असार २४, २०८२ मंगलबार July 8, 2025

माओवादी : संशय र प्रश्नहरू – किशोर नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको एउटा विशेषता हो– उनी जनताका भावनालाई छिटो बुझ्न र छिटो आत्मसात् गर्न सक्छन् । उनले हालै सम्पन्न स्थानीय निर्वाचनमार्फत जनताले अभिव्यक्त गरेका धारणालाई बुझेका छन् र राम्ररी केलाएर हेरेका छन् । त्यसैले हो, स्थानीय निर्वाचनमा विजयी भएका माओवादी कार्यकर्ताको अभिमुखीकरण कार्यक्रममा कुनै लागलपेट नराखी नेपाली जनताले माओवादी कार्यकर्ता सच्चियून् भन्ने चाहेको बताए । अध्यक्ष प्रचण्डको यस भनाइलाई उनका कार्यकर्ताले कुन रूपमा लिए ? त्यो आगामी समयले बताउला । तर, देशका विचारक, विश्लेषक र बुद्धिजीवीहरूले प्रचण्डको भनाइलाई माओवादी सच्चिनैपर्ने प्रक्रियाको प्रारम्भ मानेका छन् । प्राध्यापक अभि सुवेदी भन्छन्– प्रचण्डले यो कुरा आवेशमा बोलेका होइनन् । उनले यो कुरा गम्भीरतापूर्वक विचार गरेर बोलेका हुन् । उनी राजनीतिका अनेकौँ आयाम पार गर्दै अहिलेको अवस्थामा रूपान्तरित भएका व्यक्तित्व हुन् । उनले अहिलेको राजनीतिक परिस्थिति र जनताको मनको कुरा बुझेका छन् ।

नेपालको माओवादी आन्दोलनको आफ्नै विशिष्टता छ । संसारमा चलेका यस प्रकारका अन्य आन्दोलनको अन्त्य निकै दुःखदायी भएको छ । पेरुमा गोन्जालोको नेतृत्वमा भएको परिवर्तन कसरी असफल भयो ? निकारागुवामा स्यान्डिनिस्टाले कस्तो अपमानजनक विपत्तिको सामना गर्नुपरेको थियो ? श्रीलंकामा सहरी योद्धाहरूको समूह जनता विमुक्ति पेरोमोनाको कसरी सर्वनाश भएको थियो ? समकालीन समयको समीक्षा गर्दै जाने हो भने मोजाम्बिक र नेपाल मात्र यस्ता दुई देश हुन्, जहाँ जनयुद्ध सफल भयो । अझ नेपालमा त माओवादी जनयुद्धले आंशिक सफलता मात्रै ंपाएको होइन, यसले राज्य रूपान्तरण गर्ने ठूलो अवसरसमेत जितेको हो । माओवादी युद्धपीडित परिवार र समाजका केही यथास्थितिवादीलाई छाडेर माओवादीविरुद्ध अहिलेसम्म ठूलो दुर्घटना भएको छैन । माओवादीप्रति नेपाली जनमत आक्रोशपूर्ण रहेको भए युद्धबाट आएको पार्टी संविधानसभाको चुनावमार्फत झन्डै बहुमत ल्याएर सरासर सरकारको नेतृत्वमा पुग्ने थिएन । यो अर्कै कुरा हो, माओवादीले त्यो अवसरको सदुपयोग गर्न सकेन । माओवादीले शासन जितेको थियो । राज्य जितेको थिएन । राज्यमाथि विभिन्न राजनीतिक सिद्धान्तमा बाँडिएका जनताको बराबरीको हक थियो । यो पक्कै हो, जनयुद्धका कमान्डर स्वयं प्रचण्डलाई पनि नेपालमा जनयुद्धले २४० वर्ष पुरानो निरंकुश राजतन्त्रको यति सहज ढंगले अन्त्य गर्ला भन्ने विश्वास थिएन होला । यो विश्वासहीनताले पनि समयलाई जटिल बनायो ।

जसले जेसुकै भने पनि नेपालको माओवादी आन्दोलनले कहिले पनि यहाँको एलिट आन्दोलनको प्रतिरोधको सामना गर्नुपरेन । ०४६ को आन्दोलनपछि सन्त नेता कृष्णप्रसाद भट्टराईको अन्तरिम मन्त्रिपरिषद्का अर्थमन्त्री डा. देवेन्द्रराज पाण्डे, अधिकारकर्मीका रूपमा चिनिएका पद्मरत्न तुलाधर, ०४७ मा निर्वाचित सार्वभौम संसद्का सभामुख दमननाथ ढुंगानालगायत थुप्रै विद्वान्, अधिकारकर्मी, पेसाकर्मी र सचेत नागरिकहरू माओवादीलाई मूलधारको राजनीतिमा ल्याउन कम्मर कसेर लागेका थिए । राजनीतिक दलभित्रको अवस्था पनि त्यस्तै थियो । कांग्रेसपछि एमालेका नेता माधव नेपाल र वामदेव गौतम प्रचण्डलाई राजनीतिक सहयोग गर्न लागेका थिए । त्यसवेला देशका कुनै पनि पार्टीका नेताले माओवादी आन्दोलनको अन्तर्य केलाउन चाहेका थिएनन् । युद्धरत माओवादीसहितको राज्य व्यवस्था सबैको अभीष्ट बनेको थियो ।

देशको सबैभन्दा पुरानो, प्रतिष्ठित र राष्ट्रिय अन्तर्राष्ट्रिय साख भएको लोकतान्त्रिक पार्टी कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला स्वयं नै माओवादीसँग शान्ति र सम्झौताको बाटोमा अग्रसर भएकाले देशमा माओवादी समस्या समाधान हुने आशाका तरंग फैलिएका थिए । यसको कारण स्वर्गीय कोइरालाले भारतीय जनता र सरकारको विश्वास आर्जन गरेका थिए । भारतको विश्वास आर्जन नगरेसम्म परिवर्तनले स्थायित्व नपाउनेमा अरू नेता पनि सहमत थिए । तत्कालीन नेपाली राजनीतिमा कोइरालाको जस्तो सर्वमान्यता र पात्रता अरूमा थिएन । राजा वीरेन्द्र र दीपेन्द्रको देहावसानपछि राजा भएका ज्ञानेन्द्रले कोइरालालाई आफ्ना निमेसिस ठानेका थिए । ज्ञानेन्द्रका नजरमा कोइराला भ्रष्टाचारका बिम्ब थिए । तर, कोइरालाप्रति ज्ञानेन्द्रको दृष्टिकोण जतिसुकै अनुदार भए पनि कोइरालाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साख निकै घनीभूत थियो । कोइरालामा जनताबाट चुनिएको प्रतिनिधिका रूपमा राजासँग टक्कर लिने आत्मबल थियो ।

विश्वासको वातावरण बनाउन सक्यो भने कांग्रेसले एमालेलाई क्षतविक्षत् तुल्याउनेछ । माओवादीले यो धरातल बुझ्नुपर्छ । अहिलेका लागि प्रचण्डले कार्यकर्तालाई होइन, आफैँलाई सच्याउनु आवश्यक छ ।

नेपालको राजनीतिमा भारत र चीन समर्थकको विभाजन पुरानै हो । जतिखेर भारत समर्थक भनिएका कांग्रेसहरू राजाको निरंकुशताविरुद्ध लडिरहेका थिए, त्यतिखेर चीन समर्थक भनिएका कम्युनिस्टहरू राष्ट्रवादका नाममा राजाको निरंकुशतालाई सघाइरहेका थिए । ०४६ को परिवर्तनअघिसम्म नेपालको कम्युनिस्ट राजनीतिमा बलियो मानिने मालेले राजा र चीनको समर्थनमा वामपन्थीहरूलाई एकोहोर्‍यायो । तर, पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारी जस्ता नेतामा यो प्रवृत्ति देखिएन । अहिलेको अवस्थामा माओवादी न भारत समर्थकका रूपमा टिक्न सक्छ, न चीन समर्थकका रूपमा । चीनमा माओवादी अध्यक्ष प्रचण्डका केही घनिष्ठ मित्र छन् । तर, राज्य नीतिमा उनीहरू प्रभावकारी छैनन् ।

निश्चय पनि अहिले विश्वको राजनीतिक परिस्थितिले पूरै कोल्टे फेरेको छ । समकालीन विश्वको आर्थिक र राजनीतिक परिस्थितिमा पनि आमूल परिवर्तन आइसकेको छ । चीन र अमेरिकाबीचका द्वन्द्वहरू जटिल परिस्थितिमा पुगेका छन् । अर्कोतिर रुस र युक्रेनको लडाइँले युरोपसहित पूरै पश्चिमी समाजलाई गम्भीर नैतिक संकटतिर तानिरहेको छ । दक्षिण एसियामा भारत अहिले अमेरिकासँग सहकार्यमा देखिए पनि चीनसँगको सम्बन्धमा भारत कठोर बन्ने लक्ष्य राख्दैन भन्ने लगभग स्पष्ट भइसकेको छ । दुनियाँको सामरिक चित्र बदलिए पनि छिमेकको यथार्थ बदलिन सारै गाह्रो हुन्छ । सहयोगका नाममा नेपालमा हुन सक्ने चिनियाँ आर्थिक हस्तक्षेप नेपालीका लागि दुःस्वप्न पनि बन्न सक्छ भन्ने उदाहरण श्रीलंकाले देखाइसकेको छ । देशका राजनीतिक पार्टी र तिनका नेताले संसारका इतिहासबाट यस्ता धेरै कुरा सिक्नुपर्छ ।

संसद्वादी दल र माओवादी दलबीचको दूरी कम हुँदै गएको समयमा रूपान्तरणमा लागेका माओवादीभित्रको वातावरणमा अझै खुलापन आउनुपर्छ ।

जहाँसम्म आन्तरिक राजनीतिको प्रश्न छ, स्थानीय चुनावले नेपाली राजनीतिको अवतार परिवर्तन गर्न खोजेको छ । पार्टीहरूको चुनाव चिह्नको ठाउँ झन्डाले लिएको छ । कांग्रेसले माओवादीको चुनाव चिह्नमा भोट माग्ने र माओवादीले कांग्रेसको चुनाव चिह्नमा भोट मांग्ने नयाँ राजनीतिक संस्कारले हामीलाई सहमति र सहकार्यतिर प्रवृत्त गर्नेछ । प्रचण्डले कांग्रेसलाई पनि एमालेकै हविगतमा पुर्‍याउने गफ जति दिए पनि कांग्रेससँग सहकार्य गरेरै माओवादीले जनताको सद्भाव कमाएको छ । केही माओवादीमा कोइराला पक्षको कांग्रेसको भोट एमालेमा गएको आशंका रहेको छ । राजनीतिमा केही मानिस यस्ता खेल तमासामा लागिरहन्छन्, यो नयाँ कुरा होइन । बरु, प्रचण्डले महाधिवेशनको ६ महिना बित्न लागिसक्दा पनि आफ्नै केन्द्रीय समिति गठन गर्न सकेका छैनन् । उनका घनिष्ठ सहयोगी कृष्णबहादुर महरा सेलाएका छन् । रोशनी काण्डले उनको प्रतिष्ठा थिलथिलो पारेको छ । राष्ट्रिय सभाका निवर्तमान सदस्य तथा अधिवक्ता रामनारायण बिडारी भन्छन्– अहिले जनता प्रचण्डको अनुहारमार्फत माओवादीलाई भेट्न चाहन्छन् । अहिले हामीमा देशलाई हृदयैदेखि माया गर्ने आचरण बनेको छैन । हामी अवसरवादी बुर्जुवा, पेटी बुर्जुवाजस्तै भयौँ ।

राजनीतिक विश्लेषक हरि रोक्का भन्छन्– विश्वासको वातावरण बनाउन सक्यो भने कांग्रेसले एमालेलाई क्षतविक्षत् तुल्याउनेछ । माओवादीले यो धरातल बुझ्नुपर्छ । अहिलेका लागि प्रचण्डले कार्यकर्तालाई होइन, आफैँलाई सच्याउनु आवश्यक छ । जहाँसम्म नयाँ नेतृत्वको प्रश्न छ, कुरा चल्नेबित्तिकै जनार्दन शर्मा प्रभाकर र वर्षमान पुनको नाम आइहाल्छ । वर्षमान पुन बिरामी छन् । उनको समर्थनमा नारायणकाजी छन् । जनार्दनमा राजनीतिक चातुर्य छ । उनी स्पष्ट र हक्की छन् । पार्टीमा जनजाति र आदिवासी हुनैपर्छ । बाहुन–क्षेत्री पनि हुनैपर्छ । माओवादी राष्ट्रिय पार्टी हो । राष्ट्रिय भनेपछि सबै जाति अटाउनुपर्छ ।

माओवादी केन्द्रमा प्रश्नहरू तरंगित छन् । ती प्रश्नको जवाफ दिने हैसियत प्रचण्डमा बाहेक अरू कसैमा छैन अहिलेलाई । हो, संसद्वादी दल र माओवादी दलबीचको दूरी कम हुँदै गएको छ । सामाजिक राजनीतिक रूपान्तरणको लक्ष्यमा लागेका माओवादीभित्रको वातावरणमा अझै खुलापन आउनुपर्छ । नेपालमा अहिले नक्कली राष्ट्रियताको बिगबिगी छ । तर, देशभक्तिको अत्तोपत्तो छैन ।  नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार