असोज १४, २०८३ बुधबार September 30, 2026

कुन बिजुली गाडीको मूल्य कति पुग्यो ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेटमा नेपालमै विद्युतीय रिक्सा, विद्युतीय मोटरसाइकल वा विद्युतीय स्कुटर उत्पादन गर्ने उद्योगलाई विशेष छुट दिने घोषणा गरेको छ । संसद्‍मा बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस किसिमका उद्योगका लागि आवश्यक कच्चा पदार्थ वा पार्टपुर्जामा भन्सार महसुल एक प्रतिशतमात्र लाग्ने घोषणा गरेका छन् ।

सँगसँगै सरकारले १०० किलो वाट आवर क्षमता माथिका सवारीमा भन्सार दर बढाएको छ भने ३० प्रतिशत अन्तःशुल्क पनि लिने भएको छ । साथै चार पाङ्ग्रे सवारीसाधन एसेम्बल गर्ने उद्योगलाई आयकरमा ४० प्रतिशत छुट दिने व्यवस्था पनि गरिएको छ ।

सरकारको याे निर्णयबाट विद्युतीय सवारी साधनको आयात निरुत्साहित गरी स्वदेशमै उत्पादन गर्ने कार्यलाई बढावा दिन खोजेको जस्तो देखिन्छ । तर सरकारको यो नीतिले नेपालमा आयात हुने विद्युतीय सवारी साधनको आयात र बिक्रीमा भने नकारात्मक असर पुर्‍याउने आँकलन गरिएको छ ।

हाल नेपाली बजारमा एमजी, बीवाईडी, निसान, हुन्डाई लगायत १५ भन्दा बढी ब्रान्डका विद्युतीय कारहरू गुडिरहेका छन् । तर सरकारको नयाँ बजेट तथा नीतिगत प्रभावले नेपाली नेपाली बजारमा आउने तयारीमा रहेका नयाँ विद्युतीय सवारीलाई थप चुनौति सिर्जना गरिदिएको छ ।

नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्राइभेट लिमिटेडले पछिल्लो समयमा विद्युतीय गाडी कोना र आयोनिक फाइभ बिक्री गर्दै आएको छ । कम्पनीका प्रबन्धक दिवाकर रेग्मीले हुन्डाई ब्रान्डको कोना ईभीलाई सरकारको निर्णयले कुनै असर नपुगेको बताए ।

तर अब नेपाल भित्रिने आयोनिक फाइभको मूल्य भने ३५ लाख रुपैयाँले वृद्धि हुनसक्ने उनको भनाई छ । “१०० किलो वाट माथिका विद्युतीय गाडी आयात गर्दा अब ३० प्रतिशतसम्म अन्त:शुल्क तिर्नुपर्ने छ। आयोनिक फाइभको क्षमता १२४.९ किलो वाट रहेको छ ।

त्यसैले अब आउने गाडीमा औसत ३५ लाख रुपैयाँ बढेर आउने देखिन्छ,” उनले भने । पारामाउन्ट मोटर्सले नेपाली सडकमा चर्चित ईभी ब्रान्ड एमजीका विद्युतीय गाडी बिक्री गर्दै आएको छ ।

यो कम्पनीका विद्युतीय गाडीमा बजेटको प्रभाव धेरै नै परेको देखिन्छ । कम्पनीका सिनियर सेल्स म्यानेजर धिरज महर्जनका अनुसार कम्पनीले पछिल्लो समय चार सय बढी गाडीको प्रि-बुकिङ लिएको छ ।

तर बुकिङ गरिएको सम्पूर्ण गाडी अब नेपाल भित्रिँदा मूल्य बढेर आउने छ । जसले गर्दा यस अघिको मूल्यमा प्रि-बुकिङ गरेको भए पनि ग्राहकले बृद्धि भएको मूल्यमा गाडी खरिद गर्नुपर्ने उनको भनाई छ ।

अन्यथा प्रि-बुकिङ गरिएको रकम फिर्ता गर्ने योजनामा कम्पनी छ । कम्पनीले हाल विद्युतीय गाडीमा दुई ओटा मोडलको गाडी बिक्री गर्दै आएको छ ।

एमजीको स्ट्यान्डर्ड भेरियन्टको १३० किलो वाट र लङ रेन्ज मोडेलको ११५ किलो वाट क्षमताको गाडी रहेको छ । यसको मूल्य अब नेपाल भित्रिँदा धेरै नै बढेर आउने देखिन्छ ।

सरकारले ल्याएको नीति र बजेटबाट हुन्डाईको कोना, टाटाको नेक्सन ईभी, सीजीको नेटा भी, बीवाईडीको ई-सिक्स गाडी भने प्रभावित हुने छैन । यी गाडी पहिलेको मूल्यमा खरिद गर्न सकिने छ  ।

नयाँ व्यवस्था अनुसार अब १०० किलो वाट क्षमतासम्मको विद्युतीय कारमा १० प्रतिशत भन्सार र १३ भ्याट लाग्छ । तर १०० देखि २०० किलो वाट क्षमता भएका यस्ता सवारीमा भने भन्सार दर ३० प्रतिशत, अन्तःशुल्क ३० प्रतिशत र १३ भ्याट लाग्नेछ ।

त्यस्तै २०० देखि ३०० किलो वाट क्षमताका विद्युतीय कारमा भन्सार दर ४५ प्रतिशत, अन्त शुल्क ४५ प्रतिशत र १३ प्रतिशत भ्याट लाग्नेछ । यसैगरी, ३०० किलो वाट क्षमता माथिका विद्युतीय कारको भन्सार दर ६० प्रतिशत पुर्‍याइएको छ । यसमा थप ६० प्रतिशत अन्तःशुल्क समेत लाग्नेछ र १३ प्रतिशत भ्याट समेत लाग्नेछ ।

हुन्डाई

हुन्डाईको नेपालको लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय कार कोनासँगै आयोनिक फाइभको बिक्री गर्दै आएको छ । कोनालाई सरकारको निर्णयले कुनै प्रभाव नपर्ने भए पनि आयोनिक फाइभको मूल्यमा भने ४१ प्रतिशतले वृद्धि हुने छ ।

कम्पनीले आयोनिक फाइभको सोलार रुफ र भिजन रुफ गरी दुई ओटा भेरियन्ट नेपाल भित्र्याएको थियो । तर पछिल्लो समयमा १२४.९ किलो वाट क्षमताको भिजन रुफ भएको आयोनिक फाइभको माग बढी भएकाले कम्पनीले सोलार रुफ भेरियन्ट नेपाल ल्याउन छोडेको थियो ।

कम्पनीले भिजन रुफ भेरियन्टको आयोनिक फाइभ ८० लाख ९६ हजार रुपैयाँमा बिक्री गर्दै आएकोमा अब नेपाल भित्रिँदा ३० प्रतिशत भन्सार, ३० प्रतिशत अन्त:शुल्क र १३ भ्याट गरी एक करोड १५ लाख ७४ हजार ५८० रुपैयाँ पर्ने देखिन्छ ।

एमजी जेड एस

नेपालका लागि एमजी आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले दुई भेरियन्टमा एमजी जेडएस विद्युतीय कार बिक्री गर्दै आएको छ । यसअघि १३० किलो वाट क्षमताको स्ट्यान्डर्ड भेरियन्टको गाडीको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ र ११५ किलो वाट क्षमताको लङ्ग रेन्ज भेरियन्ट ५९ लाख ९९ हजार रहेको थियो ।

तर आगामी दिनमा नेपाल आउने यी दुई कारमा ४१ प्रतिशत मूल्य वृद्धि भएर स्ट्यान्डर्ड भेरियन्टलाई ७३ लाख ४२ हजार १४८ रुपैयाँ र लङ्ग रेन्ज भेरियन्टलाई ८४ लाख ७१ हजार ९२६ रुपैयाँ पर्नेछ ।

निसान लिफ

पायोनियर मोटोकर्पले बिक्री गर्दै आएको ११० किलो वाट क्षमताको विद्युतीय कार निसान लिफ अब नेपालमा ८४ लाख ७३ हजार ३३८ रुपैयाँ पर्ने देखिन्छ । जब कि यो कार यसअघि ६० लाख रुपैयाँमा बिक्री हुँदै आएको थियो ।

ग्रेटवाल ओरा

ग्रेटवाल ब्रान्डको विद्युतीय कार ओरा १२६ किलो वाट क्षमताको रहेको छ । ४६ किलो वाट र ६३ किलो वाट क्षमताको ब्याट्री भेरियन्टमा आउने यो कार कम्पनीले क्रमशः ४० लाख र ४८ लाख रुपैयाँमा बिक्री गर्दै आएको थियो ।

तर अब भने ४६ किलो वाट भेरियन्ट १६ लाख ४८ हजार ८९२ रुपैयाँ र ६३ किलो वाट क्षमताको ब्याट्री भेरियन्ट १९ लाख ७८ हजार ६७१ रुपैयाँले महङ्गिने देखिन्छ ।

किया ईभी सिक्स

नेपालका लागि विद्युतीय कार कियाको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेले निरो र ईभी ६ बिक्री गर्दै आएको छ । कम्पनीले बिक्री गर्दै आएको किया निरोमा १५० किलो वाट क्षमताको मोटर जडान भएको छ भने ईभी सिक्समा १६८ किलो वाट क्षमताको मोटर छ ।

कम्पनीले यी दुई मोडेलका कार क्रमशः ६९ लाख ९० हजार रुपैयाँ र एक करोड २० हजार रुपैयाँमा बिक्री गर्दै आएको थियो । तर अब नेपाल भित्रिने यी दुई सवारीको मूल्य क्रमशः ९८ लाख ७१ हजार ४३९ रुपैयाँ र एक करोड ६९ लाख ४६ हजार ६७७ रुपैयाँ पर्नेछ ।

टेस्ला

विश्व चर्चित विद्युतीय कार ब्रान्ड टेस्ला नेपालमा अरेत इन्टरनेशनलले भित्र्याउँदै आएको आएको छ । कम्पनीले हालसम्म टेस्ला मोडल थ्री, मोडल वाई र मोडल एक्स गरी तीन मोडेल बिक्री गर्दै आएको छ ।

कम्पनीले १९८ किलो वाट क्षमताको टेस्ला मोडल थ्री स्ट्यान्डर्ड भेरियन्ट एक करोड २५ लाख रुपैयाँमा बिक्री गर्दै आएको थियो । आगामी दिनमा नेपाल भित्रिने यो कारको मूल्य एक करोड ७६ लाख ५२ हजार ७८९ रुपैयाँ पर्ने देखिन्छ ।

त्यस्तै, कम्पनीले नेपालमा मोडल वाई २०९ वाट क्षमताको स्ट्यान्डर्ड र २९१ वाट क्षमताको लङ्ग रेन्ज भेरियन्टमा बिक्री गर्दै आएको थियो ।

यसअघि स्ट्यान्डर्ड भेरियन्ट एक करोड ६० लाख रुपैयाँ र लङ्ग रेन्ज एक करोड ७५ रुपैयाँमा बिक्री हुँदै आएकोमा अब क्रमशः दुई करोड ३१ लाख ५० हजार ३० रुपैयाँ र दुई करोड ५३ लाख २० हजार ३५४ रुपैयाँ पर्ने देखिन्छ । त्यस्तै, यस अघि दुई करोड २५ लाख रुपैयाँमा बिक्री हुँदै आएको टेस्ला मोडल एक्सको भने अब नेपाल नआउने भएको छ ।

बीवाईडी

बीवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता सिमेक्स इङ्क प्रालिले बीवाईडी ई सिक्स र ई सिक्स सेकेन्ड जेनेरेसन गरि दुई मोडेलका कार बिक्री गर्दै आएको छ । कम्पनीले बिक्री गर्दै आएका यी कारमा सरकारको बजेटले कुनै प्रभाव पर्दैन ।

तर कम्पनीले यही जुलाईमा नेपाल भित्र्याउने भनिएको नयाँ विद्युतीय कार ‘एटो थ्री’ भने बजेटबाट प्रभावित हुनेछ । १५० किलो वाट क्षमताको ‘एटो थ्री’ ८० किलो वाट ब्याट्री भेरियन्टको मूल्य हालसम्म खुलाइएको छैन। तर बजेटअनुसार यसको मूल्यमा ३० प्रतिशत अन्तः शुल्क र ३० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट थपिनेछ।टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार