । तर उनले प्रायः सबै वडाबाट मत पाइरहेका छन् । परम्परागत नेवारबहुल क्षेत्रबाट पनि उनलाई उल्लेख्य मत आइरहेको छ । काठमाडौंका आदिवासी र संस्कृतिका मुद्दा उठाउँदैमा मतदाता आकर्षित हुँदैनन् भन्ने पनि देखिएको छ । यसले काठमाडौंको मतदाताको मनोविज्ञानका बारेमा अहिलेसम्मका कतिपय बुझाइ र मिथक तोडिँदै छन् । यो छुट्टै अनुसन्धानको विषय हो । सतही अध्ययन र अनुमानले यसको गहिराइ बुझ्न सकिन्न ।

यद्यपि बालेन एक्लो स्वतन्त्र उम्मेदवार होइनन्; धरानमा हर्कराज राई, धनगढीमा गोपाल हमाल, जनकपुरमा मनोजकुमार साह पनि चर्चामा छन् । यस्तै अन्य कतिपय स्थानमा स्वतन्त्र उम्मेदवारले जितेका छन् । तर यत्तिकै भरमा स्वतन्त्रको लहर आयो भन्न मिल्दैन । जनकपुरमा बागी उम्मेदवारको लामो शृङ्खला नै पाइन्छ, जितेका पनि छन् । गोपाल हमाल पनि पुरानै हुन्, सामाजिक अभियन्ता र व्यवसायीका रूपमा पहिलेदेखि नै परिचित छन् । यसअघि पनि चुनाव लडिसकेका र थोरै मतले हारेका थिए । धरानका राई पनि सामाजिक अभियन्ताका रूपमा चिनिएका मान्छे हुन् । त्यसको प्रभाव स्थानीय पालिकाभन्दा धेरै पर छैन । तर काठमाडौंमा जन्मेर यहीँ हुर्केबढेका मधेसी युवा बालेन शाहको नाम यसअघि सुनिएकै थिएन भने पनि हुन्छ, उनी एकाएक उदाएका छन् । दलीय घेराभन्दा निकै टाढा रहेका उनको यो उदयले राजनीतिक दलहरूका चुनावी गणितलाई नै चुनौती दिएको छ । उनको उम्मेदवारी र करिब निश्चितजस्तै देखिएको जित काठमाडौं महानगरको परिधिमा मात्र सीमित छैन ।

भरतपुर महानगरको मेयर पदमा विजयनिकट छोरी रेणुले पाएको मतले माओवादी नेता पुष्पकमल दाहाल प्रचण्डलाई राहत दिए पनि बालेन फ्याक्टर उनका लागि पनि चुनौती हो ।

काठमाडौंको चुनावमा बालेनको यो तहल्कालाई म पञ्चायतकालमा कुनै बेला नानीमैया दाहालले पाएको मतसँग तुलना गर्न चाहन्नँ । हो, एउटा प्रकृति समान छ । दुवैले यथास्थितिको राजनीतिप्रति व्यापक असन्तोषको प्रतिविम्बन गर्छन् । नानीमैयाको भोट पञ्चायतप्रति उपहासको प्रतीक थियो, त्यो नेगेटिभ भोट थियो । तर बालेनको भोट त्यस्तो होइन । उनले पाएको मतमा कांग्रेस, कम्युनिस्ट पार्टीप्रति असन्तोषको अभिव्यक्ति छ, तर यो नेगेटिभ होइन, यो विकल्पका लागि सकारात्मक मत हो । नानीमैया योग्य पात्र थिइनन्, उनीबाट आफ्नो मतको उचित प्रतिनिधित्व हुन्छ भनेर मतदाताले पत्याएका पनि थिएनन् । तर बालेन योग्य छन्, सक्षम देखिन्छन् । तिमीले सकेनौ, हामी सक्छौं भन्ने चुनौती बोकेर आएका छन् । काठमाडौंको राजनीतिमा बालेन फ्याक्टर एकाबिहानै उनको लहड वा कुनै संकीर्ण स्वार्थका कारण आएको पनि होइन । उनीजस्ता स्वतन्त्र उम्मेदवार त अनेक छन्, तर किन ठोक्किएन मतदाताको रुचि उनीहरूमा ? केही युवामा उनको ‘र्‍यापर’ व्यक्तित्वको असर पक्कै पर्‍यो होला, तर त्यो मात्र पर्याप्त छैन । युवाबाहेक सिंगो महानगरको मत परेको छ र यो मत निश्चयपूर्ण पनि छ ।

बालेनले पाएको मतले काठमाडौं महानगरमा मात्र होइन, देशैभर तहल्का मच्चाएको छ । कथित विश्लेषकहरू अवाक्क छन् । उनीहरूको अनुमान अँध्यारोमा ढुंगा हानेसरह भएको छ । तर मतदाता र जनता रमाएका छन्, हौसिएका छन् । उनले पाएको प्रत्येक मतले मतदातालाई दासत्वमा बाँध्न खोज्ने नेताहरूका गाला रन्किने गरी थप्पड मारेको छ । भरतपुर महानगरको मेयर पदमा विजयनिकट छोरी रेणुले पाएको मतले माओवादी नेता पुष्पकमल दाहाल प्रचण्डलाई राहत दिए पनि बालेन फ्याक्टर उनका लागि पनि चुनौती हो । नेता र दलहरूको अकर्मण्यताका कारण नेपालको राजनीति उकुसमुकुसको अवस्थामा छ, कुनै पनि बेला अनपेक्षित रूपमा उद्वेलित हुन सक्छ भन्ने प्रतिनिधि सन्देश हो यो । उनीहरूको व्यवहार र कामगराइ नसुध्रिने हो भने आउने दिनहरूमा धेरै बालेनको उदय हुन सक्ने पूर्वचेतावनी पनि हो । दल, उम्मेदवार र मतदाता सम्बन्धका बारेमा नयाँ ढंगले पार्टीहरूले सोच्ने बेला आएको छ ।

वालेनको उम्मेदवारी र मत परिचालनको दृश्य अलि फरक छ, सनातनी राजनीतिक प्रचारबाजीभन्दा पृथक् छ । । यो योजनाबद्ध छ, डिजिटल छ र सफल व्यवस्थापनको संकेत दिन्छ । गत चुनावमा रञ्जु दर्शनाका पक्षमा जसले काम गरे, त्यो समूह र शक्ति बालेनको पछाडि पनि छ । राजनीतिक हस्तक्षेपका लागि त्यो शक्ति दृढनिश्चय देखिन्छ । तर विचारणीय कुरा के छ भने, गत चुनावमा रञ्जु दर्शनाले ल्याएको मत विवेकशील पार्टीको थिएन, पार्टी त एउटा प्रतिविम्ब मात्र थियो । साझाका उम्मेदवार किशोर थापाले पाएको मत पनि त्यस्तै थियो । तर दुई दल मिलेपछि त ठूलो भइहालिन्छ भन्ने भयो, त्यो भ्रम तुरुन्तै मेटियो पनि । विवेकशील–साझा त्यसका हकदार थिएनन् । बालेनको मत संगठित छ, तर त्यसले आकार लिइसकेको छैन । विजयको ब्रेकथ्रु नभई त्यो प्रकट नहुने देखिन्छ । बालेनको जित नेपालको राजनीति, खास गरी स्थानीय तहमा एउटा नयाँ प्रयोग हुँदै छ, यो असफल हुनु हुँदैन, यसलाई असफलताबाट जोगाउनुपर्छ ।

काठमाडौंको राजनीतिक समाजलाई बेलाबेला रमिते भनेर आलोचना गरिन्छ । आफू अग्रसर नहुने, अरूले गरेकामा रमाउने अनि छिट्टै नकारात्मक टिप्पणी गर्ने प्रवृत्ति यहाँ छ । तर पनि काठमाडौं नेपालको हरेक राजनीतिक परिवर्तनमा निर्णायक ठाउँ हो । काठमाडौं नजागेसम्म सत्ताको सिट पनि हल्लिँदैन । तर के गर्ने, हरेक परिवर्तनपछि मसिहा ठानिएकाहरूको सबैभन्दा पहिला सम्भ्रान्तीकरण पनि यहीँ आएपछि हुन्छ ! चाहे माओवादी होऊन् वा मधेशी, यो मामिलामा अपवाद भएर कोही खरो उत्रिन सकेका छैनन् । यहाँ आइपुगेपछि म ठूलो हुँ, शासक हुँ भन्ने मनोविज्ञान बन्छ । आम नागरिकभन्दा नितान्त फरक जीवनचर्या र सुविधा उनीहरूको दैनिकी बन्छ । सत्ताको लोभ र त्रासले ग्रसित पनि छ, काठमाडौंको समाज । बालेन शाहको उदयले म रोमाञ्चित भएको छु । तर डर लाग्छ, यहाँको सम्भ्रान्त मानसिकता र वातावरणले यसलाई पनि निरर्थक साबित गर्ने त होइन ?

यो चुनावको मूल पाटो त फेरि पनि ठूला दलहरू नै हुन् । एकातिर पाँचदलीय सत्ता गठबन्धन र अर्कोतिर विपक्षी नेकपा एमाले एक्लै थिए भने हुन्छ । यद्यपि स्थानीय तहमा पुग्दा उम्मेदवारी र मतपरिणाममा चुनावी तालमेलका अनेक रूप देखिन्छन् । माथि जति तीव्र ध्रुवीकरण भए पनि पालिका र वडाको तहमा पुग्दा एकअर्कासँग चुनावी तालमेल नगरेका दल र उम्मेदवार प्रायः देखिन्नन् । यसले पनि देखाउँछ, स्थानीय चुनावमा यति विधि दलीयकरण आवश्यक छैन । यो नेता र दलहरूको प्रतिष्ठा मात्र हो, मतदाताको चाहना होइन । यो चुनाव कुनै राजनीतिक, आर्थिक र सामाजिक मुद्दामा लडिएको पनि थिएन । एउटालाई सत्ता गठबन्धन जोगाउनु थियो, अर्कोलाई सत्ताबाट फालिएको रन्को थियो । त्यसैले नेताहरू अत्यन्त स्तरहीन गालीगलौजमा उत्रिए, राजनीतिक स्तरको भाषण एउटा पनि सुन्न पाइएन ।

सत्ता गठबन्धनले बहुसंख्यक स्थानमा जित हात पार्नु स्वाभाविक हो । सबैभन्दा लाभ नेपाली कांग्रेस र माओवादी केन्द्रले पाएका छन् । जनता समाजवादीलाई पहिलेको अवस्था जोगाउन निकै मुस्किल परेको छ भने एमालेबाट विभाजित एकीकृत समाजवादीको अस्तित्व सानो आकारमा भए पनि चुनावबाट अनुमोदित भएको छ । हेटौंडा उपमहानगर प्रमुखमा उसका उम्मेदवार विजयी भएका छन् भने पोखरा महानगर प्रमुखमा जारी अग्रता विजयमा रूपान्तर हुन सके उसको राजनीतिक प्रतिष्ठा अरू बढ्नेछ । तर, परिणामको भित्री तहमा पुगेर हेर्ने हो भने गठबन्धनबिना यो पार्टीले आफ्नै अस्तित्व स्थापित गर्न सकेको छैन । यसले एक्लै ल्याएको मत नगण्यप्रायः छ । यसको स्वतन्त्र अस्तित्व त्यति सुरक्षित देखिन्न ।

एमालेलाई ताछ्न एकीकृत समाजवादी ठूलो औजार सिद्ध भएको छ, तर टड्कारो यथार्थ के हो भने, ओलीको एकल प्रदर्शन परिणामदायी सिद्ध भएन ।

चुनाव परिणामको समग्रतालाई हेर्दा प्रतिपक्षी एमालेको अवस्था पहिलेभन्दा निकै खस्केको छ । यसअघि पहिलो र फुर्तिलो शक्तिका रूपमा रहेको यो पार्टी अब झन्डै एक सय स्थान गुमाएर दोस्रोमा झरेको छ । गठबन्धनको प्रभाव त हुने नै भयो, तर यो स्खलनको मुख्य कारक विभाजन नै हो । विभाजनको जिम्मेवार केवल इतरपक्षलाई बनाएर ओली नेतृत्व र समूह यो परिणामप्रति गैरजिम्मेवार बन्न सक्तैन । हो, एमालेलाई ताछ्न एकीकृत समाजवादी ठूलो औजार सिद्ध भएको छ, तर टड्कारो यथार्थ के हो भने, ओलीको एकल प्रदर्शन परिणामदायी सिद्ध भएन । एमाले आफैंले पनि संगठन र नेतृत्वको विषयमा आत्मसमीक्षा र पुनर्विचार गर्नु जरुरी छ ।

मधेशका पालिकाहरूको परिणाम हेर्दा, पार्टीगत रूपमा सबैभन्दा घाटा लोकतान्त्रिक समाजवादीलाई भएको छ । जसपाले जित संख्याको हिसाबबाट पहिलेको अवस्थालाई मुस्किलले जोगाएको त छ, तर यसको स्थिति पनि सुदृढ देखिन्न । तथापि मधेशको राजनीतिमा जसपा र लोसपाको अस्तित्व र भूमिका कम भएको छैन । ठूला दलले आफ्नो जितमा केही संख्या बढाए पनि मतदाताको अनुपातमा उल्लेख्य वृद्धि गर्न सकेका छैनन् । क्षेत्रीय राजनीतिक दलको सम्भावना मधेशमा मात्रै छ, पहाडमा छैन । पहाडमा जसपा र अरू केही पहिचानवादी दलले पाएको मतले पनि त्यो पुष्टि गर्छ । पूर्वी पहाडका इलाम र खोटाङका दुई गाउँपालिकाका उपाध्यक्ष र ओखलढुंगाको एउटा गाउँपालिका अध्यक्षमा यसको विजय सीमित छ, त्यो पनि गठबन्धनको समर्थनमा । जसपाले आफ्नो आधारक्षेत्र (कन्स्टिच्युएन्सी) को राम्ररी पहिचान गर्न र त्यसप्रति आत्मविश्वास कायम राख्न सक्नुपर्छ ।

केही अपवाद र गुनासाका बावजुद सत्ता गठबन्धन नेताहरूका लागि लाभदायक भएको छ, आआफ्ना पार्टीको जित दाबी गर्ने आधार बनेको छ । संघीय संसद् र प्रदेशको चुनावमा पनि यो गठबन्धन कायमै रहने सम्भावना करिब निश्चित नै छ । शासकीय स्थिरता त भन्नै लाज लाग्ने भयो, तर संसदीय स्थिरताका लागि भए पनि चुनाव प्रणालीका कारण संसद् र प्रदेशको चुनावमा गठबन्धन आवश्यक पनि छ । गठबन्धनको स्वस्थ संस्कृति बसाल्न सके राजनीतिक प्रणाली पनि सुदृढ हुन्छ । सिटगन्तीका हिसाबले कांग्रेसलाई ठूलो लाभ देखिए पनि यसको राजनीतिक लाभहानिको पक्ष अलि फरक छ । चुनावी गठबन्धनमा कांग्रेस एक छैन, तर यो समस्या नेतृत्वको हो । नेतृत्वमा बस्नेले विवेक पुर्‍याउन सक्नुपर्छ । स्थानीय तहको यो विजयले कांग्रेसमा देउवा नेतृत्वपंक्ति बढी कठोर र अनुदार हुने सम्भावना पनि उत्तिकै छ । यसले गठबन्धनलाई लाभभन्दा आन्तरिक रूपमा कांग्रेसलाई बढी क्षति पुर्‍याउन सक्छ ।

अन्त्यमा, चुनाव व्यवस्थापनका बारेमा केही भन्नैपर्ने कुरा छन् । यस्तै व्यवस्थापन हो भने अर्को पटक स्थानीय चुनाव गर्नुको कुनै अर्थ छैन । मतगणनाको सुस्ती र सास्ती आफ्नो ठाउँमा छ, तर त्योभन्दा पनि मतदाताको कठिनाइ र मतदानको समस्या अझ चिन्ताको विषय भएको छ । तीन कुरामा पुनर्विचार र सुधार अनिवार्य भएको छ । पहिलो, एकै चरण वा दिनमा स्थानीय चुनाव गर्न सक्ने हाम्रो क्षमता रहेनछ । यसलाई कम दलीयकरण र बढी विकेन्द्रित गर्नुपर्छ । दोस्रो, यस्तो मतपत्र भएन, यो वाहियात नै हो । यसका कारण सही ठाउँमा मतछाप नपरेका र अत्यधिक संख्यामा मत बदर भएका दृष्टान्त नै छन् । उम्मेदवार नै नभएका अनगिन्ती चुनाव चिह्न भएको नाङ्लोजत्रो मतपत्र मतदातालाई बोकाउनु भएन । मतपत्र निर्वाचन आयोगको सजिलाका लागि होइन, मतदाताका लागि सजिलो हुनुपर्छ । उम्मेदवार निश्चित भएपछि जिल्लाजिल्लामै स्तरीय मतपत्र छपाउन सकिन्छ । अहिलेको प्रविधिको युगमा यो कुनै कठिन काम पनि होइन, आयोगको काममा विकेन्द्रित व्यवस्थापन जरुरी छ । मतपत्र छपाइ संवेदनशील विषय भएकाले सतर्कता र सुरक्षा अपेक्षित हुन्छ, त्यो आयोग र सरकारको काम हो । तेस्रो, भोटिङ मेसिनको विकल्पलाई पनि सँगै प्रयोग गर्दै जानुपर्छ र हाते छापलाई क्रमशः विस्थापित गर्नुपर्छ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार