असार २४, २०८२ मंगलबार July 8, 2025

अनुभूति गर्न नपाएको गणतन्त्र – मल्ल के. सुन्दर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नागरिकलाई सर्वाधिकारसम्पन्न बनाएर राज्यको निर्णायक तहसम्म स्थापित गराउने एउटा सर्वोकृष्ट प्रणाली हो-गणतन्त्र । लोकतन्त्रका विविध सत्ता–स्वरूपमध्ये गणतन्त्रलाई आधुनिक युगले उन्नत राजनीतिक अभ्यासका रूपमा अंगीकार गर्दै आएको छ । त्यसो त, गणतन्त्र नेपालका लागि नौलो होइन ।

प्राचीनकालमै नेपाल सरहदभित्र गणतन्त्रको अभ्यास हुन्थ्यो । त्यसमा पूर्वी पर्वतीय क्षेत्रमा आधिपत्य जमाएका किराती विरासत मूलतः गणतन्त्रात्मक थिए, जसको प्रशस्त चर्चा हामी महाभारतजस्तो प्राचीन आख्यानमा पाउँछौं । शाक्य, कोलीय तथा मल्लहरूका जनपदहरू यस्तै दृष्टान्त हुन् । शुद्धोदनको ऐतिहासिक कपिलवस्तु तीमध्ये एउटा थियो । त्यहाँ आवधिक रूपमा सन्थागरमा जनपदका प्रतिनिधिहरू भेला हुन्थे र नयाँ शासकहरूको चयन गरिन्थ्यो । युनानको एथेन्समा प्रचलित नगरीय गणतन्त्र र हाम्रा जनपथका प्रणालीगत प्रारूपमा फरक देखिन्थ्यो तर राज्यसत्ताको सारतत्त्व भने भिन्न थिएन । यद्यपि, वर्तमान विन्दुसम्म आइपुग्दा गणतन्त्र अनेक अर्थमा फरक भइसकेको छ ।

पछिल्लो कालखण्डमा एकात्मक सामन्ती सत्ताको निरन्तरताका अतिरिक्त त्यस मातहत आम जनताले भोग्नुपरेका विभेद, शोषण र उत्पीडन आलोच्य रहेÙ जनमानसले त्यसबाट उन्मुक्ति खोज्दै गणतन्त्रप्रति आसक्ति जाहेर गर्न थाले । सात सालको राजनीतिक परिवर्तनको सेरोफेरोमा बीजारोपण भएको आकांक्षाले अंकुरण हुँदै वर्तमान संविधान जारी भएको दिनसम्म आइपुग्दा मूर्त रूप पायो । तसर्थ, नेपालको परिवेशमा गणतन्त्र शासन प्रणालीको रूपान्तरित स्वरूप वा शासक पदमा परिवर्तित आकृति मात्र नभई विगतमा सत्ताभित्र झाँगिएका अनेक विकृति तथा विसंगतिको अवसान तथा लोककल्याणका अग्रगमनकारी अभियानको आरम्भसमेत हो । यिनै अपेक्षा र उमंगका साथ नेपाली जनता अनेक आन्दोलन, संघर्ष, सशस्त्र क्रान्तिका मोर्चामा पंक्तिबद्ध हुँदै आएÙ अतुलनीय बलिदान तथा आहुतिका लागि तयार भए । आजको गणतान्त्रिक व्यवस्थाको अन्तर्यमा ती ज्ञात–अज्ञात शहादत आत्माहरू तथा अनगिन्ती योद्धाका बलिदानका गाथाहरू सिञ्चित छन् ।

राजनीतिक आलोकबाट हेर्दा नेपालको ऐतिहासिक विकासक्रममा यो एउटा महत्त्वपूर्ण छलाङको क्षण हो । त्यसैले यस क्षण, यस दिनको स्मृति र सम्मानमा हामी बर्सेनि गणतन्त्र दिवस मनाउँदै आइरहेका छौं; आज पनि मनाउँदै छौं । यति हुँदाहुँदै पनि जिज्ञासाको कुरा छ । एउटा लामो एकात्मक सामन्ती सत्ताको अन्त्य, परिवारवाद, हुकुमी शासन, निरंकुशता, अपारदर्शिता, पश्चगामी शैली तथा अलोकतान्त्रिक प्रणालीको विस्थापन, त्यसको स्थानमा जग बसालेको नागरिकको सर्वोच्चता अनि अग्रगमनकारी राज्यसत्ताको आरम्भ — यस्तो सुखद अवसरमा पनि आम नेपाली किन उत्साहित छैनन् ? गणतन्त्रको वर्तमान माहोलमा पनि किन नागरिकहरूमा उल्लास देखिँदैन ? यति विघ्न महत्ता बोकेको गणतन्त्र दिवसको अवसर पनि किन उमंगमय बनेन ? सरकारी उर्दीको तामेली गर्नुपर्ने र राज्यको सुविधा भोग्दै गरेका केही नव–अभिजातका बीच मात्रै गणतन्त्र दिवसजस्तो राष्ट्रिय ऐतिहासिक पर्व किन संकुचनमा पर्दै गयो ? प्रश्नहरू प्रत्युत्तरको खोजीमा छन् आज ।

खाँट्टी कुरो

नेपाली जनमानस प्रजाबाट नागरिकमा रूपान्तरित मात्र भएन, राज्यसत्ताको स्रोतको हैसियतमा सार्वभौम भएर उभिन संघर्षरत रहँदै आयो । गणतन्त्रलाई त्यही लक्ष्यप्राप्तिको राजनीतिक महायात्राका रूपमा उनीहरूले बुझेका हुन् । प्रत्येक नागरिक सार्वभौम एकाइ हुनेछौं र आफूमा आत्मनिर्णयको सार्वभौमिक क्षमता निहित हुनेछ भन्ने गहन आस्थाबाट उत्प्रेरित भएर उनीहरू गणतन्त्रको पक्षधर बन्न पुगे । उनीहरू विगतको कुनै एक व्यक्ति, एक परिवार, एउटा कुलीन घरानाको सामन्ती शैलीलाई भत्काएर सही अर्थमा नागरिक सर्वोच्चता कायम गर्न चाहन्थे । जनशक्तिको बलमा सामन्ती राजतन्त्रलाई विगतको एउटा कालखण्ड बन्न पुग्यो, अनि नवीन प्रारूपयुक्त राज्यसत्ताको बुझाइमा गणतन्त्र संस्थागत भयो । त्यसका लागि विधिगत आधारशिलाका रूपमा नयाँ संविधान पनि जारी गरियो ।

हिजोको राजाको शासनकाल, पञ्चायती निरंकुश व्यवस्थामा पनि बेहोर्नु नपरेको जीवनयापनको जटिलतम स्थितिमा छन् आज नेपाली जनता । उनीहरूले अहिलेको राजनीतिक व्यवस्थामा आएको परिवर्तनलाई कसरी बुझ्ने ?

संविधान फेरियो, संहिताहरू फेरिए । राज्यसत्ताको स्वरूप नौलो भयो । सत्तासँगको सामीप्यमा फरक व्यक्ति, समूह, दल शक्तिशाली बन्ने अवसर जुट्यो । तर भुइँमान्छेहरू भुइँमै रहे । सार्वभौमयुक्त भएर उकालो लाग्लान् कि भनेका आम नेपालीलाई फेरि पनि आत्मनिर्णयको आधारशिलासम्म पुग्न दिइएन । गणतन्त्र भनिएको व्यवस्था र अवस्थामा पनि अमुक नेतृत्व, दल वा आग्रहको स्वार्थको पिछलग्गु बन्नुपर्ने दासवृत्तिको सिकार बनाउँदै लगियो । दलतन्त्रको जालोमा फसाएर राजनीतिक आस्थाका आवरणमा व्यक्तिहरूलाई दलीय दास बन्न बाध्य पारियो । त्यसैले अहिले नागरिक सर्वोच्चताको नाउँमा दलीय हैकम प्रबल भयो । दलीय प्राधिकारको अभ्यास भन्दै पार्टीहरूभित्र नेतृत्वपंक्तिको एकछत्र छ । फेरिएको भनिएको सामन्ती पद्धतिको पार्टीको आवरणमा पुनरावृत्ति भइरहेको छ । एउटै व्यक्ति तीन दशकसम्म दलको मूली बनेको छ, सर्वसम्मत र सहमतिका नाउँमा फरक विचार बोक्नेहरूलाई पाखा लगाइएको छ, निर्णय प्रक्रियामा एकलौटी र निजात्मक आवेग छ । पाँचपाँच पटकसम्म कार्यकारी प्रमुख भइसक्दा पनि विश्रामको आवश्यकता नठान्ने र सात पटकसम्मको योग छ भन्दै आत्मकेन्द्रित प्रवृत्ति बोकेकाहरूको हालीमुहाली छ । चित्र फरक होला तर चरित्र इतिहासले विसर्जन गरिसकेका हिजोका सामन्तहरूको भन्दा पृथक् देखिएन । अनि यस्तोमा सर्वसाधारण जनगणतन्त्र दिवस एउटा सुखद अवसर हो भन्दै कसरी रमाउन सक्लान् ?

नफेरिएको स्थिति

सामन्ती कालखण्डप्रति वितृष्णा र विद्रोह अव्यवस्था, अराजकता र असंगत पद्धति–प्रणालीप्रति केन्द्रित थियो । त्यसबाट आजित जनता उन्मुक्ति चाहन्थे र परिवर्तनका पक्षमा लागिपरे । एउटा उन्नत राजनीतिक व्यवस्थाका रूपमा मात्र होइन, समतामूलक समाजको स्थापना, आर्थिक सुशासन, पारदर्शिता र सबल न्यायप्रणालीको अपेक्षासमेत राखिएको थियो गणतान्त्रिक व्यवस्थाबाट ।

दुःखको कुरा, गणतन्त्र स्थापनाको एक दशकको अवधिभित्र न्यायपालिका जुन रूपमा विवादित र आलोच्य बन्यो, त्यो नेपालको इतिहासमा कहिल्यै भएन । न्याय पैसा र प्रभावको परिवेशमा फस्दै गयो । स्वयं प्रधानन्यायाधीशजस्तो व्यक्ति लाञ्छित, आरोपित बने । न्यायपालिका एक अर्थमा भ्रष्टाचारको दैलोका रूपमा फेरियो । साथसाथै अपराधीलाई उन्मुक्तिको स्थितिले मुलुकलाई दण्डविहीनताको अवस्थातिर धकेल्दै लगेको छ, । यसले अदालतप्रति जनआस्था क्षीण बनाउँदै लग्यो । नागरिकहरूको हक–अधिकार प्रतिरक्षाको अन्तिम केन्द्र ठानिने न्यायपालिकाको यस खाले क्षयीकरण प्रत्यक्षतः कलिलो गणतन्त्रप्रति वितृष्णाको एउटा प्रमुख कारक बन्यो ।

समतामूलक समाज निर्माणको अभीष्ट एकातिर राज्यको कागजी अभिलेखमा छ भने, अर्कातिर यसैबीच राज्यस्रोत वितरणमा रहेका असमानताका कारण हुनेखाने र विपन्नहरूका बीचको खाडल यति गहिरिँदै गएको छ, त्यसले समाजमा छिटै विस्फोटक स्थिति जन्माउन सक्छ । राज्यको कमजोर उपस्थितिकै कारण महिलाहरूप्रतिको यौनिक हिंसा, दलित र उत्पीडितहरूमाथि विभेदमा कमी आउन सकेको छैन । बेरोजगार र हात–मुख जोड्ने समस्याले नेपाली श्रमिकहरू दिनहुँ खाडी मुलुकतिर भौंतारिनुपर्ने बाध्यताबाट उन्मुक्ति पाएको छैन । सामान्य परिवारजनले प्रत्येक दिन झेल्नुपर्ने उपभोग्य वस्तुको अभाव, मूल्यवृद्धि, अनियन्त्रित बजारको स्थिति झन् विकराल छ । निर्धनले आफ्नो स्रोतबाट शिक्षा अनि स्वास्थ्य सेवा धान्न नसक्ने भइसकेको छ ।

एक अर्थमा, हिजोको राजाको शासनकाल, पञ्चायती निरंकुश व्यवस्थामा पनि बेहोर्नु नपरेको जीवनयापनको जटिलतम स्थितिमा छन् आज नेपाली जनता । उनीहरूले अहिलेको राजनीतिक व्यवस्थामा आएको परिवर्तनलाई कसरी बुझ्ने ? अनि परिवर्तनको नाउँमा स्थापित गणतन्त्रको परिवेशमा सुखको बोध गर्ने कसरी ? यथार्थतः ती भुइँमान्छेहरूका लागि आजको स्थिति नफेरिएको मात्र होइन, विगतको भन्दा रसातल पुगेसरह भइरहेको छ ।

वितृष्णाहरू

गणतन्त्रले नागरिकका सन्ततिलाई पनि राष्ट्रप्रमुखसम्म हुने अवसर दियो । अहिले सर्वसाधारणको घरदैलो र पिँडीमा हुर्केकी महिला मुलुकको राष्ट्रपति छिन् । एक अर्थमा जनताका लागि गर्व र हर्षको विषय हो यो । अर्कातिर, जब जनताको माझबाट राजनेताको आसनमा पुगेकी तिनै व्यक्तिको जीवनशैली, आचरण र सोचमा सामन्ती राजतन्त्रको पुनरावृत्ति भइरहेको पाउँछौं तब स्वाभाविक रूपमा जनमानसमा वितृष्णाको लहर उत्पन्न हुन्छ । गणतान्त्रिक व्यवस्थाकी राष्ट्रप्रमुख हिजोकै राजशाहीको झल्को दिँदै सडकमा आउजाउ गर्छिन्, त्यस्तै शैलीमा मठ–मन्दिर प्रवेश गर्छिन् र तामझाममा रमाउने गर्छिन्, स्वाभाविक रूपमा जनताको मनमा प्रश्न उठ्छ- विगतको राजतन्त्र र आजको गणतन्त्रबीचको तात्त्विक अन्तर के हो ? विरक्ति अस्वाभाविक होइन, यदि सुधार आएन भने यो विद्रोहमा रूपान्तरण पनि होला, भोलि कुनै दिन ।

लोकतन्त्र, जनवाद, जनपक्षीयताका लागि राजनीति गरिरहेको दाबी गर्ने हिजोकै नेताहरू आज सत्ता–सुविधावरपर पुगेका छन् । उनीहरूका पुराना चप्पल, फाटेका लुगा अनि काँधमा बोकेका झोलाहरू जनताले बिर्सेका छैनन् । तर, आज राजनीतिलाई अवसर र औजारका रूपमा प्रयोग गर्न सिपालु उनीहरूको राजधानी–मोह र परिवर्तित जीवनशैली अनुत्तरित छ । राजतन्त्रबाट गणतन्त्रमा भएको फड्कोले खोजेको यही थियो ? जनता सोध्छन् । नेतृत्वपंक्तिले भ्रमित पारेका जनतामा वितृष्णा मात्र होइन, दह्रो विमति पनि छ ।

नबदलिएको अनुभूति

जनबलकै आधारमा स्थापित गणतन्त्रले जनताको अनुमोदनमा वैधानिकता पाएको छ । यसले क्रमिक रूपमा पूर्णता ग्रहण गर्दै गरेको छ । नेपालमा जसरी राजतन्त्रबाट गणतन्त्रमा बिनारक्तपात शान्तिपूर्ण संक्रमण भयो, विश्वराजनीतिका लागि त्यो अनुकरणीय र गर्व गर्नलायक हो । गम्भीर कुरो, यस्तोमा पनि गणतान्त्रिक रूपान्तरणप्रति हाम्रा भुइँमान्छेहरूलाई नौलो अनुभूति हुन सकेको छैन । उनीहरूले आफूहरू सामन्ती राजतन्त्रबाट परिवर्तित गणतन्त्रात्मक राजनीतिक परिवेशमा छौं अनि सर्वाधिकारयुक्त, सार्वभौम, आत्मनिर्णय गर्न हैसियतका नागरिक रूपमा सम्मानित भएका छौं भनेर अनुभूति गर्न सकेका छैनन् ।

चिन्ताको विषय छ-हाम्रा राजनेताहरूले गणतन्त्रलाई अनुभूतिमा होइन, यत्तिकै आवरणमा अनि औपचारिकताको परिधिमा खुम्च्याउँदै लग्ने पो हुन् कि ? जनअनुमोदनप्राप्त पद्धतिको नाउँमा अन्ततः जनताको पंक्तिलाई नै विमुख पार्दै लैजाने पो हुन् कि ? कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार