असार २४, २०८२ मंगलबार July 8, 2025

स्थानीय निर्वाचनको सन्देश – बेनीबहादुर कार्की

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालको मौजुदा राजनीतिक संरचनाअनुसार गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । नयाँ संविधानअनुसार दोस्रो पटक भएको स्थानीय निर्वाचनमा बाजुराको बूढीगङ्गा नगरपालिकाबाहेक ७५२ स्थानीय तहको परिणाम आइसकेको छ । त्यहाँ पहिले भएको निर्वाचनमा विवाद भएकोले निर्वाचन आयोगको आदेशानुसार पुनः मतदान हुँदैछ । सार्वजनिक भएको निर्वाचन परिणामअनुसार, हालसम्म नेपाली कांग्रेसले नगरप्रमुखमा ३२९ ल्याएर पहिलो, एमाले २०५ ल्याएर दोस्रो र माओवादी केन्द्रले १२१ ल्याएर तेस्रो भए भने स्वतन्त्रबाट १३ जना नगरप्रमुख बनेका छन् । त्यो पनि काठमाडौँ, धरान, धनगढी, जनकपुर, र बर्दीबाससमेतका पालिकामा स्वतन्त्रबाट निर्वाचित भएका छन् । समग्रमा त ३८५ जनाभन्दा धेरैले विभिन्न पदमा स्वतन्त्रबाट जित हासिल गरेका छन् । यसरी विजयी भएकालाई बधाई र सफलताको शुभकामना । यो जितले नेपाली राजनीतिमा टर्निङ मोडको सङ्केत दखिएको छ । यो मोड रोक्न बेलैमा नेतृत्व सचेत हुन जरुरी छ ।

काठमाडौँमा बालेन्द्र शाहले ६१ हजार ६६७ मत ल्याएर मेयर बनेपछि यसले सबैलाई झस्काएको छ । काठमाडौँजस्तो नेवार बाहुल्यता भएको संस्कृति र सम्पदाले भरिएको मुलुककै राजधानी भएको महìवपूर्ण सहरमा ३२ वटै वडाबाट धेरै मत ल्याएर गणेशमानकी बुहारी सर्जना सिंह र एमालेका आफूलाई हस्ती बताउने केशव स्थापितलाई हराएर मेयर बन्ने कुरा चानेचुने होइन ।

जेहोस् बालेनलाई जिताएर काठमाडौँका मतदाताले एक खालको सन्देश दिएका छन् । यो चुनावी परिणिामले मधेशवादी दलहरूले लामो समयदेखि चुनावी राजनीतिक एजेन्डा बनाएर उछालेको मधेशी पहाडीको लक्ष्मण रेखा पनि मेटिएको छ । अर्कोतिर पुराना र ठूला दलका नेता हुँ भन्नेहरूले पनि दम्भ हटाउनपर्ने भएको छ । यसबाट के सङ्केत मिलेको छ भने अब नाम चलेको दल, नाम चलेको परिवार वा स्वयं नाम चलेका नेताको नामबाट चुनाव जित्ने दिन गए । अब त जनताले विश्वास गरेका, नयाँ भिजन भएका सबैको मन जित्न सक्ने लोकप्रिय युवाका दिन आएको स्पष्ट सङ्केत देखिएको छ । यही भएकाले स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिँदासम्म बालेनले जित्नेमा धेरैले पत्याएकै थिएनन् । स्वयं स्थापितलाई त ठूलै भ्रम परेको रहेछ । अब निकट भविष्यमा हुने सङ्घीय र प्रदेशको निर्वाचनमा ठूला दलका नाम चलेका नेतालाई चुनाव जित्न सजिलो देखिँदैन । इतिहास भजाएर खाने दिन गइसकेको सङ्केत हालै सम्पन्न स्थानीय तहको परिणामले देखाइसकेको छ ।

नेपाली राजनीतिमा यसरी अचानक टर्निङ मोड कसरी आयो भन्ने लाग्नु स्वाभाविक हो । किनभने धोका खाएपछि नेपालीको बुद्धि आउँछ भन्ने भनाइ प्रचलनमा रहेको छ तर यस्तो अचानक भएको हुँदै होइन । नभए त २००७ सालदेखि सुरु भएको प्रजातन्त्रको यात्रा ७० वर्षभन्दा धेरै हुँदासमेत नेताहरूको सोच किन जनपक्षीय नभएको ? १५औँ गणतन्त्र दिवस मनाउँदासमेत नेपाली जनतामा किन यति धेरै असन्तुष्टि छ ? इन्धनको मूल्यवृद्धिका कारण जनतालाई बाँच्न मुस्किल हुने गरी महँगी बढ्दासमेत सरकार किन मौन छ ? त्यसमा पनि ०४६ र ०६२, ०६३ सालपछि कार्यकर्ताहरूले नेतालाई कम तिखारेका होइनन् ।

त्यसपछि पनि उस्ताको उस्तै भएकोले आजित भएर यो अवस्था आएको हो । नेताहरूको शैली र सोच उस्तै कसरी भयो ? त्यसमा पनि यो त भन्दा भन्दा केही सीप नलागेर स्थानीय निर्वाचनको अवसर पारेर नेतालाई सद्बुद्धि दिन मतदाताले ठूला भनेका नेताहरूलाई सिकाउन यो काम गरेका हुन् । अरू केही सीप नलागेपछि गर्ने के त ? कुनै सुझाव नसुन्ने, जनताको हितमा काम नगर्ने, आफ्नो स्वार्थमा मात्र काम गर्ने, नातावाद र कृपावाद मात्र गर्ने मात्र भइरहेकोले नै आज यो अवस्था आएको हो । अब नेतृत्वले गम्भीर हुनै पर्छ । अब पनि यथास्थिति रहेमा यसको असर सङ्घ र प्रदेशको चुनावमा पर्नेछ । यसका लागि नेताहरूले बेला छँदै तयारी गर्नु बुद्धिमानी हुनेछ ।

चुनावको समयमा झुठ्ठा आश्वासन दिएर मत लिने र चुनावपछि आफूलाई मत दिने मतदातासमक्ष नाकमुख नदेखाउने अनुहारलाई अब निकै समस्या छ । नेताहरूले यो चुनावको परिणामबाट बेलैमा पाठ सिक्नै पर्छ । आफ्नो पुरानो सोच र शैलीमा परिवर्तन ल्याउनै पर्छ । अब उहाँहरूका लागि एउटै विकल्प बाँकी छ । त्यो के हो अब जनताले मन पराएका लोकप्रिय युवालाई अघि सार्नुको विकल्प छँदै छैन । यस विषयमा नेपाली कांग्रेसको नेतृत्व पहिले गम्भीर हुन जरुरी छ । किनभने जनताको आशा भरोसा कांग्रेससित नै धेरै छ ।

अबको आवश्यकता भनेको युवालाई प्राथमिकता हो । दलको यति धेरै वर्चस्व भएको बेलामा पनि स्वतन्त्रले यसरी दलका उम्मेदवारलाई हराउनु भनेको नेताहरूका लागि ठूलो चुनौती हो । नेताहरूको काम गर्ने सोच र शैली पुरानै रहने हो भने यो रोग झन् झाँगिन सक्छ । अब आउने निर्वाचनका हरेक पदमा स्वतन्त्रमा उम्मेदवारी पर्न सक्छ । अहिलेजस्तै राम्रोलाई भन्दा हाम्रोलाई नेताहरूको नातागोताको नाम स्वार्थवश पकेटबाट झिकेर अवसर दिने हो भने अबको परिवर्तन कसैले रोक्न सक्दैन । योग्य र इमानदारलाई सधँै पाखा लगाएर आफ्नो स्वार्थमा डुबेर नातावाद, कृपावादको सीमा नाघेर नेताहरूले काम गरेकाले आज यो दिन आएको हो ।

अहिले सोच्दै नसोचेको बेलामा त यति धेरै महत्त्वपूर्ण ठाउँमा स्वतन्त्रले जितेर देखाइसके भने अब होस् नगरे समग्रमै ठूला दललाई साइड लगाएर मूलधारमा स्वतन्त्रहरू नै पुग्न बेर लगाउने छैनन् । यसो भयो भने ठूला दलहरूको भविष्य के होला ? यो यथार्थलाई चाहेर वा नचाहेर पनि स्वीकार्नै पर्छ ।

अहिले आएको समस्या र सङ्केत पनि युवाको भावनाअनुसार काम नगरेकाले नै आएको हो । युवालाई वर्तमान नेतृत्वले बेवास्ता गरेकाले बाध्य भएर रोजगारीका लागि विदेशिनु परेको पीडाको प्रतिफल नै बालेनको विजय भएको हो । यही कारणले स्वदेश तथा विदेशका युवाले आफूले त बालेनलाई समर्थन गरे । आफ्ना बाबु, आमालाई समेत बाध्य पारेर मत दिन लगाएकाले नै धेरै मत आएको हो । त्यसैले अबको समाधान भनेकै जनभावनाअनुसार जनहितमा काम गर्नु हो । नभए आउने दिनमा झन् ठूलो धोका खाने निश्चित छ ।

अबको आवश्यकता भनेको जनजीविकाको लागि विकास हो । राजनीतिक अधिकारको रक्षाका लागि पनि यही काम गर्न जरुरी भइसकेको छ । यही काम नेताहरूले नगरेकाले नै नेपाली जनता वाक्क दिक्क र निराश भइसकेका छन् । आमरूपमा यसको प्रतिफल पाउने गरी राजनेताले काम गरेनन् भने यसको नकारात्मक असर मौजुदा राजनीतिक प्रणालीमा नै पर्न जान्छ । यसको सङ्केत देखिसकिएको छ । अझै नबुझ्ने वा बुझेर पनि बुझ पचाउने हो भने नयाँ राजनीतिक प्रणालीको बिजारोपण नहोला भन्न सकिँदैन । त्यसैले विगतको दम्भ, गलत सोच र आचरणलाई छोडेर जनताको हितमा मात्र काम गर्न सुरु गरौँ । अन्यथा नेपाली राजनीतिमै यसरी नै नसोचेको टर्निङ मोड आउन सक्छ । बेला छँदै सम्बन्धित सबै होसियार बनौँ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार